बढ्छ

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

बढ्छ सन्तोषले हर्ष मुस्कान आयु जिन्दगी
साधना नित्य गर्नाले हुन्छ स्वस्थ पदोन्नति ।

प्रेरणा पुष्प गुच्छाले दर्बिलो बन्छ कामना
परोपकारले बढ्छ सुनौलो दिव्य भावना ।

पुण्य बढ्दछ सेवाले निष्ठाले बढ्छ आदर
दयाले बढ्छ मर्यादा मान सम्मान सत्वर ।

बढ्छ दुष्कर्मले पाप कुमार्ग तिर तान्दछ
घमन्ड बढ्छ पैसाले भाइ भाइ फुटाउँछ ।

प्रेमले बढ्छ सम्बन्ध भावना शुभ सादर
बढ्छ सद्भावले नौलो उत्साह जोश जॉंगर ।

शुद्ध सङ्कल्पले बढ्छ दृढ लक्ष्य र योजना
बढ्छ पौरख धामाले दर्बिलो मूर्त सिर्जना ।

कोध्रले बढ्छ सम्मोह बुद्धि भ्रष्ट गराउँछ
दिन्छ सङ्कष्ट चिन्ताले चिता सम्म पुर्‍याउँछ ।

नम्रता बढ्छ विद्याले धन दौलत बढ्दछ
भक्तिले बढ्छ सौन्दर्य शान्ति आनन्द ल्याउँछ ।

विद्या बढ्दछ विद्याले सीपले बढ्छ कौशल
बढ्छ सत्कर्मले सत्य फल्दछन् रसिला फल ।

आँट हिम्मतले बढ्छ जीतको गीतको रथ
कडा अभ्यासले बढ्छ दौडिँदो जिन्दगी पथ ।

(छन्द-अनुष्टुप्)

2 Replies to “बढ्छ”

  1. Nabin Sharma Bhattarai

    बडो मीठो र नीतिपरक। छन्दको मीठास, वाह …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *