नपच्ने स्लोगनहरु
टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया
खैत मैँले खोजेका हस्तीहरु
रैन रहेछन् फेसबुक र गुगलभित्र
सायद उही बियर र हुस्कीमा व्यस्त होलान्
दुई इन्च कात्रो बेर्नेका धेराभित्र ।
देखिरहेछु मस्कीमस्की हल्लिरहेका
घमण्डी र लाचारी बेइमानहरु
आफ्नै अस्तित्व बेचीबेची रोमान्स गर्ने
झुटको खरिद गर्ने इमानदारहरु ।
सुनिरहेछु कौवाझैँ कराइरहेका
पछिपछि दौड़ने भरौटेहरु
लुकीछिपी स्क्यान्डलको खेती गर्ने
समाज खोक्रो पार्ने ती अमिबाहरू
दिनरात जातित्वको चर्चा गर्ने
असन्तुलनको विकृति बढाउने भाइरसहरू ।।
कसैलाई नपच्ने स्लोगनहरु निकाल्छन्
होमपेज बनाउँदै हरेक वेबसाइटहरुमा
सन्तुलन गुमेर पनि इमानदार बन्न खोज्छन्
झोलामा भ्रष्ट सोच बोकिहिँड्ने नाइकेहरु
पीडा के हो बुज्नै नसक्ने ती लाचार अगुवाहरु
पिठ्युँमा पछाडि जातित्वको काँडा बोक्छन्
अनि हरेक मौकामा चौकाहरु समाउँदै
पल पल रोप्छन् गरिबी मै छुवाछुतका छुराहरु।