भूटानी नेपाली साहित्य – केही चिन्तन केही विचरण

प्रश्तोता
प्रश्तोता

शिवलाल दाहाल
केन्टकी, अमेरिका

नेपाली साहित्यमा भूटानको प्रसंग र परिचर्चा कमै मात्र भएको पाइन्छ । हुन पनि भूटानको, नेपाली साहित्यमा उपस्थितिको इतिहास उस्तो लामो छैन । यद्धपि वर्तमानमा उभिएर हेर्दा यसले राष्ट्रिय भूगोलको सिमना पार गर्दै विश्वका अनेक मुलुकहरूमा विचरण गर्न थालेको छ । यो सिमाहीन भूगोल र साइबर स्पेशमा निर्मित साहित्यले अब अन्तरदेशीय वा अन्तरमहादेशीय साहित्यको  स्वरूप ग्रहण गर्दैछ । अन्य भाषाको साहित्यजस्तै नेपाली साहित्यका अनेक भेराइटीहरू  छन्, भूटानको नेपाली साहित्य त्यस्तै एउटा फरक भ्याराइटी हो, फरक भ्याराइटी थियो । साइबर स्पेशमा अनेक राष्ट्रको धरातलमा उभिएर अब लेखिने नेपाली भाषाको साहित्यलार्इ  कसरी परिभाषित गर्ने, त्यो साहित्य कहाँको हुन्छ ? यस्तो साहित्यलार्इ अब डायस्फोराको छाताभित्र अटाउँन सकिन्छ कि सकिँदैन ? वा कुनै देशको राष्ट्रियताले दिने पहिचानगत परिभाषाभित्र कैद गर्न सकिन्छ कि सकिँदैन भन्ने सघन सवाल हामीसँग पहाड भएर उभिएको छ । नेपाली साहित्यका सङ्कथनहरूमा चर्चाहुने भनेकै नेपालमा लेखिने नेपाली साहित्य, भारतीय नेपाली साहित्य वा डायस्पोरिक नेपाली साहित्य हो । साइबर स्मेशमा उभिएर अनेक देश, अनेक भूगोल, अनेक चेतना, अनेक प्रवृत्ति, अनेक चिन्तन र अनेक विशेषताको सम्वरण गर्दै लेखिने नेपाली साहित्यलार्इ अब के भन्ने ?

जुन देशको निर्माणमा हाम्रा पूर्खाले सम्पूर्ण जीवन समर्पित गरे, जुनदेशको माटाको इतिहास हाम्रा पूर्खाहरूले रगतले लेखिदिएँ, त्यहीदेशले हामीलार्इ कहिल्यै माया र सम्मान दिन जानेन । हामीले भन्दै गरेको भूटान अब कति यथार्थ कति आदर्श हो ? हामी फरक फरक राष्ट्रका झण्डाका मुनि ओत लागिसकेका छौं, लाग्दै छौं । भूटान त अब मानस-स्मृतिमा मात्र छ, अतीतको छाँया भएर सग्बगाइरहेको । मनका फाँटहरूमा कताकता तुर्सा र मानस बगेपनि पाइँतालाले हामी प्रशान्त महासगरको पानी टेकिरहेछौं, डिर्स्ने वाल्डको मायावी संसारमा भ्यकेसन मनाउन हुइँरहेछौं । हामीले हिजो भोगेको जीवन, भूगोल, सामाजिक मूल्य र आदर्श एक फरक यथार्थ थियो, आज त्यसको ठीक विपरीत; भिन्न समय, भोगाइ र परिस्थिति । भूटानी नेपाली साहित्य जो हामी भन्दछौ, त्यही विचरण हो, त्यही पृथक आयातन र स्पेशमा लेखिको साहित्य हो ।

माथिको पृष्ठभूमिमा यस आलेखमा भूटानी नेपाली साहित्यको लेखन, चिन्तन, प्रवृत्ति र विशेषता माथि केही प्रकाश पार्ने जमर्को गरिन्छ ।

भूटानको नेपाली साहित्यमा खास गरेर सन् १९७० पछिका वर्षहरूमा मात्रै केहि क्रियाशीलता देखिन थालेको हो । त्यसको आरम्भ हरिप्रसाद अधिकारी (भूट्नीज) को सम्पादनमा निस्किएको अमर भूटानबाट भएको थियो । उसबेला भारत-पाक युद्रध भरखर सकिएको थियो, भारतीय राष्ट्रवादको प्रभाव भारतमा अध्ययन गर्न गएका तत्कालीन भूटानी विद्धर्थीहरूमा पनि पर्न गएपछि भूटान छात्रा संगठन खोलियो र त्यसैको मार्फत अमर भूटान निस्कियो । उक्त पत्रिकामा प्रकाशित हरिप्रसाद अधिकारीको भूटानमा शक्तिशाधना विश्वविद्धालयको आवश्यकताबन्दना कविताले यो नेस्नलिष्टिक फिलिङ् लार्इ बढावा दिएको पाइन्छ । राष्ट्रियता र देशभक्तिको भावनाले मत्त मएका युवा अधिकारीले भूटानबाट स्याबासी पाउने आँकलन गरेका थिए तर त्यसको ठीक विपरित भूटान सरकारले उनलार्इ लेख्न नै प्रतिबन्ध लगाइदियो । सन् १९६९ मा मात्र डिबी गुरूङलार्इ भूटान स्टेट काङ्ग्रेस विलय गराउने शर्तमा अम्नेस्टी दिएको सरकार, कुनै किसिमका संगठन स्थापना भएको हेर्न चाहँदैन थियो । सन् १६६० पछि भूटानमा आधुनिक शिक्षा, स्वास्थ र यातायतका पूर्वाधार विकासका लहर चल्न थालेपछि राष्ट्रिय भावनाको उद्बोधन र देश-जागरणको नवीन प्रवाह प्रवाहित हुन थाल्यो । सन् १९७९ मा प्रकाशित ड्रुक लोसेल त्यही राष्ट्रिय जागरण गर्ने सवालमा भूटानको कला, संस्कृति र विकास निर्माण बारे जनतालार्इ सुसुचित गर्ने हेतुले भूटान सरकारकै सुचना प्रशारण विभागबाट प्रकाशित भएको थियो । ड्रुक लोसेलमा प्रकाशित विभिन्न चित्र र आलेखहरूमा  भूटानको बौध संस्कृति, कला र राष्ट्रिय गौरवको उजागर गर्दै राष्ट्रियता, देशप्रेम र राजभक्तिकोको भावना उद्भाषित गर्न कसरत गरिएको देखिन्छ । ड्रुकपाहरूको बौध संस्कृतिसँगै अधिकांश ल्होछम्पाहरूले अबम्बन गर्दै आएको हिन्दु धर्म-संस्कृति, सामाजिक स्थिति र इतिहासकाबारेमा पनि ड्रुक लोसेलमा केही परिचर्चा गरेको पाइन्छ । सन् १९८२  मा भूटान-नेपाल दौत्य सम्बन्ध स्थापना भएपछि ड्रुक लोसेलले  भूटान-नेपाल प्राचिन-आर्वचिन सम्बन्धको ऐतिहासिक आयामका सन्दर्भमा केही सामग्रीहरू सम्प्रेषण गर्न पुग्यो । खासमा भारतबाट प्रकाशित हिमालचुली (वर्ष २१, अङ्क १७)  पत्रिकामा छापिएको आलेखको सङ्क्षेपीकरण गरेर ड्रुक लोसेलले प्रकाशन गरेको उक्त सामग्री (प्राचीन अर्वाचीन भूटान-नेपाल मैत्री सम्बन्ध, वर्ष ४, अङ्क ३) ले नेपाली भाषीहरू भूटान प्रवेशको पुरानो इतिहासलार्इ खोतलिदिएको थियो । ड्रुक लोसेल किन बन्द भयो भन्ने कुरा बाहिर नआए पनि एउटा भित्री कारण यही इतिहासको खोजी थियो । यसरी ङ्रुक लोसेल पत्रिका साहित्यसँग मात्रै सम्बन्धित थिएन, राष्ट्रिय जागरणको रणनीतिक अस्त्र पनि थियो ।

ड्रुक लोसेलको उदयसँगै भूटानमा नेपाली साहित्यका केही लेखेन्तेहरूको जन्म त भयो तर अधिकांशले फल्ने, फुल्ने र सुवासदिने उचित वातावरण पाउन सकेनन् । त्यस बेलाका लेखकहरू कि त भारतप्रवासमा पढेका संस्कृतका अध्येता थिए वा शेरब्चे कलेज तथा अन्य विद्धालयका विद्धर्थी तथा शिक्षक थिए । अधिकांश साहित्यमा नवप्रवेशी थिए, अभ्यासिक थिए । त्यति हुँदा हुँदै पनि कलेज गएका तथा बाहिरी दुनियाँ अलिअलि जानेका, अधुनिक नवचेतना भएका व्यक्तिहरूको उपस्थिति पनि त्यहाँ थियो । यसले गर्दा त्यसबेलाको साहित्यमा तीन किसिमको चिन्तनधारा प्रवाहित हुन्छ । पहिलो ; संस्कृत साहित्य, हिन्दु धर्म र दर्शनबाट अभिप्रेरित आध्यत्मिक चिन्तन , दोस्रो ; प्रकृति र मानवीय प्रणयको रोमान्टिक अनुभूति, तेस्रो ; समसामयिक यथार्थता र जीवनको कटुताबोध । आजसम्म पनि यी चिन्तनधाराबाट भूटानी नेपाली साहित्य अलग भएको छैन, कुनै न कुनै रूपमा तिनको निरन्तरता भइरहेको छ ; भलै संकुचनको घेरा अलिक फराकिलो किन नहोस् । यसको मतलब यो होइन कि वर्तमानमा साहित्य चिन्तनका नयाँ श्रृंखलाहरूलार्इ आत्मसात गरिएको छैन ।

नेपाली भाषा, प्राथमिक विध्यालयसम्म मात्र पढाइहुने त्यो पनि भरखर शिक्षाको उज्यालो खस्तै गरेको मुलुकमा ड्रुक लोसेल मरूभूमिको एउटा मरूधान जस्तो थियो । तथापि उल्लेखनीय रूपमा यसले लेखक र पाठकहरू आकर्शित गर्यो, जन चेतना र जागरण ल्यायो । यसलार्इ पच्छ्याउँदै स्कूल कलेजतिरबाट पनि मेगाजिन निस्किन थाले । फादर लेक्लेयारको प्रेरणाले सन् १९८० मा शेरब्चे कलेज, काङ्लुङ्मा राष्ट्रिय सामाजिक एवं साँस्कृतिक उत्थान परिषदको स्वीकृतिमा नेपाली साहित्य संस्था स्थापना भयो । नेपाली साहित्य संस्थाको स्थापनापछि दुइवर्षसम्म बिरूवा भन्ने पत्रिका हस्तलिखित रूपमा प्रकाशित भयो । उक्त पत्रिका सन् १९८३मा भने छापाखानाबाटै शेरब्चे कलेज बार्षिकी का रूपमा शिवराज भट्टरार्इको सम्पादकत्वमा प्रकशित भयो । ड्रुक लोसेलशेरब्चे कलेज वार्षिकी, कविताको संकुचित घेराभित्र मात्रै रहेनन्, अपरिपक्कता हुँदा हुँदै पनि, साहित्यका अन्य विधा – कथा, एकाङ्की नाटक र निबन्ध लेखनका फाँटमा पनि विस्तारित भए ।

कृतिगत रूपमा हर्ने हो, सन् १९९० पूर्वको भूटानी नेपाली साहित्य काव्यत्मक साहित्य हो । यस युगका लेखन्तेहरूमा नारायणप्रसाद लुइँटेल, गौरी शंकर अधिकारी, हरिप्रसाद अधिकारी (भूट्नीज), डा. हरिप्रसाद अधिकारी, घनश्याम रेग्मी, लक्ष्मी प्रसाद निरौला, विष्णुप्रसाद आचार्य, वि.पी शर्मा, महेश घिमिरे, रघु मिश्र, डि.वी खत्री, सुकमान राणा, सुखवीर विश्वकर्म, अम्बिकाप्रसाद दुलाल आदि उल्लेखनीय नाम हुन् । महाकाव्यकार गौरी शंकर अधिकारी यस युगका काव्यिक शिखर हुन् । भूटानी नेपाली कवितामा रोमान्टिकताबाद भित्र्याउने र त्यसलार्इ मलजल गर्ने कामको श्रेय उनै कवि अधिकारीलार्इ जान्छ । कवि नारायणप्रसाद लुइँटेलमा धार्मिक र नीतिक शिक्षा छ भने, डा. हरिप्रसाद अधिकारी र लक्ष्मी प्रसाद निरौलामा सामाजिक सुधारको कामना छ, अनि वि.पी शर्मामा भने प्रयोगधर्मीता  देखापर्दछ । गौरी शंकर अधिकारी, डा. हरिप्रसाद अधिकारी, घनश्याम रेग्मी, लक्ष्मीप्रसाद निरौला, डि.बी खत्री आदि कविहरूले शास्त्रीय छन्दको प्रयोग गर्दै परिस्कारवादी साहित्यिक परम्परालार्इ आत्मसात गरेका छन् ।

सन् १९९० भूटानको राष्ट्रिय जीवनमा एउटा महत्त्वपूर्ण परिघटना हो । हुन त भूटानमा जनताले प्रजातान्त्रिक हक-अधिकारका निम्ति आवाज उठाएको यो पहिलो घटना पक्कै थिएन किन भने प्रजातन्त्र प्राप्तिको सपना त भूटनीहरूको सन् १९५२ देखि कै हो ।

सन् १९९० पछि भूटानको नेपाली साहित्यिक आदोलनले फरक रूप लियो, फरक आयाम र भूगोलमा विचरण गर्न थाल्यो । कवि तुम्बेहाङ् र टिकाराम रार्इले सन् १९९२ मा जेलभित्रै क्रमशः मृग विलापखोरको भेडो जस्ता प्रतिकात्मक कविता लेखेर तत्कालीन परिस्थिति, आफूले जेल जीवनमा भोगेको यातना र पीडालार्इ अभिव्यक्ति दिए, विद्रोह जनाए । वास्तवमा यी दुवै कविता, कवि लेखनाथ पौड्यालको पिञ्जराको सुगाबाट प्रभावित छन् । आरम्भमा परिस्कारवादका अनुयायी रहेका तुम्बेहाङ् कालान्तरमा प्रगतिवादी कविका रूपमा स्थापित हुन पुगे । सन् १९९८मा तुम्बेहाङ् लिम्बुको भग्नपर्खालको सयपत्री कवितासंग्रह निस्किएसँगै भूटानको नेपाली साहित्यमा प्रगतिवादको आरम्भ भएको थियो भूटानको छाति चिरेर देखाइदेउ भन्दै उत्घोष गर्ने कवि तुम्बेहाङ्ले साच्चै नै भूटानमा जनतामाथि भएको दमन, शोषण र उत्पीडनको खुलेर प्रतिरोध गरेका छन् । विद्रोह र जनक्रान्तिका लागि आव्हान गर्ने उनका कवितामा एकातिर नारावाद छ भने अर्कातिर कला सचेतना पनि छ ।

सन् १९९० पछिको भूटानको नेपाली साहित्यमा, प्रगतिशील- प्रगतिवादी वैचारिक धारा एउटा प्रमुख बैचारिक दृष्टिका रूपमा प्रवाहित भएको पाइन्छ । भूटानी शासन-शत्ताबाट भएको अन्याय, अत्याचार र दमनको भण्डाफोर गर्दै न्याय र मुक्तिका लागि लड्न जनतालार्इ उत्प्रेरित गर्ने अभिप्रायले लेखिएको यस किसिमको साहित्यमा क्रान्ति र विदोहको शसक्त आवाज छ । रिस, आवेग र आक्रोसमा लेखिएको तत्कालीन साहित्य निकै नै नारावादी रहेकोछ । प्रगतिवादी साहित्य लेख्नेहरूमा विज्ञान, विप्लब आचार्य, डिल्लीराम आचार्य, लीला निशा, भक्तघिमिरे जस्ता थुप्रै प्रतिभाहरू आएपनि अहिलेसम्म तुम्बेहाङ् नै यस विधा र धाराका च्याम्प्यान हुन् ।

भूटानबाट खेदिएर नेपालमा शरणार्थीका रूपमा आइपुगेपछि भूटानीहरूले जीवनको अर्को यथार्थता बोध गर्नु पर्यो । पहिलो, आधरभूत आवश्यकता पनि परिपूरण नहुने अभाव, विपन्नता, भोक, रोग अनि विश्रृंखल र अव्यवस्थित निर्वासित जीवन । दोस्रो, राज्यविहीनाको अनुभूति, आफ्नो थातथलो र देश नहुनको पीडा  । तेस्रो, शरणार्थी भएर खेप्नु परेको उपेक्षा र हीनताभोधको भावना । सारमा भन्ने हो त्यहीँबाट भूटानी नेपाली साहित्यमा विस्थापित चेतनाको जन्म भयो । भूटानी नेपाली साहित्यमा विस्थापन र त्यसले सिर्जना गरेको परिस्थितिका अनेक श्रृंखला, आयाम र स्वरूप छन् । यही वस्तुगत यथर्थतालार्इ आत्मसात गर्दै लेखकहरूले सिर्जना गर्दै आएका छन् । विस्थापनका प्रारम्भिक दिनहरूमा, भूटानको निरङ्कुश राज्यवयवस्थाबाट भएका अपराध, यातना, शोषण, दमन र अत्याचरप्रति भूटानीहरूमा एककिसिमको आक्रोस थियो, स्पिरिट अब रिटालिएसन् अथवा प्रतिशोधको भावना थियो । सबैको एकै किसिमको घाउ थियो, एकै किसिमको बसाइ थियो, एकै किसिमको पीडा थियो अनि त्यसभन्दा माथि चाहिँ एक दिन न एक दिन पक्कै पनि देश फिर्की जाने मनोकांक्ष थियो । शरणार्थी क्याम्पको बसाइ लम्बिन थालेपछि यो भावनामा क्षयपन आउन थाल्यो । कवितामा होस् कि कथामा यिनै भूटानको निरङ्कुशता, विस्थापन, शरणार्थी क्याम्पको दारूण अवस्था र मातृभूमिको सम्झना, नेतृत्वको पलायनको विरोध आदि कुराले प्रमुखता पाए । कुनै पनि कुराको गुणगान गर्ने होइन कविहरूमा आलोचनात्मक प्रवृत्ति बढी थियो ।  उसबेला सबभन्दा बढी कविता लेखियो तर तिनमा कला सचेतना अत्यान्तै कम थियो, ती रचना सतही र कलाका दृष्टिले दुर्बल थिए ।

सन् १९८३ मा ड्रुक लोसेल बन्द भएपछि भूटानी नेपाली साहित्यमा गत्तिलो धक्का लाग्न पुग्यो । वास्तवमा भूटानको साहित्य ड्रुक लोसेलको प्रकाशन कालदेखि नै कुनै न कुनै रूपमा समकालीन साहित्यको एक हिस्सा थियो । त्यसै समयमा फुट्कर कवितादेखि महाकाव्यसम्म लेखियो तर देशबाट बहिरगमनपछिको एकदशकसम्म साहित्यको अवस्था निकै सिथिल हुनपुग्यो । करिब एक दशकको क्याम्पको बसाइपछि नयाँ पुस्ताका कविहरू पनि साहित्यमा प्रवेश गरे । नेपाली साहित्य र विश्वसाहित्यको पनि थोरबहुत ज्ञान भएका युवा पुस्ताका कविहरूले साहित्यको दाँयरालार्इ फराकिलो बनाउँदै नयाँ नयाँ विषयवस्तुको खोजी गर्न थाले । सन् १९९८ मा तुम्बेहाङ् लिम्बुको भग्न पर्खालको सयपत्री कवितासंग्रह छापिए पछिको दुइ दशक यता अनेकौ कविहरू साहित्यमा आएका छन् । कविताले पनि धेरै फट्को मरेको छ -स्तरमा, शैलीमा, शिल्पमा । यस अवधिको  पहिलो दशकका कविहरूमा पशुपति तिम्सिना, प्रतिमान सिवा, याम थुलुङ्, लीला निशा, टिकाराम रार्इ, डेन्जोम साम्पाङ्, सञ्चमान खालिङ्, शिवलाल दाहाल, रूप पोखरेल, डम्बर खरेल, डिल्लीराम आचार्य, बादल थापा आदि उल्लेखनीय छन् । त्यसरी नै यस अवधिको दोस्रो दशकमा पनि थुप्रै नव कविहरू भुटानी साहित्यमा उदाएका छन् जस्तै उत्तम रार्इ, एल.बी रिखाम, भानु ढुङ्गाना, गणपति दाहाल, टि.आर रेग्मी, पुरानाघरे, तीलारूपा आचार्य, शंकर भण्डारी, डिल्लीराम रेग्मी, कर्ण गुरूङ्, धर्मेन्द्र क्षितिज, देप लामा, यतीराज अजनवी, रमेश गौतम, हर्कराज भूटानी, बिदुर काले आदि । दुर्इ दशकमा  व्यक्तिगत कवितासंग्रह मात्रै होइन शिवलाल दाहालको सम्पादनमा सम्झनाका खण्डित आकृतिहरू ( सन् २०१०) जस्तो प्रतिनिधि कविता संकलन पनि छापियो ।

सन् २००० को आसपासदेखि भूटानी नेपाली साहित्यमा गलजले प्रवेश पायो । भूटानको साहित्य अहिले झलक्क हेर्दा गजलमय भएको देखिन्छ । संक्षिप्त संरचना, युवासुलव रतिरागात्मक भावना, सुत्रात्मक अभिव्यक्ति जस्ता विशेषताले, युवा सर्जकहरूलार्इ गजलतर्फ निकै आकर्शित गरेको देखिन्छ । अहिले जगल लेख्ने, कृतिका रूपमा प्रस्किनेको संख्या दिनानुदिन बढ्दो छ भने सन् २०१६मा पुरानाघरेको प्रधान सम्पादकत्वमा दबाइएका आवाज जस्तो प्रतिनिधि संकलन पनि निस्किसकेको छ । त्यसतै अस्ट्रेलीयाबाट दुर्गा रिमालको सम्पादनमा काङ्गरूको देशबाट सङ्कलित गजलसंग्रह पनि निस्किएको छ ।

भूटानीहरू बसाइसराइको भौतिक यात्रासँगै साहित्य चिन्तन र लेखनमा पनि सिफ्ट भइरहेको देखिन्छ । देशभत्रि लेखिएको साहित्यमा भिन्नै लक्ष्य थियो, देश निर्माण र राष्ट्रिय गौरवको संकल्पना थियो, देशबहिरगमनको शरणार्थीकालमा त्यसको लक्ष्य बदलियो पुन: देश प्राप्ति, न्याय र स्वतन्त्रताको खोजीमा, पुनस्थापनपछि विस्थापनले सिर्जना गरेको अस्तित्व र पहिचानहीनताको पीडामा छट्पटाउन थालेको छ । पुनर्वासपछि भूटानीहरू पुनर्वासित भूमिमा भाषिक र सांस्कृति रूपमा अल्पसंख्याक हुन पुगे । तथापि आफ्ना सन्तानलार्इ मातृभाषा नेपालीको आधारभूत ज्ञान सिकाउन सामाजिक अभियानहरू केहीहदसम्म अघि बढिरहेका छन् ।

प्रत्येक युगमा आफ्नै खाले समस्या हुन्छन्, चुनौति हुन्छन्, विकास र निर्माणका  सम्भावना पनि हुन्छन् । परिवर्तित अवस्थामा पुनर्बासपछि, रमेश गौतम, रूप पोख्रेल, डोना आचार्य, सञ्चमान खालिङ् र यतिराज अजनबीले साहित्य लेखन र प्रकाशनका लागि भिन्न बाटाको खोजी गरे । सन् २००९ मा भएको Bhutaneseliterature.com  स्थापनाले भूटानी नेपाली साहित्यलार्इ साइबर युगमा प्रवेश गराइदियो । यसरी परम्परागत छापाखानाको युगबाट विस्तार भएर साइबर स्पेशमा लेखिन थालेको भूटानी साहित्यको खास भूगोल छैन, भौगोलिक सिमाना छैन । यो अन्तरदेशीय साहित्य हो, भूमण्डलीकृत साहित्य हो । लगभग एक दशकको आवधिमा झण्डै २५०० रचनाहरू अभिलेखिकरण गरेको, साहित्य परिषद भूटानद्वारा सञ्चालित  यो साइट भूटानको प्रतिनिधि साहित्यिक प्रकाशन हो । वर्तमान समयमा लखिएँदै गरेको भूटानी साहित्यमा संक्रमणकालीन समय, पाश्चात्य मुलुकमा पुनर्स्थापनले सिर्जना गरेका समस्या, यान्त्रिकता, नयाँ जीवन शैली, पुरानो र नयाँ पुस्ताबीचको द्वान्दात्मक सम्बन्ध, परिवर्तित र अपरिचित वातावरण, संस्कृति आघात, विस्थापन र बसाइसराइले सिर्जना गरेको अभिघात, किनारीकरण, अस्तित्व  र पहिचानहीनता आदि जस्ता विषय प्रधान रूपमा आएका छन् ।

माथि भनिए जस्तै भूटानको साहित्य सन् १९९० पूर्व र त्यसपछिको निर्वासपछि पनि कविता केन्द्रित रह्यो, अझ पछिल्लो समयमा गजल केन्द्रित झैँ लाग्छ । खास गरीकन कविताइतरका बिधामा कृतिप्रकाशनका दृष्टिले हेर्दा धरैकम प्रगति भएको देखिन्छ ।  हुन त ड्रुक लोसेल, भूटानी कोपिला, भूटानी नव सन्देश, मूल्यबोध, www.bhutaneseliterature.com पत्रिका तथा वेवसाइटमा कथा, निबन्ध, एकाङ्की नछापिएका होइनन् । www.bhutaneseliterature.com मा मात्रै पनि डेढसय भन्दा बढी कथा प्रकाशित छन्, केही निबन्ध र समालोचनाहरू पनि प्रकाशित छन् । कथा-कृतिमा  डिल्लीराम आचार्यको परिवर्तनका मोडहरु, दिलीप रखालीको अर्किड, मणिराम थुलुङ्को नफुटेको सत्यकथा र उपन्यासमा गोपाल लेप्चाको जिन्दगी उल्लेख्य छन् । पछिल्लो समयमा कथा लेख्नेहरूमा भक्त घिमिरे, टि.पी मिश्र, रमेश गौतम, डेन्जोम साम्पाङ, तुम्बेहाङ, प्रवासी कृष्ण घायल, विशु निछा, बुद्धमणि ढकाल, रूप पोखरेल आदिमा कथाको बलियो सम्भावना देखिन्छ । कथा लेखन शिल्पका दृष्टिले विशु निछा सबैभन्दा अघि देखिन्छन् । परिषदले भर्खर प्रकाशित गरेको समकालीन भूटानी नेपाली कथा भूटानको प्रथम प्रकाशित प्रतिनिधिमुलक कथा संकलन हो । यस संकलनमा समावेश गरिएका कथाले भूटानको राजनीतिक, सामाजिक जीवनका केही अन्तरकुन्तर छाम्ने प्रयत्न गरेका छन्, सबभन्दा बढ्ता चाहिँ पुनर्वापछि संक्रमाणकालीन समाजले भग्दै गरेका समस्या, विस्थापनले निम्त्यएका विपत्ति तथा सामाजिक जीवनका विसंगति र विद्रुपता चित्रण गरेका छन् ।

भूटानी नेपाली साहित्यमा अनुसन्धान र समालोचन क्षेत्रमा अत्यन्त थोरै स्रस्टाले कलम चलाएका छन् । गङ्गा लामिटारेको गौरीशंकर अधिकारी जीवनी व्यक्तित्व कृतित्व, भोला साप्कोटाको भूटानी पत्रपत्रिकाको अध्यान विश्लेषण, बोधराज ढुंगेलको डिल्लीराम शर्मा आचार्यको जीवनी, व्यक्तित्व कृतित्वको विश्लेषणात्मक अध्ययन एवं मूल्यांकन, भीमप्रसाद तिम्सिनाको डा. हरिप्रसाद अधिकारीको जीवनी, व्यक्तित्व काव्यकृतिको अध्ययन शैक्षिक शोधपत्र हुन् भने सन् २०१४ मा प्रकाशित शिवलाल दाहालको अलबिदा बेलडाँगी निबन्ध, संस्मरण र समालोचना मिश्रित कृति हो । अलबिदाको प्रकाशनले भूटानको नेपाली साहित्यमा खोज-अनुसन्धान, साहित्यिक इतिहास लेखन, समालोचना र निबन्ध फाँटमा नयाँ आयाम र स्वरूप दियो । डेन्जोम साम्पाङले सम्पादगरेको  स्वीकारोक्तिअस्तित्वहरूको न्यायिक सम्बोधन मा एउटा फरक साहित्यिक विचारधाराको सैदान्तिकरण गर्ने जमर्को गरेका छन् ।

यसरी भूटानको साहित्य विभिन्न ठाउँ र परिस्थितिमा सिर्जित र विकसित हुँदै समकालीन नेपाली साहित्यमा छुट्टै परिचान निर्माण गर्न कसरत गरिरहेको छ । भूटानको नेपाली साहित्य सँधै अनिस्चित, अन्योलपूर्ण  र प्रतिकुल वातावरणमा घस्रिदैँ र संघर्ष गर्दै अघि बढे पाइन्छ । विश्वभूगोलका अनेक ठाउँमा छरिएको भूटानी समाजमा आउने दिनमा पनि भाषा- साहित्यिक गतिविधि गर्न त्यति सहज छैन, चुनौतिका दुर्लङ्घ पहाडहरू  स्पष्ट देखिन थालेका छन् । तर तिनलार्इ चिरेर जान सक्नुमा नै हाम्रो साहित्यिक गरिमा  र प्रतिष्ठा कायम हुने छ, नेपाली साहित्यलार्इ वैश्वीकरण गर्ने लक्ष्य पनि परिपूर्ति हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *