पृथक या अजीव

Ohio, America

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

मैले पनि त मजाक नै त गरेको थिएँ
कि म उनीहरूको पोल सुनाइदिन्छु
(I will report you all to the principal)
तर मलाई थाहा थियो भि म त्यो साहस बटुल्न सक्दिन थेँ!
तर उनीहरूले मेरो सेतो सर्टको पछाडि “spit at me”
लेख्दा मलाई पनि त नराम्रो लाग्यो!
म उनीहरूलाई भन्न चाहन्थे कि
मलाई पनि त चित्त दुख्छ
मेरो पनि त मन छ
मलाई पनि त नराम्रो लाग्छ!
तर म मेरो मजाक बनाइमा नै खुसी थिएँ सायद
कमसेकम कसैलाई जवाफ त फर्काउँदिन थिएँ।
मेरो स्कुलमा यस्तै यस्तै मजाक बनाइन्थ्यो
कहिले के, कहिले के
मानौँ म मजाकको पात्र थिएँ स्कुलमा
मेरो मजाक बनाइन्थ्यो
You guys are not speaking with him anymore?????
You know he is little weired…….little different!!!
यस्तै आवाजहरू
यस्तै मजाकहरू मेरो क्लासमा, मेरो बरेमा
मेरा मित्र भनाउदाहरु गर्थे
म बसेको पछाडिबाट मेरो कानमा मधुरो आइपुग्थ्यो, ती आवाजहरू
तर म चहकिलै सुन्थेँ
अनि सुनेर पनि नसुने झैँ गर्थेँ, प्राय जस्तो।
क्लासमा अरू यस्तै के-के होहल्ला मचाउथे
कतिपय समय टिचरको ‘silence please’ हावामै बिलाउँथ्यो
म भित्र चाहिँ हुण्डरी चलेको हुन्थ्यो, प्रश्नहरूको
मानौँ एउटा समुद्र उर्लिएको छ
तर म चुप नै रहन्थेँ, तर कतिन्जेल?
कोही बेला त हद नै पार हुन्थ्यो
एउटा सीमा हुन्छ नि यार!
मेरो सेतो सर्टको पछाडि पट्टि “spit at me” लेखिदा
मैले पनि मजाकमै पोल लगाइदिन्छु भनिदिएँ
तर मलाई थाहा थियो कि म त्यो उत्साह काहा बटुल्न सक्थेँ र!
उनीहरूलाई मेरो मजाक मजाक लागेन छ सायद
मसँग उनीहरू बोल्न नै छाडिदिए।
यतिसम्म कि मैले घरबाट लन्च स्कुल लानसम्म छोडिसकेको थिएँ
कि उनीहरूको सारमा मैले सँगै लन्च त खानु पर्दैन!
एक प्रकारले मेरो मन हलुङ्गो भएको थियो सायद
तर मभित्रका आवाजहरू भने पटक्कै चुप रहेनन्
कैयौँ कोसिस मेरा बेकाम रहे
मलाई पनि केही भन्न मन लाग्थ्यो
म उनीहरूलाई भन्न चाहन्थे कि
मेरो पनि दुख्छ मन
मलाई पनि नराम्रो लाग्छ, म भित्र पनि मनै छ
तर उनीहरू मेरा साथी होइन रहेछन्।
त्यति बेला मलाई पहिलो चोटि लागेको थियो कि
मौनताको चीत्कार कति तीखो हुँदो रहेछ
यति तिखो हुँदा हुँदै पनि कसैले सुन्दो रहेनछ।
म आफू भित्रका चित्कारलाई चुप गराउन
पाइखानाको एउटा कोठामा आफूलाई बन्द गराउँथेँ
त्यो बन्द कोठामा पनि मैले एउटा कुनु खोज्नु पर्थ्यो
किन कि मलाई त्यस बेला सम्म कसैले
खुल्लामा सभ्य रूपमा रुन सिकाएको थिएन।
आफैलाई त्यो पाइखानाको कोठाभित्र थुनी म धेरै बेर रोईरहन्थें
म रोइरहँदा बाहिरबाट ढोका खोल भन्ने आवाज सुन्थे
म चैनले पनि रुन सक्दिन थिए।
मेरो थेरपिष्टको कैयौँ चोटिको ढोका खोल्ने आदेश अगाडि म झुक्थेँ
सबै आ-आफ्नै क्लासमा गइसकेका हुन्थे
थेरपिष्टको अफिसमा के हुन्थ्यो त्यो म भन्न चाहन्न
तर, तर त्यस दिन देखि मैले एउटा कुरा चैँ पक्कै जाने
कि मित्रताको रूपमा मानिस नै हुनुपर्छ भन्ने होइन रहेछ
म घर पुग्दा हाम्रो घरको झ्यालमा बसेर
हामीले पालेको बिरालो मेरै बाटो हेरिरहेको हुन्थ्यो
म बसबाट उत्रिनसाथ उ उफ्रिएर मेरै छेउमा आई
उसको पुच्छरले मेरो पिँडुलामा छोएर
न्यानो आभास गराउँथ्यो
उसलाई देख्दा यस्तो लाग्थ्यो मानौँ
मेरो एउटा साथी मेरै बाटो हेरी मेरै साथको अपेक्षा गरिरहेछ
म उसलाई सुमसुम्याउँथेँ, उ मेरो अँगालोमा आउँथ्यो
मलाई केही नभनी सबै मेरा कुरा सुन्थ्यो
अनि मेरो मजाक पनि बनाउँदैन थ्यो।
अनि अर्को साथी – मेरो डायरी थियो, अझै छ पनि
उ मेरो सबै कुरा सुन्छ, फेरि मलाई उ केही जवाफ पनि फर्काउँदैन
म उसको, उ मेरो, हामी दुई एक-आपसका मित्र!
तर मैले बुझ्न नसकेको एउटै कुरा चैँ
मलाई मेरो थेरपिष्ट, अथवा काउन्सेलर ले
अफिस बोलाएर
मैलाई किन काउन्सेल दिइएको?
मैलाई किन सम्झाइएको? गल्ती त उनीहरूको हो नि!
कि म नै अलग या अजीव भएर ??????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *