पुनर्मिलन
विशु निछा
अस्ट्रलिया
म आँगनमा उक्लेँ । सिकुवामा बसेँ । घाम डुब्न अलिकति बाँकी नै थियो । हेरेँ- कति सफा आँगन ! आँगनका डिलमा विभिन्न फूलहरु ढकमक्क फुलिरहेका थिए । हरियो गोबरले मिहिनेतसाथ चिल्लो गरी लिपिएको सिकुवाको एक कुनामा अन्दाजी सात वर्ष पुगेकी कल्कलाउँदी बच्ची पुस्तक खोलेर पढ्दै थिई । मलाई देख्नासाथ अकमक्क परी ।
“तिम्रो नाम के हो बाबु?”
“सुमी”- सुमीले लज्जालुपाराले भनी ।
“ना, मिठाई खाऊ।”
“नाइ, खान्न!”
“किन?”
“मामुले भन्नू भ’को नचिनेको मान्छेले दिएको खानु हुन्न रे?”
“मलाई चिन्दैनौ सुमी?”
“अहँ, आजै त देख्दै छु, कसरी चिन्नु?”
अबोध सुमीको कुराले मेरो हृदय छिया पारेर गयो । मैले छातीभित्रको आँधीलाई रोक्न खोजेँ र पुनः मुखर भएँ।
“अनि तिम्रो मामु चैँ खै त?”
“पसल जानू भा’छ।”
“बाबा?”
“बाबा त म सानो छँदै अर्की आमा लिएर जानू भको रे?”
“अहिले तिम्रा बाबा फर्किआउनु भयो भने उनलाई माया गर्छ्यौ?”
“अहँ, गर्दिनँ । मेरो मामु र मलाई छाडेर जाने बाबालाई किन माया गर्नु?”
मैले आफ्नो नजर सुमीको नजरबाट हटाएँ । एकछिन पारितिर हेरेँ । हो, पारि, जहाँ झ्याम्म परेको ठूलो वरको रुख अझै त्यसरी नै उभिएको थियो । त्यही रुख मुन्तिर शोभाको दुवै हात समाएर कुनै दिन वचन दिएको थिएँ । जीवनमा कहिले रुवाउने छैन । सधैँ साथ दिनेछु । घात गर्ने छैन । हो त, त्यही वरको रुखमन्तिर हो । त्यो वरको रुख अझै उस्तै रहेछ । त्यो वरको रुखमात्र होइन, माथि देखिने पहाडका तरेलीहरू उस्तै रहेछन् । तल, शोभा र मैले कयौंचोटि सँ-सँगै तरेको खोला पनि त उस्तै रहेछ । मात्र म फेरिएछु । मात्र शोभालाई मैले दिएका मेरा बचनहरू फेरिएछन्। हो, कति कुरूप, कति निकृष्टतवरले फेरिएछु म ।
“मामु आउँदै हुनुहुन्छ, उ… तल ।”
सुमीको स्वरले म झसङ्ग भएँ । र, उसका साना र कोमल औँलाले देखाको ‘उ…तल’ तिर मैले पनि हेरिपठाएँ । हो, तल खेतको डिलैडिल शोभा आउँदै थिई । एकहातमा सौदाको झोला बोकेकी थिई । अर्को हातमा सायद मोबाइल ।
आँगनमा आइपुगेकी शोभाले मलाई देखिन्। मलाई अचानक देखेकी उसले निर्निमेष हेरिरहिन्। मेरा आँखा भने उसका आँखासँग जुध्न सकेनन् र भुईँतिर चिप्लिझरे । एकछिनपछि ऊ चुपचाप घरभित्र पसिन्।
डाँडाको घाम डुब्यो । धर्तीमा ओर्लिएको साँझ छिप्पिएर रात भैसकेको थियो । घरवरिपरी झ्याउँकिरी बास्दै थिए । सुमी आफ्नो मिठो निद्रामा परिसकेकी थिई । जागा थियौँ बस् हामी दुई प्राणी- शोभा र म । शोभा अहिलेसम्म बोलेकी थिइन । भरिएकी उसलाई मसँग बोल्न जरुरी पनि थिएन । बोल्नु त मैले थियो शोभासँग, भन्नू त मैले थियो शोभासँग । तर, के बोल्ने? के भन्ने मसँग शब्दहरूको अभाव भइरहेको थियो । हुन पनि मैले बोल्ने कुनै ठाउँ नै राखेको थिइनँ । तैपनि पनि मैले ओठ चलाएँ ।
“शोभा, तिम्रो दिलमा अझै पनि मेरो निम्ति अलिकति ठाउँ छ भने बिन्ती, मलाई बस्न देऊ। अब आइन्दा मबाट चुक हुने छैन।”
शोभा बोलिन । ऊ छोरीको निम्ति स्विटर बुन्नमा तल्लीन भई रहिन्।
“शोभा, पहिले जसरी तिम्रो दिल तोडेँ तिमीलाई विश्वासघात गरेर, फेरि त्यसो कहिले गर्दिनँ ।”
मैले उसको आँखामा हेरेँ । उसको ओठमा हेरेँ। अहँ, ऊ बोलिन ।
“मलाई थाहा छ शोभा, तिमी मलाई अझै माया गर्छ्यौ, नत्र मेरो नामको सिन्दूर किन लाई राख्छ्यौ?”
“जब तिमीले पहिलो चोटि मलाई प्रेम प्रस्ताव राख्यो र बाचाहरू गर्यौ, त्यतिखेर मैले आफूलाई सन्सारकै भाग्यमानी सम्झेकी थिएँ । त्यतिखेर मैले अठोट गरेँ कि जीवनको हरेक सुखदुःखमा, हरेक उकालीओरालीमा तिम्रो साथ दिन्छु । तिमीसँगै जिउँछु । तिमीसँगै मर्छु । तर, पछि तिमीले अर्की लिएर हिँड्यौ, काखको सुमी र मलाई छोडेर । यति भन्देऊ मदन, ममा के कमी थियो र तिमीले अर्की लिएर गयौ ?”
शोभामा के नै कमी थियो र ? ऊ त सधैँ एउटी असल प्रेमिका, एउटी असल पत्नी अनि एउटी असल आमा थिइन् । सारा कसुर मेरो नै थियो । त्यही कसुरको पश्चात्तापको ज्वालामा म अहिले जलिरहेको थिएँ ।
“शोभा, म आफ्ना सारा गल्तीलाई स्वीकार गर्दै तिमीसमक्ष क्षमाको आशा लिएर आएको छु। यतिखेर म यतिमात्र भन्न सक्छु कि म फेरि विगत दोहोर्याउँदिन । सक्छौ भने मलाई माफी देऊ ।”
शोभा बोलिन । ऊ मौन भई । भनिन्छ, मौन हुनु पनि स्वीकारोक्तिको लक्षण हो ।
बिहान भयो । सुमी उच्चस्वरमा सिकुवामा पाठ पढ्दै थिई । म उसैको छेउमा बसेर उसले पढेको सुन्दै थिएँ ।
शोभाले बाक्लो दूध हालेको चिया ल्याएर मेरो अगाडि राखिदिई र भनी,
“छोरीलाई ट्युसन पुर्याई दिई राखेर आउनु न। म खाना बनाउँदै गर्छु ।”
सामान्य समाजीक विषय उठान गरेको यो कथा— लेखकद्वारा निक्कै रोचक तरीकाले प्रस्तुत गरीएको छ।