पुल
- तारा पराजुली/ मोरङ-नेपाल
हामी
अझै वैकल्पिक मार्गमा छौँ
विनिर्माण सुतिरह्यो आँखा छोपेर
हाम्रो गन्तव्यको तन्द्रा चुडाउँदै ।
फूल सौन्दर्यका लागि र कतै पूजाका लागि
विद्रोह निर्माणका लागि
केका लागि गाछी भाँचिउन्जेल विद्रोह ग¥यौ ?
देशको छातीमा टेकेर ।
हेर, त्यो निलो पानीमा दुर्नियति बगेको
त्यो सडकभन्दा फराकिलो
मनास्लुभन्दा अग्लो बाध्यताको ढाकर
छालाभित्र गन्तव्य खोज्दै छ
कतै लेउमाथि उज्यालो चिप्लियो भने
एउटा छानामुनिको बत्ती झ्याप्प निभ्छ
केटाकेटीको फेरि अर्को बाटो भत्कन्छ
निजी राजमार्गको सिन्दूर खरानी उड्छ
गाउँको अनुशीलन बाउसे घट्छ
अक्करको साँघुरीमा मधेस बोक्ने जून
खच्चरले बोकेका पहाडहरू
एकादेशको कथा सुनाउने थोते घाम
उत्सुक कलिला नानीहरू
सबैसबैको आशाको किरण टुट्छ
रहरको नाइल अलमलिन्छ
असिनाले कुटेका मकैका पातजस्तै
धुजाधुजा भएका छन् सपना
यो क्रुद्ध बुख्याँचाको अनौठो बिहान
यस्तै अवरुद्ध छ इतिहास पनि
यता बगरको ढुङ्गामा दुखिया पसिना आलै सुक्छ
जिउँदो सालिक ढलेपछि मोर्चास्तम्भ समाप्त हुन्छ
कहाँ लेखिन्छ पसिनाको इतिहास ?
भो नबोक म्यान चिर्ने तरबार
आत्मघाती गोलाहरू
हिजोको मलबाढीले नयाँ डुङ्गा पनि बगायो
अब फेरि किनार खियाउनुको के अर्थ भो ?
पुलको बरन्डामा डुब्यो हिजै
एकजोर ढुकुरहरूको रमिताको सहर पनि
छन् त केवल विशृङ्खल छालहरू ।
पुगिरहेछ स्मरणमा उसै गरी पुरानो छाया
उठेर आयो एउटा अवज्ञा
र बाँडेर गयो हुँकारको बडापत्र ।
भत्किए हेर्दाहेर्दै ककहराका मन्दिर
काटिए रहरका साँघुहरू
ढालिए महँगा पुलहरू
हरायो देशी शरणार्थीहरूको ओत लाग्ने छानो
सपनामा एँेठन परेजस्तो
अवरुद्ध छन् हाम्रा बाटाहरू
पुलसँगै काटिए हाम्रा गौरवहरू
अनि नुन, चामल, तेल पनि ।