बगैंचामा फूल फुल्यो
मोतीराम रिजाल
ओहायो, अमेरिका
बगैँचामा रहरै रहरका फूलहरु हामीले फुलायौँ
बेसी खेतमा धानका बाला हामीले झुलायौँ ।
लुगा फाटा अक्सर रास लाग्ने गर्थे पसिनाले हाम्रा
तरै पनि खुसी थियो भोको नाङ्गो जिन्दगी हाम्रो ।
बनायौँ हामीले विशाल विशाल सुनका दरबार
तर पाएनौँ हामीले कतै ओत लाग्ने सानो घर ।
आधी रातमा आँधी बेमौसमको तुफान चल्दा खेरि
सपनाहरू भताभुङ्ग भएर कहाँ कहाँ पुग्ने हुन फेरि ।
सिमलको भुवा जस्तो हुरुरु उड्छ त्यसै मेरो मन
जानिराख्नु यो आमा जस्तो पक्कै सानिमा हुँदैनन् ।
श्रावणको बाढी जस्तो क्षणिक भयो यो हाम्रो मन ।
जति रोक्न खोज्यो उति बढ्छ उर्लिएर झन् झन् ।
हिउँदको चिसो घाम छाया बर्सादको झरी र पानी
सधैँ भरी भोग्नु पर्ने दुखै दु:ख यो कस्तो जिन्दगानी ।
भारी बोक्ने थकित भरियाको जस्तो बोझै बोझको जिन्दगानी
गाह्रो भयो यो जीवन बिताउन छैनन् कोही सहारा दिलाउनी ।
(नोट: आजीवन स्कुल र पाठशाला नदेखेका कवि मोतीराम रिजाल भूटानको दागापेलाको गोसीमा जन्मेर हाल सिन्सिनाटी ओहायो अमेरिकामा बसोबास गर्दै आएका छन् । साथी भाइसँग गाईगोडे क ख लेख्न र पढ्न सिकेका उनी आफ्नै मेहनत र सङ्घर्षले गर्दा नेपालीमा लेख्न र पढ्न सक्छन् । उनमा अद्भुत कवित्व शक्ति निहित छ । उनको “वेदनाका लहरहरू: सपनाका शहरहरु” नामक कविता सङ्ग्रह प्रकाशित भइसकेको छ भने अर्को कविता सङ्ग्रह “भावनाका छालहरू” चाँडै प्रकाशन हुँदैछ ।)
मेरो बुवाको उमेरका देखीने कविलाई नमन गरें।साथै
उहाँको स्वअध्ययनकै भरमा लेख्ने अभ्यासको पनि तारीफ गर्छु।निरन्तर पढ्न मिली रहोस् ..