बज्रपात

कवि
कवि

डिल्लीराम रेग्मी
ओहियो, अमेरिका

अनायासै भित्री मुटुमा
फैलिएको एक प्रकारको भयानक त्रासले
पुरा शरीर काँप्न थाल्यो,
मध्यरातमा
चार गोलाई उकालो बाटो
हिँडाइपछिको थकित शरीरझैँ
थाकेका यी आँखा !
अनि मेरो सोचाई र सत्यबिच
आत्मा र मस्तिष्कको प्रतिकाररुपी द्वन्द्व
यसैबिच आफूले आफैँलाई
सम्झाउने मेरो प्रयास !
बौद्धिक विकास नभएको म सायद
के , म मात्रै हो त
तिम्रो छलाई र ठगाईको वरदान पाउने ?
थाहा छ …..तिमी बखतमा
परीक्षा लिन्छौ सबैको
तर,
परिवेश रोएको बेला
कुनै एक कुनामा टुक्रुक्क बसी
मुस्कुराउन खोज्ने म
मैमाथि एकपछि अर्को बज्रपात किन ?

निस्पट्ट चम्किने यो अँध्यारो
मेरो मानसिक तनावको
मेरो परिस्तिथिको अनि मेरो वास्तविकताको
ब्यंग्यात्मक चित्र बनाउन खोज्छ सधैँ
अँह मेरो साथ उसले पाउँदैन
न त ऊ मेरो साथ दिन्छ
हामी एक आपसका दुस्मन !
ताराहरुको मधुरो चम्काई
अनि मेरो हातमा कोरिएका
असजिला रेखाहरु देखेर
अप्ठ्यारो लाग्दैन मलाई
खुसी रिसाएको छ मदेखि भन्न
मलाई यसो भन्न पनि लाग्दैन अप्ठ्यारो
समयले निकै दह्रो अंकमाल कसेको छ।
गुनासो पक्कै होइन यो
न त दुखेसो नै
यो पनि थाहा छ
ध्रुवसत्य कहिल्यै मेटिँदैन
म तिम्रो शक्तिलाई छेक्ने कोसिस पनि नगरुँ
तर मै माथि एकपछि अर्को बज्रपात किन ?

याद राखेस् !
म हार्नेमा छुइन
म थाक्नेमा पनि होइन
मेरो ऊर्जा रौं रौंमा भरिपूर्ण छ
पहाडै बर्साएर हेर
कम्जोर छैन मेरो काँध………

Leave a Reply

Your email address will not be published. Required fields are marked *