नरकवासी

निराश यात्री

नरक भित्रको एउटा सानो कोठा
उज्यालो देख्ने प्राय आशा नै थिएन
आँसु र चिच्याहटका प्रत्येक पलहरू
उसका अनुभवका पोकाहरूमा
एकाएक बाँधिन थाले
बेलाबेला यमराजको आगमन हुँदा
ढोकाहरू आफैँ उघ्रन्थे,
आफैँ बन्द हुन्थे
सिद्धान्तको पहरा दिइरहेको ऊ
अकर्मण्यताको दास भएझैँ
एउटा कुनामा टोहोल्ली रह्यो।

पराजयको साङ्लोले बाँधिएका
शक्ति सम्पन्न हातहरू पनि
अन्ततः शक्तिहीन हुन्छन्
पीडाभित्रका असङ्ख्य उत्तरहरू लिएर
यमराजका दूतहरू
अनवरत आउने र जाने क्रम जारी रहन्छ।

मुटुका प्रत्येक धड्कनहरूमा
समयका काँटाहरू चली नै रहे
तर उसका लागि हैन
यमराजका निम्ति चलेको त्यो समय
उसका निम्ति त अभिशाप झैँ थियो
अनि
अभिशापका प्यालाहरू पिएर
नशाको लहरमा पौडिँदै जाँदा
महासागर पुग्ने बित्तिकै
माथिका स्वर्गवासीहरू सबै
उसको वेदनाका स्वरमाहरूमा मिसिएर
पागलझैँ हाँस्दै थिए।

असफल नरकवासी
सफलताले मात्तिनेहरूसँग
तर्क र वितर्कको चङ्गुलमा
बाँधिन चाहँदैन
किनकि उसले अब
तिरस्कारका झिल्काहरूसँग
खेल्न जानेको छ
घृणाका प्रत्येक शब्दरूपी बाणहरूलाई
झेल्न पनि जानेको छ
तर कसरी पो बिर्सने होला
त्यो नरकभित्रको एउटा सानो कोठा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *