पुनर्वासको एक दशक

लेखक
लेखक

यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया

समयचक्र अविरल घुमिरहन्छ | समयको प्रतिवर्तन र गतिशीलतादेखि मान्छे अप्रभावित रहिरहन सक्दैन त्यसकारणले उसको चिन्तन तथा चेतनामा परिवर्तन आउँछ जसको फलस्वरूप भौतिक परिवर्तनारम्भ हुन्छ | एउटा निश्चित बिन्दुमा उभिएर हेर्‍यो भने समयचक्रले तलको माथि, माथिको तल, परको वर र वरकोलाई पर पार्दछ अर्थात् समयभन्दा बलवान न कोही न केही छ | यो सत्य भूटानीहरूको पुनर्वासले पनि उजागर गरेकै छ | सन् २००८ को पूर्वार्धमा प्रारम्भ भएको पुनर्वासदेखि यता एक दशकको समयावधि गुज्रिसकेको छ | उनीहरूले झन्डै चार सतकको भूटान बसाइको कालखण्डमा भोग्न त परै जाओस् कल्पनासम्म नगरेको अवसर प्राप्त गर्नुका साथै भौतिक सुविधाले सम्पन्न जीवन यो एक दशकमै बाँचेका छन् | विगतमा उनीहरूले गुमाएको आफ्नो जन्मभूमिको तुलनामा वर्तमानमा उनीहरूले हाँसिल गरेको भौतिक समृद्धि नगण्य भएता पनि यो अवस्था अन्य देशका शरणार्थीसँग दाज्ने हो भने उनीहरू विश्वकै भाग्यमानी शरणार्थी हुन् | एउटा  जीवनकालमै यति धेरै विविधावस्थाको जिन्दगी भोग्न पाउने मान्छे नै संसारको सबभन्दा भाग्यमानी मान्छे हो | यसलाई स्वान्त सुखाय जीवनको मूलमन्त्र मान्ने हो भने जन हिताय केही गर्न पनि सकिन्छ | कुनै पनि समुदायको सामाजिक, व्यवसायिक, शैक्षिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनैतिक, लैंगिक स्थिति र समग्र स्वरूप देश, त्यसको भू-बनोट, काल, परिस्थिति र भौगोलिक अवस्थितिले निर्धारण गर्दछ | यस आलेखमा पुनर्वासको पहिलो दशकलाई विभिन्न उपशीर्षकमा विभाजन गरी संक्षिप्तरूपमा प्रतिविम्बित गर्ने प्रयत्न गरिएको छ |

सामाजिक परिवर्तन

पुनर्वाससँगै कति पुराना सामाजिक बेथिति बदलिएका वा बद्लिने क्रममा छन् | स्पृश्यास्पृश्यको रुढी र रूढि दुवैले सङ्क्रान्त वर्णव्यवस्थाको आस्तिक हाम्रो समाजमा प्रतिलोम, अन्तरवार्णिक तथा अन्तरजातीय विवाह कुनै समय वर्जित जस्तै थियो | विशेष गरी छोइछिटो हाल्नुपर्ने भनी मानिएको तथाकथित अछुत समुदायको कसैसँग दाम्पत्य सम्बन्ध भए त्यो जोडी बहिष्कृत हुन्थ्यो | भागी बिहे त कुरै छाडौँ अहिले अन्तरजातीय मागी विवाह नै सहजरूपमा हुन थालेका छन् | आफू बसेको देश वा प्रान्त/राज्यमा आफ्नै जातको जीवनसाथी रोज्न पाउने युवायुवतीको सङ्ख्या पर्याप्त नहुनु, त्यहाँ जातीय विभेद मनाही गर्ने न्यायिक व्यवस्था हुनु र जनचेतनाको विकास हुनु त्यसो हुनुका धेरै मध्ये केही मुख्य कारण हुन् | भूटानमा हुँदा प्राय एउटै गाउँका र नेपालमा हुँदा एउटै शिविरका युवायुवतिमाझ हुने विवाह अहिले विदेशसम्म गएर हुन थालेको छ | नेपाल तथा भारत गएर महँगो विवाह गर्ने लहर बढेको छ | यस्तो बिहे गर्ने युवाको सङ्ख्या युवतीको भन्दा ज्यादा छ | ग्रिन कार्ड वा स्थाई बासिन्दाको औकात प्राप्त गर्ने स्वार्थले भूटानी युवती/महिलासँग वैवाहिक सम्बन्ध गाँस्ने नेपाली युवा/पुरुषको सङ्ख्या पनि उत्तरतिरै गैरहेकोछ | त्यस्तो स्वार्थ पुरा भएपछि सम्बन्धविच्छेद गरिएका युवती/महिला पश्चातापको आगोमा जलिरहेकाछन् | रहनसहनमा पनि धेरै बदलाव आएको छ | पटुकाले गुन्यू कस्ने महिलाहरू निर्धक्क प्यान्ट लगाउन थालेका छन् | युवतीहरूले छोटा र जीउमै टाँसिएका लुगा लाउनु सामान्य बन्दै गएको छ जुन पुनर्वास पहिले विरलै देखिन्थ्यो | मासिक धर्म भएका बेला महिलाले ५ दिनसम्म पर सर्नु पर्ने प्रथा बिस्तारै घट्दै र हट्दै आइरहेको छ | घरभित्रै नुहाउने प्रसस्त पानीको पहुँच, स्वस्थ तथा व्यस्त दैनिकी, सरसफाई तथा परिवारको सानो आकार भएकाले यो परिवर्तन देखिएको हो | चुँलेंसी, थाल र बटुकालाई नाइफ, प्लेट र बलले विस्थापित गराएको छ | पुनर्वास हुन पुगेका अधिकांश भूटानीहरू गृहमा जन्मिएका थिए तर पुनर्वासपछि जन्मनेहरू ९९.९ प्रतिशत प्रसूतिगृह जन्मिएका छन् | प्रसूति तथा गर्भसम्बन्धी जटिलताका कारण हुने महिला तथा शिशुको मृत्युदरमा गिरावट आएको छ | त्यस्तै प्रदूषणरहित वातावरण, स्वस्थ आहार र सहजै उपलब्ध हुने अस्पताल, औषधालय तथा चिकित्सकीय सेवाका कारण भूटानीहरूको सरदार आयुमा वृद्धि भएको छ | पुनर्वाससंगै वेश्यालय धाउने, मदिरा तथा लागूऔषधको दुरुपयोग गर्ने, क्यासिनो जाने, जुवा खेल्नेजस्ता कति नयाँ कुरीति पनि भित्रिएका छन् | शरणार्थी शिविरमा हुँदा अलिअलि धाँजा फाट्न मात्र शुरुभएको पुस्तान्तर एउटा विकराल गर्तको रूपमा बढ्दो क्रममा छ |

सांस्कृतिक/संस्कारिक परिवर्तन

जन्मपूर्व गरिने प्रथम संस्कार गर्भाधानदेखि मरणोत्तर गरिने अन्तिम संस्कार सम्पादन गर्ने वा मान्ने शैलीमा निक्कै भिन्नता आइसकेको छ | शिशु जन्मेको नौदेखि बाह्र दिनसम्ममा गरिने नामकरण संस्कारपूर्व सन्तान र आमाले प्राय एउटै स्थानमा निष्कृय रहने चलन हटिसकेको छ | नामकरण नगरुन्जेल शिशुलाई सूर्य दर्शन नगराउने प्रथाको पनि अन्त्य भएको छ भने बच्चा जन्मेको भोलि/पर्सिपल्टै आमा पकाउने, खाने, खुवाउने, आदि जस्ता गृहिणीको भूमिकामा उत्रिन्छिन् | उनी स्वस्थ हुनु, श्रीमान् जागिरे हुनु या उनलाई सहयोग गर्न परिवारका अन्य सदस्य नहुनु उनको सक्रियताको कारण हुनसक्छन् | असामान्य परिस्थितिबाहेक मान्छेको शरीरबाट प्राणवायु गएको एक/दुई घण्टाभित्रै गरिने अन्तिम संस्कार प्राय धनञ्जय वायु उडिसकेपछि हुने गरेको छ | भूटानीहरूले स्थानीय सरकार र त्यसको सम्बद्ध निकायलाई अन्त्यष्टिसम्बन्धी उनीहरूको प्रचलित, लौकिक वा शास्त्रीय मान्यताको बारेमा शिक्षित गर्न नसक्नु मृत्यु-समीक्षकको कार्यालयबाट शवको विमोचनमा विलम्ब हुनुको एउटा कारण हो | यो ढिलाइले शोकाकुल परिवारदेखि अन्तिम संस्कार सम्पादकहरूलाई समेत काजक्रियाको सुरु कहिलेदेखि गर्ने र अन्त्य कहिले गर्ने भन्ने कुराले अन्योलमा पारेको छ | मृतकलाई हरियो बाँसमा मलामीले काँधमा बोकी सङ्ख बजाएर कुनै नदी किनार वा जलकुण्ड वा तीर्थस्थल स्थित घाटमा दाउराको चितामा गरिने दाहकर्म दश वर्ष अघिको रिबाज भएको छ भने वर्तमानमा लासलाई शवपेटिकामा हाली शववाहनमा राखेर शवदाह गृहमा लगी विद्युतीय अग्निले दहन गरिन्छ | हिजो अनिवार्य हुने गाई, गहुँत र गोबरबिनै आज काजक्रिया वा अन्य पितृकार्य सम्पन्न गरिन्छ | त्यस्तै दुना टपरीको सट्टा काजग वा प्लास्टिकका कटौरा र थाली प्रयोग गरिन्छन् |

धर्म परिवर्तन

मान्छेले प्रशंसा त्यसैमा खोज्छ जुन विषयको अंश पनि ऊ जान्दैन | जिउने महंगो विधि नै नजानेकाले सस्तो प्रविधिको दुरुपयोग गरी दीर्घजीवी हुने उपाय सिकाउँछ | अचेल धर्म दर्शनभन्दा प्रदर्शनको विषय बनेको छ | पुनर्स्थापनाको सबैभन्दा नकारात्मक असर भनेको नै धर्म परिवर्तन हो | एक लाख दश हजारको हाराहारीमा विश्वका विभिन्न देशमा तितरबितर भएको सानो भूटानी समुदायको लागि धर्म परिवर्तन शरणार्थी हुनुभन्दा पनि दुर्भाग्यपूर्ण दुर्घटना हो | भूटानीहरूले भूटान छोड्दा सर्वस्व छोडे पनि जातीय पहिचान, धर्म, संस्कृति, संस्कार, रितिरिवाज, परम्परा आदि साथमा लिएर आएका थिए | मान्छेले जहाँ गए पनि सधैँ आफूसँगै लाने भनेकै यिनै अमूर्त कुराहरू नै हुन् | उनीहरूले यी चिनारी/परिचायकहरूलाई साथ दिए भने उनीहरूको पहिचान कायम त रहन्छ नै त्यसका साथसाथै उनीहरूलाई भौतिक र आध्यात्मिक दुवै सुख पनि प्राप्त हुन्छ |

धर्म परिवर्तन बिलकुल व्यक्तिगत स्वतन्त्रता र अधिकारको विषय हो भन्ने कुरासम्म नबुझेकाहरूले परोक्षरूपमा जबर्जस्ति धर्म परिवर्तन गराई रहेकाछन् | जसको धर्म परिवर्तन गराइएको छ तिनीहरू त बिचरा त्यो प्रावधानका बारेमा अनभिज्ञ छँदै छन् | आफ्नो जीवनको बहुमूल्य समय भूटानको विकट तथा सुदुर गाउँमा या नेपालको शरणार्थी शिविरमा बिताएका यी सोझा-सिधा मान्छेको मन मस्तिष्क परिवर्तन (brainwash) गराउनु जति सजिलो जागिर ती धार्मिक ठेक्केदार र व्यापारीलाई अरू केही छैन सहज रोजगारीका लागि सीप अनिवार्य हुने पश्चिमा देशहरूमा | ती सर्वसाधारणले अहँ, होइन, हुँदैन, गर्दिन जस्ता नकारात्मक प्रतिक्रिया गर्न हिच्किचाउँछन् या सक्दैनन् | ती धार्मिक व्यापारीलाई धर्म परिवर्तन गराउन उनीहरूको संस्थाले तालिम दिएर यस्तो प्रभावकारी तर्कशक्तिको विकास गराएको हुन्छ कि विल्कुल नयाँ देशमा बसाइँ सरेका सर्वसाधारण नाजवाब हुन्छन् | रोजीरोटीका लागि मानिने धर्म राजनीति हो भने रोजीरोटीका लागि मरिमेट्नेहरूका पक्षमा गरिने राजनीति धर्म हो | जिन्दगीका २० या ३० या ४० वर्षहरू एउटै धर्म, संस्कृति, संस्कार, परम्परा, रितिरिवाज मान्दै आएको एउटा व्यक्तिले आफ्नै ती बहुमूल्य रत्नहरूको मूल्य नै थाह नपाएर हिजोदेखि अँगालेको नयाँ धर्म संस्कृतिको विषयमा के कति हेक्का राख्दछ या जान्दछ र त्यो नयाँ धर्मको प्रचार-प्रसार र धर्म परिवर्तन गराउने पाप गरिरहेछ भन्ने कुरा बुझ्नु जरुरी छ कि छैन ? जिन्दगीभरि पुराण सुन्दै वा मुन्धुम मान्दै आएकाले लामो दारी पालेर, आम्मामा या तकिया र दस्ताशा लगाएर एक दुई दिन कुरान पढेर नमाज सम्पादन गर्दैमा आध्यात्मिकरूपमा मुल्ला बन्न सक्छ ? हामीले त्यसलाई मुल्ला मान्ने कि मुला? जब हामी आफैँलाई आफैँले चिन्न सक्दैनौँ तब हामीलाई अर्काले उसकै पाराले चिन्छ र सोहीअनुसार चिनाउँछ | टोयोटाको (पूर्वको) इन्जिनले चल्ने गाडीलाई फर्डको (पश्चिमको) बडी लगाउँदैमा कहाँ फर्डको हुन्छ गाडी? इनाम बेचेर के बाँच्नु ?

 

हिन्दु विश्वविद्यालयबाट आचार्य गरेका तर हिन्दु धर्मको विरोध तथा कटु आलोचना गर्ने केही उपबुझ्रुकहरू पुनर्स्थापनापछि अहिले व्यासमा बसेर पुराण भन्नेदेखि विवाह, व्रतवंद. न्वारान, श्राद्ध, गर्नेसम्म भएका छन् | जिन्दगीको व्याकरण नजान्ने यी अबुझहरू आचरणको खुब कुरा गर्छन् | दिमागमा शून्य र व्यवहारमा अन्य हुन खोज्ने यिनीहरू धार्मिक व्यापारी नै हुन् | धर्म संस्कृतिलाई डलर  कमाउने कमण्डलु बनाएका छन् यी अवतारी र अवसरवादीहरूले अहिले |

हिंसा

हिंसा भन्ने बित्तिकै हाम्रो मानसपटलमा कुटपिट, झैझगडा, बन्दुक, छुरी आदिका विम्बहरू आउँछन् तर हिंसा त्यतिमा मात्र सीमित छैन | यम जत्रो देखिने हिंसा दुरबिन लाएर हेर्यो भने त्यसको वास्तविक आकार बृहस्पतिको जत्रो देखिन्छ | सामाजिक सुरक्षा व्यवस्था या कल्याणकारी प्रथा अथवा वृद्ध या शारीरिक अशक्तता भत्ता पाउने प्रणाली भएका देश वा राज्यहरूमा विगतमा हामीले नदेखेका हिंसाका रूपहरू प्रकट भएकाछन् | हिंसाको यो नयाँ प्रकरणको प्रकटीकरणमा पैसाले प्रमुख भूमिका निर्वाह गरेकोको छ | वृद्ध या शारीरिक अशक्तता भएका भूटानी समुदायका सदस्यहरू प्राय अशिक्षित भएकाले उनीहरूमाथि मानसिक तथा संवेदनात्मक दुर्व्यवहार भएको छ | उनीहरूले पाउने भत्तालाई परिवारको आयस्रोत मानेर ऋणमा घर लिने अभ्यास व्याप्त छ | नयाँ ठाउँमा ऋणमै भए पनि आफ्नै घरमा बस्नुलाई सामुदायिक सशक्तीकरणको सङ्केत अवश्य मान्न सकिन्छ तर उनीहरूको न्यूनतम् दैनिक आवश्यकतामा लाग्ने खर्च कटाएर परिवारको स्वार्थ पूर्ति गर्ने कुरा भने मान्य नहुने मात्र नभएर लज्जास्पद तथा त्यतिकै निन्दनीय पनि छ | भाषाको समस्याका कारणले उनीहरू आफ्नो हक अधिकारसम्बन्धी अनभिज्ञ भएकाले उनीहरूका परिवारका अन्य सदस्यले अथवा उनीहरूका रेखदेखकर्ताले उनीहरूमाथि दुर्व्यवहार तथा हिंसा गर्ने गरेकाछन् | उनीहरूको रेखदेखकर्ताका रूपमा भत्ता खाने तर ती रेखदेखकर्ताले विभिन्न सेवाप्रदायकहरूका सेवाग्राही रहेका उनीहरूलाई विभिन्न बहाना बनाएर तिनीहरूसँगको उनीहरूको पूर्वनिर्धारित भेटमा नलाने र आवश्यक सेवा लिनबाट वन्चित गराउनेजस्ता ज्वलन्त उदाहरण देखिएका छन् | त्यसो गर्नुको अर्को कारण यातायातमा खर्छ जोगाएर उनीहरूको दैनिक खर्चमा कटौती गराई तिनीहरूको बचत बढाउँनु हो | उनीहरूले पाउने सरकारी भत्तामा उनीहरूको प्रतक्ष्य पहुँच नहुँदा आर्थिकरूपमा आफन्त वा रेखदेखकर्ताबाटै उनीहरूले ठगिनु परेको छ | अनलाइन ब्यांककिङ गर्न र एटिएम कार्ड चलाउन नजान्दा उनीहरूलाई कहाँबाट कति पैसा आउँछ र कता जान्छ भन्ने पनि थाहा हुँदैन | एक चोटिमा पाइने भत्ताको पूर्णराशीको जानकारी हुने कतिपय उनीहरूले परिवारमा हिसाबकिताबको कुरा गर्दा छोराछोरी वा अन्य आफन्तसँग छुट्टिएर बस्नुपरेको पनि छ जसले गर्दा उनीहरू मानसिकरुपमा बिमारी भएका छन् | यस्ता घटनाले उनीहरूले विगतमा शिविर वा भूटानमा देखे-भोगेका आघातपूर्ण, भयङ्कर तथा त्रासदीपूर्ण घटनाहरूलाई ताजा गराएपश्चात् उनीहरू उदासीनता तथा आघातोत्तर तनाव असन्तुलनको सिकार भएकाछन् | ब्यांककिङका सामान्य कुरा सिकाएर उनीहरूको जीवनलाई सहज बनाउने उदारवादी या गैरमुनाफाकारी संस्थाहरूको प्रयास कतिपय स्थानमा सफल पनि भएको छ | गरिबीले अस्वस्थ बनाएको शरीर भएका मान्छेले पैसाले स्वास्थ्यलाभ गरेपछि बलको घमण्डले अभद्र व्यवहार गर्नु त्यति अस्वभाविक पनि हैन | घरेलु हिंसाका कारण गृह कलह, परिवारका सदस्यहरूमाझ भौतिक तथा मानसिक विभाजन भएको छ भने त्यस्ता परिवारका अलग्गिएका कति श्रीमान् श्रीमतीको सम्बन्धविच्छेद भएको छ | सम्बन्धविच्छेद ज्यादै महँगो हुने भएकाले परिवारले ठुलो आर्थिक भार खेप्नु परेको छ | घरका सामान जस्तै पलङ, टेबल कुर्सी, सोफा, फ्रिज आदिदेखि निश्चित समयावधिको करारमा हस्ताक्षर गरी भाडामा तथा ऋणमा लिएका घरसम्म प्रभावित भएका छन् | मदिरा, लागूऔषध, आदि पनि हिंसाका अन्य कारणका रूपमा देखापरेका छन् | मदिरा र लागूऔषधका कारण महिलाहरूमाथि यौन दुर्व्यवहार भएर प्रहरीमा उजुरी परेका प्रशस्त् उदाहरणहरू छन् | पितृसत्तात्मक भूटानी समाजका महिलाहरू पनि यसरी हिंसाको सिकार भएका छन् | नेपाल र भूटानमा हुँदा चुला-चम्का र खेत-खलियानमा मात्र सीमित महिलाहरू पुनर्स्थापनापछि आर्थिक स्वावलम्बनतर्फ उन्मुख देखिन्छ्न् | उनीहरूले मारेको यो युगान्तकारी फट्काले कति पुरुषहरूलाई समेत धेरै पछि पारेको छ | यो एउटा क्रान्तिकारी परिवर्तन हो तर पुरुषले महिलालाई हेर्ने पुरातन र परम्परागत सोचमा भने नवीनता देखिँदैन जसका कारण उनीहरूलाई त्यसले मानसिकरूपमा रोगी पनि बनाईरहेको छ | महिलाले अहोरात्र निभाउने गृहिणीको भूमिकालाई कुनै काम नमान्ने सामाजिक सोच पुनर्स्थापनाको पृष्ठगामी भएर नयाँ देशहरूमा प्रतिरोपण भए पनि त्यो फस्टाउने सम्भावना न्यून देखिन्छ किनकि त्यो भूमिका उनीहरूले पनि ननिभाइ नहुने वाध्यात्मक परिस्थितिबाट पुरुषहरू गुज्रिरहेका छन् |

जीवनशैली परिवर्तन

पुनर्वाससंगै भूटानीहरूको रोजगारीको दर बढेको छ त्यसैले उनीहरूको जीवनस्तर रातारात उक्सिएको छ | पुनर्वासअघि र पुनर्वासपछिको जीवनशैलीमा उत्तरी र दक्षिणी ध्रुवबिचको दुरी जतिको भिन्नता छ | एक बिहान लाएर हिजो कोइलामा पकाइ खानेहरू आज निमेषमै क्लिन एनर्जीमा पकाएर खाने भएकाछन् | हिजो साइकलसम्म चढ्न नसक्ने आज कारका धनी भएका छन् | बारीको हगनगौँडी घरभित्र पसी भोजनालयको छेउमा शौचालय भएर बसेको छ | त्यसरी नै रछ्यानको जुठेल्नु डिसवासर भएको छ | खेत-बारीको आकार पाकघरको एउटा कुनामा रेफ्रिजरेटर भएर घटेको छ | बाहिरका कुराहरू घरभित्र पसेर मान्छेको मनबाट मानवता बिस्तारै विस्थापित गराइरहेको छ | हिजो कछुवाको तालमा हिँड्ने मान्छे आज चितुवाको गतिमा दौडिरहेछ तर पुगेको कहीँ छैन | हिजो लुला खुट्टाको हिंडाईमा पनि जीवन त थियो नै तर के यो दौडले मृत्युको मुखबाट बँचेर सधैँ बाँच्न सकिएला ? नुन माग्नुपर्ने हिजोको मान्छेले आज सुनको चाकु भेट्दाको उन्मादले त्यसलाई लुकाउन आफ्नै मुटुमा घोपिरहेछ यद्यपि ऊ मरेको छैन केवल उसको संवेदना त्यसको जन्मस्थलबाट निस्कासित भएको छ | विस्थापित भएको छ | हिजो के खाने भन्ने पिर थियो आज केसँग खाने भन्ने अन्योल छ | हिजो के लाउने भन्ने चिन्ता थियो आज कुन लाउने भन्ने दुविधा छ अर्थात् हिजो के लगाएर लाज छोप्ने भन्ने फिक्री थियो आज आफ्नो वैभवको अहङ्कार कसरी प्रदर्शन गर्ने भन्ने दुविधा छ | खुट्टा पसार्दा भित्ता भत्किने कोठा जत्रो घरमा हिजो अँटाएको सिङ्गो परिवार हिजोको घर जत्रो कोठामा परिवारको एउटा सदस्य एक्लै अँटाउन नसक्दा आज शतचुर्ण भएको छ | हिजो यौटै चकलामा बेलेको रोटी बाँडीचुँडी खाने मान्छेहरू आज उही रोटीमा झगडा परेपछि त्यो चकला चकना चकना भएको छ | सबैभन्दा व्यस्त दिन असार पन्ध्र हिजो वर्षमा एक दिन आउँथ्यो तर आज हरेक दिन असार पन्ध्र भएको छ त्यसैले दही-चिउरा-केरा खाने दिन कहिले हो भन्ने अत्तोपत्तो हुन छाडेको छ अचेल | यो चटारोमा हली, गोरु, बाउसे, रोपार, खेताला आदिको काम छैन | हिजोको चारखुट्टे गोरुलाई विस्थापित गराएर आजको चारचक्के गाडीले भूटानीहरूलाई के साँच्चै पुनर्स्थापित गराउँदै छ त ? बहर दाएर बुढा भएका उनीहरूलाई अहिले समयले यसरी दाइरहेको छ की यो नयाँ जीवनशैलीमा आफूलाई ढाल्न उनीहरूले अनेकन सम्झौता गर्नु परेको छ |

भौतिकरूपमा मान्छे स्थापित भएपछि आध्यात्मिक र संवेदनात्मकरूपमा विस्थापित हुन्छ | उपलभ्य तर नव जीवनशैलीलाई अनिवार्य भौतिक साधनले मान्छेलाई रोबोट झैँ यान्त्रिक बनाएको छ |  धन नहुँदा मात्र त्यसको प्राप्तिको एउटा भोक हुन्छ तर जब त्यो प्राप्त हुन्छ त्यसपछि असंख्य हिंस्रक, भ्रामक, संक्रामक र आक्रामक भोकहरू लाग्न थाल्छन् जुन भोक मेट्न मान्छे मरिमेट्दा मरिमेट्दै आफैँ मेटिन्छ | हिजो उनीहरूसँग मन थियो जीवन थियो धन थिएन आज धन छ तर मन छैन जीवन छैन | हिजो दशैंमा एक जोर चप्पल पाउँदा दस दिन रमाउने मान्छे आज एक दिनमै दस जोर जुत्ता फेरेर पनि एक पला हाँस्न सकेको छैन | शिविरको सिरानदेखि पुछारसम्म धुरी जोडेर बसेका उनीहरू फैलिएर यति ठुला भएकाछन् की यौटै सबर्बमा पनि आट्न नसकेर बसाइँ सर्नु परेको छ | यौटै कुवामा एक जुग सँगै बसेका लघुताभासले संक्रमित सहस्र भ्यागुत्ताझैँ उनीहरू सागरमा बसाइँ सरेपछि आत्मश्लाघाको ज्वारभाटाले लघारिएका छन् | ‘अलेगरी अफ दि केभ’मा प्लेटोले गरेको विचित्र चित्रण उनीहरूमा चरितार्थ भएको छ |

आत्महत्या र मानसिक स्वास्थ्यको समस्या (आमास्वास) 

पुनर्वासले भूटानीहरूलाई अवसर र चुनौती बरोबर दिएको छ | पुनर्वासलाई अवसरको औंला मानी त्यसलाई समातेर हिँड्नेहरू एउटा रुमानी रोडमा यात्रारत छन्, कति गन्तव्यतिर नजिकिँदै छन् र कति गन्तव्यमा पुगेर विश्राम लिइरहेकाछन् भने कतिलाई पुनर्वास एउटा ढुङ्गे र ढाँडे बाटो साबित भएको छ | उनीहरू अनेकौँ समस्याबाट गुज्रिरहेका छन् तर आमास्वास ज्यादै विकराल तथा जटिल समस्याको रूपमा देखिएकाछन् | हुन त हिजो भूटान र नेपालमा हुँदा पनि यी समस्या नभएका हैनन् तर तिनका दर र कारण फरक थिए | उपर्युक्त उपशीर्षकहरू यी समस्याका केही कारणहरू हुन् | युवा पिँडीले नयाँ ठाउँमा छेपारोले झैँ रङ्ग फेरेका छन् | यो रङ्ग परिवर्तन रहर होइन | यो सौन्दर्यको लागि नभएर अस्तित्वको लागि हो भन्ने नबुझ्दा पनि यी जटिलता जन्मेका छन् | आमास्वासका अन्य कारणहरूमा जीविकोपार्जनको बाटोमा देखिएको अन्धकार, अस्पष्टता वा अनिश्चितता, बेरोजगारी, सामाजिक सहयोगको अभाव, आदि हुन् | सामान्य वा ग्रामीण जीवन बिताइरहेकाहरूले एक्कासि सहरिया जीवनशैली अपनाउनु पर्दाको पिरोलोको परिणति पनि हो आमास्वास | क्याम्पमा घुइँचोमा बस्ने बानी भएकालाई उनीहरू बसेको ठाउँ आसपास आफ्नो समुदायका वा चिनजानका मान्छेहरू नहुँदा एक्लोपनको अनुभूतिले पनि आमास्वास निम्त्याएको छ | पुनर्वासपूर्व पुनर्वासपश्चातको जीवनको बारेमा गरेको अड्कल, कल्पना वा अपेक्षा र त्यहाँ पुगेपछिको धरातलीय स्थितिबिचको फराकिलो दुरीको हुरीले पनि ल्याएको छ आमास्वास | पुनर्वासपूर्व आफू जन्मेको माटोसँगको वियोग भए पनि प्रकृतिसँग उनीहरूको सम्बन्ध ज्यादै नजिक थियो तर पुनर्वासोत्तर देश र माटोको पुनर्प्राप्तिसंगै पुनर्स्थापित भए पनि प्रकृतिसँगको सम्बन्ध पुनर्स्थापित हुन नसक्दा पनि आमास्वास देखापरेको छ | यसरी हेर्दा उनीहरू जन्मेको र बाँचेको माटो, उनीहरूले भोगेर आएको युग र अहिलेको परिस्थितिको बिचको भिन्नताको यौगिक प्रतिफलजस्तो पनि देखिएको छ आमास्वास | सरकारले दिएको भत्ताबाट नखाई नलाई घर किन्न जम्मा गरेको पैसा छोराले जुवामा हानेको जस्ता अप्रिय घटना उनीहरूको समुदायमा घटेकाछन् | पढेलेखेका छोराछोरीको भर परी तिनकै उज्वल भविष्यका लागि पुनर्वास रोजेकाहरूले उनीहरूका सन्तानले बाटो बिराउँदा उनीहरूको काटिएको नाकको पीडा लुकाउन पनि भएको छ आत्महत्या | ब्यांककिङ कारोबारप्रतिको अनभिज्ञताले गर्दा आफ्नै परिवार र आफन्तबाट ठगिएर पनि भएको छ आमास्वास | भूटान तथा नेपालमा रहँदा उनीहरू बसेको वरिपरिको ठाउँमा हुने दुर्घटनाको मात्र जानकारी हुन्थ्यो भने आज सञ्चार माध्यमको सहज पहुँचका कारण विश्वभर कहाँ के भइरहेको छ भन्ने कुरा छिनमै थाह हुने भएकाले पनि आत्महत्याको दरमा ह्वात्तै वृद्धि भएको आभास भएको पनि हुनसक्छ | आघातोत्तर तनाव असन्तुलन (आतअ) डायास्पोरिक भूटानी समुदायको अर्को जल्दोबल्दो समस्या हो | विशेष गरी विगतमा भूटान सरकारको यातना भोगेका, त्यस्तो यातना भोगेको देखेका, बाल्यकालमा शारीरिक दुर्व्यवहार खेपेका, बलात्कार गरिएका वा यौन दुर्व्यवहारमा परेका, हातपात गरिएका वा कुनै शस्त्रास्त्रसहित धम्क्याइएकाहरू आतअको सिकार भएकाछन् | यी मानसिक स्वास्थ्यका समस्या समाधानार्थ परामर्शहरू दिइएकाछन् तर परामर्शदाताहरू त्यति सफल देखिएका छैनन् | उनीहरूको प्रयास असफल हुनुमा भूटानी समुदायको बारेमा उनीहरूले पर्याप्त अध्ययन अनुसन्धान नगर्नु वा गर्न नसक्नु हो | त्यस्तै उनीहरूले दिने परामर्श र त्यसको दिइने तरिका भूटानी संस्कृति, परम्परा, रितिरिवाज, चाल चलन, धर्म, जीवनशैली, जीवनप्रतिको उनीहरूको दृष्टिकोण वा दर्शन, आदिसँग तालमेल नहुनु पनि त्यो असफलताको कारण हो | अर्को शब्दमा भन्दा पूर्वीय र पाश्चात्य जीवन, दर्शन, संस्कृति आदि बिच सङ्गति नभएकाले उनीहरूले दिने परामर्श उपयुक्त हुँदैन | स्किजोफ्रिनिँया मात्र मानसिक स्वास्थ्यको समस्या होइन भनी मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जागृत गराउन अत्यावश्यक छ | यसो गरे समयमै समस्याको पहिचान हुने भएकाले त्यसको उपचार गर्न सकिन्छ र आमास्वासको न्यूनीकरण पनि हुन्छ |

संस्थाहरूको स्थापना 

भूटानीहरू पुनर्वास हुन पुगेका प्राय प्रत्येक स्थानमा एक वा सोभन्दा बढी सामुदायिक संस्था खोलिएका छन् | यी संस्थाहरूले स्थानीय स्तरमा मात्र काम गर्दछन् |  राष्ट्रिय तथा अन्तराष्टिय तहमा आफ्नो उपस्थिति जनाउन र केही सेवा पुर्‍याउने कार्यमा सक्रियता देखाएका संस्था समेत स्थापित भएका छन् | ‘शिक्षा तथा सशक्तीकरणद्वारा न्यायको खोजी’ भन्ने नारा लिएर २०१० मा अस्ट्रलियाको एड्लेडमा स्थापना तथा दर्ता भएको ‘पुण्य फाउन्डेसन’ ले भूटानी शरणार्थी शिविर र त्यहाँका स्थानीय क्षेत्रका आर्थिक कठिनाइका कारण उच्च शिक्षा हाँसिल गर्न नसक्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रधान गर्नु, इथियोपियाका प्रभाव्य वा असुरक्षित केही प्राथमिक तहका विद्यार्थीलाई छात्रवृत्ति दिनु, केन्याका बलात्कार तथा हिंसा पीडित महिला तथा नेपालका भूकम्प पीडितहरूलाई सहयोग गर्नु जस्ता आदि काम गर्दै आइरहेको छ | अस्ट्रलियाको एड्लेडमै २०१४ जून मा स्थापना भएको गैरनाफामुलक भूटानी शहीदहरूको स्मृति तथा यातना पीडितहरूको समाजले (BHUMMATSS) भूटान सरकारले दिएको यातना तथा बलात्कार पीडितहरूको कथा सङ्कलन गरेर वेबसाइटमा प्रकाशन गरी इतिहासको संरक्षण तथा दस्तावेजिकरण गर्नुका साथै पीडित तथा तिनका परिवारको घाउ निचोरेर पीप निकाली आघातोत्तर तनाव असन्तुलनलाई न्यूनीकरण गर्ने अवसर प्रदान गरेको छ | BHUMMATSS ले Survivors of Torture and Trauma and Rehabilitation Services ( STTARS) नामक स्थानीय संस्थासँग सहकार्य गरी शहीद तथा यातना पीडित र तिनका परिवारलाई योगा कक्षा सञ्चालन तथा मानसिक स्वास्थ्य सम्बन्धी जानकारीमूलक सत्रको आयोजना गर्दै आइरहेको छ |

२००९ मा स्थापित Bhutanese Community in New Hampshire बाट जुन २०१७ मा Building Community in New Hampshire (BCNH) मा रुपान्तरित यस संस्थाले स्थानीय सामुदायिक संस्था भएर पनि तिलक निरौला प्रस्तोता रहेको ‘हाम्रो आवाज’ टेलिविजन कार्यक्रमद्वारा सम्पूर्ण भूटानी डायस्पोरालाई जोड्ने प्रशंसनीय कार्य गरेको छ | समसामयिक गतिविधिलाई कार्यक्रममार्फत पस्केर डायस्पोरामा सूचना प्रवाह गर्नुका साथै विभिन्न तहबाट सामुदायिक विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई समुदायसमक्ष परिचय गराएको छ | विशेष गरी भाषाको कारणले समुदायमा भएका गतिविधि बारे आफूहरूलाई सुसुचित तथा जानकार राख्न असमर्थ भई सूचनाको हक गुमाउन पुगेकाहरूलाई नयाँ देश, काल, परिस्थिति, संस्कृति आदिसँग समायोजन गर्न तथा अभ्यस्त राख्न यो कार्यक्रम अत्यन्तै प्रभावकारी तथा सफल रहेको छ | १० मार्च २०१० मा सुरु भएको यो कार्यक्रम २५ जनवरी २०१७ मा आएर स्वयंसेवकहरूको अभावमा दुर्भाग्यवश बन्द भएको छ | शरणार्थी तथा आप्रवासीहरूलाई सामाजिक सेवा, रोजगारीको सेवा, नागरिकतासम्बन्धी सेवा, स्वास्थ्य बिमा, मानसिक स्वास्थ्य आदि जस्ता सेवाहरू प्रदान गर्दै आएको BCNH को प्रतिवेदन The White House Task Force on New Americans Report, 2015 समाविष्ट छ भने 2016 Martin Luther King, Jr. Coalition Special Award द्वारा BCNH सम्मानित भएको छ | ‘एकल तथा सामूहिक स्वास्थ्यलाभका लागि युवा नेतृत्वको प्रवर्धन’ भन्ने नाराका साथ जून २०१६ मा स्थापना भई अमेरिकाको क्यालिफोर्नियामा दर्ता भएको गैरनाफामूलक संस्था Foundation For Conscious Activism का  परियोजनाहरूमा कला, संस्कृति तथा प्रस्तुतिहरूको प्रदर्शन गर्नु, योगा सत्र सञ्चालन गर्नु, मानसिक स्वास्थ्य सम्बन्धी सामुदायिक जनचेतनाका कार्यक्रम ल्याउनु, आदि पर्दछन् | Organisation of Bhutanese Community in America (OBCA) ले खेल्कुद लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरी समुदायलाई जोड्ने काम गर्दै आइरहेको छ | २०१७ मा स्थापित Humanitarian Organisation for Philanthropic Enthusiasm (HOPE) ले अमेरिकाको ओहायोमा २०१७ डिसेम्बर १६ मा ‘कविता महोत्सव’ नामक कार्यक्रम आयोजना गरेको छ | जातीय पहिचान, संस्कृति, रितिरिवाज, आभूषण, आदिको संरक्षण तथा प्रवर्धन गर्ने हेतुले विभिन्न जातीय संस्थाहरू पनि अस्तित्वमा आएका छन् भने धार्मिक संघसंगठनहरूको जन्म पनि भइरहेको छ |

राजनीति

पुनर्स्थापनापछि राजनीति गर्ने प्राय सबै अन्य जनसाधारण सरह परिस्थितिको झाडीमा क्यामोफ्लाज्ड भएका छन् अर्थात् राजनीति शून्य छ |

खेलकुद

खेलकुद शारीरिक र बौद्धिक दुवै भएता पनि फुटबल र भलिबल भूटानीहरूका मुख्य खेलकुदहरूमा पर्दछन् | शरणार्थी भएर नेपाल आएपछि क्रिकेट र मार्सल आर्ट पनि खेल्न थालेका उनीहरूको अभिरुचि तथा आकर्षण पुनर्बासपछि अन्य खेलमा पनि बढ्दै गइरहेको छ | खेलकुद मानसिक तथा शारीरिक स्वास्थ्य तथा तन्दुरुस्तीका लागि मात्र लाभदायक नभएर यसले समुदायका सदस्यहरूलाई एकअर्कामा परिचित गराएर सम्बन्ध स्थापना गर्न पनि महत्वपूर्ण भूमिका खेल्दछ | खेलकुदले एउटा समुदायलाई अर्को समुदायसँग, एउटा देशलाई अर्को देशसँग मात्र नभएर विश्वलाई नै जोड्ने काम गर्दछ | विश्वका विभिन्न स्थानमा रहेका भूटानीहरूले खेलकुदका यिनै महत्वहरुलाई आत्मासाथ गर्दै समय समयमा खेलकुद कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गर्दै आइरहेका छन् | यस्ता आयोजनाहरु स्थानीय, क्षेत्रिय तथा प्रान्तीय स्तरमा भएका छन् | यसैक्रममा अमेरिकाको टेनेसीदेखि नेपाल गएर जितु बस्नेत (काका)ले २०१६ को अन्त्यमा आयोजित “ओबिसिए चौथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” सञ्चालन गरेका छन् | अन्तर्राष्ट्रिय स्तरमा हुने फुटबल खेलमा निर्णायकहरूले प्रयोग गर्ने यान्त्रिक उपकरणहरूको प्रयोग गरी बस्नेतले निर्णायकको भूमिका निभाएका छन् | उनले ती उपकरणहरू नेपालका बरिष्ठ फुटबल निर्णायक लब खत्रीलाई उपहारस्वरूप प्रदान गरेका छन् | हाल फुटबल प्रशिक्षकको रूपमा कार्यरत बस्नेत युएस सक्कर फेडेरेसनबाट मान्यता प्राप्त पहिलो भूटानी फुटबल निर्णायक हुन् | २०१० मा प्राप्त सो प्रमाणपत्र उनले हरेक वर्ष नवीकरण गर्दै अहिलेसम्म अध्यावधिक राखेका छन् | २०१७ मा टेनेसीमा ब्राजिलका विश्व प्रसिद्ध खेलाडी रोनाल्डिन्होले खेलेको एउटा च्यारिटी म्याचमा समेत बस्नेतले असिस्टेन्ट रेफेरीको जिम्मेवारी बहन गरेका छन् | भूतपूर्व मार्सल आर्टिस्टहरूले पनि मान्याताप्राप्त सम्बन्धित संस्थाबाट उनीहरूको योग्यता प्रमाणित गराएर विभिन्न स्थानमा प्रशिक्षण सुरु गरेका छन् |

भाषा तथा साहित्य 

संस्कृतका विद्वान् तथा कवि भर्तृहरिले भनेका छन्, “साहित्यसंगीतकला विहीन: साक्षात् पशुः पुच्छविषाणहीनः|” अर्थात् साहित्य, सङ्गीत वा कला नभएको मानिस त्यो पशु हो जसको पुच्छर अनि सङ्ग हुँदैन । मानव सभ्यताका अभिन्नाङ्ग जस्तै भाषा, साहित्य, सङ्गीत, चिन्तन, स्मृति, संस्कृति, परम्परा, रितिरिवाज, पोसाक, जीवनशैली आदि सबै वृद्धि, विस्तार र विकास हुँदै जान्छन् अर्थात् ती सबै परिवर्तनशील छन् | कसैले चाहँदैन कि ती अपरिवर्तनीय रहून् या त चाहेर पनि यिनलाई स्थायित्व दिन सकिँदैन यद्यपि यिनलाई साहित्य, सङ्गीत वा कलामा भने अवश्य जीवन्त राख्न सकिन्छ | सङ्ग्रहालयमा सम्भव नभए कम्तीमा तिनलाई विद्युतीय अभिलेखालयमा संरक्षित राखियो भने नयाँ पिँढीलाई त्यसरी र त्यस्तै आनन्द मिल्नेछ जसरी र जस्तो आनन्द अहिलेकालाई बाल्यकालका वा विगतका दुर्लभ फोटा हेर्दा मिल्छ | त्यति मात्र नभएर त्यसले उनीहरूलाई आफ्नो प्रगति, विकास र सभ्यताको सर्भेक्षण गर्ने आधारभूमि उपलब्ध गराउनेछ |

पुनर्स्थापनासँगै नेपाली भाषा, साहित्य तथा सङ्गीतले विश्वका समृद्ध राष्ट्रहरूमा फैलने सुवर्ण अवसर प्राप्त गरेको छ | यो विश्वभरिका सम्पूर्ण नेपालीले गौरव गर्ने विषय हो | भूटानीहरू पुनर्वास भएका आठ राष्ट्र मध्ये दक्षिण अस्ट्रलियाबाट नेपाली भाषाका कक्षाहरू पहिलोपटक २०१२ को मार्चमा सञ्चालनमा आएका हुन् | एथ्निक स्कुल एसोसिएसन अफ साउथ अस्ट्रलियाको मान्यताप्राप्त भूटनिज एथ्निक स्कुलको नाममा सञ्चालित यस विद्यालयले छरेको प्रकाशको उज्यालोमा अहिले विश्वका विभिन्न देशमा नेपाली भाषाका कक्षाहरू प्रशस्त देखिएकाछन् | साउथ अस्ट्रलियाका दुई माध्यामिक विद्यालयमा ऐच्छिक विषयको रूपमा नेपाली पढाइन्छ | जाति जता गयो त्यहाँसम्म भाषा सहजै पुग्छ नै तर त्यहाँ नयाँ भाषाको रूपमा त्यसलाई उद्घाटन गराएर त्यसको संरक्षण, सम्बर्द्धन तथा प्रवर्धन गर्न भने ज्यादै जटिल तथा चुनौतीपूर्ण हुन्छ | जातिको अस्तित्व कायम राख्न सबैभन्दा महत्त्वपूर्ण भूमिका भाषाले नै खेलेको हुन्छ | भूमण्डलीकरणको सङ्क्रमणले ग्रस्त यो एक्कासौं सदीमा ठुला भाषाको अतिक्रमणले कति भाषा विस्थापित भएका छन् भने कति भाषा तिनको उद्गमस्थलमै लोपोन्मुख देखिन्छन् | भूटानीहरू त भूटानबाट उखेलिएर फ्यालिएपछि मुर्झाएको नेपाली भाषाको मालबाँसलाई कम्तीमा हरियै राख्न त सफल छन् | त्यसलाई मर्न नदिउन्जेलसम्म त्यसबाट नयाँ तामा टुसाएर झाँगिने आशा गरिरहन अवश्य सकिन्छ | मातृभाषा नेपाली भएका कतिपय भूटानी नानीहरूलाई त्यो दोश्रो भाषा भइरहेको छ | त्यसो हुन नदिन उनीहरूलाई घरमा नेपाली बोल्न अनिवार्य हुने नियम लागु गर्न सकिन्छ | आधुनिक प्रविधिको उपयोग गरी उनीहरूसँग बसेर नेपाली टेलिभिजन तथा चलचित्र हेर्ने, नेपाली रेडियो तथा गीतसंगीत सुन्ने जस्ता अन्य धेरै कुरा घरमा गरियो भने पारिवारिक समय मनोरन्जनात्मक तवरले व्यतित हुनुका साथै  मातृभाषालाई चिरायु राख्न पनि सकिन्छ | मान्छेलाई प्रेमले नजिक राख्छ | प्रेम व्यक्त गर्न भाषा अनिवार्य हुन्छ अर्थात् भाषाबिना प्रेम अभिव्यक गर्न सकिन्न | अतः मान्छेलाई प्रेमले भन्दा भाषाले बढी नजिक राख्दछ | विभिन्न देशका विभिन्न स्थानमा भाषा कक्षा सञ्चालन भएतापनि त्यहाँको स्थानीय पाठ्यक्रम अनुरूप शिक्षण नहुँदा वालवालिकाहरू आफ्नो भाषा सिकाइ प्रति उत्साहित देखिएका छैनन् | उनीहरूले पढ्ने स्कुलको पाठ्यक्रमको विज्ञान र मनोविज्ञान बुझ्न र त्यही अनुसार पाठ्यक्रम तयार गर्ने सके उनीहरूको सिकाई मनोरन्जनात्मक हुन्छ | अहिलेसम्म त्यस्तो पाठ्यक्रम तयार नभएता पनि खिम खतिवडाले ‘हाम्रो नेपाली भाषा’ पुस्तक तयार पारेका छन् |

पुनर्वाससँगै साहित्यिक गतिविधि पनि बढेको छ | २०१४ को अन्त्यतिर स्थापित ‘मातृभाषा संरक्षण समूह’ ले अहिलेसम्म पाँचवटा कृतिको प्रकाशन गरिसकेको छ भने झन्डै दुई दर्जन कृतिका रचयिता कवि डिल्लीराम शर्मा आचार्य तथा गजल श्रष्टा दुर्गा रिमाललाई अक्टोबर २०१७ मा अमेरिकाको ओहायोमा अभिनन्दन गरेको छ |

सन् १९९३ देखि अनवरत रूपमा भूटानी नेपाली भाषा तथा साहित्योन्नती प्रति प्रतिबद्ध भएर लागेका अग्रज गंगाराम लामिटारेलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको वाशिंगटनमा २०७० मा सम्मान गरेको छ | नेपाली भाषा तथा साहित्यमा योगदान पुर्‍याएर यसरी सम्मानित हुने पहिलो भूटानी उनी साहित्य परिषद भूटानका संस्थापक सदस्य हुन् | नेपाली भाषा तथा साहित्यलाई विश्वव्यापिकरण गर्न योगदान पुर्‍याउँदै आएका साहित्य परिषद भूटानका अध्यक्ष भक्त घिमिरे २०१८ मा र विश्व भूटानी साहित्य सँग (जिबिएलो) का  अध्यक्ष तथा जिएफएनएलका उपाध्यक्ष डेन्जोम सम्पांग २०१४ मा विश्व नेपाली साहित्य महासङ्घ (GFNL) को ‘साहित्यिक दूत’ सम्मानद्वारा सम्मानित भएका छन् |

२००९ मा स्थापना भएको जिबिएलओले प्रत्येक दुई वर्षमा ‘बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान’ को आयोजना गर्दै आइरहेको छ | २०१२ मा भूटानी शरणार्थी शिविर, खुदुनावारीमा पहिलो अनुष्ठान सम्पन्न भएको थियो भने २०१६ को नोभेम्बर २५-२६ मा टेक्ससको अर्भिङमा आयोजित तेश्रो अनुष्ठानमा कवि तुम्बेहाङकृत ‘भग्न पर्खालको सयपत्री’ कविता सङ्ग्रह ‘जिबिएलो वर्ष पुस्तक’ द्वारा सम्मानित भएको छ |  सन् १९९८ मा प्रकाशित पुस्तकले २०१६ मा ‘जिबिएलो वर्ष पुस्तक’ भनिँदा त्यसले ठुलो विवाद पनि ल्याएको थियो | जिबिएलओले अहिले सम्म डेढ दर्जन भन्दा बढी पुस्तक प्रकाशन गरेको छ | सन् १९९३ मा स्थापित नेपाली भाषा परिषद भूटानबाट नेपाली साहित्य परिषद भूटान हुँदै साहित्य परिषद भूटानमा (सापभू) रुपान्तरित भएको भूटानी डायस्पोराको पित्र संस्था सापभूले कथा, कविता, महाकाव्य गरी एक दर्जनको हाराहारीमा कृति प्रकाशन गरेको छ |

सन् २००९ को मे ७ तारिक अनलाइन प्रकाशन सुरु गरेको साप्ताहिक रूपमा औसत ५ वटा सृजना प्रकाशित गर्ने  www.bhutaneseliterature.com ले अहिले सम्ममा १८७ सर्जकका २२०० भन्दा बढी लेख-रचनाहरूको अभिलेखीकरण गर्न सफल भएको छ | संस्थापकाध्यक्ष रमेश गौतम अनि सहसंस्थापक डोना आचार्य, सन्चमान खालिंग, आर एन पोखरेल र यतिराज अजनबी रहेको यो वेबसाइट भूटानी डायस्पोराको पहिलो र एक मात्र विसुद्ध साहित्यिक प्रकाशन हो | यसमा पुनर्वासपछिको भूटानीहरूको साहित्यिक सृजनात्मकता र सृजनशीलता प्रतिविम्बित भएको छ | यसमा प्रकाशित एउटै लेख झन्डै ९,००० पटकसम्म पढिएको छ | यो ठुलो सङ्ख्या नभए पनि हाम्रो सानो जनसङ्ख्याको अनुपातमा उल्लेखनीय नै मान्नुपर्छ |

पुनर्वास सुरु भए पश्चात् प्रकाशित कृतिहरूमा वर्णाश्रम (खण्डकाव्य, दधिराम अधिकारी २००८), धनेहरू निरन्तर हिँडिरहे (सन्चमान खालिङ, कविता सङ्ग्रह २००८), अनुभूति (टंक बयलकोटी, गजल सङ्ग्रह २००८), जून हराएको रात (प्रवासी कृष्ण घायल, रुबाइ सङ्ग्रह २००८), प्रलयाग्निको सँघारबाट (भोलानाथ सिवाकोटी ‘पुरानाघरे’, कविता सङ्ग्रह २००८), अश्ना (बादल थापा, कविता सङ्ग्रह २००८), अविरल आँसु (मणिराम धिमाल दीपित, कविता सङ्ग्रह २००९),  एक अँजुली माया (छत्रपति फुयाँल, गीत गजल सङ्ग्रह २००८), नाति (नारद तिम्सिना, पद्य कविता सङ्ग्रह २०६६ ), नाति (नारद तिम्सिना, गद्य कविता सङ्ग्रह २०६६), नाति (नारद तिम्सिना, निबन्ध सङ्ग्रह २०६६), नाति (नारद तिम्सिना, कथा सङ्ग्रह २०६६), भाकल (नारद तिम्सिना, मिश्रित सङ्ग्रह २०६६), डम्बरकुमारी स्मारिका (नारद तिम्सिना, २०६६), सम्झनाका खण्डित आकृतिहरू (सामूहिक, कविता सङ्ग्रह २०६७) , मूल्यबोध (साहित्यिक पत्रिका २०६७), प्रयास (विदुर पौड्याल, रुवाई सङ्ग्रह २०६७), चोइटिएको जून (सन्जु गिरी, गजल सङ्ग्रह २०१०), नेपाली भाषा शिक्षक (छत्रपति फुयाँल, व्याकरण २०१०), शब्द अस्त्र (सामूहिक रुबाई सङ्ग्रह २०१०), स्यालको रजाइँ (छत्रपति फुयाँल, बालकथासङ्ग्रह २०६८),  तुर्सा (कविता सङ्ग्रह, शिवलाल दाहाल २०१२), बसाइँ सरेको देश (विदुर पौड्याल, कविता सङ्ग्रह २०१२), साक्षी (वाई एन चम्लागाईँ , उपन्यास २०६९), Reminiscence: Petition & Politics (हरि के क्षेत्री, संस्मरण २०१३), अलबिदा बेलडाँगी (शिवलाल दाहाल, संस्मरण तथा समालोचना २०७०), स्वीकारोक्ति (डेन्जोम साम्पाङ, सिद्धान्त/दर्शन २०७०), त्रिकोण (संयुक्त रुबाई सङ्ग्रह २०७०), बुद्धिको खेल (छत्रपति फुयाँल २०७०), मेरो जीवन (विष्णुमाया तामाङ, गजल सङ्ग्रह २०१४), त्रिकोण (संयुक्त रुबाई सङ्ग्रह २०७०), बदमास (लक्की राशि, रुबाई सङ्ग्रह २०७०), किनाराका छालहरू (खेम रिजाल, गजल सङ्ग्रह २०७०), बुढो रुख र सान्नानीको इन्द्रेनी (लीला निशा, कविता सङ्ग्रह २०१४) , Justice to Justice Bhutan (एन बी गिरी, संस्मरण २०१४), बुद्धिको बिर्को (कर्ण गुरुङ, कविता सङ्ग्रह २०१४), अपेक्षा (यदुनाथ अधिकारी, कविता सङ्ग्रह २०१४), अस्तित्व (यदुनाथ अधिकारी, गजल सङ्ग्रह २०१४), भूगोलको नासो (दुर्गा रिमाल, गजल सङ्ग्रह २०७१), फाटेको मन (दावा मोक्तान रुबाई सङ्ग्रह २०७१), सन्ध्या (जे. एन. दाहाल, गजल सङ्ग्रह २०७१), अन्तरे (पातलो अन्तरे, गजल सङ्ग्रह २०७१), जोडेर सम्झनाहरू (संयुक्त गजल सङ्ग्रह २०७१), तुलसी मञ्जरी (स्व. राकेश काफ्ले, गजल सङ्ग्रह २०७१), जन्मभूमि (महाकाव्य, दधिराम अधिकारी २०७२), Silhouette of Truth (स्व. ओम पोखरेल, कथा सङ्ग्रह २०१५), शब्द शिल्पी (सामूहिक कविता सङ्ग्रह २०१५), समुन्द्रपारीका कलमहरू (संयुक्त गजल सङ्ग्रह, २०१५), Pathetic Journey (नारद पोखरेल, कविता सङ्ग्रह २०१५), भुल्नै सकिनँ (सुशील रेग्मी, गजल सङ्ग्रह २०१६), एक अन्जुली सपना (धर्मेन्द्र तिम्सिना, कविता सङ्ग्रह २०१६),  कंगारुको देशबाट (सामूहिक गजल सङ्ग्रह २०१६), जन्मभूमि (दधिराम अधिकारी, महाकाव्य २०७२), दर्पण (दधिराम अधिकारी, कविता सङ्ग्र२०७२), लक्षित पाइलाहरू (स्वर्गीय दिनेश चामलिंग, गजल सङ्ग्रह २०..), गजलयाम (याम थुलुङ, गजल सङ्ग्रह २०७२), देश हराएको रात (रिमेन आलोक, गजल सङ्ग्रह २०७२), समुद्रपारीका कलमहरू (सामूहिक गजल सङ्ग्रह, २०७२), प्रवासका अक्षरहरू (संयुक्त गजल सङ्ग्रह, २०७२), पुनर्वास (गजल सङ्ग्रह, लक्की राशि २०७२), दबाइएका आवाजहरू (सामूहिक गजल सङ्ग्रह २०७२), परिवेश रोएको बेला (स्व. राकेश काफ्ले, मुक्तक सङ्ग्रह २०१७ ), उतै छोडेको मुटु ( बि बि पौड्याल, गजल तथा हाइकु सङ्ग्रह २०१७), बिछोडिएको मन (गजल सङ्ग्रह, नारद आचार्य २०१७), गल्लीगल्लीका गीत (तिलारुपा आचार्य, कविता सङ्ग्रह २०१७), नभएसम्म डिट्रोयट (भानु ढुंगाना, कविता सङ्ग्रह २०१७), हाम्रो पहिचान (सामूहिक कविता, गजल, गीत आदि, २०१७ ), हाम्रो नेपाली भाषा (खिम खतिवडा २०१७), कुलागाङ्रीको फेदीबाट ( बैरागी माइलो, गजल सङ्ग्रह, २०७३), जानू कहाँ हो (धर्मेन्द्र तिम्सिना ‘क्षितिज’, गजल तथा रुबाई सङ्ग्रह २०७३), सानो भयो (नारद तिम्सिना, कवितासंग्रह २०७४), ऐतिहासिक यात्रास्मरण (नारद तिम्सिना, संस्मरण २०७४), मधू सँगिनी (नारद तिम्सिना, सँगिनी सङ्ग्रह २०७४), मधू/टोमादेवी स्मारिका (नारद तिम्सिना, २०७४),  नाति (नारद तिम्सिना, देउसी काव्य २०७४) आदि पर्दछन् | डा. गोविन्द रिजालको A Pardesi in Paradise (संस्मरण) पुनर्वासको पहिलो दशकको अन्तिम तथा २०१८ को पहिलो कृति हो |

माथि उल्लेखित विधामा लेखिएका पुस्तकहरू विधागत, संरचनात्मक तथा तात्विक दृष्टिकोणले पूर्ण छन् छैनन् सम्बन्धित विधाका विद्वान, विश्लेषक तथा समालोचकहरूले भन्ने कुरा हो | उपरोक्त तथ्याङ्कका आधारमा ६ दर्जन भन्दा बढी कृति प्रकाशित भएका छन् | प्राय कविता लेखिने हाम्रो साहित्यमा पुनर्वाससंगै गजल लेखन बढेको छ  | गजलको तुलनामा अन्य विधा धेरै पछि परेको छ | गीत, तांका, हाइकु पनि लेखिएका छन् तर पुस्तकाकारमा आएका छैनन् |  गजल लेख्नेहरूमा अधिकांश नयाँ पुस्ताका पर्दछन् | केही राम्रा कथाहरू पनि लेखिएका छन् | केही राम्रा कविता पनि आएकाछन् | यो दशकमा आख्यानमा पनि कलम चलेको छ | समालोचना पनि नलेखिएको छैन तर ज्यादै कम छ |

सङ्गीत र कला 

गत शिवरात्रीमा इसा फाउन्डेसनका संस्थापक भारतीय योगी सदगुरुका नामले चेर्चित जग्गी वासुदेवलाई सङ्गीतले आसनबाट उठाएको हामीले देखेकै कुरा हो | अध्यात्मका अध्येता, अन्तरमनको यात्री, अन्तर्द्रष्टा, अन्तर अभियन्त्रणका अभियन्ता तथा प्रविधिज्ञलाई समेत छमछम नाचाउने शक्ति सङ्गीतमा हुँदोरहेछ | लयबिनाको जीवन कल्पना पनि गर्न सकिन्न | हामीले बोल्ने, हिँड्ने, बस्ने, उठ्ने, प्रतिक्रिया गर्ने सबै क्रियाकलापमा लय हुन्छ | त्यही लयको अर्को नाम सङ्गीत हो | कसैले तपाईँलाई अचमलाग्दो कुरा सुनायो भने तपाईँ पनि विस्मय बोधक व्वाक्य नै प्रयोग गर्नु हुन्छ | गर्नु भएन भने तपाईँसँग बोध छैन अर्थात् तपाईँको दिमाग बोधो छ | त्यही हो लय अथवा सङ्गीत | त्यसैले संगीतविहीन जीवन जीवन जस्तो हुन् सक्दैन |

अप्रिल १२ १९५६ मा चिरांग जिल्लाको लप्सिबोटेमा जन्मेका प्रताप सुब्बाको शब्द, सङ्गीत र गायनमा सन् १९८२ रेडियो नेपालको स्टुडियोमा ‘तिमी देऊ या नदेऊ मोह मलाई’ रेकर्ड भएको थियो | यो उनको रेकर्ड गरिएको पहिलो गीत हो | सन् १९७७ मा अरुणा लामा, जितेन्द्र बर्देवा र नयन सुब्बा निर्णायक रहेको दार्जिलिङ जिल्ला साङ्गीतिक समारोहमा आफ्नै शब्द तथा सङ्गीतमा उनले गाएको ‘मेरो भाग्यलाई सम्झी म रोइदिन्छु’ गीतले दोश्रो स्थान हाँसिल गरेपछि सङ्गीत साधनामा लाग्ने प्रेरणा पाएका थिए | यसका आधारमा भन्ने हो भने भूटानी नेपाली सङ्गीतले चार दशकको यात्रा गरिसकेको छ | १९८२ भन्दा अगाडी गीत रेकर्ड भए नभएको भन्ने चाहिँ अनुसन्धान कै विषय हो | सन् १९६९ तिर प्रताप सुब्बाले नै एबी सुब्बाद्वारा रचित ‘नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिई’ गीत फेला पारेका थिए तर ती एबी सुब्बा उनकै पिता हुन् कि अर्कै हुन् भन्ने कुरा अहिलेसम्म निश्चित भएको छैन | सुब्बाका पिता संगीतप्रेमी हुनुका साथै वाद्यवादन पनि गर्थे |

आर्थिक पक्षघातले ग्रसित शरणार्थी अवस्थामा पनि भूटानीहरू साङ्गीतिक रूपमा सक्रिय नै थिए | त्यतिखेर पनि गीत रेकर्ड गर्ने र एल्बम निकाल्ने काम हुन्थे | नेपाल टेलिविजनबाट प्रसारण हुने ‘तिम्रो सुर मेरो गीत’ की प्रतियोगी तथा ‘नेपाली तारा २’ को टप ट्वेन्टीसम्म पुग्न सफल कान्छीमाया सुब्बा र सोही टेलिविजनबाट प्रशारित सन् २०११ को ‘सिङ्गिङ आईकन नेपाल’ को टप टेनबाट शरणार्थी भएकै कारण बाहिरिन पुगेका टेक दुधराज विषम परिस्थितिमा पनि साङ्गीतिक साधनामा लाग्ने उनीहरूको नश्लको जीवित उदाहरण तथा प्रमाण हुन् |

पुनर्वासपछि अमेरिकाबाट साङ्गीतिक एल्बमहरू निकाल्ने लहर नै चलेको छ | त्यो लहरले युरोप, अस्ट्रलिया र क्यानाडालाई पनि छोएकै छ | यो लहर खास गरी पुनर्वासको पहिलो दशकको पछिल्लो पाँच वर्षमा अझ बढेको छ | पुनर्वास प्रारम्भ भए यता कति एल्बम निस्के यकिनका साथ भन्न सक्ने अवस्था छैन तथापि अन्दाजी पाँच दर्जनको हाराहारीमा होलान् | यसरी एल्बम निकाल्नेहरूमा अधिकांश गीत/गजल लेखन र गायनमा लागेकाहरू छन् भने केही मात्र सङ्गीत सर्जक पर्दछन् | अहिलेसम्म एकै जनाले ३/४ वटा अल्बम निकालिसकेका छन् | गीतका शब्द सृजना गरी एल्बम निकाल्ने पहिलो महिला हुन् अमेरिकाबासी माया भट्टराई | शारीरिक दुर्बलता भएकाहरूसंग पनि सबल मानिसको झैँ संवेदना र अनुभूति अभिव्यक्त गर्ने क्षमता हुन्छ भन्ने सत्य उनले ‘माया’ एल्मब मार्फत उजागर गरेकी छन् | शब्द, सङ्गीत र गायन तीनै पक्ष सबल रहेका गीत विरलै छन् | हुन् त भूटानी सङ्गीतको आधार नेपाली सङ्गीतमै पनि यी तीनै पक्ष मजबुत रहेका गीत आजभोली ज्यादै कम मात्र रेकर्ड हुने गरेका छन् | उनीहरूका गीतको सङ्ख्या उकालो चढे पनि तिनले गुणलाई साथै लान सकेका छैनन् | यसो भन्दैमा उनीहरूको सङ्गीतको गुणस्तर यस्तै रहिरहने र असल नहुने भन्ने पक्कै हैन किन कि संख्यात्मक रूपमा वृद्धि हुँदै जाँदा नै गुणात्म विशेषता उद्घाटित हुन्छ | गीत रेकर्डिङ स्टुडियोहरू पनि खोलिने कार्य भइरहेको छ |

शरणार्थी हुनुको कारणदेखि पुनर्वाससम्मको कथालाई समेटेर  विकास सिवाले आफ्नो शब्द, स्वर तथा संगीतमा रेकर्ड गरी 1990 नाम दिइएको र्ह्याप गीत भूटानी डायस्पोराको हिट गीत हो | २०१८ फेब्रुअरी को मध्यतिर सार्वजनिक भएको यसले गीतले व्यक्त गरेको सबै कथाव्यथा संगीतका अन्य विधा मार्फत भन्न सकिन्न | यस अर्थमा उक्त सर्जकको विधा चयन गर्ने क्षमता प्रशंसनीय रहेको छ जसले गर्दा उस्तै देखिने गायक तथा गीतकारहरूको भिडमा उनीले आफूलाई अलग्गै चिनाएर छुट्टै पहिचान बनाउन सफल भएका छन् |

जून २०१७ मा अमेरिकाको ओहायोमा Bhutanese American Music Association (BAMA) को स्थापना भएको छ | पुनर्वासपछि खोलिएको यो पहिलो साङ्गीतिक संस्था हो | विस्तारित हुँदै गैरहेको भूटानी साङ्गीतिक माहोललाई यस्तो एउटा संस्थाको आवश्यकता पनि थियो | अमेरिकाभन्दा बाहिरको डायस्पोरालाई समेत समेट्ने खालको नामाकारण गरी यसलाई महासङ्घ बनाउन सके अन्य देशमा बसेर सङ्गीत सृजनामा लागेका र रुचि भएकाहरूले किनारीकृत वा अवहेलित हुनु पर्ने स्थिति निराकरण मात्र नभई भूटानी सङ्गीत अझ फाँटिलो हुने थियो | नेपाली सङ्गीतमा र त्यसको विश्वव्यापीकरणमा यो एक दशकमा भूटानीहरूले निक्कै ठुलो तथा अभूतपूर्व धनराशि लगानी गरेकाछन् तर अहिलेसम्म यसको मूल्याङ्कन कहिंकतै भएको छैन | BAMA ले यौटा सङ्गीत विद्यालय सुरु गर्न, गुणस्तरीय रेकर्डिङ स्टुडियो खोल्न, गुणस्तरीय गीत मात्र उत्पादन गर्न, गुणस्तरीय गीतहरू मात्र विमोचन गर्ने युट्युब च्यानल सञ्चालन गर्न, नेपाली सङ्गीतमा भूटानीहरूको उपस्थिति र योगदान सम्बन्धी आवाज निकाल्न, भूटानी डायस्पोराबाट नेपाली सङ्गीतमा योगदान पुर्याउनेहरूलाई कदर, प्रशंसा वा पुरस्कृत, इत्यादि गर्न सके BAMA अस्तित्वमा आउनुको सार्थकता हुने छ |

भानु फुयाँलको स्वामित्वमा रहेको वर्षा ज्वेलर्स प्रमुख प्रायोजक रहेको भोला ढुंगाना, रबिन बिष्ट तथा आकाश आचार्यको सक्षम ग्रुपले २०१५ देखि अहिलेसम्म ‘वर्षा बेस्ट पर्फमर’ नामक दुइटा गायन प्रतियोगिता सम्पन्न गरेको छ | अनलाइन सुरु गरिएको ती दुवै प्रतिगोगिताको अन्साइट समापन भएको थियो | अमेरिकाको भूटानी डियास्पोराका सदस्यले सहभागिता जनाउन सक्ने प्रावधान रहेको उक्त प्रतियोगिताको पहिलो विजेता रमेश कंडेल हुन् भने दोश्रो रोशन अधिकारी हुन् | आयोजक सक्षम ग्रुपले महफिल र मञ्च खडा गरेर आर्थिक वा अन्य कठिनाइका कारण ओझेलमा परेका प्रतिभाहरूलाई प्रतिष्टित तथा उद्घाटित हुने अवसर प्रदान गर्ने स्तुत्य कार्य गरेको छ | डिल्लीराम अधिकारीको इन्ट्रानेसनल होमकेयर तथा दिलीप दाहालको सेल फुड मार्ट र शेभरन फुडमार्ट डाइमण्ड स्पन्सर रहेको मेरो डान्स कप युएसए (MDCUSA) का दुई वटा नृत्य प्रतिगोगिता भैसकेका छन् | MDCUSA २०१६ र २०१७ का विजेता क्रमशः पुर्णि गुरुङ र मनिता मगर हुन् | आफूसँग कौशल भएर पनि त्यसलाई प्रस्तुत गर्ने मञ्च नपाउँदा प्रचार-प्रसारमा नआएकाहरूको कलालाई MDCUSA ले गिगावाटको प्रकाशमा ल्याई समुदायमा उनीहरूलाई परिचित गर्ने प्रशंसनीय कार्य गर्नुका साथै नेपाली कला र सङ्गीतलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तारित गर्ने  काममा सहयोग पुर्‍याएको छ |

अमेरिकाको ओहायो स्थित अक्रोन सहरमा २०१६ मा पुष्प गजमेरले हिमालयन मुजिक एकडेमीको स्थापना गरेका छन् | यसले नेपाली भाषा, कला र सङ्गीतका कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ | मातृभाषा नेपाली नभएकाहरूलाई समेत नेपाली भाषा, कला र सङ्गीत सिक्ने अवसर प्रदान गरी एकडेमीले नेपाली भाषा, कला र सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र चिनाउने उदाहरणीय कार्य गरेको छ | नेपालमै सिम्फोनी अर्केस्ट्रा गर्ने स्वर सम्राट् नारायण गोपालको सपना उनको जीवनकालमा पुरा हुन सकेन तर अक्रोन को ड्रुक फुजन ब्यान्डले अक्रोन सिम्फोनी अर्केस्ट्रासंग मिलेर सिम्फोनीमा गाईसकेको छ | अमेरिकाका विभिन्न राज्यमा २०१४ देखि वार्षिक रूपमा हिमालयन फेस्टिवलको आयोजना हुँदै आइरहेका छन् | राजन गिरीको सक्रियता तथा अध्यक्षतामा हुने सो महोत्सवमा गायन, नृत्य, खेलकुद, आदि समेटिए पनि धेरैले नरुचाएको मिस भूटान युएसएले तुलनात्मक रूपमा बढी लोकप्रियता हाँसिल गर्दै गइरहेको छ | २०१४, २०१५, २०१६ र २०१७ को मिस भूटान युएसएको ताज पहिरिन सफल भएका छन् क्रमशः प्रकृति राई, नुमा लिम्बु, बिमला सिवाकोटी र आरती घिसिङ् |

भूटानी शरणार्थीहरूको वास्तविक कथामा आधारित प्रकाश आङ्देम्बे निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’ को गर्भाधान पुनर्वासपूर्व भए पनि यसको जन्म पुनर्वासोत्तर भएको हो | यो फिल्मले २०१८ फेब्रुअरीको पहिलो सातामा पोखरामा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ को सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड आफ्नो पोल्टामा पारेको छ | बाल्यकालदेखि नै चित्रकलामा लागेका तथा Institute of Fine Arts and Commercial Arts- Bhutan (IFACA-Bhutan) का एक संस्थापक प्रल्हाद गुरुङका साथै IFACA ले यस चलचित्रको निर्माण तथा उत्पादनका विभिन्न पक्ष र तहमा महत्त्वपूर्ण भूमिका निभाएका छन् | ‘मुर्तिशाला’ नामक पसल चलाएर जीविकोपार्जन गर्ने भक्त राई र अन्य मूर्तिकार तथा चित्रकार र IFACA को संयुक्त प्रयासमा बेलडाँगी शरणार्थी शिविर स्थित फाल्गुनानन्द मन्दिरमा रहेको डिकेडस् मुजियमको स्थापना भएको छ | धारामा दात्री संस्थाले दिएका गाग्री र जर्किनको लाम र आफ्नो पालो आएपछि तिनमा पानी बोकी छाप्रोतिर हिँड्ने, थाङ्नाको सलेदो र बोतलले बनेको ढिब्रीको उज्यालोमा कटेरोभित्र वा बाहिर भैंमा बसेर गृहकार्य गर्ने र पढ्ने, ऊनको धागो बाट्न चर्खा घुमाउने, गिट्टी कुट्ने, चोया काड्ने, आदि जस्ता भूटानी शरणार्थीहरूको कष्टकर जीवनशैली तथा दैनिकी जो भौतिक रूपमा मात्र लोपुन्मुख नभई स्मृतिपटलमा समेत मरणासन्न अवस्थामा रहेका अनि  सम्झनामा बँचेखुँचेका अवशेषहरूलाई जोडेर तिनमा प्राण प्रतिष्ठा गराएर सङ्कट मोचन गर्ने काम भएको छ |

यो ग्यालरीको दीर्घकालीन संरक्षण गर्न सके आफ्नो मातृभाषा नेपाली नजान्नेहरूका लागि आफ्नो इतिहास र पृष्ठभूमि सम्बन्धी ज्ञानार्जन गर्न ज्यादै प्रभावकारी स्थान र माध्यम त यो हुने नै छ त्यसका साथसाथै त्यसले हाम्रो उत्पत्ति र विकासको कथालाई चिरन्जीवी बनाई राख्न संजीवनीको काम गर्नेछ | मान्छेलाई पहिले प्रकृतिले त्यसपछि परिस्थितिले जन्माउँछ |  लगाव, झुकाव, सद्भाव रह्यो र सही तथा इमान्दार सुझाव मिल्यो भने कुनै पनि व्यक्तिले उसको कर्ममा सफलता हाँसिल गर्दछ | निपिएन् आर्टस् एण्ड डिजाइन सेन्टरले 2013 मा आयोजना गरेको Me, Myself and I चित्रकला प्रतियोगितामा अन्तिम २० जनालाई उछिनेर सिड्नीको पहिलो ‘पिपल्स चोइस मुभिंग आर्ट ग्यालरी  अवार्ड’ को विजेता बनेकाछन् नवल खतिवडा |  सिड्नीको निपिएन् अस्पतालमा नर्सको काम गर्दै आएका खतिवडाले TAFE बाट ललित कलामा डिप्लोमा गरेकाछन् |  उक्त अस्पतालमा खतिवडाको ‘भूटानदेखि सिड्नीसम्म’ नामक चित्रकला प्रदर्शनी पनि गरिएको थियो | विभिन्न मानसिक रोगको उपचारमा (मारोउ) उनले आफ्नो चित्रकलाको सदुपयोग गर्दै आएका छन् | मारोउमा चित्रकलाको प्रयोग गर्ने उनी पहिलो भूटानी  चित्रकार हुन् | फिसर घोस्ट आर्ट अवार्ड २०१२, रेफ्युजी हार्टल्याण्ड अवार्ड २०१३, अस्ट्रालियन कन्टेम्पररी आर्ट अवार्ड २०१६, आदिले विभूषित खतिवडाले २०१० देखि चित्रकला सम्बन्धि भेला, प्रशिक्षण, अभ्यास आदि संचालन गर्दै आएका छन् |

कुनै पनि साहित्य, सङ्गीत या कला बुझ्न तथा/वा त्यसबाट मनोरन्जन लिन सम्बद्ध समुदायको भाषा, धर्म तथा संस्कृतिको बारेमा जानेको हुनुपर्छ अन्यथा न त्यो बुझिन्छ न त्यसबाट पूर्णानन्द प्राप्त हुन्छ त्यसैले त्यस्ता सृजना कालजयी बनाउन भाषा तथा संस्कृतिको संरक्षण अत्याज्य छ | एउटा व्यक्ति वा समूह/संस्थाले यी सबै काम गर्न नसक्ने भएकाले समुदायको सार्वभौम तथा सर्वपक्षीय विकास, प्रगति तथा उन्नतिका निम्ति उनीहरूमाझ सदाशय पनि उत्तिकै चाहिन्छ भने तिनीहरूले गरेको कामको उचित समालोचना या निरामय आलोचना हुनुपर्दछ यद्यपि सम्मान वा प्रशंसा भन्दा स्वस्थ आलोचना वा विरोधको सहज ग्रहण गर्न सक्ने सन्तुलित मानसिक र मनोवैज्ञानिक स्वास्थ्य सर्वाधिक अपरिहार्य वस्तु हो |

सञ्चार 

सन् २००४ देखि सञ्चालनमा आएको भूटान समाचार सेवाका (भूससे) पाठकको सङ्ख्या पुनर्वास प्रारम्भ भएपछि उल्लेख्य रूपमा वृद्धि भएको छ | यसो हुनुको कारण सहज तथा सुलभ प्रविधि हो जो पुनर्वासपूर्व अधिकांशका लागि सुदुरको वा अलभ्य कुरा थियो | पछिल्ला वर्षहरूमा केही सुस्ताएको भूससेले यो एक दशकमा पुनर्वास सम्बन्धी विभिन्न घटना, दुर्घटना, समाचारदेखि  हाम्रो प्रगति तथा उपलब्धि, आदिसम्मका विषय समेटेर सूचना तथा सञ्चार क्षेत्रमा अहम् भूमिका निर्वाह गरेको छ |

भूटानी डायस्पोरामा २०७० मा स्व. राकेश काफ्लेले सुरु गरेको पहिलो दृश्य कार्यक्रम ‘भूटानी ढुकढुकी’ जून २०१७ मा प्रकाशित ४२ औँ भागपछि बन्ध भएको छ | भूटानी डायस्पोराको साहित्य, सङ्गीत र कलासम्बन्धी सामग्रीहरूलाई प्रस्तुतिको मुख्य विषयवस्तु बनाएको उक्त कार्यक्रमले पछिल्ला भागहरूमा समाजका अन्य पाटाहरूलाई समेत समेटेको छ | यो कार्यक्रम उत्पादनमा राकेश काफ्लेले आफ्नो व्यस्त जिन्दगीको महत्त्वपूर्ण समय र पैसाको लगानी गरेका छन् | यौटा व्यक्ति अवैतनिक रूपमा यसरी खट्नु मामुली कुरा हैन | यस कार्यक्रमले समाजका थुप्रै नव सर्जकहरूलाई श्रोता- दर्शकसम्म पुर्‍याएर सृजनामा लागिरहन प्रोत्साहन दिएको छ | सामाजिक सञ्चार माध्यममा उनको अनलाइन व्यवहार, हेपाहा प्रवृत्ति अनि व्यक्तिगत आचरण र रुग्ण मानसिकता देखेर राकेश काफ्ले भाषिक, साहित्यिक र बौद्धिक रूपमा असक्षम हुन् भन्ने आलोचकरू पनि छन् तर सक्षमहरूले नगरेको वा गर्न नसकेको काम उनले गरेका छन् | हर कोहीमा केही न् केही कमजोरी वा अपूर्णता त भई नै हाल्छ | पटकपटक फेसबुक मार्फत आत्महत्या गर्छु भन्दै आएका काफ्लेले फेब्रुअरी २५ २०१८ मा आफ्नै निवासमा आत्महत्या गरेरै यो धर्ती छाडेका छन् | गोविन्द फुयेल प्रस्तोता रहेको केन्टकी युवा समाजको दृश्य प्रस्तुति ‘भूटानी त्रिवेणी’ लगभग १५ भाग पुरा गरी बन्द भएको छ | डायस्पोराको साहित्य, सङ्गीत तथा कला नै यसको प्रस्तुतिको विषयवस्तु रहेको थियो | मे २०१६ मा सुरु भएको भोला ढुंगानाको फेसबुक लाइब (स्याटरडे लाइब विद भोला)ले पनि विश्वभर तितरवितर भूटानीहरूलाई जोडेर संचारमा उल्लेखनीय काम गरेको छ | कैले गम्भीर समसामयिक तथा सामाजिक विषयको उठान गरी दर्शकलाई सोचमग्न तुल्याउनु त कैले सामान्य विषयवस्तुलाई हाँस्यास्पद तरिकाले प्रस्तुत गरी परिहास प्रदान गरेर व्यस्ततामा रुमलिएका उनीहरूलाई निश्चिन्त हँसाउनु भोलाको कार्यक्रमको विविधता हो | प्रत्यक्ष प्रसारित भएर पनि यति गुणस्तरीय प्रस्तुति हुनु सौखिन तथा अप्रशिक्षित प्रस्तोतामा विरलै पाइने खुबी हो | त्यस्तै २०१४ देखि सुरु भएको भानु फुयाँलको ‘ल्यांगल्यांग’ पनि धेरै दर्शकले हेर्ने अर्को फेसबुक लाइब हो | नेत्र आचार्यले पनि अक्टोबर २०१५ देखि अप्रिल २०१७ सम्म फेसबुक लाइब चलाएका छन् | मार्च २०१७ देखि साप्ताहिक रूपमा सञ्चालित सिएम निरौलाको ‘खुल्ला विचार’ ले ३० सौं भाग पस्किसकेको छ | अप्रिल २०१५ देखि अहिलेसम्म निरन्तर प्रसारण हुँदै आएको कैले दृश्य कैले श्रव्य हुने ‘साझा आवाज’ अस्ट्रलियाबाट उत्पादन भएको पहिलो दृश्य कार्यक्रम हो | National Ethnic and Multicultural Broadcasters Council ले Youth Progarmme of the Year 2013 द्वार सम्मान प्रदान गरेको ‘युवा संसार’ अहिले ‘रेडियो पहिचान’ को नाममा सञ्चालित छ | यो कार्यक्रम दक्षिण अस्ट्रलियाको एड्लेडका युवाको सक्रियतामा मार्च २०१२ देखि निरन्तर प्रसारण हुँदै आइरहेको छ | अन्य विभिन्न देश/स्थानमा पनि यस्ता कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् |

व्यवसायिकता, आत्मनिर्भरता तथा सफलता

पुनर्वासपछि कसैले कल्पना सम्म नगरेका पेसा तथा व्यवसायमा सफलता हाँसिल गरी आत्मनिर्भर बन्दै गैरहेका छन् भूटानीहरू | उनीहरू रियल स्टेट एजेन्टदेखि रेस्टुरेन्ट मालिकसम्म भएका छन् | कानुन व्यवसायीदेखि स्थानीय सरकारको चुनावमा उम्मेद्वारीसम्म दिएका छन् | अभियन्ता, चिकित्सक, परिचारिका, मनोवैज्ञानिक, आदिको सङ्ख्या उत्तरोत्तर हुँदैछ | नागरिकता खोसेर असुरक्षित पार्दै आफ्नो देशबाट लखेटिएर अनागरिक भएका उनीहरू विश्वकै विकसित मुलुकका नागरिक मात्र नभई अन्य नागरिकको सुरक्षा गर्ने प्रहरी तथा सेना सम्म भएका छन् | युद्ध तथा आतङ्कले ध्वस्त अफगानिस्तानका असुरक्षित जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने जस्तो पवित्र कार्यमा समेत संलग्न भैसकेका एक अमेरिकी सेनामा कार्यरत भूटानी युवाको नाम हो डिल्लीराम दाहाल | त्यस्तै अमेरिकी प्रहरी अधिकारी भैसकेका अर्का भूटानी युवा हुन् राम (रायन) कोइराला | साइकल चालक हुन पनि सपना देख्नु पर्ने हिजोको दुरावस्था भोगेका बालकहरू आज सुव्यवस्थाको उपयोग गरी विमान चालक भएका छन् | कल्पनाकासमा उड्दाउड्दै वास्तविकतामै विमान उडाउन सिपालु भएका अर्का संघषर्शील युवा हुन् लोकनाथ पोख्रेल | हाल परिचारिकाको रूपमा कार्यरत तुलसा गौतम Cairns Young Woman of the Year 2015 द्वारा सम्मानित भएकी छन् | अस्ट्रलियाको न्यु साउथ वेल्स राज्यको मुख्यमन्त्रीले प्रदान गर्ने Premier’s Multicultural Community Awards को Lifetime Community Service 2016 द्वारा ओम ढुङ्गेल र Youth Award 2016 क्रिकेट अस्ट्रलियाको Ambassador of the Year 2017 द्वारा रामचन्द्र खनाल सम्मानित भएका छन् | त्यस्तै परशुराम लुइँटेल Inaugural New Australian of the Year 2014 द्वारा सम्मानित भएका छन् | FECCA को विभिन्न पदमा रहेर काम गरेका लुइँटेलले २०१६ मा भिक्टोरिया राज्यको स्थानीय सरकारको (Moreland Council)  निर्वाचनमा उम्मेद्वारी समेत दिएका थिए |

सानो लगानीबाट व्यापार सुरु गरेका दिलीप दाहाल अमेरिकामा आफू लखपति मात्र भएका छैनन् उनले अरूलाई रोजगारी सम्म दिलाएका छन् | एक दशकमै लखपति तथा रोजगारदाता हुनु चमत्कार हो भन्नु अतिरंजन होइन | वर्षा ज्वेलर्सका सञ्चालक तथा व्यवस्थापक भानू फुयाँल मिलियोनायर भई सकेका छन् | BCNH का भूतपूर्व कार्यक्रम निर्देशक भगीरथ खतिवडा न्युहेम्प्शायर शिक्षा विभागमा २०१७ को अन्तदेखि सांस्कृतिक तथा भाषिक दक्षता संयोजकको रूपमा कार्यरत छन् भने गोलधापमा शिक्षक तथा शिविर सचिवको भूमिकामा रही समाज सेवा गरेका पदम रिजाल नोवेम्बर ७ २०१७ देखि दुई वर्षका लागि एसियाली प्रशान्त अमेरिकी मामिला सम्बन्धी पेन्सिलभेनियाको राज्यपालको परामर्श आयोगको सदस्यका रूपमा नियुक्त भएका छन् |

सफल मान्छेलाई सफलता सामान्य लाग्नु असामान्य कुरा हैन तर आफ्नो थातथलोबाट टाढा कतै कहिल्यै नहिँडेको मान्छेलाई हठात् देशैबाट डाँडो कटाइएपछि जिन्दगीलाई यात्राको रूपमा सहजै स्विकारेर हिँड्ने क्रममा ठेस लागी लड्दा कसैले उठाउन हात दियो भने उसैलाई भगवान् मात्र नसम्झी आफू सफल भएको बोध पनि हुन थाल्दछ | हिँड्दा हिँड्दै परिक्लान्त भएको शरीरलाई विश्राम दिने चौतारी भेट्टायो भने लामो सुस्केरा तानेर धन्य महसुस गर्दछ | यसका आधारमा भन्ने हो भने सफलताको व्याख्या ढुङ्गामा कुँदेर लेख्न सकिन्न अर्थात् सफलताको परिभाषा तथा परिमाण स्थान, परिस्थिति, परिवेश तथा परिसरले निर्धारण गर्दछ त्यसैले परिवर्त्य एवम् परिवर्तनशील छ सफलताको माने | आधारभूत मानवाधिकारको माग गर्दा स्वदेशबाट लखेटिएपछि नेपालमा वर्षौँ अनागरिक भए पश्चात् वाद्यात्मक भए पनि वैल्कल्पिक रूपमा तेश्रो देशमा पुनर्स्थापित हुँदै त्यहाँको नागरिकता प्राप्त मात्र गरेनन् प्रथम विश्वका अमेरिका, अस्ट्रलिया, क्यानेडा लगायतका विकसित मूलुकहरूमा मतदान गरी अधिकांशले जिन्दगीमा पहिलो पल्ट स्वतन्त्रता र प्रजातान्त्रिक पद्धति र मानव जीवनमा तिनको उपादेयिता अनुभूत गरी त्यसको उपभोग समेत गरेर सरकार गठनमा आफ्नो भूमिका नैसर्गिक रूपमा निभाएर आफूलाई गौरवान्वित तुल्याएकाछन् | गरिबी, अन्योल र अनिश्चितताको  भयानक चक्रव्यूहको परिबन्दमा परी नेपालको अस्थाई बसाइको अवधिमा भूटानमा विभन्न कारणले विद्यालय जान नपाएका वा नसकेका अधिकांश अभिभावक मध्ये केहीले जसरी नेपाली र अङ्ग्रेजी भाषा सिके ठिक त्यसै गरी आधुनिक तथा वैज्ञानिक प्रविधिले सम्पन्न मूलुकमा पुन स्थापित हुने क्रममा अहिले आफ्नो औकात र बुताले भ्याएसम्म अनवरत कसरत गरिरहेछन् नयाँ उपलब्धि हाँसिल गर्न | अहिले देख्दा-सुन्दा सामान्य लाग्छ तर आफ्नो भाषा, संस्कृति, रितिरिवाज, परम्परा, बोलीचाली, लवज, लवाइखवाइ, हिँडडुल, घर-गृहस्थी, सम्पूर्ण जीवनशैली आदि केही पनि नमिल्ने र कहिल्यै नसुनेको-नदेखेको ठाउँमा स्थापित हुनु चानचुने कुरा हुँदै हैन | ती ठाउँहरूमा परीक्षा बसेर सवारी चालक अनुमति पत्र अनि नागरिकता निकाल्नु उनीहरूलाई दस वर्ष पढेर उनीहरूका सन्तानले उत्तीर्ण हुन नसकेको एसएलसी परीक्षा भन्दा कता हो कता कठिन कुरा हो |

पहिचानको प्रश्न

जातीय सफायाको सिकार भएका नेपालीभाषी भूटानीहरूको पहिचान पुनर्वासपछि सङ्कटमा पारिएको/परेको छ | शरणार्थी शिविरमा जन्मेकाले नेपाली भन्ने गरेका छन् | त्यस्तै भूटानमा जन्मेकाले आफूहरूलाई भूटानी भन्ने गरेका छन् भने अन्यले उनीहरू जन्मे/बढेको देशसँग आफ्नो पहिचान जोडिएको बताउँदै आएकाछन् | एक देशबाट अर्को देशमा बसाइँ सर्दा कुनै पनि जातिको पहिचान अन्योलग्रस्त हुनुका साथै जटिल पनि बन्छ | नेपालबाट भूटान बसाइँ सरेका उनीहरू ४ सतकभन्दा बढी त्यहाँ बस्दा पनि भूटानी हुन सकेनन् | शरणार्थीको रूपमा लगभग २ दशक नेपाल बसेका उनीहरू नेपाली भएर पनि न नेपाली नै हुन सके | त्यसैले पनि अझ जटिल छ उनीहरूको पहिचान | हुन त मान्छेको पहिचान देश र नागरिकताले नै बढी निर्धारण गर्ने गर्दछ यद्यपि उसलाई आफ्नो परिचय आफ्नै तरिकाले दिने स्वतन्त्रता पनि हुन्छ | उनीहरू जहाँसुकै जन्मे पनि अहिले जुनै देशको नागरिक भए पनि त्यो नागरिकताको सम्बन्ध भने भूटानसंगै छ किन कि उनीहरू भूटानी भएकै कारण पुनर्वासमा जान पाएका वा गएका हुन् | त्यसैले उनीहरूले आफ्नो परिचय वर्तमान परिप्रेक्ष्यानुरूप जे जस्तो दिए पनि त्यो भूटानसंग जोडिएर आयो भने इतिहासको सम्मान र संरक्षण दुवै हुने मात्र नभई भूटानसंगको उनीहरूको सम्बन्ध सुधारोन्मुख पनि हुनेछ | हिमालको वनस्पतिलाई पहाड, मधेस, तराई जहाँ सारे पनि त्यसलाई हामी उही नामले पुकारछौं | भूटान, भारत, नेपाल, बर्मामा बस्ने नेपाली जातिले एउटा वनस्पतिलाई तुलसी भन्छन् | तुलसी अहिले भूटानी पुगेका मलुकहरूमा उनीहरूसँगै पुगेको छ र तुलसीका सात आठ पुस्ता त्यहीँ बितेकाछन् तर पनि उनीहरूले त्यसलाई तुलसी नै भनिरहेकाछन् | न तुलसीले आफूलाई फेरेको छ | उसले नयाँ जलवायु, प्राकृतिक परिस्थिति तथा पर्यावरणमा पनि बाँच्न जानेको छ | उसको फूल उस्तै छ, पात उस्तै छ, बोट उस्तै छ अनि उसको बास्ना र स्वाद पनि उस्तै छ | तुलसी जितेको घरको हुन सक्छ, गितेको घरको हुन सक्छ, पितेको घरको हुन सक्छ, सितेको घरको पनि हुन सक्छ तर जसको भए पनि तुलसी तुलसी हुन सक्छ |

बालबालिकामा भाषागत समस्या

बालबालिकामा भाषागत समस्या देखापरेको छ | त्यस्ता बालबालिकामा पुनर्वासपछि जन्मेकाहरू बढी पर्दछन् | उनीहरूको उमेरका अन्य बालबालिकाहरूको तुलनामा केही बालबालिकाहरू कम्जोर देखिएका छन् | उनीहरूको विशेष गरी अभिव्यञ्जक तथा ग्राह्य कौशल विकासमा ढिलाइ भएको छ | मातृभाषा र दोस्रो भाषाको चेपुवामा परेर भ्रमित भएका त होइनन् उनीहरू? उनीहरूका अभिभावक वा रेखदेखकर्ताको भूमिका आइप्याड, टिभी, कम्पुटर आदिले निर्वाह गर्नाले हो कि उनीहरूको परिवारको आहारविहारले हो? यो समस्याको गम्भीरताले त्यसको चुम्बकीय क्षेत्रसम्म समुदायको सचेत तथा बौद्धिक सबैलाई तान्न सके र त्यसका कारणहरूको अध्ययन अनुसन्धान गर्न सके त्यसको न्यूनीकरणका साथै निवारण गर्न सकिन्थ्यो |

परोपकारीता 

परिस्थितिले जति नै खुम्च्याउन खोजे पनि भूटानीहरूको परोपराकरीता अझ उदार तथा विस्तारित हुँदै गैरहेको छ | एकापसमा त कुरै छाढौं परेका बेला आफ्नै दैनिक आधारभूत आवश्यकता भुली राग, द्वेष, कलह, वैरभाव सबै त्यागेर शत्रुलाई समेत सहयोग गर्न पछि पर्दैनन् यी दानवीरहरू | उनीहरूले भूकम्प, बाढी वा अन्य प्राकृतिक प्रकोपबाट प्रताडित नेपालीहरूलाई अनपेक्षित तथा अप्रत्याशित आर्थिक सहयोग गरेका छन् | कुनै पनि नेपाली चाहे त्यो अपरिचित सर्वसाधारण होस् वा ओझेलमा परेको वा चर्चित कलाकार होस् ऊ बिरामी परी अर्थाभावमा स्वास्थ्योपचार गराउन असमर्थ भएको कुरा जुनसुकै सञ्चारमाध्यमबाट उनीहरूले थाहा पाए भने व्यक्तिगत अथवा सामूहिक रूपमा अर्थ सङ्कलन गरी सहयोग गर्दछन् उनीहरू | उनीहरूको परोपकारिताको पछिल्लो प्रतिविम्व हो जलजला परियारको स्वास्थ्योपचारार्थ उनीहरूले गरेको निस्वार्थ आर्थिक सहायता |

समग्रमा हेर्दा पुनर्स्थापना अत्यन्तै सफल रहेको देखिन्छ | अहिले सम्मको उनीहरूको गतिविधि तथा उपलब्धि हेर्दा डायास्पोरिक भूटानी समुदाय समृद्ध बन्दै गैरहेको छ र अझ बढी स्थाई तथा दीर्घकालीन समृद्धितर्फ दिशोंमुख भएको यथार्थ आत्मविश्वासका साथ भन्न सकिन्छ | ओहायोको जनसङ्ख्या र त्यहाँको भाषिक, साहित्यिक तथा साङ्गीतिक गतिविधि हेर्दा र अन्य राज्यबाट मानिसहरू सर्ने क्रम जारी रहेको देख्दा अमेरिकाको ओहायो भूटानी डायस्पोराको राजधानी बन्न तल्लीन रहेको देखिन्छ |

हार्दिक आभार: यो लेख लेख्ने क्रममा सम्पर्क गर्दा मौखिक तथा/वा शाब्दिक संवादमा सहभागी भई सहयोग गर्ने सबै महानुभावहरूमा
पश्चाताप: जनवरीको अन्त वा फेब्रुअरीको प्रारम्भमा प्रकशान गर्ने लक्ष्य असफल भएकोमा

  सन्दर्भ स्रोत :

https://www.iabca.com.au

https://www.merohma.com

http://himalayanfestivalusa.com

www.foundationforconsciousactivism.com

http://www.merodancecup.com

http://www.nbmlhd.health.nsw.gov.au

https://tbchhetri.wordpress.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *