न्याय

रिमेन आलोक
अल्बेरी,अस्ट्रेलिया

मेरो घर नजिक एक जना कानुनका  विद्यार्थी थिए- मञ्जील दाइ ।

मञ्जील दाइ र भाउजूका दुई छोरी थिए -जसको नाम न्याय र परीक्षा थियो । दुवै दिदी-बहिनी एकदम मिलनसार थिए । एक अर्कालाई खुबै प्रेम गर्थे । समय बित्दै थियो । हामी छिमेकमा दुःख-सुख साटेर खुसीका साथ जीवन-यापन गर्दै  थियौँ । एक दिन तल्ला घरे काल्दाईको गाईले हाम्रो बारीको मकै सबै खाएछ । मेरी आमाले गएर छिमेकी काल्दाईलाई भन्नु भएछ – “तपाईँको गाईले हाम्रो सबै मकै खाएछ। प्रतिउत्तरमा उहाँले भन्नु भएछ- “मकै गाईले खाएको हो, उसैलाई सोध्नु किन खायो?”आमा निराश भएर घर फर्कनु भएको थियो त्यो दिन । त्यो दिन म पनि परीक्षा दिन पल्लो गाउँ गएको  थिएँ । परीक्षा सुरु हुन नपाउँदै एक्कासि  मोबाइलको घण्टी बज्यो । मैले हत्तपत्त  उठाएँ। आमाले सबै नालीबेली बताउनु भयो । म रिसले चुर हुँदै परीक्षा नदिई घर  फर्किएँ। आमा कौसीमा बसेर के-के भन्दै गनगनाउँदै हुनुहुन्थ्यो । मैले “केही विकल्प खोजौला,  तपाईँ दुःखी नहुनु” भन्दै आश्वासन दिएँ । आमा अलि खुसी देखिनु भयो । साँझ झमक्कै पर्‍यो । खाना खाएर म ओछ्यानमा सुत्न गएँ तर अहँ ! पटक्कै निन्द्रा लागेन। मेरो मनले  मञ्जील दाइलाई सम्झियो अनि भोलि आमालाई लिएर मञ्जील दाइकोमा जाने निर्णय  गरेँ । मञ्जील दाइ कानुनको विद्यार्थी  भएको कारण पनि न्याय मिल्छ भन्नेमा ढुक्क  थिएँ । रात बित्यो ।भोलि पल्ट बिहानै आमा र म मञ्जील दाइकोमा  गयौँ । नभन्दै मञ्जील दाइसँग भेट भयो र सबै कुरा आमाले नालीबेली बताउँदै आफू अन्यायमा परेको बताउँदै रुन लाग्नु भयो । मैले आमालाई नरुन आग्रह गर्दै  मञ्जील दाइलाई  भनेँ- “दाइ ! यति सहयोग  चाहिँ जसरी भए पनि गरी दिनु पर्‍यो । हामी अन्यायमा पर्‍यौँ”। पहिलो कुरा त तपाईँ भनेको त कानुनको विद्यार्थी हुनुहुन्छ । दोस्रो कुरा; मैले मेरो परीक्षालाई पनि छोडेँ अब न्याय दिनु पर्‍यो । जसरी पनि नाइँ नभनिदिनु होला। अचानक मञ्जील दाइ रिसले आगो हुनु भयो । मुहार रातो-रातो भयो । म छक्क परेँ । मञ्जील दाइ एक शब्द नबोली घर भित्र पस्नु भयो । मैले झट्ट सम्झिए- उहाँले म कानुनको  विद्यार्थी हुँ भन्ने भुल्नु भयो र आफूलाई दुई छोरीको बाबु हुँ भन्ने बुझ्नु भयो । स्वाभाविक हो छोरीहरूको चिन्ता गर्नु तर कुरो त्यसो थिएन ।हामीले करिब दुई घण्टासम्म कुर्‍यौँ । मञ्जील दाइ  घरबाट बाहिर निस्कनु भएन । मैले पनि न्याय नपाउने भए जस्तो लाग्यो । आमालाई पनि त्यस्तै लागेछ । दुवै निराश गुदै घर फर्क्यौँ ।

घर पुगेर भगवान् सम्झिएँ- “ हे भगवान्! यो देशमा गरिबको लागि न्याय छैन रहेछ”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *