प्रसंग साहित्य र राजनीतिको
भक्त घिमिरे
अमेरिका
धेरै वर्षअघिको कुरो हो, एक विद्वान मित्रले मलाई, ‘साहित्य र पत्रकारितामा के फरक होला?’ भन्ने प्रश्न राखेका थिए । त्यस्तै गरी यतिबेला साहित्य र राजनीतिमा के फरक होला-भनेर धेरैको मस्तिष्क खल्बलिएको छ ! साहित्यमा राजनीति र राजनीतिमा साहित्यको संयोजन नबुझ्नेहरूको जमातमा हाम्राहरू पनि जत्ति छन् । आजको परिवेश पार्थक्यले यो विषय साँच्चै अन्योलग्रस्त पनि भएको छ । कुरा बुझ्न चाहनेहरूले हाम्रो समाज र साहित्यको विगत पनि केलाउनुपर्छ । कौरव-पाण्डवले राज गरे, जुवा खेले, युद्ध गरे, सबै राजनीति भयो । तिनै घटनामा आधारित कथावस्तु व्यासले लेखे, सञ्जयले अन्धा धृतराष्ट्रलाई कथा सुनाए, त्यो सबैचाहिं हाम्रो प्रचीन साहित्य भयो । रामले लंका लुटे-हत्या गरे, राजनीति भयो, बालमिकी, तुलसी दासले त्यही विषयको कथा लेखे, हाम्रो प्रचीन साहित्य भयो । साहित्यलाई समाजको दर्पण भनिएपछि समाजमा हुने सबै गतिविधि साहित्यमा अँटाउनै पर्छ । तर यतिबेलाका साहित्यमा सीमाना ठड़्याउने ठेट्नाहरू, साहित्यिक वर्गीकरणको छेकाबार लगाउने जड़सूत्रका प्रेमीहरू यो मतमा सहमत हुँदैनन् । आखिर साहित्य त साहित्य नै हो । त्यसमा हुने फरक भनेको साधारण गाउँले बोलीचाली, प्रवुद्धवर्गको कामकाजी भाषा र अतिरञ्जित श्लोकोक्तिको भाषाप्रयोग र विषयगत तथा वैचारिक वैभिन्यतामात्र हो । हाम्रो साहित्यमा एउटा विडम्बना नै कायम रहेको छ आजसम्म-साधारण बोलीचाली र सोझो बुझाइमा आउने कार्य-कृतिलाई त्यस्ताहरूले साहित्य नै गन्दैनन् । गाउँले पृष्ठभूमिका बोलीचालीको भाषामात्र बुझ्ने सर्वसाधारणका लागि साहित्यको कुनै उपयोगिता छैन त्यस्ताहरूको मतमा । उनीहरू मञ्चमा उभिने वक्ताको अघिपछि सुरक्षार्थ बसेका कर्मीहरूले नै नबुझ्ने श्लोक गायन, वैचारिक अतिरञ्जना सुनाउन पाए त्यसलाई मूल्यवान् साहित्य ठान्दछन् । सर्वसाधारणको बोलीचाली भाषा, सामाजिक गतिविधिका छरपष्ट विषयवस्तु र न्याय-अन्यायका कुरा आए उनीहरू तिनलाई राजनीतिको वर्गमा थन्क्याइदिन्छन् । यद्धपि साहित्य त साहित्य नै हो, समाजको दर्पण, न्याय र समानताको याचना न हो साहित्य !
यसरी खास्सै यथार्थ नभए पनि सतही बुझाइमा साहित्य र राजनीतिलाई दुई विपरीत एवं विरोधी तत्वका रूपमा हेर्ने गरिएको छ । यस सोचाइअनुसार साहित्यले मानवीय हृदय र भावनासँग सरोकार राख्छ तर, राजनीतिमा चिसो दिमाग र कठोर तर्क प्रभावशाली मानिन्छ । यिनीहरू साहित्यले मात्र रसको सिर्जना गर्छ, सामञ्जस्य वा सौहाद्रता उत्पन्न गर्छ, साहित्यले मनुष्यलाई संवेदनशील हुन तयार पार्छ भन्दछन् । राजनीतिले पनि समाजप्रतिको जिम्मेवारी बोकेर यही दायित्व अँगालेको उदाहरण देख्न नपाएर यो सोचको बोलावाला बढ़ेको हुनसक्छ । यसरी नै आज साहित्य र राजनीतिलाई अलग पहिचान दिन थालिएको छ । यसरी यतिबेलाको राजनीतिमा अल्पज्ञान हुर्कन थालेको छ भने साहित्यमा सामाजिक मूल्यको सरोकार हराउन थालेको छ । यही कारण हुनु नहुने भए तापनि आजभोलिको राजनीति सदैव रुखो हुँदै गएको छ, राजनीति समाजविग्रहको मूलश्रोत बनेको छ । तथापि, यथार्थमा सबै राजनीतिले सधैं यस्तै गर्छ भन्ने होइन । खास गरी हाम्रो परम्परामा ईश्वर भनिएका राम र कृष्ण राजनीतिक पात्र भएर पनि आधारभूत रूपमा प्रेम र करुणाका प्रतीक बनेका थिए । गर्न त उनीहरूले युद्ध गरे-गराए । तर उनीहरूले गरे-गराएका युद्धलाई बाध्यात्मक परिणति ठानियो, नियतिको खेल मानियो । निकट अतीतमा गान्धी पनि एउटा यस्तै चरित्र थिए । यद्धपि यस्ता परिघटनाहरू सबैतिरको राजनीतिमा लागू हुँदैनन् । बहुसंख्यक राजनीतिज्ञ घृणा र कलहको खेती गर्छन्, यो कटु यथार्थ पनि हो । तर जे भए निः साहित्य कहिल्यै रुखो राजनीतिसित डराउनु हुँदैन । त्यसको रुखोपनको सामना गर्दै नरम-लयालु बनाउने तर्फ क्रियाशील रहनुपर्छ र त्यो साहित्यको माध्यमबाटै सम्भव पनि छ ।
यति हुँदाहुँदै पनि कता कता कहिलेकाहीँ प्राचीन साहित्यमा झैं आजको परिवेशमा हाम्रै साहित्यले पनि एउटा सुखद सामञ्जस्य समेट्ने गरेको छ । तर दुखद कुरा, यसको स्थायित्व छैन । नेपाली साहित्यको कुरा गर्दा जसले पनि नेपालको राजनीतिक इतिहाससँग जोडिन पुग्नैपर्छ । त्यसो त विश्वकै राजनीतिक योद्धाहरू साहित्यका साधक नरहेका होइनन् । कोरियाका किम इल जुङ, किम दाइ जुङहरू, चीनका जियाङ जेमिन, माओ त्सेतुङ, रुसका लेनिन साहित्यमा गहन अभिरुचि राख्थे । तिनका रचनाहरू साहित्यिक इतिहासका बहुमूल्य धरोहर रहेका छन् । यसरी नै विसं २००७ को नेपाली जनक्रान्तिका अधिकांश योद्धाहरू पनि साहित्यमा गहन अभिरुचि राख्दथे । नेपाली क्रान्तिका अग्रज नायक विश्वेश्वरप्रसाद कोइरालाले नेपाली समाजमा साहित्यकारका रूपमा विशिष्ट पहिचानसमेत स्थापित गरेका छन् । कोइराला परिवारमा उनीलगायत उनका भाइ मातृकाले पनि यस्तो वैशिष्ट्य ओगटेका हुन् । मातृकाप्रसाद कोइराला पनि वीपीजस्तै सिद्धहस्त लेखक थिए । मातृकाले साहित्यका लगभग सबैजसो विधामा कलम चलाएका थिए । बरिष्ठ नेपाली साहित्यविद् ईश्वर बरालद्वारा सम्पादित ‘झ्यालबाट’ भन्ने पुस्तकको प्रथम संस्करणमा मातृकाको ‘पिपाको हवल्दार’ भन्ने उत्कृष्ट कथा पनि छापिएको छ । ठीक त्यस्तै विसं २००४ पछिका साहित्यिक योद्धामध्ये गणेशमान, बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराईहरू-ले राजनीतिक साहित्यका विषयमा पनि कलम चलाएका छन्। विसं २००४ मा वनारसबाट प्रकाशित ‘युगवाणी’ मूलतः राजनीतिक प्रकाशन थियो । तर, महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्पादकत्वमा रहेको सो पत्रिकामा कता राजनीति, कता साहित्य छुट्टिँदैन, वर्गीकरण छैन, सबै समाजको प्रगति र उन्नति अपेक्षित सामग्रीहरू समेटिएका छन् । ती मध्ये कुनलाई राजनीतिक र कुनलाई साहित्यिक भन्ने त ? औंल्याउने नै हो भने त्यको कुनै एक अंकमा स्व. गणेशमान सिंहले लेखेको एक व्यंग्य ‘श्री ३ मोहन शमशेरको स्वर्गारोहण’ पढ़्न पाइन्छ । त्यसै पत्रिकामा (अंक थाहा भएन) बालचन्द्र शर्माको कथा पनि भेटिन्छ । तिनलाई राजनीति उपनाम दिने कि साहित्य भन्ने त ? यसै गरी धरणीधर शर्मा, पारसमणि प्रधान, हरिभक्त कटुवाल, हरिप्रसाद गोर्खा राईहरू पनि यिनकै हारमा उभिन्छन् । त्यसो त मनमोहन अधिकारी, निर्मल लामा, मदन भण्डारीहरूका नाम पनि यस हारबाट छुटाउन मिल्दैन । यी सबैलाई राजनीतिज्ञ भन्ने कि साहित्यकार ?
विसं २००७ को नेपाली क्रान्तिको सफलतामा समाजका प्रत्येक वर्गको योगदान थियो । साहित्यकारले त अग्रणी भूमिका निर्वाह गरेकै थिए । लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल उल्लेखनीय साहित्यिक योद्धा थिए त्यसबेलाका । विसं २०१७ पछिको साहित्यमा पनि यो सीर्जनशील परम्परा रहिरह्यो । ‘प्रगति’ भन्ने पत्रिकाका पृष्ठहरूमा बग्रेल्ती राजनीतिका साहित्यिक लेख भेटिन्छन् । तर विसं १७ को पुस १ गतेपछि भने यो स्थिति फेरियो । राजा महेन्द्रको शासन-अधिग्रहण प्रकरणले सबै प्रकारको स्वतन्त्र र सिर्जनात्मक प्रवृत्तिमाथि कुठाराघात भयो । साहित्यबाट राजनीतिक चिन्तन पूर्णतः पलायन भयो । नेपाल फेरि विसं २००७ अघिजस्तै बन्यो, फरक थियो त केवल प्रकारान्तरमा ! राजनीतिबाट पनि क्रमशः साहित्य र सामाजिक चिन्तन लुप्त हुँदै गयो ।
यसरी नेपालको इतिहासले एउटा नयाँ तर, कालो चरणमा प्रवेश गर्यो । साहित्यिक दृष्टिकोणमा त्यस अँध्यारो युगको परिणाम सर्वत्रका नेपाली भाषीहरूले आजसम्म भोगिरहेका छन् । तथापि सफेद झूटको खोल ओड़ेर युगलाई मात्र दोष थुपारी हामीलाई धर छैन । किनकि कुनै युगविशेषको राजनीतिक व्यवस्थाले साहित्यको मुख ड्याम्मै छेकिहाल्छ भन्न मिल्दै मिल्दैन । त्यसो हो भने, जारशाहीको रूसमा टाल्सटाय, दस्तोब्स्की र चेखबहरू जन्मने थिएनन् । ठीक यसैगरि प्राचीन सामन्ती समाजमा कालिदास र दाँतेहरू सम्भव थिएनन् । मनुष्यको सिर्जनात्मक शक्तिको रहस्यलाई कुनै राजनीतिक प्रणालीसँग वा भौतिक बन्दोबस्तसँग गाँसेरमात्र व्याख्या गर्न सकिँदैन । यद्धपि, राजनीति र भौतिक अवस्थाले साहित्यलाई गहिरो रूपमा प्रभावित चाहिं गर्छ नै, जस तथ्यलाई विश्वले स्वीकार गरेकै छ । यति भएरै पनि यी तत्वलाई साहित्य वा कलाको एकमात्र निर्णायक पूर्वशर्त मान्न भने सकिँदैन, हुँदैन । किनकि प्राचीनकालको अन्यायप्रधान समाजले पनि संगीत, चित्रकला, बास्तुकला र साहित्य क्षेत्रमा अतुलनीय योगदान गरेकै थियो ।
राजनीति र साहित्यको सम्बन्ध केलाउँदै जाँदा एउटा कुरा भने अनिवार्य गर्नैपर्छ । मुगल सम्राट अकबरको दरबारमा कवि र संगीतकारले स्नेहपूर्ण आश्रय पाएका थिए रे । पछि औरंगजेबको पालामा मूसलमान कट्टरपन्थीहरूको जमात बढिसकेको थियो र पनि तिनीहरू संगीतका कट्टरविरोधी भएका थिएनन्। आजझैं मूसलमानहरू संगीतसाहित्यका कट्टरविरोधी भए भनेर तत्कालीन इतिहासले इंगित गरेको छैन । अहिले भने त्यो प्रश्न उठ्नसक्छ, किनकि अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक शक्ति कति प्रभावशाली हुन्छ ? यो आजको जल्दोबल्दो प्रश्नात्मक प्रसंग हो । यसरी नै साहित्य र कलाप्रति उदासीन राजनीति कस्तो हुन्छ ? त्यस्तो राजनीतिज्ञले राजनीति र समाजमा कस्तो छाप छोड्ला ? यस्ता अनेक प्रश्नहरू लहर लाग्न सक्छन् । साहित्यिक परिचर्चाको इतिहासमा कला समाजका लागि हो र कला कलाकै लागिमात्र हो भन्ने दुई धारको बहस चलिरहेकै छ उहिलेदेखि ।
खास गरी पश्चिमी विश्वका प्लेटोले साहित्यलाई आफ्नै दार्शनिक मान्यताको लगाम दिएर वैचारिक राजनीतिको गुलाम बनाउन खोजेका भन्ने आरोप छ । भनाइ छ-प्लेटोका नजरमा उनको आदर्शोन्मुख गणतन्त्रको समर्थन गर्ने साहित्यमात्र स्वागतयोग्य हुन्थ्यो । यसैले साहित्यको स्वायत्तता वा स्वतन्त्रताका पक्षधरहरूले यस्तो प्लेटोवादी मान्यतासँग विद्रोह गर्दै आए भन्ने एकथरी विचारकहरूको मत छ । तर, साहित्य कहिल्यै पनि समाजभन्दा टाढा, स्वतन्त्र, स्वच्छन्द हुनै सक्दैन भन्ने ती स्वायत्ततावादीहरूले बुझेनन् । राजनीति समाजको भलोका लागि भनेर गरिन्छ भने साहित्य पनि समाजमै समर्पित हुन्छ । दवै एकै सिक्काका छाप भएपछि कसरी साहित्य र राजनीतिको वर्गीकरण होला त ? यो त भयो प्लेटो जमानाको कुरा ! तर, कार्ल्मार्क्समा आइपुग्दा पनि त्यो धार मेटिएन । भनिन्छ, प्लेटो र कार्लमार्क्समा धेरै भिन्नता छ । तर विडम्बना ! साहित्य र राजनीतिको समागमबाट अर्थशास्त्र लेख्ने सिद्धान्तकार कार्लमार्क्स प्रतिपादित मार्क्सवादको धरातलमा विकसित सोभियत रुस र जनवादी चीनमा पनि साहित्य र राजनीतिलाई बेग्ला बेग्ला हारमा उभ्याउने प्रवृत्ति रह्यो !
यसरी नै आधुनिक युगमा समेत साहित्यको उपयोगिताबारे व्याख्या नभएको होइन । टाल्सटायले जीवनको अन्तिम दशकमा साहित्यलाई धर्मकी सेविका (सुसारे)-को रूपमा मात्र राख्नुपर्छ भन्ने रड़ाको गरेका थिए भनिन्छ । यस्तो तर्क गर्ने टाल्सटाय एकला चिन्तक थिएनन्, त्यसैले त्यसपछिको पुस्तालाई यो विचारविरुद्ध विद्रोह गर्नुपरेको थियो । धार्मिक अन्धविश्वासको कट्टरताबाट साहित्यलाई अलग राख्नलाई नै कला कलाका लागि भन्ने जोखिमपूर्ण मान्यता उठाइएको भान हुन्छ तत्कालीन परिस्थितिमा ! तर पछिको पुस्ताले खास कुरा बुझेन, र भन्न थाल्यो, ‘कला कलाकै लागिमात्र हो ।’ यो वैचारिक लहर पनि आफूभन्दा पुरातन लहरसितको, विगत प्रवृत्तिसँगको विद्रोह थियो । यस्तो प्रवृत्ति वा दुराग्रहलाई देश, काल, परिस्थिति अनुसारको विद्रोही धाराका रूपमा सहानुभूतिपूर्वक बुझ्नसकिन्छ । यद्धपि यो दृष्टिकोण यथार्थवादी वा व्यावहारिक भने थिएन । यो एक असम्भव सोचाइ थियो त्यसबेलाको । वास्तवमा कला कलाका लागि होइन, जीवनका लागि हो । कवि र कलाकार जहिले पनि एउटा समाजमा जन्मिन्छ, हुर्किन्छ, कलाभित्र वा रंग-रेखाचित्रमा होइन । त्यसैले साहित्य जीवन हो कला जीवनको सिँढी हो । संस्कृति र भाषाले उसलाई पोषित तथा पल्लवित गर्छन् । उसको व्यक्तिगत तथा मनोगत संसारमा पाइलापिच्छे त्यस समाजका भाषा र संस्कृतिका छापहरू विद्धमान रहन्छन् । सबै कुरासँग विद्रोह गरे पनि कविले भाषा र सामाजिक परिवेशसँग विद्रोह गर्न सक्दैन । त्यसैले भाषा सामाजिक सम्पत्ति हो भने साहित्य मूलतः समाज र इतिहासको जनक हो । साहित्यका यावत् मान्यता र रसास्वादन समेत सामाजिक इतिहासका अभिन्न अंग हुन्छन् ।
राजनीतिले साहित्यमा र साहित्यले राजनीतिमा चासो राख्ने भनेको तिनीहरूको एकापसमा समेटिएको समाजबोधको विषय हो । समाज एक विराट इकाई हो । समाजले आफ्नो विशाल दायराभित्र साहित्य, कला, संगीत, स्वास्थ्य, शिक्षा, प्रशासन, न्याय, अन्याय, हिंसा, दमन, सबैथोक ओगटेको हुन्छ । साँचो अर्थमा समाजलाई नेतृत्व दिन्छु भन्ने राजनीतिज्ञले यस्ता वास्तविकतालाई प्रत्येक स्तरमा साक्षात्कार गरेकै हुनुपर्छ । अनिमात्र उनीहरूले समाजलाई नेतृत्व दिन सक्लान् । नत्र त साहित्यको परिचय नपाएका राजनीतिज्ञहरू म्याद सकिएको औषधिजस्तै हुन्छन् ।
खास्सै भन्ने हो भने राजनेताले आफ्नो दिल-दिमागलाई समाजजतिकै व्यापक राख्न सक्नुपर्छ । त्यहाँ समाजका सबै गतिविधिको अनुभूति र संज्ञान हुनु जरुरी हुन्छ । समाजका विविध र विस्तृत गतिविधिको संवेदना हुनुपर्छ । अनि मात्र त्यस्तो नेताले उपयोगी र सर्वहिताय पद्धतिमा समाजलाई हाँक्न सक्छ । होइन, कुनै प्रलोभन वा लाठीको बलमा समाजलाई हाँक्ने हो भने अर्कै कुरा । नत्र, दीर्घकालीन दृष्टिकोणमा बलमिचाइ सामाजिक स्थायित्वका लागि प्रत्युत्पादक हुन्छ । यस्तो गुरुत्तर उत्तरदायित्व बहन गर्न अघि बढ्ने व्यक्तिले साहित्यजस्तो संवेदनशील विषयको उपेक्षा गरे भने त्यही हुँदो हो जो आज हाम्रा वरिपरि भइरहेको छ-जताततै वाहियात कलहमात्र ! साहित्यकारले पनि आफ्नो दायरामा रहँदा रहँदै राजनीतिलाई योगदान दिने, सिर्जनात्मक बाटोमा डोर्याउने थुप्रै काम गर्नसक्छन् । खास्सै गर्न सक्छन् भन्नु पनि ठिक होइन, गर्नैपर्छ भन्नु अरु उचित हुन्छ । साहित्य र राजनीतिको निरन्तरको संवादले दुवैलाई ऊर्जा र सुस्वास्थ्यसमेत प्रदान गर्दछ ।
विसं २००७ को नेपाली जनक्रान्तिपछिको कुरा, भारतका निकै नाम चलेका लेखक नेपाल आएका थिए रे-उनको नाम रामवृक्ष बेनीपुरी थियो । हाम्रा पूर्वज नाटककार बालकृषण समको घरमा बेनुपुरीको सम्मानमा चियापान समारोह भएको भन्ने कुरा छ विभिन्न ऐतिहासिक प्रसंगहरूमा । त्यसको एक तस्बीर अझै सुरक्षित रहेछ जगदम्बा पुस्तकालयमा । केही वर्षअघि अध्ययनको सिलसिलामा काठमाडौ बसाईको क्रममा जगदम्बा पुस्तकालय छिर्दा यस पंक्तिकारले पनि त्यस तस्बीरमा नजर पुर्याउने अवसर पाएको थियो । तस्बीरमा रामवृक्ष बेनीपुरीको स्वागतमा क्रमबद्ध टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथितलगायत धेरै महानुभावहरू उभिएका देखिन्छन् । नेपालका ती राजनीतिज्ञहरूले भारतका एक साहित्यकारको सम्मानमा आफूलाई त्यसरी उभ्याएका थिए । यसै वातावरणमा त्यसबेलाका नेपाली प्रधानमन्त्रीले पनि कवि शिरोमणि लेखनाथ पौडेललाई सम्मानार्थ चढाइएको रथ आफैं तान्ने जमर्को गरेका थिए रे ! राजनीतिमा साहित्य र साहित्यकारप्रतिको त्यो विगत-विनम्रता आज कतै होला त? र, साहित्यमा पनि त्यस्तै महता आज कहाँ छ र ? किन यसो भयो, किन यसो हुँदैछ ? यो खोज्ने जिम्मा कसको ?
भक्त जी
सच्चाई नै राम्रो लेखन गर्नु भएको छ ! तपाई को विश्लेषण बौद्धिकताले सुसजित छ ! धेरै बर्ष अघि नेपालका राजनितिक श्र्स्त सी के परसाई द्वारा लिखित एक पुस्तक मा राजनीती र साहित्य लगायत अन्य अरु बिषयहरु बारे ब्याबारिक सम्बन्ध कस्तो हुन्छ भन्ने बारे पड़ने मौका पाएको थिए ! आज तपाईको लेखले मेरो मन फेरी ब्युझाएको छ ! क्रमस येस्ता लेखहरु लेख्दै जानू होला !
यस्ता लेख लेख्ने भूटानीहरू पनि छन् ……? अग्रजहरूले चिनेनन् हाम्रो युवा पुस्ताको ऊर्जालाई ! बौद्धिक ऊर्जा र ऐतिहासिक धरातल हाम्रोमा निकै बलियो छ । तर, किन एउटा पत्र लेख्न नजान्ने, 5 का अघि उभिएर बोल्न नजान्नेहरू पार्टी र संगठन हाँक्छन् ?
Marie, don’t think that writers are always leaders and the leaders are the writers. Thats why they are having different Identities. But sure, they should have a strong combination, coordination and mutual understanding!
i was happy to read your artical bcoz frm this artical i got many thing which was happen inthe past so keep it up in coming future.