नयाँ वर्ष

धर्मेन्द्र तिम्सिना ”क्षितिज”
ओहायो, अमेरिका

नयाँ वर्ष आउँदै छ
फेरि यसपालि पनि त्यही नयाँ वर्ष आउँदै छ
पोहोरको जस्तै
परारको जस्तै

नयाँ वर्ष लाग्यो भनेर
नयाँ साल आयो भनेर
सिङ्गै राँगो ढालेर
कुखुराका ठेली काटेर
सुँगुरको सुकुटी बनाएर
रौसी र जाँडसँग
शुभकामना साटासाट गर्नुपर्दैन
किनकि नयाँवर्षलाई नयाँ
नयाँ वर्षलाई सुनौलो
तिमी आफैँले बनाउने हो
न कि नयाँ वर्षले तिमीलाई नयाँ बनाउनेछ
नत्र नयाँ वर्ष
नत्र नयाँ साल
पोहोरजस्तै पुरानो भएर सिद्धिने छ
पोहोरस्तै पुरानो भएर सकिने छ

तिम्रा ती ओठहरूले
तिम्रा ती आँखाहरूले
अब झुट बोल्ने छैनन्
अब असत्यको बाटो हिँड्ने छैनन्
भनेर पोहोर पनि भनेका थिए
बाचाहरू खाएका थिए
तर खै !
त्यही पुरानै दोहोरियो पोहोर पनि
नयाँ केही भएन
तिम्रा योजनाहरू
त्यही पुरानो भएर थन्किएका छन् कुनामा
माकुराले जालो पनि लगाएको होला
मुसाले गुँड पनि लगाएको होला
सायद अब ती नयाँ हुन सक्ने छैनन्
अनि तिमी पनि पोहोर जस्तै
परार जस्तै
नयाँ योजनाहरू बनाएर
छताछुल्ल छोडिदिनेछौ योजनाहरूलाई
जिन्दगीका नयाँ गोरेटाहरूलाई

विश्वास नै लाग्दैन आजकाल तिम्रो
तिमी जस्ताको तस्तै छौ
परिवर्तन मात्र तिम्रो जुँगा दार्हीमा भएको छ
फूल्न थालेका छन् दाह्री जुँगा
तिमीले जाने भट्टी फेरिएको छ
सुन्तलीको भट्टी अहिले सुनकेश्रीको भएको छ
ब्राण्डहरु फेरिएका छन्
लोकलबाट महँगो ब्राण्डमा पुगेका छौ
खै के परिवर्तन भन्नू र यसलाई
तिम्रो विचार जहाँको त्यहीँ छ
तिमी पहिलाको जस्तै कपटी छौ
पहिलाका जस्तै जाली छौ
पहिलाको जस्तै निर्दयी छौ ।

अब नयाँ वर्षमा
तिमीले केही भाकल नगरे हुन्छ
तिमीले कसमहरू नखाए हुन्छ
नयाँ वर्षमा हर्षका साथ मलाई
परिवर्तनको चिठी नपठाए हुन्छ
किनकि !
तिम्रो विश्वास टुटिसकेको छ
तिमीले दिने हरेक शुभकामनाहरू
मात्र शुभकामना हुनेछन्
तिमी शुभकामना लेख्छौ अनि उसैमाथि जाइलाग्छौ
आज रुन्छौ अनि भोलि रुवाउँछौ
छेपारोजस्तै छौ तिमी
हरेक पल रङ फेरिरहन्छौ
छेपारो जस्तै
छेपारो जस्तै ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *