धनेहरु, निरन्तर हिँडिरहे ! कविता सङ्ग्रहः एक विम्बपरक विश्लेषण

Shaiva-Lal-Dahalशिवलाल दाहाल

विम्ब भनेको शाव्दिक रुपमा छाया, दर्पण वा प्रतिच्छवि भए पनि साहित्यमा प्रयुक्त विम्ब शब्दले काव्यबिम्बलाई जनाउँछ । यो एक किसिमको कल्पनागत वा मानसचित्र हो जसले कुनै न कुनै रुपमा हाम्रो सञ्चेतनालाई प्रभाव पार्दछ । विम्बसँग केही इन्द्रियजन्य गुण हुनाले हामी त्यसबाट अदृश्य रुपमा नै प्रभावित हुन पुग्छौं । विम्बलाई विभिन्न विद्वानहरुले भिन्न भिन्न रुपमा लिएका छन् । कसैले यसलाई सम्वेदना र अनुभूतिका रुपमा, कसैले इन्दियलाई प्रभाव पार्ने तत्वका रुपमा, कसैले मौलिक प्रतिभाको प्रमाणका रुपमा त कसैले शव्दचित्रका रुपमा । सजीव, सुन्दर, मनोरम र सरस मानसचित्र वा मानस प्रतिच्छवि नै काव्यविम्ब हो । जसमा कविको भावना, कविको अनुभूति, संवेदना र कविकल्पनाले मूर्त रुप धारण गर्दछ (गौतम, २०६०) ।

विम्बलाई पाश्चात्य साहित्यको देनका रुपमा लिइन्छ । पश्चिममा बिम्बको प्रथम प्रयोगताका रुपमा टी.ई हुम्लेलाई मानिन्छ । अमेरिकी कवि एज्रा पाउन्ड (इङ्ल्याडमा रहेताका) र वेलायती कवि टी.एस्. इलियट बिम्बवादी कवितालेखनका सशक्त हस्ताक्षर हुन् । पाश्चात्य साहित्यमा बिम्बवादी आन्दोलन सन् १९०८मा आरम्भ भएको थियो जसको प्रथम घोषणा टी.ई हुम्लेले गरेका थिए । बिम्बवादीहरुले वस्तुको स्पष्ट चित्रण, संक्षिप्तता, अभिव्यक्तिको मूर्तता, संरचनात्मक नविनता एंव सौन्दर्य सञ्चेतनाको उत्घाटन जस्ता कुरालाई आप्mना मूलभूत मान्यता बनाएका थिए । तर बिम्बवादी आन्दोलन सन् १९३० को दशकदेखि निकै कम्जोर बन्दै गयो । यद्यपि बिम्बवादी आन्दोलनको प्रभाव विश्वका भिन्न भाषाका साहित्यमा पर्न गएको सन्दर्भमा नेपाली साहित्य पनि अछुतो रहन सकेन । बिम्बको सामान्य प्रयोग नेपाली साहित्यमा प्राथमिककालदेखि नै भएको देखिन्छ तथापि प्रयोगवादी कविहरुसँग यसले औपचारिक प्रवेश पाएको मानिन्छ । यद्यपि नेपाली साहित्यमा बिम्बवादी चेतना कुनै वाद वा आन्दोलनकै रुपमा अगाडि बढेको छैन । त्यसयताको समकालीन काव्यधारामा यसको प्रयोग निरन्तररुपमा भइरहेको छ । वर्तमान पुस्ताका भूटानी नेपाली कविहरुले पनि बिम्बलाई कवितामा आत्मसात गरेको  देखिन्छ । ती कविहरुमा प्रमुखरुपमा सञ्चमान खालिङ्, शिवलाल दाहाल, डेन्जोम राई, रमेश गौतम, मनबहादुर थापा आदि पर्दछन् ।

कवि सञ्चान खालिङ् धनेहरु, निरन्तर हिँडिरहे ! कविता संग्रह (सन् २००९) को प्रकाशनसँगै भूटानी नवपुस्ताका एक प्रखर कविका रुपमा   उदाए । उनका कविता बिम्ब विधानका दृष्टिले उच्चकोटीका छन् । यस संग्रहमा मूलतः मिथकीय बिम्ब, प्रणयबिम्ब, ग्राम्य बिम्ब, स्मृति बिम्ब, लोक बिम्ब र प्रतीक बिम्बको प्रयोग गरिएको पाइन्छ । उनका कवितामा विषयवस्तुको जति विविधता छ त्यति नै बिम्बको प्रयोगमा विविधता देखिन्छ । उनका कविताका धेरै शीर्षक बिम्बात्मक छन्, प्रतीकात्मक छन् । धनेहरु, निरन्तर हिँडिरहे !, नेपाल र सिसिफस, धर्मसंकट, तिमी भीरफूल, तिमी पारिजात आदि शीर्षकले बिम्बात्मक अभीष्ट बोकेको स्वतस्पष्ट हुन्छ । यस लेखमा धनेहरु, निरन्तर हिँडिरहे ! कविता संग्रहभित्र प्रयुक्त तिनै बिम्बहरुको केही विश्लेषण गर्ने जमर्को गरिएको छ ।

शीर्षक कवितामा प्रयोग भएको ‘धने’ (धनेहरु) आफैंमा एउटा नेपाली परिवेशको मिथकीय पात्र हो । धनबहादुर, हर्कमान, हरिप्रसाद, धनमाया, रनमती, चन्द्रकला यस्ता नामहरु वर्तमान नवपुस्ताभन्दा अघिल्लो पुस्तासम्म नेपाली जनजीवनमा प्रशस्त प्रचलित थिए । कवि खालिङ्को नामसँग पनि मान जोडिएको छ । यस्ता नामहरु नेपाली साहित्यमा धेरै आएका छन् कहिले गरिवीको प्रतीकका रुपमा, कहिले परिश्रमीको रुपमा त कहिले नेपालीको परिचयकका रुपमा  । यहाँ प्रयुक्त धनेहरु भने मूल थलो नेपाललाई छोडेर विदेशतिर हिँडेका र विभिन्न कारणले स्थायित्व कहीँ पाउन नसकेर एक ठाउँदेखि अर्को ठाउँतिर भौंतारिइँदै हिँड्ने र  यायावरीय जीवन बाँच्ने नेपालीहरुको परिचायकका रुपमा आएको छ । धनेहरु निरन्तर हिँड्नुले यायावरीय एवं अनिश्चित जीवनको संकेत दिन्छ र यिनीहरुको यात्रा कहाँसम्म पुग्ला ? भन्ने जिज्ञासा समेत पाठकका मनमा उत्पन्न हुन्छ । जे होस् थातथलो र परिचय गुमाएका असंख्यौं नेपालीहरुलाई साधारणीकरण गरी उभ्याइएको धनेहरु एक मिथकीय बिम्ब हो । विशेषतः धनेहरुले घरबारविहीन भूटानीहरुको प्रतिनिधित्व गर्छ । धनेहरुका पूर्खा कुनै समय नेपालबाटै गएका थिए, कालान्तरमा उनीहरु फेरि आफू बसेको भूमि भूटानबाट लखेटिन पुग्छन् । नेपालले शरणसम्म त दिन्छ तर त्योभन्दा उता जान सक्तैन बरु तेस्रो मुलुकहरुले यी अलपत्र परेका भूटानीहरुलाई स्थायी बसोबासका लागि लाने कार्य गर्छन् । यसबाट धनेहरुलाई आफ्नै इतिहासबाट उपेक्षित भएको अनुभूति हुन्छ । यसरी इतिहासबाट उपेक्षित धनेहरु बरु प्रागइतिहासतिर जानु वाञ्छित देख्छन् ।

तिम्रो सभ्यतामा शदियौफरक छ

धनेहरु त पुनः काखीमा कुटुरो च्यापेर

तेस्रो मुलुकतिर हिँहिरहेका छन्

रामापिथेकस्, अस्ट्रेलोपिथेकस्का अवशेषहरुलाई बाटो सोध्दै

आकाशगंगामा आफ्नोछायाखोज्दै…”

(धनेहरु, निरन्तर हिँडिरहे !)

प्रस्तुत कवितांशमा प्रयोग भएका रामापिथेकस, अस्ट्रेलोपिथेकस प्रागैतिहासिक पात्र हुन् – आदिम मानव हुन् । मानव जातिका यी पुर्खाहरुको खोज, अनुसन्धान पनि पाश्चात्यहरुले नै गेरका हुन् । यहाँ कविले रामोथेकस र अस्ट्रेलोपिथेकसलाई पाश्चात्य सभ्यताको आधार विन्दु मान्दै तिनीहरुको सभ्यतालाई पछ्याउन जान लागेको कुराको बिम्ब गरिएको छ । आफ्नो  सभ्यताको माया र सम्झना संगाल्दै असंख्यौं धनेहरु अहिले कुम्लो-कुटुरो बोकेर तेस्रो मुलुकतिर लागिरहेछन् । यहाँ प्रयोग गरिएका रामापिथेकस् र अस्ट्रेलोपिथेकस् प्रागैतिहासिक बिम्ब हुन् ।

‘चोरेको ऐना’ सिङ्गो कविता नै रामायण तथा महाभारतका पात्रहरु राम, सीता, कृष्ण, गोपिनी, पाण्डब र सयकुमारको प्रयोग गरी रचना गरिएको हुँदा यो कविता पूर्णरुपमा  मिथकीय बिम्बको (अझ भनौ पौराणिक बिम्बको ) सघन प्रयोग हो ।

पात्र–क, राम

सुनको मृग समाउन नसकेर

गुहार्छ मलाई,

धनुष बाण, डोरी बोकेर दौडन्छु

त्यो मृगतिर हाम्फाल्दै

रामायणमा वर्णित कथामा राम–सीताको वनवासकालमा सीतालाई अपहरण गर्न रावणले मायाजालरुपी मृगको रुपधारण गरेको थियो । त्यो सुनको मृग देखेर सीताले रामलाई पक्रन लगाएकी थिइन् । धनका पछि लागेर विभिन्न किसिमका हात हतियार प्रयोग गरी लुट्नु, अपहरण गर्नु, हत्या गर्नु वार्तमान समयको अपराधको एउटा डरलाग्दो प्रवृत्ति हो । यही धनका पछि लाग्ने कुरालाई ‘सुनको मृगसमाउन’ र अपराध गर्न प्रयोग गरिने हात–हतियारलाई ‘धनुषवाण र डोरी’मा आरोपित गरी म–पात्र समेत मोहजालमा फँसेका रामको सहायकका रुपमा उपस्थित गराएर कविले धनप्रतिको आशक्ति र अपराधको दुस्प्रवृत्तिलाई व्यङ्ग्य प्रहार  गरेको स्पष्ट हुन्छ । वर्नमान समयमा देखिएका अनैतिक यौवन सम्बन्ध, तास–जुवा र फिँजेझोलको रौनक तथा डिस्कोको रासलीलालाई सङ्केतिक रुपमा अर्थ्याउन पनि कविले तीनै रामायण र महाभारतका पात्रहरुलाई लिएका छन् । यो कविताको पूर्णपाठ पढेपछि त्यो कुरा थाहा हुन्छ । शीर्षकमा राखिएको ‘ऐना’ माथि उल्लिखित विकृति र विसङ्गतिको प्रतिबिम्बन हो र ‘चेरेको’ले पौराणिक पात्रहरुलाई सापटी लिइएको कुराको सङ्केत गर्दछ । पौराणिक कालदेखिको प्रवृत्तिले अहिलेसम्म पनि निरन्तरता पाएको, मात्र स्वरुपमा केही परिवर्तन आएको कुरा  यस कविताले बिम्बन गरेको छ । त्यसर्थ यो कविता एक सक्तिशाली बिम्ब कविता हो ।

यस किसिमका मिथकीय बिम्ब अन्य कवितामा पनि पाइन्छ । तिमी पारिजात कविताको निम्न पक्तिलाई हेरौं —

क्लियोप्याट्राको सुनको लेपन

घस्न पाए तिम्रा गलामा

सुनकेशरी रानीको सुनको केश

उमार्न सके तिम्रा कपालमा…….

कसले बोलाउँछ तिमीलाई—“च्याउँखुरी…!भनेर

कति कति कीरा जलिमर्थे

पलपल दीपशिखामा तिम्रालागि

फूलका गुच्छाहरु इरिन्थेभ्यलिन्टाइन डेभएर

ट्रोइबाट पेरिस आउँथ्यो, सुटुक्कै नौकामा

पतवार माग्न तिम्रो हात, जिन्दगी तर्नलाई…”

यहाँ प्रणयबिम्ब र मिथकीय बिम्ब एकसाथ आएका छन् । क्लियोप्याट्रा र सुनकेशरी रानी दुवै सौन्दर्य र शक्ति—सम्पन्नताका बिम्ब हुन्, च्याउँखुरी भने होच्याएर गाँउघरमा नारीलाई बोलाउने नाम हो । ठाउँ, परिवेश र समयले कोही च्याउँखुरी हुन्छ, केही क्लियोप्याट्रा र सुनकेशरी रानी । कामले सलक्कै निलेका गाउँघरका नारीहरु पनि ऐस—आराम र सुख—सम्पन्नता पाउँनु हो भने कम छैनन् र उनीहरुलाई होच्याएर हेर्नु हुँदैन भन्ने कवि दृष्टिकोण रहेको देखिन्छ । कविलाई लाग्छ आफ्नी प्रियसी च्याउँखुरीलाई सुनको लेपन लगाउन र सुनको केश उमार्न पाए धेरै कीरा (युवकहरु) उनीसँग प्रणय प्रस्ताव गर्दै भ्यलिन्टाइन डेमा फूलका गुच्छाहरु  लिएर जिन्दगी तर्न हात माग्न आउने छन् —ट्रोइबाट पदवार पेरिसमा आए झैं । यसरी कवि आफ्नी प्रियसी च्याउँखुरी पनि कमजोर छैनन् भन्ने कुराको बिम्ब गर्दछन् । यहाँ कीरा, दीपशिखा, पदवार, भ्यालिन्टाइन डे, ट्रोइ आदि प्रणयप्रसंगसँग आरोपित भएर आएका प्रणयबिम्ब हुन्  भने  क्लियोप्याट्रारा, सुनकेशरी रानी सौन्दर्यसँग जोडिएर आएका मिथकीय बिम्ब हुन् । यसरी नै ‘नेपाल र सिसिफस’ र ‘धर्मसंकट’ दुवै कवितामा मिथकीय बिम्बको समयसापेक्ष र सान्दर्भिक प्रयोग भएको छ । कवि खालिङ प्रणयका कविता लेख्छन् र प्रणयबिम्बको भरपूर प्रयोग गर्छन् —

“…तर

जब वसन्त आउँछ

अनि देख्छु तिमी

पूmलका गुच्छा बोकेर आइरहेकी

उही एक जोडी अजम्बरी आँखा

पोखाएर बाटोभरि…”

………

छैन फाँटहरु फैलिइरहन वरपिपल भएर

(यसरी पाउँछु तिमीलाई)

माथिको उद्धृतांशमा एउटी यौवना युवती एक भारि मायाको कोसेली लिएर आफ्नो प्रेमीको प्रतीक्षामा बाटो हेरिरहेको बिम्बन गरिएको छ । माया लगाउने र वरपिपल जस्तै एकसाथ बस्ने रहर छ, उत्कण्ठा छ, तर परिस्थिति र परिवेशको सङ्कुचनले त्यसलाई रोकिराखेको कुराको पनि यहाँ बिम्बमय प्रस्तुती छ । प्रेमसँग गाँसिएर आएको प्रसंग भएको हुनाले यो प्रणयबिम्ब हो ।

हाम्रो संस्कार, विश्वास,रीतिरिवाज तथा सांस्कृतिक मूल्यहरु अन्तरभुक्त भएका बिम्ब सांस्कृतिक बिम्ब हुन् । खालिङ्का कवितामा पनि यस किसिमका बिम्बहरु अन्तरगर्भित छन् ।

सानाका हत्केलामा थुथु गरेर

बुढा बा र आमालाई        

बसहै भनेर

रित्तो ढाकर र झुलो चकमक खिसामा च्यापी

एक्लो वर दाहिने घुमी, देउरालमा पाती चडा

हिँडेका धनेहरुले

टिष्टा तर्दा घरतिर फर्की पानी अचाएका थिए…”

(धनेहरु निरन्तर हिँडिरहे † बाट)

माथि उद्धृतांशमा उल्लिखित स–सानाका हत्केलामा थुथु गर्नु, बुढा बा र आमालाई बस भन्नु, एक्लो वर दाहिने घुम्नु, देउरालीमा पाती चढाउनु र पानी अचाउनु नेपालीका मौलिक सांस्कृतिक विशेषता एवं विश्वासका कडी हुन् । यी सवैले मंगलकामना र शुभेच्क्षाको ध्वनित गर्ने हुनाले सांस्कृतिक बिम्ब हुन् । अर्को उदाहरण हेरौं—

यो सालको कोदो पाकोस्

ठूलो घ्याम्पामा जाँड पकाउँला

सुम्निमा र पारुहाङ्गको पूजा गर्नुपर्छ,

दूधकोशीलाई भाकल गरुँला,

अनि तँ

कसो लाहुरे नहोलास्…”

(कोदो पाकोसबाट)

माथिको कवितांशमा जातिय लोक संस्कृतिको बिम्ब खिचिएको छ । किरात धर्म अवलम्वीहरु सुम्निमा र पारुहाङको पूजा गर्छन् । कोदो पाकेपछि जाँड् बनाउने अनि सुम्निमा र पारुहाङ्गको पूर्जा गर्ने किरातहरुको सांस्कृतिक पक्ष हो । नेपालबाट लाहुरे (बेलायती, भारतीय र अन्य मुलुकमा सेना भर्ती हुन जाने) हुन जानेहरुमा मुख्यतः राई, लिम्बू, मगर, गुरुङ जातिहरु नै छन् । माथिको कवितांशमा उल्लेखित घ्याम्पामा जाँड बनाउने, सुम्निमा र पारुहाङको पूर्जा गर्ने, दूधकोशीको भाकल गर्ने, लाहुरे हुन जानेजस्ता कुराहरुले कुनै खास जाति विशेषको परम्परा, मान्यता र विश्वासलाई प्रतिबिम्बित गर्ने हुनाले यो एक लोकसांस्कृतिक बिम्बको नमूना हो ।

विज्ञान र प्रविधिसँग सम्बद्ध बिम्बलाई विज्ञान बिम्ब भनिन्छ । कवि खालिङ्का कवितामा विज्ञान र प्रविधिको विकासले निम्त्याउने सम्भावित चुनौति, विध्वंस र त्रासदीको राम्रो चित्रण पाइन्छ ।

“…एकदिन

रोबोकोनको ट्रास्मिटर बिग्रियो,

अनि रोबोटहरु मान्छेको नियन्त्रणबाट फुत्किए,

हेर्दाहेर्दै ताँत लागेर

मान्छेसग युद्ध ललकारेर

खेदाइ खेदाइ मान्छे मार्न थाले,

एटमबम हातहातमा बोकेर

चारै दिशा दौडिन थाले रोबोटहरु,

अर्कातिर क्लोनिक ल्याबको पर्खाल नाघेर

हिटलर दौडिँदैछ ग्यास च्याम्बरतिर,

नाजी सेनाडाइनोसरहरु अघिपछि लाएर…”

(रोबोट र मान्छेबाट)

यहाँ प्रयोग भएका रोबोकोन, ट्रान्समिटर, रोबोट, एटमबम, क्लोनिक ल्याब आदि विज्ञानसँग संबद्ध शब्द हुन् । वर्तमान समयमा विज्ञानको चरम विकास हँदै गइरहेको छ । मान्छेले आफ्नो उपकार, सुविधा एंव सम्मृद्धिका निम्ति निर्माण गरेका वैज्ञानिक उपकरण र प्रयोगहरुले भविष्यमा कुनै समयमा दुर्घटना निम्त्याउने तर्फ कविले सचेत गर्ने क्रममा विज्ञान बिम्बको घनात्मक प्रयोग गरेका छन् । क्लोनिङ गरेर मानिसको प्रतिरुप निकाल्ने हो भने हिटलरजस्ता नरसंहारकको पुर्नजन्म हुनेछ र उनीसँगै डाइनोसर जस्तै समयको गर्भमा अन्तरगर्भित नरपिपासु नाजीसेना पनि क्लोनिङ मार्फत बिउँतिने छन् । यसरी विज्ञानको दुरुपयोगबाट हुनसक्ने हाहाकार, सन्त्रास, नरसंहार र त्रासदीको समुचित चित्रण गर्न आद्भुतिक बिम्बको पनि यहाँ विज्ञान बिम्बको समानान्तर प्रयोग भएको छ ।

“…यहाँ

लौका, फर्सी, करेलाका भ्mयाङ्गहरुमा

बम र बुलेटहरु फल्न थालेकाछन्

अनि मान्छेहरु

बारुदका धुवाँ सास फेर्छन्

फ्नै झण्डा समाएर…”

(बाँचेको युग)

विज्ञानको विकासले निम्त्याएको त्रास, असुरक्षा र मानव सभ्यतामाथिको प्रहारको वर्तमान सन्दर्भको विसंगतिपूर्ण परिस्थितिलाई माथि उद्धृतांशले बिम्ब गरेको छ । राष्ट्र–राष्ट्रबीचको वैमनश्यता र शत्रुताको भावनाले युद्ध र अस्त्र-सस्त्रको होडबाजी, हिंसा र रक्तपातको विकराल स्थिति जन्माइरहेको अवस्थामा गाउँघरमा पनि त्रासको वातावरण सृजना भएको छ । कहीँ कोही सुरक्षित छैन भन्ने कुरालाई माथिको कवितांशले चित्रण गरेको छ ।

समकालीन नेपाली कवितामा पारम्परित बिम्बको समानान्तर रुपमा निजी बिम्बहरुको प्रयोग पाइन्छ । यस्ता बिम्बहरुले कविको प्रतिभा र मौलिक सिर्जनाधर्मीताको आयामलाई चित्रण गर्दछ । कवि खालिङ्का कवितामा पनि यस्ता निजी बिम्बहरुको यथेष्ठ प्रयोग पाइन्छ ।

“…भोक भएर जिन्दगी

रुवाण्डाली शरणार्थी बालकसँग

बगरमा बलुवा खाँदैछ

रोगसँग मितेरी लाएर

ऊ मृत्यु बाँचेको छ,

सुन्दुकीमा जिजीविषा बोकेर

निकै टाडा पुग्यो यायावरी जिन्दगी

फेरि..

आकाशमा उड्ने परेवाको छाँया

बाज देखेर

ऊ अत्तालिएको छ…”

(विवशता)

अभावग्रस्त जिन्दगीलाई रुवाण्डाली शरणार्थी बालकसँग आरोपित गरेर कविले विवशतापूर्ण जिन्दगीको बिम्ब खिचेका छन् । रोगसँग मितेरी लाउनु, मृत्यु बाच्नु, सुन्दुकीमा जिजीविषा बोक्नु, आकाशमा उड्ने परेवा बाज देखेर अत्तालिनुजस्ता निजी बिम्बहरुले जिन्दगीको जटिलता, अभावग्रस्तता, असुरक्षा, विवशतापूर्ण स्थिति आदिको उद्बोध गर्दछन् ।

“…भीरमै पलायौ

भीरमै लहरायौ

भीरमै फुल्यौ

अनि भीरमै ओइलिएर झर्यौ

तिम्रो नाउँभीरफू

हेलेन, क्लियोप्याट्रा, सीता……

कसैले चुल्ठोमा सिउरिएनन्…”

(तिमी भीरफूल)

प्रस्तुत् कवितामा प्रतीक बिम्ब र मिथकीय बिम्बको समायोजन भएको छ । भीरफूल उपेक्षाको प्रतीकका रुपमा आएको छ । यस कविताले भेदभाव र उपेक्षा गर्ने प्रवृतिको बिम्बन गरेको छ । हेलेन, क्लियोप्याट्रा र सीता अभिजातवर्गका मिथकीय पात्र हुन् । उनीहरुकै पालादेखि चलिआएको धर्म, जात, कुलघरान, दरिद्रता आदिका नाममा हुने भेदभाव अहिलेसम्म पनि चलिरहेकै छ । अतीतको स्मिृतिसँग गाँसिएर आएका बिम्ब स्मृतिबिम्ब हुन् । धरै कवितामा  कवि विगततर्फ र्फिर्कएका छन्, विगतको मायामा पोखिएका छन् ।

“…तिमीलाई भेटाउन सकिनँ

भागिरह्यौ डाँडा पारिपारि

मृगतृष्णा म पछ्याइरहेँ…”

(मेरी  इन्द्रेणी)

म लिन आँउदा

कहिले बादलभित्र लुक्यौ

कहिले औँसीभित्र घुस्यौ…”

(ए दूरकी चाँदनी)

 “तिमीले पनि उसै गरेहुन्छ

शुक्लपक्षका यामिनीहरुमा

सन्नाटालाई मन पर्ने भाषामा

मरेका दिनहरुको

जिउँदो कथा सुनाउँदै…”

(आभास)

“अझै..

त्यो बिहानी

पछ्याउन छाडेको छैन

एक गुच्छा फूलको बिहानी…”

(एक गुच्छा फूलको बिहानी)

माथिका हरेक कवितांश प्रेम संवेदनाका सुन्दर अभिव्यक्ति हुन् । अतीतमा गाँसेको प्रेमको गौरवानुभूति, त्यसबाट टाढा हुँदाको तिर्खा र प्रणयसुलभ मनोदशाको प्रतिध्वनित गर्ने यी बिम्बहरु प्रेमपरक स्मृति बिम्ब हुन् ।

उनका कविता निरस र सुक्खा छैनन्, कलाचेतनाले भरिएका छन्, आलांकारिक छन् । ठाउँ–ठाउँमा प्रकृतिको सहारा लिएर बिम्ब निर्माण गरेका छन् । बिम्ब निर्माण गर्दै सरल भाषामा प्रभावपूर्ण कविता सिर्जना गर्न कवि खालिङ निकै सफल देखिन्छन् । उनले आफ्ना कवितामा पूर्वीय र पाश्चात्य मिथकको यथेष्ठ प्रयोग गरेका छन् । समकालीन नेपाली कवितामा बिम्ब र मिथकको प्रयोग एक विशेषताका रुपमा आइरहेका सन्दर्भमा भूटानी कवि खालिङ्का कविता पनि  विश्लेष्य हुन आउँछन् ।

 

सन्दर्भ सामाग्रीः

गौतम, लक्ष्मणप्रसादः समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण

त्रिपाठी, गिताः समकालीन नारीकवितामा मिथकको प्रयोग (गरिमा पूणाङ्क ३५६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *