नेपालीभाषी भुटानीहरूको एउटा हार्दिक निवेदन सुनौँ

लेखक

डा. गोविन्दराज भट्टराई

नेपालीभाषीहरू आज विश्वको पचासभन्दा बढी देशमा पुगिसके, कसैले ५०० वर्ष अघि नेपाल छोडेर (छोडाइएर) अन्य भूमिमा पुगे अनि आसाम, बर्मा, भूटानजस्ता भूमिलाई आफ्नो बनाए । कति पाँचवर्ष अघि मात्र कुनै नयाँ प्रदेशमा पुगेका छन् जस्तै फ्रान्समा, पोर्चुगलमा नेपाली समुदाय बन्दैछन् । अरू प्रतीक्षामा छन् । सबै नेपालीभाषीको उद्गम भूमि नेपाल नै हो ।

त्यसो भएता पनि प्रत्येक भूमिमा नेपली भाषा साहित्यको स्थिति बेग्ला बेग्लै छ । सबैभन्दा दयनीय स्थितिचाहिँ बर्मा र भूटानको छ ।

नेपाली भाषा साहित्यको वर्तमान र भविष्यको आकलन गर्न बेग्लाबेग्लै समयमा/ठाउँमा अनेक सम्मेलन गोष्ठी भइरहेका छन् । यसपालि गत अगष्टमा भएको लन्डनमा सम्पनन भएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन एक ऐतिहाकि अवसर थियो । यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो । यसअघि सन् २००९ को अगष्टमा अमेरिकाको न्यूयोर्कमा प्रथम सम्मेलन भएको थियो । यी दुवै सम्मेलनमा आतिथ्य गर्ने अवसर प्राप्त गर्ने मैले आफूलाई धन्य ठानेको छु । किनभने अनेक प्रकृतिका डायास्पोरिक नेपाली साहित्यका स्वरूपको अध्ययनमा मैले आफूलाई समर्पित गरेको छु ।

यसपालिको महासम्मेलन अघिल्लो भन्दा दुई कुरामा अझ महत्वपूर्ण भयो । पहिलो कुरा थियो संस्कृत वाङ्मयको अध्ययन अध्यापनको विषयमा नेपालीभाषीहरूको ध्यान आकृष्ट भएको कुरा; दोश्रो थियो भूटान–नेपाली साहित्यको संरक्षणतिर गुहार माग गरिएको कुरा । पहिलो (संस्कृत विषयको) कार्यपत्र फ्रान्सका हरिहर अर्यालले प्रस्तुत गरेका थिए भने दोश्रो विचारपत्र थियो अष्टेलियाका आइपी अधिकारीको ।

गोरखाबाट गएका हरिहर अर्यालले फ्रान्समा नेपाली भाषा संस्कृतिको परिचयमा गर्नुभएको योगदान बिर्सिनसक्नु छ, । यतिखेर विश्वभरि नै ‘नेपाली भाषा’ संरक्षण र प्रबर्द्धन गर्नेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । अनगिन्ति छ । नेपाल रहिन्जेल नेपाली भाषा रहन्छ भन्ने विश्वास छ, एक नेपालीलाई नेपाली भाषा सम्झिँदा ढुक्क, आनन्द र गर्व लाग्छ कनिभने अर्काअर्का पुस्तामा पनि अब नेपाली भाषा हस्तान्तरण हुँदै जानेछ ।

उक्त सम्मेलनमा अर्का प्रस्तोता श्री आइपी अधिकारी पनि नेपाली भाषाकै चिन्ताले आएका थिए, तर उनी राजनीतिकरूपले भिन्न नेपाली हुन्— भूटानी नेपाली अर्थात् नेपालीभाषी भूटानी । श्री अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भुटान च्याप्टरका अध्यक्ष; हाल अष्ट्रेलियाको एडिलेडमा विस्थापित छन् ।
आइपीको चिन्ता अलग्गै थियो । उनको विचारपत्र छोटो भएता पनि चोटिलो छ । जसको शीर्षक छ— लन्डन सम्मेलनमा आएका विद्वान्हरूमा विशेष अनुरोध । वास्तवमा यो कार्यपत्र, गोष्ठीपत्र नभएर एक अनुरोध पत्र अथवा अपिल हो ।

त्यस अपिलले मलाई ज्यादै छोएकोले यहाँ अलिकति त्यसको प्रशङ्ग उठाएको छु । आइपीको चिन्ता भुटानको छ, भूटानमा नेपाली भाषाको । त्यहाँ जातीय सफाया (एथ्निक क्लिन्जिङ) मा परेर धेरै नेपाली शरणार्थी भएको कुरा जगत्लाई थाहा छ । त्यहाँका साशकहरू नेपाली भाषालाई नै समाप्त गर्ने काममा लागेका छन् । । परिणामस्वरूप औपचारिकरूपले नेपालीको पठनपाठन र प्रयोग प्रतिबन्धित छ । यो महासम्मेलनले नेपाली भाषालाई अति उन्नत अवस्थामा चारैतिर पु-याउनु थियो भने त्यस सन्दर्भमा आइपीको उद्देश्य भूटानमा नेपाली वाङ्मय र संस्कृतिको सम्पत्तिलाई सुनिश्चित गर्नु थियो । यस्तो विडम्वनापूर्ण स्थितिको चित्र प्रस्तुत गर्दै आइपीले त्यो मर्म प्रकट गरेका छन्ः भूटान विश्वको एउटामात्र त्यस्तो राष्ट्र हो जाहाँ नेपाली भाषा र संस्कृतिमाथि हमला गरिँदैछ ।
यतिखेर परिषदका अध्यक्ष भक्त घिमिरे अमेरिकामा छन् पुराना त्यागी अभियन्ता गंगाराम लामिटारे उतै छन् । स्वभावैले भुटानी–नेपालीहरूसमक्ष आफ्नो परिचयको प्रश्न र त्यसप्रतिको सचेतता अतिनै महत्वपूर्ण कुरा रहेका छन् ।

विगतका वर्षहरूदेखि नेपालका शरणार्थी शिविरबाट उठाएर युरोप अमेरिका र अष्ट्रेलियाका अनेक भूभागमा छरिएका छन् । यो चिन्ता आइवीले त्यसरी पोखेका छन्— अनेसास भुटान च्याप्टरका सबै सदस्यहरू विश्वभर छरिएका छन् । को कहाँ पुग्यो सम्पर्क स्थापित हुन सकेको छैन ।

उनीहरू नेपली भाषा त्याग्ने छैनन् । भाषा प्रेम नै उनीहरूको देश निष्कासनको कारण र भविष्यको परिचयआधार पनि हो । त्यस कारणले गर्दा नेपाली भाषा साहित्यका आन्दोलनमा वा अभियानमा जहाँबाट भए पनि भूटानी–नेपलीहरू आवाज उठाइरहेका छन् ।

यसै अभियानमा लाग्नेहरूले शरणार्थी शिविरमा कुनै प्रकारका साहित्यिक कर्महरू जीवन्त राखेका छन् भने देशबिहीन भएर छरिएकाहरूले पनि इलेक्ट्रोनिक माध्यमद्वारा संगठित हुने र साहित्य सेवा सञ्जाल फैलाउने कार्य गरिरहेका छन् ।

यस सन्दर्भमा यसपल्ट आइपीले गरेको एउटा अपीलले हामी सबैलाई छोएको छ । उनले भनेका छन्— अब उप्रान्त हुने अनेसास सम्मेलनले एउटा कार्यपत्र विशेषगरी विस्थापित भूटानीकातर्फबाट हओस्, उनीहरूको नेपाली भाषाको स्थितिबारे हओस् । त्यसबारे उनीहरूले राखेको चिन्ता र गरेका प्रयत्नबारे होस् ।
आइपीको यस प्रस्तावको ठूलो अर्थ छ । त्यसो त उता पुरानाघरे एउटा अन्तर्राष्ट्रिय संस्थाभित्रै पसेर काम गर्दैछन् । रमेश गौतम अर्कातिर गर्दैछन्, आइपीको प्रस्ताव ती भन्दा भिन्न सामयिक अति महत्वपूर्ण देखिन्छ । त्यसकारण प्रस्तुत आइपीको सङ्क्षेप विचारपत्र तल प्रस्तुत गरेको छु :

लन्डन सम्मेलनमा आएका विद्वानहरुमा विशेष अनुरोध

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेलायत च्याप्टरद्वारा आयोजित नेपाली साहित्यको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन आउनु भएका सम्पूर्ण साहित्य प्रेमी विद्वतवर्गमा मेरो न्यानो अभिवादन । साथै सम्मेलनको सफलताको लागि शुभाकामना टक्र्याउन चाहान्छु । यो सम्मेलन डायस्पोरामा नेपाली साहित्यको प्रवर्द्धन तथा उत्थानका निम्ति कोषे ढुंगा साबित हुनेछ भन्ने विश्वास लिएको छ ।

लण्डन सम्मेलनमा हामी नेपाली भाषा विकास, प्रचार र प्रवर्द्धनको मन्थन गरिरहदा एशियाकै एउटा मुलुकमा नेपाली भाषा मर्दैछ । त्यहाँको एउटा सिंगो नयाँ पुस्ता नेपाली बोल्न, पढ्न र लेख्न जान्दैन । नेपाली सावा अक्षर चिन्दैन । त्यहाँ घर परिवार भन्दा बाहिर नेपाली बोल्न सक्ने वातावरण छैन । भुटान विश्वको एउटा मात्र त्यस्तो राष्ट्र हो जहा नेपाली भाषा र संस्कृति माथि हमला बोलिदैछ ।

६ बर्ष अघि भुटानको नेपाली साहित्यमा टेवा पुर्याहउने विशुद्ध लक्ष्यका साथ हामीले अनेसास भुटान च्याप्टर खोलेका थियौं । शरणार्थी जीवन जस्तो दयनीय अवस्थामा पनि सयौंको संख्यामा नेपाली साहित्य प्रेमीहरु थिए, कर्मठ र सृजनशील साहित्यकारहरु जन्मिएका थिए । आज त्यो क्रम जारी छ ।

गएको तीन वर्षमा यी अधिकांश साहित्य अनुरागी स्रष्टाहरु पुनर्वास अन्तर्गत पश्चिमा मुलुक आइपुगेका छन् । अरु कैयौं आउने तरखरमा छन् । नेपाली साहित्यको भुटानी भंगालो तिनीहरुसंगै यतै तानिएको छ । यतै आएर पनि तिनको साहित्य प्रतिको लगाव चुडिएन, साहित्य प्रतिको मोह टुटेन । यसको फलस्वरुप साहित्य परिषद भुटान गठन भएको छ । परिषद भुटानको नेपाली साहित्यमा नयाँ आयाम थप्ने जमर्कोमा जुटेको छ – जोडतोडका साथ ।

अनेसास होस या साहित्य परिषद भुटान, हाम्रो लक्ष्य एउटै छ – नेपाली साहित्यको श्रीबृद्धिमा जुट्नु । एउटै भाषा र संकृति बोकेका यी दुइ समुदाय – नेपाली र नेपाली-भाषी भुटानी – का यी दुइ संगठनले केन्द्रीय र क्षेत्रीय स्तरमा पनि संगै मिलेर काम गरे भाषिक आन्दोलनको उचाइ अझ अग्लिने थियो । अनेसासका अध्यक्ष ज्ञानेन्द्र गदाल र परिषदका अध्यक्ष भक्त घिमिरेले यस दिशामा कुनै ठोस र सकरात्मक पाइला चालुन भन्ने मैले आशा बोकेको छु । यसका निम्ति मैले खेलिदिनु पर्ने भुमिका र जिम्मेवारीका लागि सदैव तयार छु ।

अनेसास भुटान च्याप्टरका सबै सदस्यहरु विश्वभर छरिएका छन् । को कहाँ पुग्यो सम्पर्क स्थापित हुन सकेको छैन । म अष्ट्रेलिया आइपुगे भने उपाध्यक्ष डिल्लिराम शर्मा आचार्य नर्वे पुग्नु भएको छ । यसरी छिन्न भिन्न अवस्थामा रहेको अनेसास भुटान च्याप्टरलाई कसरी अघि बढाउन सकिन्छ, यहाँहरुको उपयुक्त सुझावको अपेक्षामा छु ।

नेपालमा रहदा र अष्ट्रेलिया आए पछि पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा अनेसासलाई सकेसम्म भुटान भित्रै पुर्याउने सक्दो प्रयास गरेको छु । भुटानमा भएका नयाँ पुस्ताका कैयौ मित्रहरु जो मेरो सम्पर्कमा छन्, तिनीहरु नेपाली भाषा साहित्यको महत्व र अर्थ नबुझ्ने अवस्थामा छन् । पुरानो पुस्ता हिजोको दमनको धङधङीका कारण ‘नपाली; विषयमा केही गर्न चाहादैन । तै पनि भुटान अहिले विस्तारै खुल्दै जादा अनेसास, साहित्य परिषद भुटान र नेपाली साहित्य आन्दोलनमा लागेका विद्वानवर्गले भुटानमा नेपाली भाषा साहित्यको विज मर्न नदिनका लागि यस आन्दोलनलाई त्यहा छिराउनु पर्ने आवश्यक देखिन्छ ।

साच्चिकै भाषा साहित्यको प्रवर्द्धनको आन्दोलनमा हामी होमिएका हौ भने नेपाली भाषा मर्दै गरेको दृश्यलाई हामी टुलुटुलु हेरिरहन मात्र सक्दैनौं । साहित्यको आन्दोलन हिड्दैछ, पाइला मेट्दैछ हुने छैन भन्ने विश्वास लिएको छु । भुटानमा मृत अवस्थामा रहेको नेपाली भाषा साहित्यलाई पुनर्जीवन दिन यस सम्मेलनले ठोस निर्णय लेओस भन्ने अपेक्षा गर्दै फेरी पनि सम्मेलनको सफलताको विशेष शुभकामना ।

आइ पी अधिकारी
अध्यक्ष
अनेसास, भुटान च्याप्टर
हाल अष्ट्रेलियाको एडिलेड

२१ पुस २०६८ प्राध्यापक (अङ्ग्रेजी)
ट्याङ्लाफाँट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय
tu.govinda@gmail.com
काठमाडौँ, नेपाल

3 Replies to “नेपालीभाषी भुटानीहरूको एउटा हार्दिक निवेदन सुनौँ”

  1. Pasupati Acharya

    हजुर को विचार र भाव आती राम्रो लागो

    हजुर लाइ सुवो कामना

    मा पशु पति आचार्य अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *