परिदृश्य
प्रतिमान सिवा
ओहायो, अमेरिका
एउटा युग उभिएको छ त्यो बुढो रुख,
बाटा भरी ओहोर-दोहोर गरी रहने
ती पात्तिएका सान्नानीहरुको चर्तिकलामा
बेमौसमी छहारी दिइरहन्छ
मर्दा-मर्दैको घाइते जीवन बोकेर ।
पराकाष्टका सुदूर शहर-शहरमा
अनि प्रत्येक अलौटा र ठेट्नाहरुको घर-घरमा
जन्मभूमि, मातृभाषा र लङ्गडो साहित्यको
चर्को नारा निरन्तर चिच्याइरहन्छ,
अन्धा र बहिरा मुर्कुटाहरुको मसानघाटमा
खल्ती खल्तीमा अन्य भाषा र अर्कै मुलुकको नागरिक्ता बोकेर ।
बासिभातमा साजिभातको स्वाद भरेर
कचौरा भरी कोचेर अघाएको पेट
अनि हप्ताभरि र पन्ध्रभरि
पसिना गनाएर निद्रा सरी आर्जेको चेक
दिनै पिच्छे,
हप्तै पिच्छे
र पन्ध्रैपिच्छे
बार,
क्यासिनो,
लटरी र तरुनीमा रमाइरहन्छन् ।
ठुलो ब्यानरमा भव्यताका साथ सम्पन्न
कैयौँ साहित्यिक र सामाजिक गोष्ठीहरु
दुइटा कुर्सी भरिएर बाँकी रित्तै ताली बजाउँछन् ।
सबै मुर्कुटाहरु पुल्ठो बालेर
आ-आफ्नै नजर झोसिरहन्छन् ।
चर्को ब्याजमा कुँदिएको महङ्गो मोर्ट्गेज्,
चिल्ला गाडी र बडेमानका टिभीहरू अनि
आलिसानका भवनहरू सङ्ग साटिएका सपनाहरू
हिजो सान्नानीले बुढो रुखहरूलाई फकाउँदा
भविष्य सङ्ग कसले के के साटेन र ?
आज परिदृश्यमा नरमाएका बा-आमाहरू
समाधि कस्ने अभिलाषामा खै के के गुमाएनन् र ? ?