पाँच सय पच्चिस

कवि
कवि

डिल्लीराम रेग्मी
ओहाइयो, अमेरिका

एकाबिहानै रिम रिम उज्यालोमा
मन परेर भनौं या
बाध्यताले भनौं
न्यानो न्यानो सिरकको नरम नरम बासना
चटक्क त्यागेर उठ्नै पर्ने!
आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा
एकतमासले दौडिरहेको सडकमा
केही राता, केही काला, केही हरिया
हरेक बहाना आ-आफ्नै
दौड धुपमा व्यस्त देखिन्छन्
तर मेरो पर्खाई भने
हरेक दिन, हरेक बिहान
पाँच सय पच्चिसको हुन्छ।

यही पाँच सय पच्चिसको
काँचको झ्यालबाट
हरेक दिन, हरेक बिहान
म बाहिर नियाल्छु,
रुख, बिरुवा, झार, पात,
ढुङ्गा, माटो, सडक, कालोपत्र,
आकाश, पाताल, क्षितिज सबै
मेरा लागि साधारण साबित हुनेछन्
तर फरक यति मात्र छ
यही पाँचसय पच्चिस भित्रको
सम्पूर्ण जनसङ्ख्याले भने
मलाई असाधारण देख्छ।
यही पाँचसय पच्चिसले मलाई
हरेक दिन, हरेक बिहान
मेरो भविष्य कोर्ने,
मेरो वर्तमान फोर्ने
गन्तव्यमा पुर्याएर छोड्छ
जहाँ सबै
आ-आफ्नै पाइला कोर्न विवश देखिन्छन्
जहाँ सबै
आ-आफ्नै तकदिर लेख्न व्यस्त देखिन्छन्
अनि सबै साधरण देखिन्छन्
फरक मात्र यही छ कि
उनीहरू मलाई असाधरण देख्छन्।

मेरो खेल क्रिडालाई
उच्छृङ्खल ठान्ने तिनीहरू,
उनीहरूको संसार मेरा लागिउच्छृङ्खल हुन्छ
भन्नेमा उनीहरू अनविज्ञ छन्।
सहपाठी, सहचारी, सहहीतको
खोजीमा भौंतारिएको म र
मेरो साधरण संसारलाई
छेवैबाट बुझ्ने कोसिस गर्ने
केही स्रष्टाहरु बिच
केही समयकालागि
सामीप्यता बड्छ, सहचारिता बड्छ
तर,
यिनै स्रष्टाहरुले
मेरै नाममा, मेरै बारेमा
शिकायतको ब्याकरणसहित
व्याख्या गरेको मेरो व्यवहार
अनि कोण नमिलेको मेरो भविष्यवाणी
मेरी आमाले गहभरि आँसु पारी
पढेको देख्दा मेरो मन लाचार हुन्छ।

यही पाँचसय पच्चिसमा सवार भएर म
आफ्नै सपना र सुबिचारहरुलाई
पाइतालामा कुल्चिएर
आफ्नै धरातल नाप्न खोज्छु
ताराहरू हराएको मेरो आकाशमा अनि
घाम डुबेर अलकत्र पोतेझैँ मेरो दिनमा
थाहा छैन कहिले चमक उत्रेर अाउला?
आवाजभित्र आफ्नै सक्कली पहिचान हराएको म
त्यही पहिचान खोज्न
आवाज चिरेर लागिपरेको म
कपासका त्यान्द्रा भन्दा हलुका भएका
मेरा अन्तरनिहित अाकांक्षाहरुलाई जीवित पार्न
अनि मेरो जुनसुकै कुरालाई
तिखो बाँडको हौसला दिनेहरुलाई
उनीहरूले सोचेजस्तो म पटक्कै छैन
भन्ने दरिलो विश्वासको पर्खाल बनाउन
हरेक दिन, हरेक बिहान म
पाँच सय पच्चिसमा सवार हुन्छु
म साबित गर्न चाहान्छु
म आफैँ एक अग्निपरीक्षा गरिरहेछु
म आफैँ एक शान्त पुनर्निर्माणमा लागेको छु
म एउटा निस्स्वार्थ पानीको फोका झैँ
पारदर्शी बन्न चाहन्छु
मलाई तिम्रो हातेमालोको खाँचो छ
मलाई तिम्रो हौसलाको खाँचो छ
अनि मलाई एउटा
तेजिलो प्रकाशको खाँचो छ
जसले मलाई सही पाँच सय पच्चिसमा सवार गरावोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *