प्रतीक्षा नगर
एल्. वि. मंगर,
खुदुनावारी
मेरो प्रतीक्षा नगर सानु !
हावाको झोक्का र
कादम्विनीको वेगसंगै
वषौं अघिको क्रन्दनलाई
काबुमा राखेर
कुसुमाकार आँचल पक्री
लक्षित दिशातिर
अघि बडिरहेको छु
बरु ढोका थुन
कोठा बन्द गर
अलिच्छिने हुरीले तिम्रो
सिउँदोको सिन्दुर उडाइदिन सक्छ
म घर चाँडै आउनै सक्तिन
तिमीले एक्लै निदाउनु
मेरो तस्विर छातीमा राखेर
तिमीले कहिल्यै नरुनु
तिम्रो आँसु श्राप बन्न सक्छ
बरु मलाई जूनको प्रतिबिम्बमा खोज
त्यही जूनमा तिमीलाई
निरन्तर–तिरन्तर चिहाइरहेको हुन्छु
रातको सन्नाटामा तारा गनेर
आपूmलाई टोलाउँदै गर्नु
तर तिमीले पटक्कै नरुनु
म युद्ध सकेपछि निश्चिन्त आउँछु
तिजको व्रत लिएर बसेकी भए पनि
म आउन सक्तिन
त्यसैले तिमी अलि चाँडै निदाउनु
साझ–बिहान खाना पस्केर
मेरो प्रतीक्षा नगर्नु
म लडाँइ नसकी
फर्किएर आउन सक्तिन
बाटो बिराएर मेरो गाउँ पसेको
बटुवालाई रोकेर मेरो बारेमा
अहँ सोध्दै नसोध्नु
आमा पनि चिन्ता गर्दै
आधारातसम्म मेरो सम्झनामा
दियोको सलेदो बाध्दै
ढोका खोल्न कुरेर
बसेकी भए पनि
म आउन सक्तिन
त्यसैले सानु !
तिमीले चाँडै निदाउनु
मेुरो प्रतीक्षा नगर्नु
हो,मेरो प्रतीक्षा नगर्नु