पाथी
शिवलाल दाहाल
खुदुनाबारी
जयकृष्ण बराल त्यस गाउँमा भालुखोले महाजनका नामले कहलाएका थिए । गाउँमा भालुखोले महाजन भनेपछि सबै थर्कमान हुन्थ्ये । भाखुखोले महाजनकामा नगई त्यस गाउँका गरीव–गरुवाहरुको दंसै, तिहार, तिथी–श्राद्ध र अनिकाल टर्दैन थियो । त्यसैले पनि भालुखोले महाजनको रोब–रवाफ निकै बढेको थियो । बिस्तारो –बिस्तारो गरिबहरुका घरको सुन, चाँदी भालुखोले महाजनले कुम्ल्याइ सकेका थिए । उनी पैसे व्याजमा भन्दा अन्ने व्याजमा पैसा लगाउँथ्ये। माग्न आउनेलाई एउटा न एउटा काम नअह्राइ छाड्दैन थिए । कसैलाई ढिकीमा धान कुट्न, कसैलाई आली ताच्न, कसैलाई बाउसे गर्न, कसैलाई दाउरा चिर्न आदि आदि । माग्न आउनेहरु कसैले पनि नाइ नास्ती गर्न सक्तैन थियो, एक दिनको काम नसघाई कसैले पनि उसका घरको पैसा र अन्न फुत्काउन सक्तैन थियो ।
दंसै नजिकै आएको थियो । सिन्कौले कान्छो भालुखोले महाजनकामा धान माग्न भनेर गयो । सिकुवामा बिहानको चिया लिँदै बसिरहेका महाजनलाई श्रद्धानत शिर झुकाए उसले नमस्कार टक्¥यायो । महाजनले सिन्कौले कान्छालाई देख्ने बित्तिकै के काम लगाउने भन्ने गम्न थाल्यो र भन्यो, “कति कामले एका बिहाननै आइस् अँह कान्छा ”?, “के गर्नु महाजन साहेब दंसै आयो एसो दश पाथी सम्म धान पाइन्छ कि भनेर”, “आफुलाई त जे खाए पनि हुन्छ बालबच्चा छन्……. गरीबहरुका लागि त यो दंसै, तिहार पनि नआए हुन्थ्यो।” केहीबेरको गफ–गाफ पछि महाजनले परिपाट पार्दै भन्यो “ ठिकै छ भनिहालिस् दंसैका मुखमा लानु नि त तर आज दाउरा काट्नु छ सघानु पर्छ नि”। महिनाको दशपाथीको दुई पाथीका दरले व्याज तिर्ने शर्तमा महाजनले धान दिने भयो । धान भर्ने बेलामा महाजनले “कान्छी, ए कान्छी ! कान्छी पाथी ले ले भन्दै बुहारीलाई हपा¥यो । जेठी बुहारीले पाथी ल्याएर ससुरा बाजेका हातमा राखी दिई । भालुखोले महाजनले धान भरि सकेर भन्यो “हेर कान्छा, मंसिरमा चाँहि थपक्कै फर्काउनु पर्छ नि, फेरि फेरिलाई पनि माग्ने बाटो नमरोस् ”। सिन्कौले कान्छाले स्वीकृति सुचक टाउँको निहु-यो मात्र केही बोलेन ।
मंसिरमा सिन्कौले कान्छाले खलैबाट पन्ध्र पाथी धान भरेर साहु तिर्न लग्यो । भालुखोले महाजन तमाखु तान्दै सिकुवामा बसिरहेको रहेछ । सिन्कौले कान्छाले खाटमा धानको बोरा बिसाएको देखेर महाजनले तमाखुको सर्कोसंगै भन्यो, “ए कान्छा ! धान ल्याइस्” । उसले सास स्वाँ–स्वाँ गर्दै भन्यो,“ हजुर खलैबाट पन्ध्र पाथी धान भरेर लिएर आउँदैछु” ।
महाजनले घोप्टो जुँघा मुसार्दै बुहारीलाई हपा¥यो, “ए जेठी ! ए जेठी, जेठी पाथी ले ले ”। होइन, मैले जेठी मैयालाई त बाटामा जाँदै गरेको देखेको थिएँ ,सिन्कौले कान्छाले बुढालाई हेर्दै भन्यो । उसो भए, कान्छी चाहिँ होला भित्र, महाजनले सजताका साथ भन्यो । कान्छी बुहारीले पाथी ल्याएर महाजनका हातमा टक्¥याइदिई । महाजन धान भर्न लाग्यो राम…राम, दुई…..दुई, तीन,………तेह्र । “तेह्र पाथी मात्रै पुग्यो त कान्छा, कस्तो भरिस् ”। उसले बिस्तारित नेत्रले महाजन पट्टि हे¥यो, अनि पाथी पट्टि तर एक शब्द बोलेन । मात्र उसले एक चोटी फेरि–फेरि पनि माग्ने बाटो नमरोस् भन्ने महाजनको घोप्टे जुँघाले किचिएको मुखबाट निस्किएको वाक्यांश स्मरण ग-यो ।
रचना ः ११/६/२००२