देश हराएको सूचना

यतिराज अजनबी
एडिलेड, अस्ट्रेलिया

हराए पछि देश, देशभित्रै खोजें
खोजी प्रारम्भ गरेपछि
जबर्जस्ती लखेटिएँ देशबाटै
अठार वर्षसम्म खोजिरहें
शराणार्थी शिविरमा
केही मित्रहरूलाई त्यसरी नै
खोजिराख है भनेर
समुद्र पारी आइपुगेको छु आज
त्यही देश खोजाइ कै क्रममा
र अन्य केही साथीहरू
खोजिरहेका छन् हराएकै दिनदेखि
हराएकै भूगोलभित्र
ठ्याक्कै दुई दशक भएको छ
हराएको देश भेटिएको छैन

हराउनु अघि मेरो देश
छेचु मात्र हैन दशैं तिहार पनि
उत्तिकै महत्वकासाथ मान्थ्यो
बराबर नाच्थ्यो छाम
र बालन अनि मारुनी
थिन्ले र ठूले बीच
कोर्दैनथ्यो कुनै रेखा
लाउँथ्यो पोशाक फेरी फेरी
मौसम र भौगोलिक अवस्थिति अनुरुप
सारछोप्खा र ल्हेछम्खालाई पनि
जोङ्खा मान्थ्यो
बुम्थाङको कुर्जे लाखाङ जान्थ्यो
र जान्थ्यो सरभाङको शिवालय पनि

सेतो टाउको भएको
गाढा हरियो जिउ र
कालो मलिलो माटाको रङ गरेको
खुट्टा भएको तर एक कोरी वर्षदेखि
जुत्ता लाउन नपाएको
कुपोषणले खाइरहेको, खान नपाएर
शरीरको हाढहरू हेर्न एक्स्रे गरिरहनु नपर्ने
सोमालियन बालक झैं भएता पनि
ग्रस नेसनल ह्यापिनेसको बक्खु लगाएको
नाना, छाना र दानाको अभावमा शहर पसी
सडक पेटीहरूमा रात गुजार्ने
थातथलो नभएको असहाय जस्तो
फुङ उढेको अनुहार भएको
भूटान नाम गरेको देश
सन उन्नाइस सय असीको
दशकान्तदेखि हराइरहेको हुँदा
फेला पार्नु हुने माहनुभावले
देश खोज्दा खोज्दै बन्दी बनाइएका
अथवा देश निकाला गरिएका
वा देश खोज्ने अभियानमा
अर्कै द्विप पुगेका म र
मेरा साथीहरूलाई
सम्पर्क राखिदिनु हुन हार्दिक
हार्दिक अनुरोध गर्दछु

17th Sept. 2009, Adelaide, SA

Leave a Reply

Your email address will not be published. Required fields are marked *