नौका चढी सरर (बाल कविता)
भानु ढुङ्गाना/ क्यानडा
मैले अब जानेँ है , नौका चलाउन,
दाबिलोले सजिलै, पानी खेलाउन
छल्को उता कटाउँदा, यता नौका छ,
यता छल्को कटाउँदा, उता नौका छ
नौका कोल्टे नपार्नु यति मात्र हो,
दाबिलोले पानी खेलाई अघि बढ्ने हो
जता लग्यो उतै जान्छ पानीकै छ खेल,
दाबिलोकै सहाराले नौका मिलाई ठेल
नौका बग्छ सरर पानी खेलाउँदै
कति मजा मिलेको नौका गुडाउँदै
ठूलो भए नौका होला सानु छँदा डुङ्गा,
डुङ्गा चढेँ हेर्छु अब, नौका लाग्ने टुङ्गा।
मैले अब जाने है नौका चलाउन,
दाबिलोले सजिलै पानी खेलाउन।।
कति ठूलो पानी दर्क्यो यति खेर नै !
साँच्चै नौका चढेको मजा आयो है
घण्टौँ बित्यो समय खेल्दा खेल्दै नै,
अरू साथी कता गए फर्की जाऊ नै?
परबाट बुबाले खोज्दै आउनु भो
अब ढिलो नगरौँ फर्की जाउन हो।
आत्तिएर बुबा आमा खोज्दै आउनु भो
अब भयो नखेलौँ फर्की जाऊ न हो।।
यसरी नै आज चढ्यो नौका सरर,
अर्को साल पनि आउने मेरो रहर।।