पीडा
विशु निछा
अस्ट्रेलिया
अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ ।
“सुची, म जुना बोलेकी, चिन्यौ?”
मैले ‘हेलो’ पनि भन्न नपाउँदै जुना बोली । अचानक उसको स्वर सुनेर म हर्षित भएँ । मसँग असाध्यै मिल्ने मेरी प्यारी अन्तरङ्ग साथी जुना । एक सालभन्दा पनि धेरै भइसकेको थियो हाम्रो भेट नभएको। आज अचानक उसको स्वर सुन्दा मेरो मनै फुरुङ्ग भयो ।
“जुना, तिमी कहाँ छौ? तिम्रो नम्बरमा कल पनि लाग्दैन। सन्चै छौ ?”- खुसी हुँदै मैले भनेँ ।
“म जहाँ भए पनि तिमीलाई भुल्दिनँ नि, सुची । अँ, म सन्चै छु । तिमी?”
उसको बोली त्यस्तै रहेछ, सुमधुर।
“म पनि ठिकै छु, तिमीलाई भेट्टाएँ, झन् आनन्दित भएँ।”- मैले उस्तै हर्षमिश्रित स्वरमा भनेँ ।
“अनि, अरू कोही भेट्टायौ कि दीपकको यादमा नै छौ, सुची ?”-
हामी एकाअर्कामा आफ्ना मनका खुसी, हर्ष, दु:ख, पीडा सबै कुरा खुलेर बाँड्थ्यौँ । हामीमाझ कहिले कुनै किरा गुह्य रहन सकेन । रहेन ।
“थुप्रै छन् । तर अब मलाई त्यतातिर रुचि छैन।”- मैले जस्ताको तस्तै भनेँ, र तुरुन्तै सोधेँ-“अनि तिमी?”
“म रुपकसँग छु। एक साल भयो । अब ऊसँग नै मेरो जीवन बित्ने छ ।”- जुनाको स्वरमा एकप्रकारको निर्धक्कता थियो ।
“पुरुषमाथि अझै भरोसा छ है तिमीलाई ?”- मैले विगत सम्झाउन खोजेँ ।
मलाई दीपकले लुट्यो । सँगै जिउने र मर्ने बाचाहरू गर्दै, प्रेमका हज्जारौं सप्तरङ्गी नवरङ्गी सपनाहरू देखाउँदै मलाई लुटिरह्यो । मेरो सुकुमार मन र शरीर लुटिरह्यो । उसले म सामु यसरी अभिनय गर्यो कि उसका हरेक संवादहरूलाई मैले सत्य ठानिरहेँ । चुपचाप मानिरहेँ । मन र शरीरबाट नै ऊप्रति नतमस्तक भइरहेँ। उसका पुरुष आग्रहहरूलाई सशरीर सहस्र सम्बोधन गरिरहेँ । तर मबाट उसको धीत मरेपछि ऊ मञ्चबाट ओर्लियो । अझ यसो भनौँ, ऊ आफ्नो औकातमा आयो र बेपत्ता भयो । त्यसपछि मेरो मनमा पुरुष र पुरुषप्रतिको प्रेमसँग वितृष्णा जागेर आयो । र, त्यो वितृष्णा अझै यथावत् छ, मेरो मनमा । जुनाको विगत पनि उस्तै हो । मेरैजस्तो । म दीपकको जालमा परेर लुटिएजस्तै ऊ पनि दिनेशको जालमा परेर लुटिएकी हो । जसरी मलाई लुटेर दीपक बेपत्ता भयो, त्यसरी नै उसलाई लुटेर दिनेश फरार भयो । तर, दिनेशबाट लुटिएर पनि ऊ हेमनको फन्दामा परी । हेमनले पनि उसलाई सक्दो उपयोग गर्यो । आफ्नो पुरुष भोक-तिर्खा मेट्यो र छाडिदियो । त्यसपछि पनि ऊभित्रको चैतन्य अझ जागृत भएन सायद, ऊ सुबोधसँग हिँड्न थाली । आफ्नो धीत मरेपछि सुबोधले पनि साबिक प्रेमीहरूकै बाटो पहिल्यायो । सुबोधले पनि धोका दिएपछि ऊ मकहाँ आएर निकैबेर रोएकी थिई । र, मैले सक्दो सम्झाएकी थिएँ । त्यतिखेर उसले उप्रान्त पुरुषको प्रणयजालमा कहिले नपर्ने कुरा भनेकी थिई । त्यसपछि मावला जाने भनेर हिँडेकी ऊ त्यतिकै सम्पर्कविहीन भएकी थिई । तर, आज अचानक गरेको पहिलो फोनमा नै रुपक अर्थात् पुरुषको जिकिर गरेकीले मैले विगत सम्झाएकी हुँ ।
“तिमीले, मलाई छक्याएर जाने दिनेश, हेमन र सुबोधहरुबाट मैले पाठ सिक्नु पर्ने हो भन्न खोजेकी हौ, बुझेँ । तर साँच्चै, रुपक त्यस्तो छैन । मेरो प्रेमप्रति ऊ सधैँ निष्ठावान छ, समर्पित छ ।”-जुनाको बोलीमा दृढता थियो ।
जुनाको यति दृढ कुराले मेरो मनमा नारीशुलभ उत्सुकता जाग्यो । साँच्चै कस्तो छ त रुपक ? रुपकसँग नै जीवन कट्ने कुरा जुनाले कसरी के-को आधारमा गर्न सकी । खोजे अवश्य भेटिन्छ भन्छन् । जुनाले खोज्दाखोज्दा भेटाई कि कसो साँच्चै आफूलाई माया गर्ने पुरुष । मलाई जुनाको लोग्ने हेरुँहेरुँ लागेर आयो । रुपकलाई हेरुँहेरुँ लागेर आयो । मैले जुनाको घरमा जाने निधो गरेँ । यसो गरे यतिका दिनपछि सम्पर्कमा आएको साथी र उसको लोग्ने दुवैलाई एकसाथ भेटिने छ ।
“जुना, मलाई तिम्रो ठेगाना देऊ न, म भेट्न आउँछु ।”- मैले जुनालाई भनेँ ।
मलाई लागेको थियो, जुनाले मलाई फट्ट आफ्नो ठेगाना भन्ने छिन् । तर उसले त्यसो गरिन । बरु मेरो कुरा सुन्नासाथ ऊ अन्कनाई !
“जुना, तिम्रो प्यारो लोग्ने लगिदिन्छु भनेर अन्कनाएकी? लान्न, देऊ न ठेगाना ।”- मैले दिल्लगी गरेर हाँस्दै भनेँ । तर ऊ हाँसिन ।
“म ठेगाना एसएमएस गर्दिन्छु, हुन्न ?”- जुनाले एकछिनपछि भनी ।
“त्यो झन् राम्रो । तर गर्दिहाल नि।”- मैले जोड दिँदै भनेँ ।
“लल, अहिलेलाई फोन राख्छु है त?”
जुनाले फोन राखेपछि मेरो दिमागमा एउटा प्रश्न ठिङ्ग उभियो, उसले आफ्नो ठेगाना दिन किन अन्कनाई रहेकी थिई ? मैले पो नमागिहाल्नु पर्थ्यो कि ठेगाना ! यति सोच्दै थिएँ, मोबाइलमा म्यासेजको टोन बज्यो । हेरेँ। जुनाले ठेगाना पठाई दिई सकिछ । अब के गर्ने ? जाने कि नजाने ? ठेगाना पठाई दिई सकेपछि कसरी नजाने । जानै पर्छ । आ…! त्यस्तो केही होइन । मेरो नै अलि बढी अनि वाहियात सोचाइ भएको हो । जान्छु । म जाने निष्कर्षमा पुगेँ ।
जुना र रुपकको निम्ति केही कोसेलीहरू किनेर प्याक गरेँ अनि बाटो लागेँ । दिनभरिको बसको यात्रापछि म जुनाको घरमा आइपुगेँ । मैले फोन गरेर भने बमोजिम आफ्नो घरबाहिर मलाई कुरेर बसिरहेकी जुनाले मलाई भित्र लिएर गई । घर सुनसान थियो । एक छिन बसेपछि मैले दम्पतीलाई दिन भनेर ल्याएको गिफ्टहरु झोलादेखि निकालेँ ।
“जुना, तिमीहरूलाई यो गिफ्ट ल्याई दिएकी छु । दुवैजनालाई सँगै राखेर दिने क्या ! खै रुपकलाई बोलाउन।”- मैले जुनालाई भनेँ ।
मैले यसो भनेपछि जुनाले भित्रको कोठातिर हेरेर रुपकलाई बोलाई ।
“रुपक आऊ, मेरो साथी आएकी छिन् । बाहिर आऊ त?”-
मैले, जुनाले रुपकलाई बोलाएतिर आफ्ना उत्सुक आँखाले हेरेँ । हेर्दाहेर्दै भित्र कोठाबाट एउटा अल्सिसियन कुकुर पुच्छर हल्लाउँदै निस्किआयो । म छक्क परेँ । मैले आफ्ना चकित र विस्फारित आँखाले जुनातिर हेरेँ ।
“यही हो रुपक, सुची । लु, भन, उसले मलाई धोका दिन्छ त ? कहिले दिँदैन ।?”
यति भनेर जुना हाँस्न थाली । उसको हँसाई एकदम असामान्य थियो । ऊ केही बेर त्यसरी नै हाँसिरही, खित्खिताएर । केही बेरपछि अल्सिसियनलाई घ्वाप्प अँगालो हाली र अचानक रुन थाली । ऊ डाँको छाडेर घ्वाँघ्वा रुन थाली । ऊ त्यसरी रोएकी देखेर मेरो पनि मन थामिएन । आँखा मेरा पनि रसाए ।
“जुना, म तिम्रो पीडालाई महसुस गर्न सक्छु। “- मैले उसलाई आफ्नो अँगालोमा भर्दै भनेँ ।