नलेखिएको कथा
खगेन्द्र गौतम/ क्यानडा
यो दुनियाँले बुझेको थियो
तिम्रो यात्रा सहज थिएन ।
तर समय त्यही चाहन्थ्यो
जो तिमी गर्दै थियौ।
युगौँसम्म जन्जिरमा बाँधिएको,
लुटिएको, अनि पुस्तौँ पुस्तासम्म
सामन्तीको इसारामा बाँचेको
यो समाजका लागि,
तिमीले चालेको कदम अविरल रहोस्
भन्ने कामना गर्दा गर्दै ,
तिम्रो गिरफ्तारीको
खबरले सनसनी मच्चायो।
त्यो
दुखद खबरले
अधिकारको लडाई अन्त्य
भए जस्तो भयो, स्वतन्त्रताको
मृत्यु भए जस्तो भयो, प्रजातन्त्र त केवल
एकादेशको कथा जस्तो भयो।
तिमीलाई हौसाउनेहरू त केवल तिम्रो
अन्त्य मात्र पर्खी रहेका रहेछन्,
अवसरको खोजीमा तिम्रा कामहरूमा
पूर्णविराम लाउन पर्खी रहेका रहेछन्।
तर तिम्रो यात्रा केवल तिम्रालागिमात्र थिएन,
यो त सिङ्गो देशकालागी थियो,
मानव सभ्यताकालागि थियो,
जनमुक्तीकालागि थियो।
तर,
अवसरवादको दलदलमा फसेका
हामीले कहिल्यै तिम्रो मर्मलाई बुझेनौ।
तिम्रो सम्झनामा न कुनै सालिक नै बन्यो,
न कुनै तिम्रो वीरताको कथा नै लेखियो।
युद्धका मोर्चामा तिम्रा पाइलाहरू अगाडी बढी रहँदा ,
हामी सुरक्षित स्थानको खोजीमा थियौं,
तिमीलाई दुस्मनले गोलाबारी गर्दै सङ्गिनले रोपी रहँदा
हामी सीमा कटी सकेका थियौँ।
यो तिमी प्रतिको बेइमानी हो,
तिम्रो साहसको बेइज्जती हो।
बन्दी जीवन सामान्य त पक्कै छैन होला?
आफ्नो इतिहास आफै लेख अब।
तिम्रा आफन्त र मित्रहरू कायर र भगौडामात्र हुन।
अब उनीहरू तिमीलाई भुल्न अनेकौँ बहाना
खोजिरहेका छन्।
अर्काको भलो चाहानेहरूका लागि सदैव चुनौतीहरू अघि तेर्सिएका हुन्छन यो ध़ुवसत्य छ।”हारे हतकडी जिते संसार ।”बाघको जस्तो मुटु लिएर जन्मेकाहरूलाई कारागार त केवल एउटा थकाई मार्ने चौताको मात्र हो।