प्रकृतिका बाछिटाहरू

ओम पोख्रेल
विन्डसोर, क्यानाडा

मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ
म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान
मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ
फोक्सोले हावा तान्दा अष्ट गंदक र श्रीखण्डको
स्वाद खोज्न छोडेको रहेन छ

यो स्वभाव मैले बदल्नु छ
यो स्वाद मैले बदल्नु छ
मलाई बदल्न मलाई कुट्तैछन
प्रकृतिका बाछिटाहरू

भन्छन्, जिब्रोको स्वाद बदल
धेरै भाँच र मरोड स्पष्ट उच्चारण आउँछ
नयाँ गीत सुन, हावा-भाव बदल,
नबोल सुनी र या मोबाइल हेर
चाल-ढाल बदल
हाय स्वीटी, हाय हनी भन

कुरूप- मेरो घोर विरोधी
मेरो लागि अपराधी
तल गिरेको तुच्छ मानिससँग
मुसुक्क हाँस र ह्यालो डियर भन
भन्छन् प्रकृतिका बाछिटाहरू

पानीले कहिल्यै नभिजाउने घर भित्र
घामले नपोल्ने भवन भित्र
हावा-हुरी नछिर्ने निवास भित्र
मलाई निथ्रुक्क हुने गरी भिजाउँछन्
प्रकृतिका बाछिटाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *