नदि फेरि सुसाउँछ
शुकदेव अधिकारी
ओहायो, अमेरिका
धुलो, धुवाँ र कोलाहलमा हराएको सहर ।
मानिसहरूको भीड । हरेक अनुहार पराई ।
त्यो बिरानो ठाउँमा नयाँ जिन्दगी खोज्न ओर्लिएँ म मोटरबाट । नयाँ सपनाको खेती गर्न गाउँबाट चुँडिएर सहरमा खस्न पुगेँ म ।
बाटाहरू छन् , गन्तव्य छैन । मानिसहरू छन्, आफ्नोपन छैन । विभाजित मस्तिष्क बोकेर कहिले ओल्लो बाटाको मुखमा त कहिले पल्लो सडकको छेउमा पुग्दै फर्कँदै गर्न थालेँ । केही अगाडि पुग्दा एउटा साँगुरो गल्ली छुट्टियो मूल सडकबाट । त्यै गल्लीलाई आफ्नो भरोसाको केन्द्र ठानेर ऊ जता मोडिन्छ मेरो गन्तव्य त्यतै मोडियो । ठुल्–ठुला भवनहरूका बीचमा चेपिएको साँगुरो गल्ली । आफ्नो टाउको भन्दा सिधा माथिको आकाश बाहेक अरू केही पनि देखिँदैन । दर्जनौँ घुम्ती र मोडहरू छिचोलि सक्ता पनि खुल्ला आकाश देख्न नपाएपछि, त्यो सिमेन्टको जङ्गलमा आफु हराएको महसुस हुन थाल्यो । मनमा एक प्रकारको नैराश्य झाँगिन थाल्यो । रातभरिको बसको यात्रा, भोको पेट, जीउ लल्याकलुलुक हुन थाल्यो । दुई–तीन जोर कपडा हालेको आफ्नो झोला पनि भारी भइसक्यो ।
बाटामा हिँड्ने हरेक मान्छेको अनुहारमा परिचय खोज्न थालेँ । त्यहाँका सलह बग्ने मान्छेहरूमध्ये न कुनै एकजना मैले चिनेको अनुहार देखियो न उनीहरूले नै मलाई चिन्थे । मिर्मिरे उज्यालो हुँदा बसबाट ओर्लिएर हिँड्न थालेकी, कतिबेला घाम झुल्कियो, कतिबेला मन्दिरमा घण्टी बज्यो, कतिबेला पँधेरामा गाग्राहरू बजे पत्तै भएन । एकैचोटि तालुमा घामले पोल्दा मात्र थाहा हुन्थ्यो मध्य दिन भएको । न आत्मीयताको न्यानो लिएर बग्ने पहाडी हावा थियो यहाँ न बरपीपलको शीतल छहारी ।
दिन ढल्दै गयो । मेरो हिँडाइ भने रोकिएन । सहरका कैयौँ पसल र होटलहरूमा छिरेँ । ‘काम देऊ’ भनेँ । यत्रो सहरमा कतै पनि मैले गर्ने काम मिलेन । हैरान भएर सडकका पेटीमा थचक्क बसेँ । सडकपारिको एउटा आधुनिक भवन अगाडि साइनबोर्ड देखियो– ‘ब्लु नाइट मसाज सेन्टर’ । साइनबोर्डले पल्टायो दिमागको एउटा पाना– ‘हाम्रै गाउँकी सम्झना– ऊ मसाज सेन्टरमा काम गर्छु भन्थी । पोहरसाल गाउँ जाँदा उसको हाउभाउ हेर्न लायकको थियो । किसिमका कपडा र महँगा गहनामा सजिएकी थिई ऊ । आफ्नै कमाइबाट ।’
सानो आशा पलायो । त्यो भवनअगाडि गएँ । काउन्टरमा एकजना मोटी अधबैँसे थिइन् घुम्ने कुर्सीमाथि ।
“सम्झना थापा यहाँ काम गर्छिन् ?”
अलिकति उत्सुकताले भरिएको स्वरमा मैले प्रश्न गरेँ ।
“को सम्झना ! छैन यहाँ ।”
“तर ऊ त मसाज सेन्टरमा काम गर्छु भन्थी ।”
महिलाले मेरो सोझोपनको फाइदा प्रसस्त देखिन् सायद, भनिन्– “तिमी कहाँबाट आएकी ?”
“म उही सम्झनाकी साथी हुँ । गाउँबाट आएकी । मसाज सेन्टरमा काम पाइन्छ । कमाइ पनि राम्रो हुन्छ भन्थी ऊ ।”
गललल…हाँसिन् तिनी । “यस्ता मसाज सेन्टर सयौँ छन् यस सहरमा । तिम्री सम्झना कुन ठाउँको कुन सेन्टरमा काम गर्छिन् कसरी थाहा हुन्छ ? न ठेगाना छ, न त फोन नं. नै ।”
मेरो भर्खरै पलाएको आशाको मुनामा सुनामी पस्यो । निराशै–निराशाले भरिएको आँखाले ती महिलालाई हेरिरहेँ । उनी अरू कुनै ग्राहकसँगको लेनदेनमा व्यस्त थिइन् । म फर्केर हिँड्नै लाग्दा उन्ले सोधिन्– ‘के तिमी यहाँ काम गर्छौ ?’
मलाई त्यो प्रश्न ‘के खोज्छस् कानो आँखो’ भयो । बडो उत्सुकताको स्वरमा भनेँ– “गर्छु दिदी” ।
त्यस साँझदेखि सुरु भयो मेरो काम । पुरुषहरूको सेवामा जुट्नुपर्ने । उनीहरूले जे–जे भन्छन् त्यैत्यै गर्नुपर्ने । जुन–जुन अङ्ग मालिस गर्नु भन्छन् त्यै गर्नुपर्ने । एउटा फोहोरी चरितकलामा बचाउनुपर्ने चोखो मन ।
मालिसका लागि आउने प्रत्येक मान्छे मेरो अस्मितामाथि प्रहार गर्न खोज्थे । म इन्कार गर्थेँ । ऊ जबरजस्ती गर्न खोज्थ्यो । म चिच्याउँथेँ । ऊ छोडेर बाहिर निस्कन्थ्यो । म जिन्दगीलाई धिक्कार्न थाल्थेँ । ऊ मालिक्नीसँग असन्तुष्टि पोख्न थाल्थ्यो । अनि म मालिक्नीको गाली, धम्की र लछार–पछारमा पर्थेँ ।
प्रत्येक दिनको यस्तो फोहोरी कार्यतालिकाबाट विश्राम लिने वैकल्पिक मार्ग सोच्दा–सोच्दै हरेक रात बन्द हुन्थे आँखाका ढकनी आधा राततिर । हरेक रात दिमागमा पिङ खेलिरहन्थे विचारहरू । छलफल हुन्थ्यो, चर्काचर्की पथ्र्यो, निचोड निस्कँदैनथ्यो । एउटा रात यस्तो आयो जहाँ विचारहरूबीच सहमति जुट्यो, जसअनुसार म गाउँ फर्कने निर्णयमा पुगेँ । काल्पनिक सपनाको फूलबारीभन्दा यथार्थ मरुप्रदेशको काँडे झाडी उत्तम हुँदो रहेछ भन्ने आत्मबोध भयो ममा ।
अर्को दिन बिहानै आफ्नो पोको तयार पारेर मालिक्नीसँग बिदा माग्न जाने क्रममा कोठाको ढोकामात्र के खोलेकी थिएँ एकजना शालीन युवक परे मेरो दृष्टिमा । उनी मेरो कोठाको ढोका ‘नक’ गर्न खोज्दै रहेछन् । उनले कोठामा पस्ने अनुमति खोजे । मैले दिएँ । मसाज बेडमा पल्टिए उनी म–नजिकै । सधैँ आउने मान्छेहरू भन्दा फरक थियो आज आएको ग्राहक । उनी शिष्ट थिए, सभ्य थिए । जसरी अरू मान्छे आउँदा उनीहरूले पिएको मदिराको दुर्गन्धित क्षेत्रफलबाट बाहिर निस्कन ठुलो कसरत गर्नुपथ्र्यो त्यो समस्या परेन आज । मसाज सिद्धियो । अरूले जस्तो असान्दर्भिक ठाउँमा असान्दर्भिक तरिकाले मसाज गर्न न निर्देशन दिए न आग्रह नै गरे उनले । बरु सभ्य भाषामा शारीरिक सम्पर्कको अनुमति खोजे । मैले ‘हुन्न’ भनेँ । त्यो भन्दा एक कदम पनि अगाडि बढेनन् उनी । मुसुक्क हाँसेर बिदा भए जाने बेला “म भोलि फेरि आउँछु” भन्दै गए ।
‘म भोलि फेरि आउँछु’ यो वाक्य दिमागमा सिधा गएर बस्यो र बसिरह्यो धेरै बेरसम्म ।
मेरो सहरको बसाइको समय एक दिन थपियो, ती युवकको व्यावहारले । कुनै कम्प्लेन नगरी गएकोमा मालिक्नीको क्षुद्र व्यावहार सहनु परेन आज । उनका आँखा उज्याला थिए । सोचिन् होला– अब म बानी पर्न थालेँ । ती युवकको सङ्गतबाट भर्खरै सञ्चित भएको सहरका मानिसका प्रति जुन मेरो धारणा थियो त्यो बदलिएर गयो । सहरका आँखाले दासता र फोस्रो माया मात्र बाँड्छ, त्यो पनि कटु सत्य भएर गडेन दिमागमा आज ।
प्रश्न खडा भयो– के म यो सहरमा जीवन डो¥याउन सँकुला ?
विचारहरू फेरि जुटे छलफलमा । गाउँ फर्कने वा नफर्कने । निर्णय तिनै युवकको वाक्यमा ठोकिन पुग्यो, ‘म भोलि फेरि आउँछु’ ।
ती युवकको आकृतिमा परिचयको कुनै सानो झल्को पनि थिएन तर तिनको आचरणमा वैरभाव पनि देखिनँ मैले । भोलिपल्ट उनी फेरि आए । उनको बोली र व्यवहारमा कुनै परिवर्तन थिएन । उतिकै उज्याला र शालीन देखिन्थे । मेरो कोठामा छिरेर मुसुक्क हाँसे । मसँग हाँस्नुपर्ने कुरा केही थिएन, केवल उसको हँसाइको प्रतिक्रिया मात्र दिएँ मैले । कोठाको ढोका ढप्क्याउँदै आँखाको एक कुनाबाट उसको अनुहारको अध्ययन गर्दै के थिएँ, उसका आँखा पनि मेरो अनुहारतिर सोझिए । आँखा जुधे तर जुधाइको हारजीत हुनु पहिले नै आफ्ना आँखालाई एक उचित मोड दिन सफल भए उनी । उनका आँखा भित्तामा झुन्डिएको एउटी अर्धनग्न युवतीको तस्बिरमा ठोकिन पुगे ।
वास्तवमा आजसम्म यो तस्बिर राम्रोसँग अवलोकन गरेकै रहेनछु मैले । तस्बिर राम्ररी हेर्दा आफैँलाई लाज लागेर आयो । युवतीको सिङ्गै शरीर लगभग नग्न थियो जहाँ सानो कपडाको टुक्राले बलजफती लज्जाको रक्षा गरिरहेको थियो । “यो तस्बिर कसको हो ?” युवकको सहज प्रश्न थियो ।
“कुनै एक युवतीको ।” चेतनाको सतहबाटै उत्तर दिएँ मैले । उसका अगाडिका दुईवटा दाँतले तल्लापट्टिको ओठको एक छेउ टोकेर रहे विना कुनै आवाज ।
केही क्षण पछि मसाजका लागि तयार भएँ । ‘वास्तवमा नारीले पुरुषसँग कुन ठाउँमा रेखा कोर्छे र भन्छे यो भन्दा यता होइन ।’ मसाज सुरु भए लगतै उनी अलि–अलि सङ्कोच मान्दै, अलिकति रोमाञ्च महसुस गर्दै मेरो शरीरका संरक्षित स्थानहरूमा हात डुलाउन थाले, मानौँ उनी कुनै अनुसन्धान गर्दै छन् शरीरमाथि । मेरो शरीरले कुनै त्यस्तो प्रतिक्रिया देखाएन जसको कारण उनले आफ्नो हात हटाउनु परोस् । मभित्र उमङ्ग र डरको मिश्रित भाव सल्बलाउन थाल्यो । दुवैका शरीर सक्रिय रहे केही समय, जहाँ चेतना गौण रह्यो । एकाएक उनको शरीरको कडापन हराएर गयो । जुरुक्क उठे उनी बिस्तराबाट । आफ्नो कपडा यति सभ्य तरिकाले मिलाए कि लाग्थ्यो उनी यस रोमाञ्चमा सहभागी नै थिएनन् । म आफुलाई समालिरहेकी थिएँ । उनले आफ्नो निधार मेरो निधारमा जोडे हल्का दबाव दिएर– लाग्यो कुनै सम्झौता गरिरहेका छन् । आज पहिलो चोटि मेरो शरीरले कुनै पुरुषको शरीरको स्पर्शको अनुभव ग¥यो ।
जाने बेलामा उनले भनेका थिए, “म फेरि आउनेछु ।”
म असजिलो हाँसो हाँस्न बाहेक केही भन्न सकिरहेकी थिइनँ ।
त्यसको तीन दिनपछि आए उनी । आज उनी कम चञ्चल बढी भावुक र गम्भीर देखिन्थे । कोठामा छिर्नासाथ मेरो हात समाएर भने– “आज म मसाज गराउन आएको छैन । म तिमीसँग एउटा सम्झौता गर्न आएको छु ।”
“कस्तो सम्झौता ?”
“यस्तो सम्झौता जो तिमी र मेरा बीच एउटा दीर्घ सहयात्री बन्ने छ ।” ओेठले नसके पछि हृदयले बोलेँ मैले– ‘म पनि तिमीसँग यस्तै सम्झौता गर्न चाहन्थेँ’ । उनी एकक्षण एक अज्ञात भावुकताको भुमरीमा परे र बोले, “म तिमीसँग विवाह गर्न चाहन्छु” ।
“विवाह ! मसँग !”एउटा बनावटी आश्चर्य निस्कियो मेरो मुखबाट ।
“हो, म तिमीसँग एउटा सुन्दर संसार रच्न चाहन्छु । सुखी भविष्यको निर्माण गर्न चाहन्छु ।”
“तर………।”
“तर के ? तिमीले आफु मसाज सेन्टरमा काम गर्ने केटी भनेर आफुभित्र हीनताबोधलाई उमार्न खोजिरहेकी छौ, त्यै हैन ।”
म उनलाई हेरेर बसिरहेँ विना कुनै प्रतिक्रिया ।
उनी वकालत गर्दै गए– “यी सब कुराहरूले ममा कुनै फरक पार्दैन, पार्नु पनि हुँदैन । तिमी मसाज सेन्टरमा काम गर्ने कटी हौ त म यस्ता सेन्टरहरूमा दैनिक धाउने ग्राहक हँु । यसमा तिमीमात्र अछुतो कसरी भयौ ? एउटा पुरुष जो हरदम आफ्नो शरीर परस्त्रीबाट मसाज गराउँछ, यौनक्रिडामा रमाउँछ, त्यो समाजमा सधैँ सुकिलो देखिन्छ । उसको चरित्रमा कुनै खोट देखिँदैन । जब एउटी महिला त्यै काम गर्छे, उ सधैँ घृणाको पात्र बन्छे, हीनताबोधले ग्रस्त हुन्छे र जीवनलाई बाटैमा तुवाउन बाध्य हुन्छे–हाम्रो समाजमा । हामीले यस्तो परपीडक परम्परा तोड्न सक्यौँ भने आउँदो पिँडीका लागि उपहार हुनेछ ।” अलिकति आग्रह, अलिकति चेतावनीमिश्रित आवाजमा बोले उनले, “तिम्रो निर्णय चाहिन्छ मलाई, भोलिसम्ममा ।” उनी निस्किए कोठाबाट ।
उनको यति फराकिलो सोचाइको परिधि देखेर अर्को चोटि हीनताबोध भयो मलाई । भावुकताको गणितबाट उम्केर कुनै अभावुक र ठोस निर्णय निकाल्न सकिरहेकी थिइनँ म त्यसबेला । विविध आशङ्काका फूलहरू फूल्न थाले मनभित्र । अनगिन्ती सोचाइहरूको भेल बग्न थाल्यो । ‘आखिर कस्तो मान्छे हो त्यो जो मेरो जीवनमा आउन खोज्दै छ ? के पायो उसले ममा त्यस्तो र एक बेसहारा केटीको सहारा बन्न खोज्दै छ ? आजसम्म मैले पत्ता लाउन नसकेको के त्यस्तो वस्तु पायो उसले ममा जसको कारण मसँग आकर्षित छ ? के यो ढल्दो दिनमा फक्रेको बैँस दीर्घकालीन खु्ुसीका लागि हुन सक्छ ? सुकेको रूखको आशा नभएको हाँगाबाट एक्कासि पलाएको टुुसाबाट फल फल्न सक्छ ? के उसले साँचिकेै आत्मीयताको सानो लोक निर्माण गर्न खोज्दै छ वा मेरो विवशताको फाइदा उठाउन ?’ अनेक प्रश्नहरूको भुमरीमा छोपिन पुगेँ । वास्तवमा म आफुभित्र आफैँ हराएको अवस्था थियो त्यो ।
त्यतिकैमा दिमागको कुनै एउटा चनाखो कुनाबाट दोहोरियो वाक्य ‘म तिमीसँग विवाह गर्न चाहन्छु’। ‘विवाह’ शब्दले मेरो स्मृतिको करिब बाह्र वर्ष पुरानो पाना पल्टाइदियो । म आफ्नै अतीतको खाडलमा खस्न पुगेँ । ‘म आज जहाँ छु, जीवनको जुन मोड र लयमा छु, त्यो सब मेरै अतीतले दिएको उपहार हो । मोडहरूमा कतै छोडेर आएका पुराना दिनहरू मेरा आँखामा चलचित्रको पर्दामा झैँ गतिशील भएर बग्न थाले ।
*******
भर्खरै जीवनको पहिलो खुड्किलो टेक्न पुगेकी अन्दाजी पन्द्र वर्षकी थिएँ म त्यस बेला, हाम्रो घरमा मेरो विवाहको कुरा चल्यो । मैले बिहे नगर्ने भनेर जिद्दी गरेँ तर बाबाले मान्नु भएन । “केटा राम्रो र धनी परिवारको छ, पढेलेखेको पनि छ । यस्तो मौका फेरि नआउन सक्छ, छोरी तँ जिद्दी नगर्” भनेर सम्झाउनु भयो ।
आखिर मेरो बिहे भयो नै । हाम्रो परिवार सामान्य अवस्थाको थियो । त्यै अनुसार विवाह सम्पन्न भयो । मलाई बिदाइ गरेर बाबा टोपीले मुख छोप्दै घरभित्र पस्नु भयो ।
जन्तीहरू बेहुला–बेहुली लिएर फर्के, मोटरमा चढेर । बेहुलाको घरसम्म पुग्नलाई नदीको किनारै–किनारको बाटो भएर जानु पथ्र्यो । बाटो नदीको सतहभन्दा केही उचाइमा थियो । झ्यालबाट तल नदीमा हेर्दा मन सिरिङ्ग हुन्थ्यो । बसको छतमा बाजा बजाउने, गाउने र नाच्नेहरूको तमास थियो । पुनः एउटा मोडमा पुगेर मोटरको अगाडीको पाग्राले बाटो छोड्यो । खस्यो बस तल नदीमा । हाहाकार भयो । बसमा भएका मध्ये धेरैको जीवितै उद्धार भएछ । जीवित हुनेमा म पनि थिएँ, तर मेरो बेहुलो लगायत केही मानिसहरू भेटिएनन् । नदी, ठुलो र गहिरो थियो । पानीको बहाव धेरै थियो । गाउँका मान्छेहरू, पानीमा पौडन जान्नेहरू, डुङ्गा खियाउन सक्नेहरू सबैको भरमग्दुर प्रयासमा दुईजनाको लास भेटियो तर बेहुलाको पत्ता लागेन ।
दिन बित्यो, हप्ता बित्यो, महिनौँ बिते, तर न उसको लास फेला प¥यो न जीवित । यो घटनाले कसैका आँखा ओभाना रहेनन् । उसको बाबा छाती पिटी–पिटी रुनुहुन्थ्यो । मलाई भने त्यसबेला त्यत्रो ठुलो अघात परेन । उसँग मेरो त्यस्तो घनिष्टता केही पनि थिएन । मलाई केवल यति थाहा थियो, उसको नाम सुशील हो, ऊ एउटा संस्थामा राम्रो पोस्टमा काम गर्छ । तर पछि जब मेरो उमेर बढ्दै गयो ठुलो पीडा महसुस हुन थाल्यो । जीवनको एउटा पाटै गुमाएकी रहेछु भन्ने लाग्यो ।
घटनाको एक वर्षजति उसकै घरमा बसेँ । घरमा सासु थिइन् । सुरु–सुरुमा राम्रै थियो । दिन बित्तै जाँदा सानातिना कमजोरीहरूलाई आँैल्याएर उनको छोरो मेरो कारणले गुमेको हो जस्ता आरोप लगाउन थालिन् । अन्त्यमा म त्यो घरमा कहिल्यै नफर्कने प्रतिज्ञा गरेर आफ्ना बाबाको घर गएँ ।
बासँग दाजु–भाउजु हुनुहुन्थ्यो । मेरी आमा म सानै छँदा बित्नु भएको हो । म फर्केको केही महिनापछि दाजु–भाउजु छुटिएर फाल्टै बस्न थाल्नु भयो ।
बाबा र म जेनतेन जिन्दगी घचेटि रहेकै थियौँ । विपत्तिका दिनहरू विनापूर्णविराम चलिरहे । एउटा साधारण रोगले लिएर गयो बाबालाई । बाका चितामा आँसुका फूल चढाएर फर्केपछि दुनियाँमा आफु नितान्त एक्ली भएको महसुस हुनथाल्यो । केही वर्ष दाजु–भाउजुसँग बसेँ । तर त्यो अमिल्दो समीकरण सधैँका लागि हुन सकेन । उनीहरूका लागि म कुठाउँमा निस्केको पिलो जस्तो पीडादायी बन्न पुगेँ ।
दाजु–भाउजुको अपमानको हतियारको प्रहार खप्न नसकेर धेरै पटक आत्महत्याको प्रयास पनि नगरेको हैन । साथमा एउटा खिरिलो डोरी राखेकी थिएँ । मनमा बाढी पस्नासाथ डोरी समात्थ्यो हातले । लाग्थ्यो, बाढीले सहनशीलताको तटबाँध भत्काउन थालेपछि यो डोरीको सही सदुपयोग गर्नेछु । फेरि मन फर्कन्थ्यो र सोच्थेँ, ‘आजको आँसुको भेलमा बाँच्न सके भोलिको उज्यालो बिहानी देख्न पाइनेछ’ । त्यै डोरी नै मेरो भरोसाको केन्द्र भएर बस्यो महिनौँसम्म ।
एकनासे पीडा भोगाइबाट कोल्टे फर्कन खोज्दा एउटा बाटो देखा प¥यो –‘गाउँ छोडेर सहर पस्ने’ ।
सहर पस्नेहरूको होडबाजी राम्रै चलेको थियो गाउँमा । एउटा समूह अन्योलको भविष्य फाट्ने आसामा सहर पस्थ्यो । अर्को ताँती आशावादी वर्तमान भोग्न गाउँ छोड्थ्यो ।
चोइटिएका सपनाहरूको पोको काखी च्यापेर एक दिन बिहानै बस चढेँ सहरका लागि ।
आखिर विवाहको प्रस्तावलाई स्विकारेँ मैले । हाम्रो विवाह भयो त्यही नजिकैको एउटा मन्दिरमा । विवाहमा हामी दुई बेहुला–बेहुली थियौंँ जन्ती पनि हामी नै । विवाहको साक्षी हामी दुईबाहेक कोही थियो भने त्यही मन्दिरका पुजारी थिए जसले हामीलाई टीका लगाएर आशिर्वाद दिए । मन्दिरबाट हामी सोझै उसको कोठामा गयौंँ । रात परिसकेको थियो । मेरो निम्ति निकै अविस्मरणीय रह्यो त्यो रात ।
मेरो पूर्वपतिप्रतिको श्रद्धा मनको कुनै एक कुनामा अमिट भएर बसेको रहेछ भन्ने तथ्य त्यो रात मात्र थाहा पाएँ । तर स्मृतिका कुनाकाप्चाबाट पटक–पटक उसको सिङ्गो आकृति आँखामा उतार्ने प्रयासमा म असफल भइरहेँ । फुटेको ऐनामा बनेको प्रतिबिम्ब जस्तो टुक्रा–टुक्रा भएर आउँथ्यो, र ती टुक्राहरू जोडिएर सग्लो आकृति बन्न नपाउँदै छेउमा सुतेको नवपतिको आकृतिले ढाकिदिन्थ्यो ।
भनिन्छ, ‘पति पूर्वजन्मको आर्जन हो’। बाबा–आमाले कन्यादान गरेर दिएको पति मेरो आर्जन थियो वा सहरमा आफैँ भेट्टाएको । पति कसलाई मान्ने, जसबाट गर्भधारण गरिन्छ त्यो पति वा जसको सिन्दुर लगाइन्छ त्यो पति ? यस्तै अनेक प्रश्नको जालोमा छोपिएर मेरो सुहागरात बित्यो ।
त्यसपछिको एक हप्ता हामी त्यही कोठामै बस्यौं । अर्को दिन बिहानै बसमा चढियो उसको घर जानका लागि । दिनभरिको बसको यात्रा सिद्धिँदा घर पुगिँदो रहेछ । बाटामा पहाडहरू देखिन्थे, मैदानहरू देखिन्थे, खोलानाला देखिन्थे, झरनाहरू देखिन्थे । उनी मलाई ती सब प्रकृतिका वस्तुहरूको नाम फलानो हो, उम्को हो भनेर चिनाइरहन्थे । म चाहि नयाँ कुराको जानकारी पाएकोमा रोचक तरिकाले उनको कुरामा सही थपिरहन्थँे ।
दिउँसोको खाना खाएपछि मेरो कुममा टाउको अड्याएर निदाए उनी । म भने उसको टाउकाको भारलाई थेगेर सोझै रहिरहेँ । क्रमशः बाटो छोडिँदै गयो, दिन ढल्दै गयो । मोटर कालोपत्रे छोडेर ग्राभेल बाटोतिर मोडियो । अन्तिम एउटा जङ्गल छिचोलेर फाँटिलो गाउँमा निक्लियो ।
उनका आँखा खुले । तनक्क जीउ तन्काएर आफूलाई समाल्दै भने– “हाम्रो घर आइपुग्न आँटेछ” ।
टाढा क्षितिजमा सन्ध्या ओर्लने तरखरमा थियो । क्रमशः जौबारी, कोदोबारी, झपक्क फुलेका लालुपातेका बोटहरू पछि पर्दै गए । केही बेरपछि एउटा चौतारो भएको ठाउँमा मोटर रोकियो । हामी ओर्लियाँैं । मोटर पुनः गुड्यो । चौताराकै आडबाट साँगुरो गल्ली भएर करिब पचास मिटर हिँडेपछि एउटा फराकिलो आँगनमा उक्ल्यौँ । आँगनकै एक कुनामा एउटी जवानीले छोडिगएकी महिला साग केलाइरहेकी थिइन् । आँगनका पल्लापट्टि एउटा ठुलो खडा थियो । घरभित्र बालिएको दीपको मधुरो उज्यालो बाहिर चियाउने क्रममा झ्यालका प्वालहरूमा चेपिएर निसासिइरहेको थियो । उनले ती महिलानेर पुगेर आफ्नो झोला बिसाए । निहुरिएर तिनको खुट्टामा ढोग गरे, र मलाई पनि त्यसै गर्न सङ्केत गरे । ढोग गरेँ मैले पनि । बुढीले उनको अनुहारमा हेरेर भनिन्– “अम्मै कान्छा, तँ आइपुगिस्, भाग्यमानी भएस् ।”
क्रमशः बुढीका आँखाले मलाई पनि नियाले । एकाएक तिनको अनुहारमा यस्तो विचित्रको परिवर्तन आयो, जहाँ आश्चर्य, सहानुभूति र क्षामायाचनाका चिन्हहरू एकैचोटि देखिए । ठुलो आवाजमा कराइन् तिनी– “ए सुशील, बाहिर आइज त१” एक जना अधबैँसे उछिट्टिएर बाहिर निस्किए, मानौँ त्यहाँ एक भयानक घटना हुन गइरहेको छ ।
“हेर् त, बुहारी, सुजाता ! तेरी श्रीमती ! चिनिस् तैँले? आइपुगिछ बरा ।” कहाँ भेटिस् सुदीप भाउजुलाई ? कसरी चिनिस् ? यिनीहरूको बिहे हुँदा तँ विदेशमै थिइस् । प्रश्नमाथि प्रश्न थपिन् बुढीले ।
दुवै युवकका आश्चर्यचकित आँखा मतिर सोझिएका थिए । वाक्य फुटेको थिएन ।
पातहरु झरे पनि डाँठ चाहीँ नभाँचियोस् भन्ने लाग्दो रहेछ बुढा–बुढीलाई । उनी एक क्षमाप्रार्थी आवाजमा भनिरहेकी थिइन्,“बुहारी, मलाई माफ गरिदेऊ । मैले तिम्रा प्रति ठुलो अन्याय बोलेकी रहेछु । तिमीले छोडेर गएपछि हाम्रो घरमा बिलकुल शून्यता छायो । हामी त्यो घरजग्गा बेचेर यो गाउँमा बसाइँ स¥यौं । त्यस दिन खोलामा हराएको तिम्रो श्रीमान् बग्दै धेरै टाढा पुगेछ । कुनै एउटा बिरानो गाउँका मान्छेहरूले उसलाई किनारमा अचेत अवस्थामा लडिरहेको भेटेछन् । केही दिनमा नै उसको चेत फर्केछ तर स्मरणशक्ति भने गुमेको रहेछ । स्मरणशक्ति फर्कन पूरै दस वर्ष लाग्यो रे । त्यसै गाउँका एकजना भलादमीले उसको उपचार गरेछन् । तिनले नै यसलाई यहाँ ल्याइदिएर गए दुई वर्ष पहिले ।
अहिले सुशील पहिलाको जस्तै स्वस्थ र तन्दुरुस्त छ । तिमीलाई लिन भनेर तिम्रो गाउँ गएको थियो तर तिम्रो त्यहाँ पत्तो नभएपछि निराश भएर फर्कियो । तिम्रो खोजी गर्न जाने तरखरमा थियो ऊ । तिमी आइपुग्यौ राम्रो भयो ।”
ती अधबँैसें एक्कासि मेरो नजिक आएर यसरी अंँगालो हाले कि म त्यहाँबाट भाग्न लागेकी छु, उनी रोक्न चाहन्छन् । नजानिँदो तरिकाबाटा मेरा हातहरू पनि उनलाई अंँगालो कस्न पुगें । मनले भनिरहयो, ‘मेरो पूर्वजन्मको आर्जन ।’
अर्का युवक जो मलाई बेहुली बनाएर घरमा भित्र्याउन ल्याउँदै थिए उनी अजङको धर्मसङ्कटमा परेका थिए । निधारमा समस्यै समस्याको गाँठो देखिन्थ्यो । न उनी आँसुका थोपा झारेर पीडा पखाल्न सकिरहेका थिए न बेस्सरी चिच्याएर, ‘उसँग मैले पनि विवाह गरेको छु’ भनेर रहस्य खोल्न सक्थे । केवल उनी मूर्तिवत् उभिएर हाम्रो मिलनको साक्षी भइरहे ।
त्यसबेला सम्ममा मेरो पनि आँखा रसाइसकेका थिए । टिलपिल भएर आँसुका थोपा अडिएका थिए परेलीका डिल–डिलमा आएर । मेरो अँगालाका मानिसको आँखाबाट पल्टिएको एउटा मामूली थोपो मेरो परेलीको थोपासँग मिसियो र आसलाग्दो थोपो बन्यो ।