नेपालीको दया नेपालीमाथि
नैनसिहं सारूमगर
न्यू योर्क अमेरिका
नेपाली हुन पाएकोमा गौरव गर्नुपर्छ । हामी सबै नेपाली हौँ । सबै नेपालीहरूले नै भाग्यमानी ठान्नु जरुरत भएको म देख्दछु । संसारको जुनसुकै देशमा छरिएर बसेका किन नहोस्, देशले बर्मेली, भारतीय, अमेरिकन, भूटानी, अफ्रिकन, नर्वेली आदि किन नहोस् तर समग्रमा हामी नेपाली हौँ । देश, वर्ग, भूभागले गर्दा हामी पृथक् हुनुहुँदैन, विभक्त गर्नु हुँदैन नेपाली मन, नेपाली पन कायम रहिरहन दिनुपर्दछ । जापनको कर्ण मिझार पनि नेपाली नै हुन् । भारतको हर्कबहादुर रसाइली पनि नेपाली नै हुन् । नेपालको दण्डमणि पौड्याल पनि नेपाली नै हुन् । भूटानको वीरबहादुर सारू पनि नेपाली नै हुन् । लन्डनको रेतीमाया सिवा पनि नेपाली नै हुन् । बर्माकी रानीमाया तामाङ पनि नेपाली नै हुन् ।
कहिल्यै पनि सुखमा, दुःखमा, डरमा, रातमा दिनमा पछि नहट्ने हाम्रो विशेषता हो । पृथ्वीको जुनसुकै कुनामा रहेता पनि हामी मागी नखाने, छली नखाने, सोझो बोल्ने, भोकै भए पनि परिश्रम गर्ने, अर्काले घृणा गरेको नसहने, हात खुट्टा प्रयोग गरेर जीविकोपार्जन गर्ने, करुणा दृष्टि, सद्भाव उजागर गर्ने, हाम्रो अर्को अपतन विशेषता हो । तिनै भित्र पर्ने हामी नेपाली हौँ । डाँडाले, नदीले, जङ्गलले छेकिँदैमा नेपाली माया, बहादुर बल मेटिने छैनन् । हामीमा रगतको नाता छ सम्बन्धका टीका छन् त्यसैले त हामी भित्रको पिर हामी आपसमा बाँडेर चलाउॅछौँ।
खाडी मुलुकमा परिश्रम गरिरहने हाम्रा वीर नेपालीहरू, पश्चिम देशमा काम गरिरहने हाम्रा योद्धाहरू, पूर्वतिर कार्य गरिरहने हाम्रा सपूतहरू, उत्तरतिर दुःख गरिरहने हाम्रा लडाकुहरू, दक्षिणतिर सङ्घर्ष गरिरहने हाम्रा सन्तानहरू, एकछिन समय मिल्यो कि फोन गरिहाल्ने “होसियार कोरोनाबाट….. बाहिर नजाने भित्रै बस्ने, बेसार पानी, अदुवा पानी, पुदिना, मरीच, लसुन, टिमुर पानी मिसाएर पिइरहने ” भनेर। आफूले जानेका, सुनेका, गरेका, देखेका, कुराहरूलाई दुई मिनेटको समयमा आफ्नो बोसदेखि त्रास लिँदै सारा नेपालीमा पुर्याउन सक्नु चानचुने कुरा होइन । जापनबाट अमेरिकामा, क्यानडाबाट कोरियामा, अष्ट्रलियाबाट नेपालमा, सिंगापुरबाट भारतमा, लन्डनबाट कतारमा, मलेसियाबाट कुवेतमा, सही प्रकारले सुसूचित गरेकाले नै आज हामी त्यो कीटाणुबाट धेरै टाढा छौँ। अरूका तुलनामा त हामी कञ्चनै छौ । नजिक हुनेहरूले सित्तैमा उक्त घरेलु औषधिहरू घर-घरमा पुर्याइदिए । टाढा हुनेहरूले विभिन्न निकायबाट पठाइरहे । यसरी देखिन्छन् हाम्रो नेपाली मन, नेपाली पन एकापसमा । म बसेको सहरमा अरू धेरैले कोरोनाबाट ज्यान गुमाउनु पर्यो तर नेपालीमा त्यो सङ्कट सृजना हुनुपरेन कारण हामीमा करुणा भाव छ अनि सद्भावले सेवा गर्न तयार हुन्छौँ । हामी जुनै स्थानबाट आएका भए पनि मैले भिन्न पाइनँ । यदि कसैका घरमा घटना भयो भने जति नै गलेता पनि, जस्तै आपत्ति भए पनि घटना भएको ठाउँमा पुगेकै हुने मैले देखेको छु । रातमा पनि दिनमा पनि काम छाडेर भएता पनि बसेका देखेँ नेपालीहरू । पैसामा भन्दा सहयोगमा ज्यान दिने हामी नेपालीको अजर कर्म मैले पाएको छु । अरू अनेपालीहरूमा भन्दा नेपालीमा आत्मग्लानि भएको भाव पाएको छु । हामी कसैको भोक, शोक, रोग, हेरिरहन नसक्नेमा पर्छौँ; सकेसम्म शीघ्र त्यसको निवारण गर्नतिर लाग्छौँ ।
सन् १९८७ मा असमको राजधानी गौहाटीमा अपरिचित नेपालीले गौहाटीबाट कोक्राझारसम्म पुग्ने भाडा मलाई लगाइदिएका थिए । सन् १९९१ मा नेपालको काॅकरभिट्टामा अपरिचित नेपालीले मेरा सात जना परिवारलाई सित्तैमा बस्न, खान दिएका थिए । अमेरिकाको मासाचुसेट राज्यको बोष्टन सहरमा म लोप हुँदा अपरिचित नेपालीले अतुलनीय सहयोग गरेका थिए । आफू टन्न खाएर अरूलाई भोकै राखेर हेरिरहन नदिने हामी नेपाली हाम्रो पहिचान कर्मठ छ । नेपाली रोएको, नेपालीले कुटाइ खाएको, नेपालीलाई दास बनाएको नेपालीले हेर्न सक्दैनन्; सहन सक्दैनन्, बरु त्यसको प्रतिकारमा ज्यान दिएर उत्रिनु नेपालीको वीरत्व हो । हङकङको नाकामा होस्, काश्मीरको बोडरमा होस्, खाडीको एकसयदसको तातो घाममा होस्, जीवन ज्यानको तराजुमा राखेर, खटेर एक कण सास रहुन्जेलसम्म उपदेशात्मक सन्देश प्रवाह गर्न सक्नु नेपालीहरूको नेपालीप्रति भुल्नै नसकिने प्रेम हो ।
“सानै भए पनि बारुला पछि भाग्दैनन् हात्ती नै भए पनि पछि हट्दैनन्
सानै परिवार भए पनि नेपाली डक्दैनन् जूनमै पुगे पनि नेपाली झर्दैनन् ।”
हामी नेपालीको बिचको नाम बहादुर र माया जसरी समायोजन गरिएका छन् यस्तो नाम अरू अनेपालीमा भेटिन्न । यसको विशेषता के हो भने, पुरुषले जता पनि आफ्नो पहिचानको वीरत्व देखाउन सक्छन् भने स्त्रीले देशको छविलाई पवित्रसँगै प्रेम देखाउन सक्छन् भन्नेमा दुई भेद छैनन् । त्यसैले यी दुई नामहरू युग्म भएर आएका हुन् । पौरखी र दया नेपाली बाहेक अरूमा त्यति मिलेका छैनन् । बुद्धको देश कुन हो ? सगरमाथाको देश कुन हो ? भनेर कसैले सोधिहाले भने नेपाली बाहेक अरूले मेरो देश हो भन्नै सक्दैनन् त्यसभित्र पनि हामी नेपाली । बुद्धसँगै बाँचेका सगरमाथासँगै उभिएका हामी, हाम्रो महिमा गाथा अपार छ ।
एक जना ६५ वर्षका बाजेले अमेरिकाको पब्लिक बजारमा अङ्ग्रेजी नजानेता पनि साङ्केतिक भाषामा प्रतिस्पर्धा गरेर केही काला गोरा युवा युवतिहरूलाई तितरबितर पार्दै । “I am Nepali, I don’t know English“ भनिरहेका थिए । कानुनी रूपमा बहस गर्न सक्ने हेपाइती कार्य नसहने, जायज कुरामा मर्न तयार हुने हामी नेपाली हौँ । कायरता शब्द मन नपराउने, हितको लागि अगाडि बढ्ने, आफू जलेर अरूलाई प्रकाश दिने हाम्रो दायित्व हो । सामान्य कुराहरूमा होहल्ला उत्पन्न भएता पनि सारांशमा उपचार गर्नतिरै लागिपर्ने हाम्रो नैतिकता त्यति फ्यातुलो छैन । आफू एउटा मिर्गौला बोकेर एउटा अर्कोलाई दिने, आफू एउटा आँखो हेरेर एउटा आँखो अर्कोलाई दिन सक्ने पन, मन, तन, धन नेपाली बाहेक अरू को होला र….?
हामी नेपालीहरूले केही नकारात्मक विचारहरूलाई सम्पादन गर्न सक्यौँ भने ग्रहमा पुग्न यान नै चाहिने छैन । निम्न कुराहरू सुधार्नुपर्ने आवश्यक छन् । देवताहरू:- हामी धेरै देवताहरू पाल्ने गर्छौँ तिनीहरूलाई दिन-दिनै नुन भुटुन दिन भ्याउँदैनौ, अनि छोरो बाबासँग रिसाउने, बाबा छोरोसँग रिसाउने । बाबाले पूजा गरेका ठाउँमा छोरो नजाने, छोरोले पूजा गरेका ठाउँमा बाबा नजाने । आमा बेलुका नुहाएर देवतालाई पूजा भुजा दिने, छोरी बिहान नुहाएर देवतालाई पूजा भुजा दिने । अर्को चाहिँ नशाहरू:- जुन कुराले आफूलाई नशा लाग्छ भने त्यो वस्तुबाट अलग्गै हौँ । ऊ शिखर लेख्न जान्दै तर शिखर तान्छ, a b c d भन्न जान्दै तर तास खेल्छ, भात खान जान्दै तर छोक्रा निल्छ, हो, यिनै कुराहरूलाई हामीले सुधार्नुपर्ने अति आवश्यक छ । यी कुराहरूलाई निमिट्यान्न पार्न सक्यौँ भने, हामीले अर्काको भाषा पानी पिउँदै रट्नुपर्ने छैन, आफू तल बसेर माथि हात उठाउँदै हजुर भन्नुपर्ने छैन, पेटमा गोली बोकेर आफ्नै नातालाई तारो हान्नुपर्ने छैन ।
अब बलले मात्र होइन विवेकले पनि नेपालीको औकात देखाउन सक्नुपर्छ । उसले सिधा हेर्दा आफूले पनि सिधा हेर्न सक्नुपर्छ, खुँडा खुकुरीले मात्र होइन कलमले पनि । आफूलाई परिचय दिने नेपाली मन, पनलाई आफ्नै छातीमा लेखाउन सक्नुपर्छ । सुतेकालाई उठाउँदै, भुलेकालाई मार्ग देखाउँदै आफै अगाडि उठ्न सक्नुपर्छ त्यही हो हाम्रो एकताको चरम विन्दुभित्रको बल वा शक्ति । निरन्तर नेपाली जनमा मानवीय सहिष्णुता कायम भइरहोस् नफुटोस्। कहिल्यै पनि दुई पैसामा। जुटोस् सधैँ अमर नेपाली परिवारहरू आपसमा ।