नाटक
यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया
दैनिक जिम गएर
भारोत्तोलनमा पारङ्गत भएका
पात्रहरूले जङ्गलको ख्याउटे मान्छेलाई
उचालेर मङ्गल पुर्याइदिए
र दृष्टिदोष भएर अरूलाई भुसुना देख्यो उसले
नाटककारले लेखेको स्क्रीप्ट मुताविक
उसले अभिनय गरेको
वास्तविकताको हेक्का दर्शकले राख्दैनन्
राखे पनि उनीहरूलाई मनोरञ्जन नहुने हुँदा
नराखे झैँ गर्छन्
मध्यान्तरपछिको पर्दा उघ्रनुअघिको
संक्षिप्त विश्राममा कति कुरा सिक्न सक्छ एउटा पात्रले?
अघिसम्म अर्कै भाषा, लवज, स्वर र सुरमा
बोलेको उसले अहिले
भाषा र भाका फेरेर
विलम्बित, मध्य र प्लुत स्वरमा बोल्दैछ
नाटककारको प्रतिलिपि अधिकार लाग्ने
उसले बोलिरहेको संवादको
भाषा, शैली, लय र विचार
उसकै ठानिरहेछन् अबोध दर्शक
उसको पहिलो अभिनय भएकाले
इन्द्रजाल अध्ययनरत निर्देशकको
निर्देशनमा नृपशु र लाबर भएर
तन्किरहेछ उ र आफ्नो आयतन बढेको
मतिभ्रम भइरहेछ उसलाई|