पछुतो !
कर्ण गुरुङ
नेब्रास्का, अमेरिका
आफूलाई बिर्सिएर निकै पर गइसकेछु
ठेस लाग्यो !
निक्कै दुख्यो, आइया !
झास्यंग भयो ! बिउँझिए
बल्ल थाहा भयो
म एकोहोरो भएको थिएछु
कसैले भनेको नसुन्ने “बहिरो” भएछु
सही र गलत बाटो नदेख्ने “अन्धो” भएछु
सत्यको बाटो छोडेर टाढा पुगेछु
फर्केर आफैलाई राम्ररी हेरे
प्रश्नहरूको पहाड थुप्रियो
म को हु?
के भएछु ?
कहाँ पुगेछु ?
मैले के गरेछु ?
क-कसलाई दुख दिएछु ?
म किन यसरी बिग्रिएछु ?
अनि, सबै कुरा झलझली आयो
एक-एक मन भित्रको ढुङ्गा फोरेर आयो
बैँस र जोसमा होस् हराएको
बाउ आमालाई नटेरेको
स्कुलबाट भागेको
साथीकोमा जान्छु भनी ढाँटेको
कोठा थुनेर पढे जस्तो गरी च्याट गरेको
राती सुटुक्क डिस्को र बार धाएको
स्कुल फी र कपडा किन्ने भनी पैसा मागेको
तर फिल्म र बेस्मारी ड्रग्स किनेर खाएको
अरूले होइन
आफैले आफ्नो भविष्य बिगारेको
आयो झलझली याद आयो
मन भित्रैबाट पछुताएर आयो
तर के गर्ने ?
तर के गर्ने ?
अहिले पछुतो हुँदा धेरै ढिलो भइसकेछ
पैसा र बैँस दुवै झरिसकेछ
होस् आउँदा आफन्तहरू टाढा छोडेछु
म निकै पर पुगेछु
फर्केर नपुग्ने क्षितिजसम्म पुगेछु
अस्ताउन लागेको घाम जस्तै भएछु
आफूलाई बिर्सिएर निकै पर गइसकेछु
ठेस लाग्यो !
झास्यंग भयो! बिउँझिए !
मृत्युले त बोलाउदै पो रहेछ
पुरै होस् आयो
यो जीवन निन्द्रामै बिताएछु
कहाँ जन्मेर कहाँ पो पुगेछु
आमाको दूधको ऋण नतिरी
बाउको भरोसामा नउत्री
जीवन सिमाना पो टेक्न पुगेछु
धिक्कार छ !
पैसा र बैँसले गर्दा सबैलाई बिर्सेछु।
सधैँ जवान र बलवान हुन्छु सम्झी
यो जीवन अर्थहीन पारेछु।
चकमक झुल्लासँग कच्याककुचुक पारेछु।
सायद जीवन एक वरदान थियो होला
थुइक्क म !
यहाँ सम्म आइपुग्दा आफ्नै कर्मले पो सरापेछु।