धराप आत्मवोधको आलाप

बुद्धमणि ढकाल
केन्टकी, अमेरिका

 

पहाडसँग साइनो मेटीजाला कि
खोला खोल्साको गीत
समुद्री छालमा बिलाइजाला कि
सन्ताप छ सन्ततिप्रति
आफ्नै जरो काटेर
चिनारीको छहारी खोज्ला कि !


मान्छे काँचुली फेर्दै छ
वा रङ भर्दैछ
तमाशा रङ्गमञ्चका पात्रसरि
बजारमा नाम बेचेर
सौदाको थुन्सेमा
खोक्रो, जडाउरी आत्मबोध खेप्छ !


छोरी —
मधुमासको बेला
पारपाचुकेको कुरा झिक्छे
छोरो —
यन्त्रको जड सहारामा
मानवताभित्र यान्त्रिकता भर्छ

बाबु —
पुँजीवादको दलदलमा
श्रम बेच्छन्, भर्छन् अरुको भकारी !
आमा —
फुरुङ्ग छिन्
अगुल्टो ठोस्नु पर्दैन
बुहार्तन झेल्नु पर्दैन !


छोडिए पहाडमा सन्तान
जरा हल्लिएर बाँचेका
जङ्गली बास
फुस्रो चेहरा, क्लान्त ज्यान
मरेको आश
आउदैन शहर पसेको स्याल
अथवा
गुलेलीको चोट भोगेको चरा
गुँड सम्झेर विरह
घर सम्झेर वियोग I


पातमा गीत सुसेलेर
पहाडसँग जोडिने मन
बरालीरहन्छ, हिउँसरि पग्लिरहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *