धन्यवाद बहादुरे
–मनबहादुर थापा
बहादुरे खुदुनावारीस्थित भूटानी शरणार्थी शिविरमा बस्तै आएको एक शरणार्थी हो । व्यवहारले सरल र सोझो मान्छे ऊ । शिविरको पश्चिमतिरको गाउँ सुखानीको एक घरमा पाखुरे बसेको थियो ऊ । यतिका वर्ष त्यसै घरलाई कर्म थलो बनाए पछि ऊ घरमुलीको इमान्दार पाखुरे । ऊ वर्षेनी खेत जोत्नु र गाई–गोरु चराइदिए बापत पाएको ज्याला र धन्यवादको वृष्टिले दङ्ग थियो ।
केही दिन अघि गोल्धाप र शनिश्चारे शिविरमा एकै दिन दुई ठाउँमा आगलागी भयो । बहादुरेले दिनभरि त्यही कुरा गरेर सुतेको हुँदा उसले सपनामा पनि त्यही आगलागी भएको देख्यो । शिविरदेखि आगलागी भएर पर–परसम्मको गाउँलाई आगोले भेटेको सपना थियो त्यो । सपनाको त्यो कुरा बिहान उठेर मालिकलाई सुनायो “हजुर,शिविरदेखि आगो सल्केर गाँवै सिद्धयाएको देखेको छु ।”मालिकले ऊसँग रिसाउँदै सोध्यो–“किन बहादुरे,तिमीहरुलाई अमेरिकन भुतले खायो भन्दैमा हामीलाई पनि तर्साउन लागेको ?” मालिक,मैंले यो गाँवै भस्म भएको देखेको छु । मेरो सपना त सत्य पो हुन्छ है ।
मालिक बहादुरेको कुरा सुनेर केहीबेर टवल्ल प-यो । केही दिन पछि दिउँसोको खबर रेडियोमा बज्यो । “गोल्धाप शिविर आगलागी भएपछि त्यहाँ बसोबास गर्ने शरणार्थीलाई वेल्डाँगी–२ मा स्थातन्तरण गरिनुका साथै तेस्रो मुलुक जान चाहनेहरुलाई पठाई सकिएको छ । हाल गोल्धाप शिविर छेउछाउका गाउँलेहरु पाखुरे खोज्न अरु शिविरतर्फ । त्यहाँको फल–फूलले बजार पाएन,सडक निर्माण र ग्रामिण विकास योजना ठप्प ।”
त्यसपछि बहादुरेलाई धन्यवाद दिँदै मालिकले भन्यो –“बहादुरे केही प-यो भने सम्झनु,फेरि–फेरि आउँदै गर्नु ।” यसरी मालिकले बहादुरेलाई विदा ग-यो ।
छक्क पर्दै बहादुरेले सध्यो–“मालिक, यो के गर्नु भएको ? मेरो इमानदारीताको पुरस्कार यही हो ?”
मालिकले उसलाई भन्यो–“अवश्य हो । तेरो काम त गोरु जोत्नु थियो । बठ्याइ छाँट्न थालिस्…….”