दोकान खोल्ने गर

-स्वामी स्वदेशानन्द कनकधारावाले
गान्तोक, सिक्किम

केही खर्च गरी बजारतिरका दोकान किन्नेगर।
मेरो जाति बजारमा बस तिमी व्यापार गर्नेगर।
मेरा भाइ बजारभित्र मजले ढाकेर बस्नेगर।
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०१।।

राम्रा चीजहरू दुकानभरि नै राख्ने र बेच्नेगर।
आफ्ना ग्राहकका समीप रहँदा हाँसेर बोल्नेगर।
पैसा धेर कमाउँदै मुलुकका मालिक बन्नेगर।
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०२।।

पैसा धेर बनाउँदै जगतमा उद्योग गर्ने गर।
आफ्नो जाति दरो बनाउँन भनी व्यापार गर्नेगर।
गाड़ी राख धनी बनी शहरमा हाँकेर हिंड्नेगर।
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०३।।

गोर्खाकी युवती-युवा सकलले विद्या अनेकौं पढून्।
साँच्चै शिक्षितभै समस्त जगका शीर्षस्थ बन्नेगरून्।
मेरो जाति समाजका युवक हो ! आदर्श बन्नेगर।
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०४।।

धेरै खर्च गरेर गाउँघरमा उद्योग गर्नेगर।
आफ्ना जाति समाजका जनहरू-लाई अँगाल्नेगर।
आफ्ना जाति समाजको जतनमा लागेर बोल्नेगर।
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०५।।

यत्रा धेर बजार भित्र म सधैं खोज्दैछु छौ कि भनी।
मेरो भारतका सबै शहरमा बेच्दैन गोर्खा कहीं।
अर्को जाति दुकानमा, शहरमा मेरो छ गाऊँतिर।
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०६।।

आफ्नो त्यो गतिलो थियो सिलगढ़ी छोड़ेर गाऊँ पस्यौ।
जग्गा बेचिदियौ बजारतिरको आफू कहाँ गै बस्यौ?
अर्काले सरि यी बजारभरि नै हाम्रा बसे हुन्न र!
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०७।।

अर्का जाति समाजका जनहरू बेच्नेगरेका सधैं।
मेरो जाति समाजका जनहरू किन्नेगरेका सधैं।
अर्काले सरि यी बजारभरि नै बेच्नेगरे हुन्न र ?
गोर्खेभाइ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०८।।

अर्कामाथि म दोष थोप्दिन सखे ! दोषी स्वयं छौ तिमी।
अर्का जाति बजारमैं बसिरहे भागी हिँडेका तिमी।
अर्काले सरि यी बजारभरि नै फैलेर बस्नेगर।
गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर ।।०९।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *