देश हराएको बेला

कवि
कवि

गङ्गा लामिटारे
ओहियो, अमेरिका

प्यान्ट सर्टको मात्र डिमान्ड नगर प्रिया
फरिया र चौबन्दी हराएको बेला ।
गितार र ड्रमसेटको आग्रह नगर छोरा
मादल र मुर्चुङ्गा हराएको बेला ।

टाइसुट र ज्याकेटको रहर नगर बाबु
यहाँ दौरा, सुरुवाल र ढाकाले डाँडा काटेको बेला ।
फेसन र श्रृंगारको मात्र डिमान्ड नगर बहु
संस्कार र संस्कृति हराएको बेला ।

डिस्को, पप् र सङ्गीतको मात्र चाह नगर छोरी
यहाँ मारुनी र झ्याउरे हराएको बेला ।
पिजा र सब्वोयको मात्र आहार नगर नानी
दाल, भात र गुन्द्रुक हराएको बेला ।

अङ्ग्रेजीमा मात्रै भाषण नछाँट मित्र
यहाँ सन्तानले मातृभाषा बिर्सिएको बेला
विगतको मात्र प्रवचन नगर बाबा
यहाँ सन्तानको आगत बिलाएको बेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *