प्याज र यादहरू
रवि खनाल
मिचिगन, अमेरिका
जीवनको पहाड आरोहण गर्दै गर्दा
बेस क्याम्पको याद आयो
कहिले डुब्दै … कहिले तैरँदै….
स्मृतिमा डुबुल्की मारिरहेँ
अनायसै,
अतीत
एउटा मिठो मृगतृष्णा
अणु अनि परमाणुको
अनपेक्षित रुपानतरणमा तरल बन्यो
तप्प-तप्प सागरको पानी झैँ
नुनिला थोपाहरुमा
म रित्याउँदै थिएँ ती यादहरू
थोपा थोपामा……
एउटा शून्यताको अन्त्य
हो शून्यताको अन्त्यसँगै प्याजको याद आयो
त्यसलाई नियालिरहेँ
आवरण कुरुप त्यस्को
केस्रा केस्रा पत्र-पत्र नियाल्दै पुन: शून्यतामा हराउँछु
जसरी अतीतको तस्बिर नियाल्छु त्यसरी
रहस्यको गहिराईमा एउटा आविष्कार―
प्रतिक्रिया फरक, प्रतिफल उस्तै
प्याजको आवरण कुरुप
यादको आइरहने बानी कुरुप
प्रतिफल छल्किरहन्छ आँखामा
समयले दिएका अनुभव
अनि ती बहुमुल्य पलहरू
समग्रमा सिङ्गो अतीत
मुल्यहीन थोपाहरु बग्छ
हो ती रासायनिक यादहरू आँखासम्म आउँछन्
अनि थोपा-थोपामा बगिरहन्छन् ।