नभएजस्तै भएकाहरू

कवि

सिजन नयन
धरान, सुनसरी

हो, यहींबाट सुरु हुन्छ
मेरो गाउँको कथा

संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने
अनि राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा
धर्तीभन्दा केही माथि
र आकाशभन्दा केही तल
ठ्याक्कै बादलको बीच भागमा घुमिरहने
एउटा निस्तब्ध गाउँ छ
त्यो गाउँ मेरो हो ।

हो, त्यही गाउँलाई
धेरै वर्षअघि
मुक्त गरेको हुँ मैले
कुनै देशको पन्जाबाट
तिमी रहुन्जेलसम्मका लागि

र, त अहिले
निस्फिक्री नाचिरहेको छ
मेरो गाउँ
बादलको भूमिमा

छन पनि के छैन र ? मेरो गाउँमा
मान्छेमा जस्तै संवेदना भएका
बोटबिरूवाहरू छन्
प्रत्येक भेटमा न्यानो आत्मीयता
साटिहिँड्ने जीवजन्तुहरू छन्
कोइलीभन्दा मीठो गाउने चराहरूको हूल छ
आ–आफ्नै भाकामा
सङ्गीतको झङ्कार बोल्ने नानीहरू छन्

सबैलाई माया गर्ने तिमी नहुँदा
यी सब भएर पनि
नभएजस्तै भइरहेछ
तिम्रै न्यानो काखको खोजीमा
यहाँका सबैले पर्खिरहेका छन्
तिमीलाई नै
बेपत्ता छौ तिमी सबैलाई छाडेर
साँच्चै, कहिले आउँछौ हँ ?
तिमी, मेरो गाउँमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *