फुलमती (भाग-१)
भक्त घिमिरे
अमेरिका
मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो कच्याककुचुक पारेर गार्बेज क्यानमा हाली फुलमतीले । तर, चुरोटको तल्तल मेटिएन, फेरि अर्को सल्काई ! रात्रिको कक्षा सकेर घर फिरेको सुरेशलाई बरण्डामै सोधी उसले,‘हामी बसेको शहर कहाँ पर्छ रे बाबू?’ भित्र पस्न नभ्याउँदै उत्तर दियो सुरेशले,‘न्यूयोर्कको बफेल्लो शहर ।’
सुरेश र सुशिला आ-आफ्नो गृहकार्य सकेर खाना खाइवरि सुतिसके । फुलमती भने सोचमग्न आफ्नै संसारमा ! घरै अगाड़िको बाप्टिष्ट चर्चमा ड्वाङ्ङ घण्टी बज्यो । रातको १२ बजिसकेछ । चर्चतिर हेरेर मनमनै फुलमतीले ईशा मसिहलाई श्रद्धासुमन चढ़ाई ! ‘आखिर ईश्वरमा आस्था राख्ने भएपछि जुनसुकै नाममा भए निः ईश्वर त ईश्वर नै हुन्’, फुलमतीले मनमनै सोची । फेरि सोची उसले,‘तर, ईश्वर एउटै भए धर्म किन अलग अलग ? मान्छेको जात र धर्मबीच के सम्बन्ध छ ?’
कसैले आफ्नो धर्मबारे सोधिहाले ऊ भन्न त आफूलाई हिन्दू नै भनिदिन्छे । तर, अरु कसैले लगाइदिएको छापबाहेक फुलमती हिन्दू पनि होइन, ऊ न बौद्धी हो न त ईशाई नै ! ऊ त मान्छे हो, केवल मान्छे । ‘सांसारिक पाप कटाउने’ बाइबलको ‘क्रुसेड’, ‘शैतानहरूको नाश गर्दै’ इस्लामको रक्षा गर्ने कुरानको ‘जिहाद’, ‘धर्म र धर्मात्माहरूको रक्षा गर्ने’ गीताको ‘धर्मयुद्ध’, ‘सम्पूर्ण आर्यसत्यहरू’ ग्रहण गरी जीवनलाई चरितार्थ गर्ने त्रिपिटक र धम्मोपदका अष्टगुणहरू, बुद्धत्वको बाटो भत्काइदिने असत्य, कलुषित विष बोकेका (अ) ज्ञानहरू इत्यादिको फुलमतीलाई केही जानकारी छैन ।
मनज्ञानले ऊ साँच्चै केही नै होइन…मान्छेबाहेक ! र, धर्मको नाममा, जातको नाममा ऊ टुक्रिन, चुहुन पनि चाहन्न मान्छेहरूको विशाल सागरबाट । तर, मान्छेहरू नै उसलाई धकेलेर बाहिर हुत्याउँछन् । पोखिदिन्छन्, आखिर किन ? मान्छेहरूकै बीच पनि कुनै भेद हुन्छ भने ऊ चाहिं एउटी गरीब, चारैतिरबाट ठगिएकी, आफ्नैहरूबाट दूत्कारिएकी तिरस्कृत नारी हो, गरिबीको नाममा, लैंगिक पृथकता, जाति, भाषा र रगतको नाममा ! अझ आफ्नै वर्गभित्र पनि छुवाछूत प्रथामा कथित तल्लो जाति भइदिएकाले ऊ आरुभन्दा बेग्लै हुनुपर्यो । उसलाई के थाहा गीताले के भन्छ, मनुस्मृतिले के भन्छ । वेद, रुद्री र उपनिषदमा के लेखिएको छ उसलाई के थाहा ! तथापि, ऊ आफूलाई बाजेले सिकाएको ‘हिन्दू’ नै भन्छे । ठीकै छ, सामाजिक तहमा ऊ हिन्दूकै जमातभित्र छे । तर, मान्छेले के गर्दा हिन्दू हुन्छ वा हिन्दू हुनलाई खास गरी के गर्नुपर्छ उसलाई थाहा छैन । केवल ‘हिन्दू’ भनिदिनबाहेक कसैले उसलाई सिकाएन र सिकाउन खाँचो पनि ठानेन !
फुलमती कल्पनालोकमै छँदा नजिकैको एउटा चर्चको माली आएर उसलाई झट्ट प्रभू ईशुलाई ग्रहण गर्ने आग्रह गर्यो । फुलमतीको मनमा कुरोले कोल्टे फेर्न कति समय लागेन । ‘क्रिस्टियन बन्नु र प्रचार गर्नु अपराध हो’’, ‘‘हिन्दू र बुद्धिष्टमात्र हाम्रो देशको धर्म हो ! प्रचारबाजी गर्यो भने राजद्रोहको अपराध बराबर सजाय हुनेछ । देशनिकाला पनि हुनसक्छ ।’’ फुलमतीले यस्ता कुरा नबुझे पनि सुनेकी थिई विगतमा, भनौं आफ्नै देशभित्र ! ‘जीजसमाथि विश्वास गरेको र अरुलाई सो कुरा सुनाएको अभियोगमा पुलिसले आज भालुझोड़े कान्छालाई समात्यो रे, अब चेमगाङ जेल लान्छ रे’, ‘पिटर गुरुङ र टाशी फुन्छोलाई त देशबाटै निकाल्यो रे’, यो सुनेपछि उसले मनमनै फेरि भनेकी थिई, ‘हामी त हिन्दू हौं !’
फेरि उसको मनमा कुरोले अर्को कोल्टे फेर्यो । ‘के स्वार्थका निम्ति त्यो माली मलाई यस्तो आग्रह गर्न आयो’, फुलमतीले मन मनमा यसै भनिक्यारे ! हो निः सबै मान्छे स्वार्थी हुन्छन् । स्वार्थबिना सांसारिक जीवनको गति अघि बढ्दैन । तर बुद्धिमानहरू ठूलो स्वार्थका लागि साना स्वार्थहरू त्यागिदिन्छन् अनि बुद्धिहीनहरू चाहिं ससाना स्वार्थका निम्ति ठूला स्वार्थहरू त्याग्छन् । यी कुरा केलाउने अक्कल त छैन फुलमतीमा । तर पनि ऊ यति कुरा अवश्य सोच्न सक्छे,‘धर्म र विश्वास भनेको नाम, तस्वीर र प्रचार होइन, गुण र असल व्यावहारिकता हो ।’ ऊ पनि त रंगभेदविरोधी मार्टीन लुथर किङहरूको भूमिमा आइपुगेकी छ । गोरा-कालाबीच समानताका निम्ति गान्धीको आदर्शमा रहेर आन्दोलन गर्ने किङ आज त रहेनन् । तर, उनको आदर्श सधैं कायम छ अमेरिकामा ।
गान्धी कट्टर हिन्दू थिए, किङ कट्टर ईशाई ! तर दुवैजनामा हिंस्रकता थिएन । मानवताप्रति अगाध प्रेम थियो उनीहरूमा । फुलमतीले इतिहास त पढेकी छैन गान्धी र किङहरूको ! यद्धपि, ऊ जीवित भुक्तभोगी हो सामाजिक विचलनको । त्यसैले सोच्छे-‘‘आखिर हिन्दू भनेको के हो ?’’ छिमेकी बर्मेली बा’ले रामायण र महाभारतका श्लोक पढेर सुनाएका बाहेक धर्मका कुरा फुलमतीले सुनेकी पनि छैन । महाभारतको कथा हाल्दै बर्मेली बा’ बीच बीचमा भन्थे, ‘‘कृष्णको बाल लिला अति उत्तम छ, बालबालिका र भगवान एउटै हुन्छन् है, त्यसैले बालबालिकाको गल्तीमा नराम्रो मान्नु हुँदैन । उनीहरूलाई भगवान सम्झनुपर्छ ।’’ फुलमतीको स्मृतिपटलमा कुरा खेल्न छोड़ेन । ऊ सोच्दै गई, ‘‘आखिर त्यसो हो भने मेरो छोरो सुरेशले उनकै नाति-नातिनीसँग खेल्दै एकदिन घरभित्र पस्दा बर्मेली बा’ ले किन गाउँभरिका मान्छे डाकेर मेरो बेइज्जत गरे? सबै मिलेर मलाई बर्मेलीको घर शुद्धाशुद्धि गर्नुपर्छ भनी किन जरिमाना तिराए ? भगवान् घरभित्र पस्दा यसै गर्नुपर्छ? के हिन्दू हुनुको महत्त्व यही हो ? धर्म भनेको पनि यही हो ? मेरो सुरेश पनि त त्यतिबेला कथाका कृष्णले दही चोर्नेबेलाकै थियो ! बालबालिकाको गल्ती माफ गर्ने बर्मेली बा’लाई शास्त्रको वचन खारेज गर्न कसले बाध्य बनायो ? ‘‘टिके र फुलमतीको उठिबास गराइदिन्छु, यिनका सन्तानलाई गाउँबाटै हटाइदिन्छु’’, भनेर धम्की दिन उनलाई कसले सिकायो ?’’ यी कुरा सम्झेर अघिसम्म अगाध प्रेमपूर्ण, स्नेहमयी बनिरहेको विगतलाई फुलमती फेरि धिक्कार्छे । ‘त्यस्तो विगत भविष्यले फेरि कहिल्यै नदेखोस्’…मनमनै आफैंप्रति दयाभावको कामना गर्छे र ढल्कन्छे फुलमती कोठामा पसेर खाटमाथि !
सुतेर पनि निद्रादेवीको साथ पाइन फुलमतीले ! उसको दिमाग बोलिरह्यो एकलै,‘‘गाउँमा आठ-पाँच चलाइदिने तिनै बर्मेली बा’ हुन् । सबैको गर्जो टार्छन् । फुलमतीको परिवारलाई पनि बर्मेली बा’ले काखी च्यापेकै हुन् । मनकारी छन् बर्मेली बा’, अनि मिजासिला पनि । गाउँलेहरूका छेउ जरिमाना तिराएर पछि फुलमती र टिकारामले तिरेको रकम फेरि सुटुक्क फर्काएका थिए बर्मेली बा’ले ! अन्यायको विरोधी त छन् बर्मेली बा’ तर, खुलेर केही बोल्न सक्दैनन् । किन यिनलाई बर्मेली भनियो ! को हुन् त यी बर्मेली बा’ आखिर ?’’
खइ…बर्मेली बा’हरूको कुन पुस्तामा हो कुन्नि, सन् १८६५ कै हाराहारीतिर ब्रिटीश-भारत र भूटानका तत्कालीन शासकहरूबीच माटोको लेनदेन, सीमाको विवादमा भीषण युद्ध चल्यो रे । युद्धमा हारेपछि भूटान पक्षले एउटा सम्झौतामा हस्ताक्षर गर्नुपर्यो जसको परिणाम दक्षिण सीमाका केही महत्त्वपूर्ण ठाउँहरू ब्रिटीश-भारतले मुआब्जामा दाखिला गर्यो । मुआब्जामा दाखिला भएको सोही जग्गामा रहेका भूटानीहरू माटोसँगै भारतीय रैती बने । आजसम्म ‘द्वार’ (डुवर्स)-को नामबाट चिनिने ती भारतीय इलाकामा तिनताक कमै जनसंख्या थियो रे…। भूटानले गोरा-फिरंगीहरूमार्फत भारतलाई माटोसँगै जिम्मा लाएका नागरिक र राँचीबाट ल्याइएका केही आदिवासी जनजातिबाहेक त्यहाँ कोही थिएन रे…! कम जनसंख्या भएको त्यस क्षेत्रमा भर्खरै भारतीय रैती बनेको भूटानको सीमारक्षामा तैनाथ एउटा समूहका एकजना नायकलाई गाउँको प्रधान मुखिया बनाइयो रे । ती मुखियालाई पछिसम्म धर्मदत्त बाजे भनेर चिन्ने गरेको गाउँलेहरूले पछिल्लो पुस्तासम्म कुरा गरिरहन्थे ।
क्रमैले धर्मदत्त बाजेका केही पुस्तापछि विश्वयुद्धहरू भए । सँगैजसो भारतीय स्वाधीन आन्दोलन पनि शुरु भयो । सन् १९०० को दोस्रो दशकतिर भारतीय स्वाधीनसंग्राम शुरु हुँदा सरदार बल्लभभाइ पट्टेल र मोहन्दास करमचन्द गान्धीसित पनि तिनै धर्मदत्तका छोरा रमानन्द बाजेको भेट भएको कुरा बेलाबेला चर्चा हुनेगरेको थियो गाउँमा । गान्धीलाई गोरा साहबहरूले हाल पश्चिम बंगाल राज्यको उत्तरी सीमा बुक्साद्वारको कैदखानामा थुनेर राख्दा रमानन्द बाजेहरूले लुकी लुकी कैदखानापछाड़ीको जंगलबाट खानेकुरा छिराइदिएको कुरा पनि किंवदन्ती सुनिथ्यो गाउँमा ।
सिलसिलेवार समय बित्न कतिबेर लागेन । भारतको स्वाधीन आन्दोलनले केही मन्द गति केही बुलन्द गति हुँदै दुईवटा विश्वयुद्ध पार गरिसक्नै लागेको थियो । प्रथम विश्वयुद्धले मुर्झाएको विश्व फेरि दोस्रो विश्वयुद्धका लागि नवजवान- बलवान् भएर उठ्यो । दोस्रो विश्वयुद्ध शुरु हुँदाताका भारतको स्वतन्त्रताका लागि थालिएको आन्दोलन दुईधारमा केन्द्रित भइसकेको थियो । एउटा सुवासचन्द्र बोसको सशस्त्र फौज र अर्को गान्धीको शान्तिपूर्ण असंलग्न, खद्दर र चर्खाको जनआन्दोलन, नूनको आन्दोलन ! नेताजीहरूसँग रमानन्द बाजेको संगतकै कारण उनका दुई भाइ छोरामध्ये जेठा बृहस्पतिले बोसको आजाद हिन्दफौजमा आफूलाई दर्ता गरिसकेछन् । हिन्दफौजका जवानहरूको सुरक्षामा खतरा आएपछि सुरक्षित जग्गा खोज्दै उनीहरूको दल बर्मा पसेको थियो रे…। जापानसित गोप्य मित्रता गरेर गोराहरूविरुद्ध सहायता बटुल्ने शर्तमा बोसले जापानको कब्जामा परेका बेलायती गोर्खा फौजका केही जवानहरूलाई छुटाएर उतै आफ्नो फौजमा भर्ती गरेका थिए । तिनैमध्ये, त्यसताक आजाद फौजका उप-कप्तान लालबहादुर थापा (मगर)-की छोरीसित बृहस्पतिको विवाह भयो । ‘‘क्षेत्रीको छोरो भएर मगरकी छोरी…’’, धेरैले यस्ता प्रश्न राखेकै हुन् बृहस्पतिलाई । तर उनले सैनिकको कुनै जात-थर नहुने बताएर जिल्ल पारिदिन्थे सबैलाई । भाषा, संस्कृति र राष्ट्रिय स्वाधीनताबाहेक समाजमा जातपात, लिंग, वर्ण वा अन्य यस्ता अन्तरविरोधहरू राख्नु नहुने बृहस्पतिको आग्रह हुन्थ्यो सधैं ।
दोस्रो विश्वयुद्धकै क्रममा जापानको मतियार भएको आरोपमा बर्मामाथि पश्चिमी देशहरूले आक्रमण गरे । चढाई गर्दै बर्माको इरावदी नदीसम्म आइपुगेको जापानी फौजलाई फिर्ता हुन बाध्य पारियो । बेलायती र अमेरिकी हवाई सेनाको टुकडीले बर्मामाथि ठूलो बमबर्षा गर्यो रे । त्यस आक्रमणपछि भारतीय स्वाधीनता संग्रामका नायक सुवासचन्द्र बोस बेपत्ता भए रे…! आजाद हिन्द फौजका केही जवान उतै हराए, केही आफ्नो जायजेथा गुमाई…बर्माबाट फर्केर भारत आए, केहीलाई ब्रिटीश सेनाले फेरि कैद गर्यो । भारत फर्केर ब्रिटीशको कब्जामा पर्ने तिनैमध्येका दुर्गा मल्ललाई गोरा साहेबहरूले दिल्लीमा फाँसीको सजाय पनि दिए रे । तर, एउटी छोरी र एउटा छोरो लिएर बृहस्पतिको परिवार भने सुटुक्क द्वार (डुवर्स)-को उत्तरी सीमा, पाना भन्ने ठाउँमा आफ्नै पुर्खाको जग्गामा आएर बस्यो रे…! त्यसबेलासम्म भारतले स्वाधीनता प्राप्त गर्ने लगभग निश्चित नै भइसकेको थियो । यद्धपि, बृहस्पतिको परिवार त्यहाँ स्वाधीन भारतको नागरिक भएर शान्तिले धेरै रहन सकेन । फेरि पनि भूटान र भारतबीच सीमा समस्या शुरु भयो । भारतले भूटानसित सीमास्तम्भ खड़ा गर्ने शर्त राख्यो र जग्गाको काटछाँट गर्ने सो क्रममा बृहस्पतिको परिवार माटोसँगै फेरि भूटानी बन्नपुग्यो । त्यसपछि बृहस्पतिको परिवार भूटानभरि बर्मेली उपनामले चिनिन्थ्यो । निकै वृद्ध भएका बृहस्पतिलाई सबैले बर्मेली बा’ भन्थे । यी सबै प्रसंग बर्मेली बा’का सम्बन्धमा गाउँघरमा चलेका कुरा हुन् ।
त्यसो भए वर्षौं पहिले विदेश घुमेका, सेनामा खटेका, अन्तरजातीय विवाह गरी त्यसैको वकालत गर्ने बृहस्पतिलाई यतिबेला चाहिं के नपुगेर जातपातको अन्धविश्वासले छोइदियो ? कुरा चेतनाको हो ! सुवासचन्द्र बोसले राष्ट्रियतामा अभिप्रेरित गर्ने अनेकौं उपदेशहरू दिन्थे, संघर्षमा होमिने एकाग्र चित्त बनाउन, सेनाका बीचमा आपसी मित्रता कायम गर्न जातपात नमान्न उत्प्रेरित गर्थे । बोसका कुरा बृहस्पतिका निम्ति ‘घोकन्ति विद्धा’, मात्र भयो, घोक्न छोड़े सिद्धियो । विचरा बृहस्पति उहिलेको जमानाका मान्छे, नेताजी बोस बेपत्ता भएपछि उनको खोजीमा जोखना हेर्ने ज्योतिष, वैद्धले, ‘‘तल्लो जातसित हेलमेल गरेको कारण अपगति परेर मर्यो’’, भनिदिएर उनको दिमागमा एक झट्का हालिदिएका थिए । उनी त पढ़ेलेखेका थिएनन् । त्यसमाथि गाउँकै कुनै एक पढेलेखेको, वरपरको इतिहास र घटनाक्रमबारे चासो राख्ने मान्छेले,‘‘तिमी पनि बोसकै मान्छे हौ, उसकै चलन चलाउँछौ यो गाउँमा भने भोलि नै हल्ला चलाइदिउँला, गाउँबाट भाग्नुपर्ला, पुलिस लाएर पक्राइदिउँला’’, भनेर धम्की दिए । यो कुरा प्रचारमा आयो भने दिल्लीको लालकिल्लामा अघोषित शहीद हुने निश्चित थियो । अझ दिल्ली त परको कुरो, सुवासचन्द्र बोसको सेनामा काम गरेर आएको भन्ने थिम्पूमै खबर पुग्यो भने पनि स्वाहः हुने खतरा छँदैथ्यो । ज्यान-धनको खतराबाट जोगिन पनि उनले नराम्रो काम गर्नैपर्यो । निश्चय नै आंशिक परम्परागत अन्धविश्वास त रहेकै थियो उनको दिमागमा पनि, त्यसमाथि गाउँमा रहनकै लागि भए पनि उनले ‘तल्लो जाति’, ‘छोइछिटो’ मान्नैपर्यो ।
समय गतिवान् बनेर दौड़िरहेको थियो । बाहिर देखावटी जसो गरे निः भित्र परिवर्तनतर्फको उग्रचेतना बर्मेली बा’भित्र थियो नै । त्यसैले भित्रभित्रै महाशुर क्षेत्रीसित सम्पर्कमा थिए रे बर्मेली बा’ । उनको छोरो बमबहादुर क्षेत्री विद्रोही स्वभावको । फेरि सानोमा केही समय देहरादूनको सैनिक स्कूलमा पढ़ेर आएको ! भूटानमा आएपछि पहिले नागरिकताको अनिश्चितताले र पछि उमेरको कारण पढ्न नपाउने भयो । ऊ पनि महाशुरहरूकै सुरमा ताल मिलाउन थाल्यो । महाशुर क्षेत्रीले स्टेट कंग्रेस नामको संगठन खोलेर भूटानमा गतिविधि चलाउँदा एउटा सैन्यदल खड़ा गर्ने र त्यसको नेतृत्व दिने वचन दिएका थिए रे बमबहादुरलाई । महाशुरको हत्यापछि बमबहादुरलाई पनि ज्यानको खतरा भएकोले ऊ सीमानिकट आसाममा घरजम गरी बस्यो । तर, बृहस्पति उर्फ बर्मेली बा’ छोरीको घरमा रहे, उनले भूटान छोडेनन्, । पछि थिम्पूबाट सूचना जारी भो,‘‘सन् १९५८ को जमिन कर तिरेको प्रमाण देखाउने र भूटानभित्रै जन्म भएको प्रमाणित गर्नसक्नेहरूमात्र असल भूटानी हुनेछन् ।’’ भनेजस्तै गरी सरकारले गरेको जनगणना अभियानमा बर्मेली बा’हरूलाई सन् १९५८ मा भूटानमा नभएको र जन्मदर्ता पनि देखाउन नसकेकोले सातौं वर्गमा पारियो, तत्काल देश छोड्ने हुकूम सुनाइयो । बर्मेली बा’ आजाद हिन्द फौजको अन्त्यकाल भोगेका, कहालीलाग्दो युद्धको परिणति भोगेका, देश त्याग्नुभन्दा ज्यान त्याग्नतिर लागेछन् !
‘‘बर्मेली बा’ले आत्महत्या गरे रे…’’ एकाबिहानै टोलभरि हल्ला फैलियो । खबर सुनेर बाबुको सत्गतमा पुगेको बमबहादुरलाई खोलामा मलामीबीचबाटै सेनाले टिपेर लग्यो । महाशुर क्षेत्रीसित मिलेर ‘देशद्रोह’ गरेको अभियोग थियो उसमाथि । रबुना भन्ने माटोमुनि बनाइएको सैन्य कैदखानामा राखेको छ बमबहादुरलाई भन्थे जान्ने-सुन्नेहरू पछिसम्म, त्यसपछि विस्तारै उसको चर्चा हरायो ! बर्मेल्नी बज्यै दिमागको क्यानसरले मरिन्, उनीहरूकी छोरी ललिताले पनि सैनिकद्वारा बलात्कृत भएर आत्महत्या नै गरिछन् ! ललिताका लोग्ने र छोराहरूचाहिं अझै पनि देशभित्रै भूमिगत रूपमा बृहत् आन्दोलनको तयारी गर्दैछन् रे…! बर्मेली बा’का उत्तराधिकारी बनेर उनीहरू अब इतिहासको कुन घड़ीमा फड्को मार्ने हुन्, हेर्नलाई पर्खिनुपर्ने भएको छ । तिनै बर्मेली बा’ आज फुलमतीको स्मृतिकटलमा घुमिरहे, घुमिरहे अविराम ।
बिहान सुरेशले आफू स्कूल जान ढिलो भएको भन्दै उठ्न भनेपछि मात्र फुलमतीले विस्तारै आफ्नो कोठाको ढोका खोली । सुशिला र सुरेशलाई खाजा पकाइदिएर स्कूल विदा गरेपछि फेरि कुरा खेल्न थालिहाले उसको मस्तिष्कमा ! किनचाहिं आफैंले घृणा गरेको, आफू हेपिएको विगत फुलमतीलाई अति प्यारो लाग्छ हँ… ! विगतलाई सम्झँदै माया गर्नु रहस्यमयी विषय बन्यो ऊ स्वयंका लागि । अस्ति त ऊ पनि कहाँ कम थिई र ? खेतीबारी प्रशस्त थियो, गोठमा गाई-बाख्रा ! छोराछोरी सानै भए नि लोग्ने टिकारामले खेतीबालीको काम सकेर गाउँभरिका मान्छेलाई पुर्याउने जुत्ता सिलाउँथ्यो ! डिजाइन पनि खूबै जान्ने, हातमा शीप भा’को टिकाराम मिजार ! फुलमती आफू भने छोराछोरी र गाई-वस्तुको जिम्मा लिन्थी । तर एक दिन, लुट्यो सबै लुट्यो, ‘सरकार’ भन्ने मान्छेहरूको टोलीले लुट्यो सबै सम्पत्ति । सरकारले जायजेथा लुट्यो, समाजले उसका सारा इमान र मान्छे हुनुको अर्थ लुट्यो अनि पुस्तौंदेखि फुलमती र बर्मेली बा’हरूले देउताको थान मानेको शाही-दरबारले लुट्यो उनीहरूको देश पनि ।
निर्वासनमा आएको केही वर्षभित्रै टिकारामले छोराछोरी र भविष्य फुलमतीको जिम्मा लाएर एक्लै बाटो लाग्यो अन्त्यकालको घरतिर ! कसै कसैले भन्थे,‘‘टिकाराम देश छोड्नुको पीड़ाले धेरै समयदेखि अर्धचेत थियो । रक्सी पिउने र एक्लै एक्लै डुल्ने, एक्लै बोल्ने उसको लगभग पहिचान नै बनेको थियो । निर्वासनको अस्थायी बासस्थल शिविर, प्रचण्ड गर्मी, कहालीलाग्दो अभाव, लोग्नेसितको वियोग अनि देशविहीनताको मार ! समाज ? समाज पनि के भन्नु, आफूजस्तै मान्छेहरूको टोल, केही छिमेकीहरू ! सबै एउटै पीड़ामा छट्पटाएका, एउटै व्यथा भोगिरहेका । एउटै भूत, वर्तमान र भविष्य बोकेका, समान हैसियत, आखिर ‘एउटै पञ्चतत्व’को उत्पति तर, किन हो किन फुलमती अरुभन्दा बेग्लै छ, इच्छाले-रहरले होइन, प्रायोजित रूपमा बेग्लै राखिएको छ, एक्लै पारिएको छ !
दिमाग भारी भएकोले फुलमती एउटा चुरोट सल्काउँछे हल्का हुनलाई । उसलाई अमेरिकन फिल्टरभन्दा अस्ति शिविरमा हुँदाताका नेपालको फिल्टररहित बिजुली चुरोट नै प्यारो थियो । त्योभन्दा पनि भूटानमा खोसेलामा बेह्रेर सल्काउने सुर्तीको धुवाँ अझ प्यारो थियो । आखिर मान्छेलाई पुरानो कुरासँग यति गाढ़ा निकटता किन रहन्छ हँ ? अंग्रेजीमा एउटा भनाइ छ ‘‘ओल्ड इज गोल्ड ।’’ तर सबै चीजमा ‘ओल्ड इज गोल्ड’ लागू नहुन पनि सक्छ, हुँदैन नै । फुलमतीलाई यो अंग्रेजी कुरा थाहा हुने सवालै रहेन । यद्धपि, बर्मेली बा’का श्लोक र व्यवहारबीचको भिन्नता सम्झेर फुलमती बेस्सरी झस्की !
(भाग २ आगामी अंकमा-सं. )
गुड स्टोरी काका किप इट ओन.होप टू रिअद सेकेन्ड एपिसोड.
कथा धेरै नै उत्तम लाग्यो l कथामा बेग्ला बेग्लै परिस्थितिमा बेग्ला बेग्लै पात्रहरु सक्रिय छन्, लीला लेखन तिर ढल्किएको कथा जस्तो लाग्यो l
तर कथा बास्तबिकता भन्दा अलिकति बाहिर गएको जस्तो लाग्यो l टिकाराम हराएको थिएन, उ त अधिक रक्सि पिएको कारण biratnagar को कोशी अंचल अस्पताल मा उपचारको क्रममा राख्दा अस्पतालको बसाईले दिक्क भएर सेलेन पानी खोलेर भागेको थियो l पछी लगभग पन्ध्र दिनमा उ उर्लाबारीमा भेटिएको थियो l त्यस पछी पनि उ जुत्ता नै सिलाउने गर्थ्यो, बेला बेला टोइलेट खाली पार्ने काम पनि गर्थ्यो l यत्तिकैमा उसकी छोरी लाई एउटा फटा राई केटोले बलात्कार पछी हत्या गरयो l
मेरो बिचारमा पनि सायद उ अहिले अमेरिकामा नै हुनुपर्ने हो, तर अमेरिकाको बसाइले गर्दा उसको जीवनमा केही परीवर्तन भने पक्कै आएको हुनुपर्छ, तर उ मरयो वा हरायो भन्नु त उ माथोको अन्याय हो नि, कि कसो?
अनि अर्को कुरा, बास्तबमा फुलमती चाही हराएकी हो l किनकि उ पोइल गएकी थिइ, भर्खरै सम्म उसका बालबच्चाहरु UNHCR को बिशेस संरक्छणमा थिए l त्यसपछिको कुरा लेखकले जान्नु पर्दछ l
I appreciate the comments from Pranjal Bhai…But My creation is dedicated just for Babi…who was killed/ I didn’t care anyone else except her. Because her death has to be justified. Even more writers have to keep records on her death. Thanks Pranjal…I know Tikaram is stilll in Camp…But Phulmati is in USA.