नववर्षको उपहार उनीलाई
जलन भण्डारी
एडिलेड, अष्ट्रेलिया
शुभकामना – शुभकामना !
सप्रेम संझदै उनीलाई
यो नववर्षको
कोसेली उपहार दिनुथ्यो,
पोहोर साल नबित्दै
डाँडाको रातो टाटो
ओरालो लाग्दा लाग्दै
नागबेली परेर तलसम्म
म ओर्लिएको थिएँ,
नयाँ वर्षको थालनी
यात्राभरि मनाउन पुगें ।
मनभरिका भावना उम्लेर
मेरा आँखा ब्युँझिए,
बिचारहरु सप्तरंगि भए,
जीवन यात्रा भित्रको यो
एउटा यात्रा नै रह्यो,
मन रमाइरह्यो, नाँचिरह्यो
त्यो यात्राको शिखरमा ।
त्यो रात मात्र पनि
जुन हराएको भए
म अन्धो हुनेथिएँ,
मेरा अन्धा आँखाभरि
छताछुल्ल पोखिएको चाँदनी
म कसरि उठाउथें ?
क्षणभर देखिएका
ती दृश्यमालाहरु,
एक टुक्रो सेतो बगर,
एक मुठ्ठी बाबियो सिउरेर
उभिएका ती पहाडहरु,
एक चोक्टो टारी खेतका
कान्ला र आलीहरु
हतारमा उनिदै गए
अनि लम्पट सडकभरिको
यात्रा सकेर बिसाउदा
म खालिहात भएँछु ।
डम्म भरिएको हृदयको पोको
खोल्दैछु शब्दहरु ओकलेर,
उनीलाई नववर्षको प्रेमोपहार,
त्यही पोखिएको जुन
पात-पातबाट टिपेर
म उपहार दिँदैछु
यो नववर्षको थालनिमा ।
जुन झैं शीतल र सौम्य
उनको जीवन उज्याल्लिरहोस,
उनको धर्ती जगमगाइरहोस्,
शुभकामना – शुभकामना !!
सप्रेम संझदै उनीलाई
यो शितकालीन रातको
जुन उपहार उनीलाई ।