धमिलो आकाश

कवि
कवि

रमेश गौतम 
नर्वे 

आकाश धमिलिँदै छ-

आइसल्याण्डिक ज्वालामुखीको धुवाँले
आकाश धमिलो भएको छ ।

पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू
एकै ठाउँमा बिलाएका छन्
– एउटा वियोगान्त क्षण !

हाइटीमा
भूकम्प गएको छ
हजारौँ मरेका छन्
लाखौँ घरबारविहीन भएका छन् ।

भोकभोकै
मर्दै छन् बालबालिकाहरू
रित्तिँदै छन् लाखौँ आमाका कोखहरू
नाङ्गिदै छन् करोडौँ मानिसहरू
सत्य- संसार चल्दै छ ।

यति बेला
मेरो देश
ब्राजिलबाट फर्किएको छ
‘कुल राष्ट्रिय खुसी’ को सम्मेलन सकेर
र तयारी गर्दै छ
बर्लिङ्टन विश्वविद्यालयमा अर्को सम्मेलन !

यति बेला
मेरो देश सुतेको छ
सबै सबै भुलेर
मेरो देश, यति बेला
हिन्दी, अङ्ग्रेजी र जोङ्खामा
कवितावाचन गर्दैछ
नाच्दै छ उल्लासमा सायद ।

फेरि धमिलिँदै छ आकाश !

१९/०५/२०१०
नर्वे

Leave a Reply

Your email address will not be published. Required fields are marked *