फुलमती (भाग २)
‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’
‘‘होइन, कसले भन्यो ? ऊ त मर्यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थे । सेनाद्वारा बलात्कृत भएपछि आत्मग्लानीले पिरोलिएकी ललिताले आत्महत्या गरी । ललिताको छोरो मिलन सरकारी जनगणनामा सात नम्बर भएपछि देशनिकालामा पर्यो । केही समय भारतमा रहेर पुनः भूटान छिरेको मिलन कता पस्यो कसैलाई थाहा भएन ! तर केही समय यता मिलन गाउँहरुमा निस्कनथालेको छ । ऊ निक्कै गम्भीरखाले मान्छे ! आमासहित सर्वस्वः गुमाएको मिलन अब सबैका लागि बाँचेर राजनीतिक विद्रोह गर्ने अठोटमा नयाँ चेतना फैलाउँदै हिँड़ेको छ । आज कटुसे गाउँका मान्छेहरूलाई नयाँ कुरा सिकाउन जाने सोचमा थियो ऊ बिहानैदेखि । मान्छेहरूका छेउ आज के कुरा गर्ने-सोचको पूर्वतयारीमा ऊ घोरियो । आजभन्दा लगभग ३५ सय चार हजार वर्षअघि नै ‘‘असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय’’, भनेर निरन्तर उज्यालो भविष्यको खोजीमा निस्किएको मान्छे आजसम्म व्यावहारिक अन्धकारमै बाँचिरहेको छ । उसका आँखाहरूमा विभिन्नखाले पर्दाहरूले ढाकिएका छन् । त्यसैले उज्यालोलाई अँध्यारो बुझ्छ ऊ, अँध्यारोलाई उज्यालो । समय र परिवेशसँगै मान्छेले सापेक्षता ग्रहण गर्न सक्नुपर्छ । मिलनका मावलीतर्फका बाजे बर्मेली बा’ अझै बाँचेका भए कस्ता हुन्थे, के के गर्थे कुन्नि ! तर, मिलन भने नयाँ सोचबाट लैस भइसकेको छ आजभोलि । उसका लागि राजनीति र आन्दोलन भनेको सत्ता र शासक फेर्ने अभियानमात्र होइन, अन्यायका सबै धरातलहरुको जग खुस्काउने साधन हो । तर, थप अन्याय गर्ने राजनीति गरिँदैछ यतिबेला सर्वत्र ! अर्कालाई घृणा गर्ने ‘धर्म’ र निरन्तर विखण्डनतर्फ समाजलाई डोर्याउने संस्कृतिको जड़ता बोकेर समाज अघि बड़िरहेकोमा खिन्न छ मिलन !
मिलनको मष्तिष्क भावनातम्क रफ्तारमा दौड़िइरह्यो । भावना र चेतनाको शरीर पुरानो भए निः मन-मस्तिष्क तरुणो बनाउनु पर्छ । सामाजिक नीति-नियम र आचरणहरू पनि समय र परिस्थिति अनुकुलतामा फेरिनै पर्छ । संस्कार र परम्पराका आधारहरू समेतलाई न्यायोचित विश्लेषणको भट्टीमा खार्न सक्नुपर्छ । धर्म र न्याय एउटै तराजुका दुई पल्ला हुन् । धेरै कुरा चाहिएको छैन, केवल अर्को मान्छेलाई आफूजस्तै सोचे पुग्छ, सुखानुभूतिसितै दुःख, दर्द र पीड़ाहरू बाँड़्नसके, अरूको अस्तित्व स्वीकार गर्दै मानवीय स्पन्दनमा सहृदयी बन्नसके संसारमा सद्भावना फैलाउन बेर लाग्दैन ।
अस्तिका आस्था र विश्वासहरू पनि परिवर्तित परिवेशमा फेरिन्छन् भने बाहिरी व्यवहार त नफेरिने कुरै आउँदैन । यद्धपि, मानवीय वैचारिक धरातल कहिल्यै समान हुन्न, जतिवटा बेग्लै अनुहारका मान्छे जन्मिए संसारमा त्यतिकै वैचारिक वैभिन्यता पनि कायम रह्यो । त्यसैले एउटालाई एकथरी विचार आउँदा अर्कोलाई अर्कै थरी विचार आयो । विचार चीज एउटै हो तथापि, कसैको विचार ‘क’ बाट शुरु भो, कसैको ‘ज्ञ’ बाट ! विभिन्नतामा एकता नै अस्तित्वरक्षाको एकमात्र नयाँ विकल्प हो-मिलन निष्कर्षमा पुग्यो र लाग्यो आफ्नो अन्तरक्रिया हुने गन्तव्यतिर ।
एउटा बाह्रवर्षे छोरो सुरेश र दशवर्षीया छोरी सुशिला लिएर नेपालको शिविरबाट अमेरिका आएकी फुलमतीलाई यस्ताखाले सबै सवालसित केही सरोकार पनि रहेन ! तथापि, उसको हृदयमा एउटै कुरा गाड़िएको छ, पुरानो कथा, आफ्नै कथा हो कि व्यथा । जति नयाँ दिन सम्झे निः उसको दिलदिमागलाई पुरानोले छोपिदिन्छ । आज उच्चस्तरका ग्रिन-हाउस ग्यालरीमा राखिएका अमेरिकी सरकारले फूडस्ट्याम्पमा उपलब्ध गराउने खाद्धसामग्रीको तुलनामा अस्ति नेपालमा संस्थाले दिएको अल्पाहार र गिट्टी कुटेर बनिबुतो गरी ल्याएको बेसाहा उत्तम थियो उसका लागि । त्योभन्दा निः असल त थियो स्वदेशमा भित्ता कोट्याएर, नंग्रा खियाएर उमारेको रुखो खान्की नै ! सित्तैमा खान र लाउनमात्र पनि होइन रहेछ जीवन भन्ने लागेको छ फुलमतीलाई यतिबेला । साथी-संगी र मित्रमण्डलीमा दुःख, सुखका भलाकुसारी…साटासाट, मेलो-पर्म खेताला गएको कुरा, सबैसँग हाँसखेल र रौस गरिएको कुरा आज कता बिलायो कता…तर त्यसको तृष्णा भने कायमै छ फुलमतीमा ! बाहिरबाट अमेरिका छिरेका आगन्तुकहरूलाई यहाँ सहजसम्मिलनका निम्ति भाषा सिकाइँदो रहेछ ! फुलमती पनि नजिकै क्याथोलिक च्यारिटीले चलाएको ई.एस.एल. कक्षामा पढ्न जान्छे । तर, आजन्म नसुनेको भाषा, कति घोके पनि आउँदैन, ऊ हैरान छे । कहिलेकाहीँ त फुलमती भन्छे,‘‘न बुझ्नु केही मैले न त बोल्न नै जान्नु…लैजाओ, मलाई शिविरमै पुर्याइदेऊ, सके भूटान जान्छु, नसके नेपालमै मर्छु ।’’ तर फेरि सुरेश र सुशिलाको अनुहार हेर्छे र लामो सुस्केरासँगै शान्त बन्छे । आमा फुलमतीको गतिविधिले हैरान छन् सुरेश र सुशिला पनि । आमाको निराशादेखि दिक्क छन् उनीहरू तर, खुशी छन् नयाँ देशको नयाँ रौनकतासित । नयाँ वातावरण र नयाँ संगतीले उनीहरू नवजोशमा उत्साहित छन्, रसरंगपूर्ण नयाँ ढंगको जीवन जिउनलाई ।
आज बिहानै नजिकैको ग्रोसरी स्टोरबाट सुशिलाले ल्याइदिएको चुरोटको बट्टा खोली फुलमतीले । एउटा सल्काई पनि ! लामो सर्को तानेर बुङ्ङ धुवाँ फाल्दै हेरी त्यही धुवाँमा उसको विगत । सिनेमाको रिलझैं लहराउँदै बग्यो उसको विगत स्मृतिमा स ….र….र….र…!
‘‘यो झरी पनि कति पर्न सकेको, गरीबले गरी खायो भनेर, यो पानीलाई पनि आँखा दुख्छ कि क्या हो?’’ गिट्टी कुटिरहेकी फुलमती बर्बराई । घाम छल्न ल्याएको पानी कागजबाट झरीको पानी छिरेर उसको ढाड़ भिजाइसकेछ । फेरि पानी कागज मिलाएर ओड़ी ।
एक त पढ़ाइ-लेखाइको महत्त्व नबुझेका, त्यसमाथिको कहालीलाग्दो विपन्नताले गर्दा सन्तानलाई सही अभिभावकत्व दिन नसकेका फुलमती र टिकारामकी १५ वर्षीय छोरी बबी यतिबेला स्कूल जान छोड़ेकी छ । आउने साता सिनेमा हेर्ने रुपियाँको खाँचोले आज त बबी पनि आमासित पैसा कमाउने सोचमा गिट्टीमा काम सघाउन आएकी छ । आमालाई खाजा पुर्याइदिने र ढुंगा भेला गर्न सघाउने उसको जिम्मा छ । टोक्रीमा साना ढुंगाहरू आमाको छेउमा ल्याउँदै राख्दै गरी बबीले केही क्षण ।
‘‘अलि अलि बोकेर ले न । कति धेरै बोकेकी ! फेरि अस्तिको जस्तो ज्वरो आउँछ, बिमार भएपछि को हस्पिटल जाने, तेरो बाउ मातेर घुम्दै ठिक्क’’, फुलमती विष्मित स्वरमा आफ्नो विवशता ओकल्दै बबीलाई सम्झाउँछे । बबी नबोली नै खाली टोक्रीमा ढुंगा बटुल्दै छे । त्यो दिन दिनभरि नै पानी परिरह्यो । फुलमती र बबीले भिजेरै भए नि दिनभरिको हाँजिरा पुर्याएर शिविरतिर लागे बेलुकी ।
उमेरमा भरखरै १५ भए पनि संगतको गुण टिपेर बबी निकै छाड़ा भइसकेकी थिई । उसलाई रंगीन लिला र अय्याशी मोजमस्तीका कुरा थाहा भइसकेको छ । परिवारकी ठूली छोरी भएकीले बबीलाई घरायसी निर्णयमा निकै स्वतन्त्रता थियो भने टिकारामले बेपर्वाह गरेकोले फुलमतीलाई गिट्टी कुटेर यसो दुई-चार पैसा जोरजाम गर्नमै समय अपुग हुन्थ्यो । त्यसैले बबी नै घरकी मूल भइसकेकी थिई । भाइ-बहिनीलाई नुहाइ-धुवाइ, ख्वाउने, स्कूल पठाउने र अरु सबै घर-व्यवहारको जिम्मा थियो बबीमाथि । घरमा के सामानको आवश्यकता छ, कुन सामान कति मात्रामा कहाँबाट ल्याउने…राहतका सामग्रीको प्रयोगमा खटन कसरी गर्ने सबै बबीको हात । कति राशन लुकाएर बेच्थी…कति घरमा खान राख्थी उसैलाई थाहा थियो ।
साँझ पर्नै लागेको थियो । घरमा बबीबाहेक कोही पनि थिएन । भाइ-बहिनीहरू खइ कतै खेल्न गएका थिए होलान् । फुलमती आफ्नो नित्यको मेलोबाट आएकी थिइन ।
बाहिरबाट कसैले फुस्फुसाहट गर्यो, ‘‘बबी ! बबी म आएँ !’’ ….‘‘ए…दिनेश पो, तिमी कहिले आयौ ?’’ बबीले यति भनि नसिध्याई दिनेश छाप्रोभित्र पसिसकेको थियो । त्यसो त दिनेश अरुबेला पनि आउँथ्यो । स्कूलमा शिक्षक भएकोले ऊ आउँदा बबीलाई बोलाइदिन्थी फुलमती पनि पढ़ाइसम्बन्धी केही कुरा होला भनेर ! उनीहरू पातलो चित्राले घेरेको कोठामा धेरैबेर गुनगुन गरिरहन्थे । फुलमती आफ्नै धुनमा व्यस्त..सुरेश र सुशिला सानै थिए ।
‘‘दिनेश, तिमी कहिले आउँछौ र भनौंला भन्दै थिएँ…पेट दुखेर अस्पताल गएकी थिएँ…!’’
बबीले यति भनेपछि दिनेश घोरियो । बबीले एकमहिना अघिदेखि नै उसलाई आफ्नो मासिक रोकिएको कुरा भन्दै आएकी थिई । केही बेरपछि कुरा खुलस्त पारी बबीले ।
एकपटक त गर्भपतन गराउने कुरा गर्यो र दिनेश ले । तर बबीले ठाड़ो इन्कार गरेपछि निकैबेर त्यहाँ बसेर बबीलाई आकाश-पातलका कुरा देखाउँदै भोलि खेल-मैदानमा सड़क नाटक हुने खबर सुनायो । बबीलाई त्यो सड़क नाटक हुने ठाउँ आउन आग्रहसहित त्यहीँबाट भाग्ने अनि नजिकैको मन्दिरमा पुगी विवाह गर्ने बताएर दिनेश निस्क्यो । कुनै ठाउँ लुकेर धेरै दिन हराउने र त्यतै घरजम चलाउने आश्वासनसमेत उसले बबीलाई दिएको थियो । बाँस फुटाएर बनाएको भाटाको खाट, खाटमाथि बोराको विछ्ना, बोरामाथि च्यांग्लो धुसा र त्यस्तै कम्बल, बबी त्यही ओछ्यानमा पल्टिएर सोच्न थाली दिनेश सँगको सुमधुर दाम्पत्य !
राति अबेर आएर सुतेकी फुलमती बिहानै गिट्टीको ठेक्का पुर्याउन खोलातिर लागी । सुरेश र सुशिला पनि खेल्ने सुरमा कता लागे ! बबी निश्चिन्त दिनेशले भनेको ठाउँ पुगी । भनेको ठाउँमा दिनेश थिएन । आत्तिँदै ऊ दिनेशको छाप्रोमा पुगी । ‘‘ए…आयौ… ’’, मन्द मुस्कानमा बबीलाई हेर्दै दिनेश बोल्यो । ‘‘मेरो लागि आमा-बाबु, नाता-सम्बन्ध र सारा धर्ती तिमी नै हौ, म यहाँ नआएर कता जाउँ रमेश’’, स्त्रीसुलभ ममता दर्शाउँदै अंगालो हालेर भनी बबीले । दिनेश ओठले केही बोलेन तर, बोल्यो उसको हृदयमात्र योजनाबद्ध कल्पनामा । ममता मिश्रित अज्ञात भयले काम्यो दिनेश भित्रभित्रै ।
खोलाबाट गिट्टी बुझाएर आएकी फुलमतीले बबीलाई छाप्रोमा देखिन । ‘‘बत्ती पनि बाल्या छैन, के गर्दैछे, आज पनि घरमा छैन कि के हो ?’’ कराई यसरी तर, फुलमतीको थकित स्वर कसैले सुनेन । सुरेश र सुशिला छिमेकीको पल्लो घरमा खेलिरहेकै थिए । एक कान दुई कान मैदान भयो बबी हराएको कुरा । तर देख्ने र जान्ने कोही भएन । कारन्दार र प्रतिनिधिहरूसम्म पुग्यो, ‘बबी हराई रे ।’ शिविर सुरक्षामा बसेको नेपाल प्रहरीसम्म पुग्यो कुरा । खोजी सबैतिरबाट शुरु भयो । भेटिएन…कतै पत्तो लागेन बबीको ।
आज बबी हराएको छदिन बितेको थियो । एका-बिहानै बिर्खेले आएर सेक्टर हेडलाई जंगलमा पानीभित्र एउटा लाश देखेको खबर सुनायो । सबै हुर्दुराउँदै त्यतातिर लागे । पानीभित्र थोरै बालुवामा पुरिएको लाश । सुरक्षाकर्मीहरूले रेखा कोरेर सिमाना लगाई कसैलाई छेउमा जान दिएनन् । लाश भएको ठाउँमा खन्ने काम भयो । खन्दा खन्दै केही दशी फेला परेको कुरा गर्यो प्रहरीले । लाश बाहिर निकालेपछि सनाखतको लागि प्रहरीले सार्वजनिक गरेको मात्र के थियो-सबैले भने,‘‘कठैबरा, बबी ! पापीले मारेछ !’’ शवलाई पोष्टमर्टमका लागि पठाउन मगाइएको शववहानमा उठाएर पठाइयो ।
प्रहरीले के दशी भेटेको हो कसैले थाहा पाएन । प्रहरी टोली सरासर शिविर सचिवको कार्यालय पुग्यो त्यसपछि विद्धालय । विद्धालयमा आफ्नै व्यस्ततामा रहेको दिनेशलाई प्रहरीले खल्तीमा सुरक्षित डायरी देखाएर सोध्यो-‘‘यो डायरी तपाईँको हो ?’’ सकसमा परेको दिनेशले हो भनौं कि होइन भनौंमा आनाकानी धेरै गर्यो । केही क्षणमा भनिदियो उसले ‘हो, डायरी मेरै हो !’ प्रहरीपोष्टमा पुग्नेबित्तिकै दिनेशलाई अनुसन्धानका लागि इलाका प्रहरीमा पठाइयो ।
अनुसन्धान शुरु हुनासाथ दिनेशले सरासर आफ्नो बयान शुरु गर्यो । बबीसित उसको नाजायज सम्बन्ध थियो । तर बबी कथित तल्लो जातकी केटी भएकीले सो सम्बन्धलाई जायज बनाउन दिनेशलाई ‘समाज’ले दिँदैनथ्यो । त्यसैले उसले आफ्नो बाटोबाट बबीलाई हटाउने अठोट गर्यो मनमनै । क्रमबद्ध उसको बयान बोल्यो यसरी ….!
उसले भनेको दिन बबी हत्तारिँदै उसको छाप्रोमा आइपुगी । हातमा कोदाली बोकेर कम्बरमा सानो खुकुरी बनोटको कर्द भिर्दै दिनेशले बबीलाई जंगलको बाटो भाग्ने संकेत गर्यो । कसैले देख्ला र पिछा गर्ला भन्ने त्रासमा बबी पनि चुप लागेर बाटो लागी । शिविरबाट पाखा पुगेपछि बबीले जिज्ञासापूर्वक प्रश्न राखी दिनेशलाई, ‘‘कोदाली र खुकुरी किन ?’’
‘‘जंगलमा दाउरा खोज्ने, रुखको जरा खनेर निकाल्ने बहाना बनाउनु परेन कसैले देखेर सोध्यो भने ?’’ प्रतिप्रश्न राखेर दिनेशले बबीलाई चुप गरायो । कुरा गर्दै उनीहरूले हुम्से-दुम्से वनको धेरै दूरी पार गरिसकेका थिए । निकै पर थोरै पानी बग्ने सिमचौर पार भएपछि अर्को शिविर देखिन्थ्यो । ठिक सिमचौरमा खुट्टा हालेकी के थिई बबीले… दिनेश उसको पछि लाग्यो । कुराकै सुरमा खइ के के भन्दै थिई बबी… दिनेशले पछाड़िबाट एक्कासी कोदालीको मार हान्यो उसको कञ्चटमा । बबी लड़ेर चिच्याई..कराई तर केही चलेन । अर्को मार उसले हान्यो खप्परमा…अनुहारमा मार हान्दै गयो । बबी चल्मलाउनै छोड़िसकेकी थिई तापनि उसले कर्द झिकेर बबीको पेटमा बजार्यो । सिमचौरको पानी बग्ने खोल्सामा थोरै बालुवामा बबीलाई पुरेर दिनेश सामान्य बन्दै लाग्यो आफ्नै बासस्थानतिर…केही दिन शान्तिले बाँच्यो । र, अहिले जेलकै छिँढ़ीमा भए निः बाँचेको त छ दिनेश ! तर…बबी !
बबीको यो हालत भएपछि फुलमतीको मन मर्यो । ‘समाज’ भनिने मान्छेहरूको समूह, नातागोता सबै बिर्सिन मन पर्यो उसलाई । त्यसैले माइतीखलकले पुनर्वाशमा अष्ट्रेलिया जाने आग्रह गरे, जिद्धि कसे, तर पनि उसले मानिन र छोराछोरीकै विचार पछ्याई…अमेरिका आई । आज हीनता र खिन्नतापूर्ण जीवन भोगेर पनि ऊ बाँचेकी छ परिवर्तित नयाँ भविष्यको पर्खाइमा । मस्तिष्कका चेतन र अवचेतनमध्ये एउटा चेतनाले उसलाई अतीततिर फर्काउँछ, अर्कोले अतीत बिर्साएर भविष्यतिर सोच्न आग्रह गर्छ । निश्चय नै अब उसको इतिहासलाई भोलिको अविच्छिन्न सूर्यले देख्नेछ । सुरेश र सुशिलाले भोलि नयाँ बिहानी देख्नेछन्, उसको यही अभिलाषा छ !
-समापन-
निके ६ ल l
म पनि टिका रामलाई चिन्द थिए | बबीको काहालि लाग्दो घटनाले टिका राम मर्माहत भएका थिए | पछि पुत्री वियोग ले गर्दा सिबीरमा बस्न छोडेको जस्तो लाग्छ | टिका राम लाई sir भनेर बोलाऊदा खुसी हुदथिए | ऊनी फाट फूट अंग्रजी बोल्दथिये | के ऊनी पनि आए अमेरिका परिवार सगैं ?
कथा बस्तुगत ढंगले लेखिएको छ | यी पात्रहरु प्रतिबिधि पात्र हुन्, समाजमा बिध्यमान विभेदको | आसा गरूँ अब उसो एस्तो कथा अनि घटना पढ्न र सुन्नु न परोश, हामी भुटानीहरुले |
समय खर्चेर कथा लेख्नु भएकोमा भक्त दाईलाई साधुबाद ! येस्तै सिर्जना पदना मौका मिलोस तपाईं को कलम बाट |
युग भाई
वाशिंगटन
समाजिक बिकृतिको यथार्थपरक विसयालाई कथाको रुपमा पर्दाफास गरेको मन पारो
चुडामनि सापकोटा
अस्ट्रेलिया
हो लेखकज्यू, कथाले पुन: मुलधार रोज्यो l ‘ दिनेश’ नाम गरेको पात्रले बबी को हत्या गरेको साँचो
हो l
यहि विशेस घटना कथामा समेटिनु भनेको नै कथामा प्राण भर्नु थियो, त्यो भयो नै l
अनि अर्को सत्यता यो हो कि, फुल्मोतिले australaia नगएर नै राम्रो काम गरि l जसरी सखुवाको रुख ऊंभो हजार बर्ष र ऊंधो हजार बर्ष तप्छ, त्यसरी नै जातीय विभेदको कलंक अस्ट्रेलिया मा थप हजार बर्ष तप्ने अवस्थामा छ l
त्यसैले फुल्मोती जस्ती मान्छे, जसलाई निम्न चेतना भएका उच्च जाति मानिनेहरुले ‘शुद्र’ भनेर जुन रुपमा असमान किसिमले बिगतमा विभेद गरे, त्यो स्त्रीलाई तपाइले कथामा अमेरिका पुर्याएर न्याय गर्नुभएकोछ l सायद उसले अहिले अमेरिकामा राहतको सास फेर्दै होली l यदि उसलाई तपाइले अस्ट्रेलिया पठाउनुभएको थियो भने, उसले अरु थप हजार बर्षसम्म जातीय विभेदको कलंकभित्र पुरोडस बन्नु पर्थ्यो l लेखकज्यू कति सचेत हुनुहुन्छ त्यो मलाई पुरा थाहा छ, तर हजुरको जस्तै लेख रचना लेख्ने थुप्रै भुटानी बुद्धिजीवि भनाउदाहरु, जो हजुरकै दर्जाका सृजनाहरु लेख्न सक्षम छन्, उनीहरुनै अहिले आएर जातीय खेलका नाइके बनेका छन् l
अब तपाईनै विचार गर्नुहोस, बिचरा फुल्मोतिलाई अस्ट्रेलिया पठाउनुभएको भए उसले कुन हालतको सामना गर्नु पर्थ्यो?
ए हजुर कथा त आती नै संदर्बिक छ. सचि नै अठार बर्ष शिबिर मा बसेर, ठुला जति भनौदा हरु ले साना भनौदा लाई गरे को आतियाचार लाई नंग्या को छ .हामी नेपाली यो सबै जति पति ,बेद भाव बाट मुक्त भ ए र बच्न अमेरिका आको , फुलमती पनि तियो आशा मा होलि त र दिनेश रुपी पुरानो विचार धारा बोकेका हरु यो बुफ्फालो मा थुप्रे का छन् त्यसै ले यो फुलमती ,सुरेश र शुसिल ले तियो बीबी ले भोगे हालत भोग्नु पर्ला त्यसै ले ,हजुर लाई यो अमेरिका को नेयम कानून सहित को एक राम्रो लेख लेखे र सबै नेपाली को घर दै लो दै लो मा पुरै दिनु हुन् म हजुर लाई आनारोध गर्दा छु ,यसो भयो भनि फुलमती,सुरेश ,सुशिला रुपी सबै हामी पिडित ले सुख पौने छौः नत्र ई भाइरस ले कम्पुटर लाई कम गर न दिदै न .धन्यवाद .
यो कथा हेरेर भक्त को अगाडी भानु लगाउनु पर्ने हुन्छ|