बदलिएको कर्तव्य: एक उत्कृष्ट कृतिको सतही वर्गीकरण

डा. गोविन्द रिजाल

एक रात गङ्गाराम लामिटारेको जुन २०२२ मा प्रकाशित बदलिएको कर्तव्य पढिरहेको थिएँ । एउटा कथामा एक जना चौध वर्षे केटो र सोह्र वर्षे केटीबिच विवाह भएको हुन्छ । श्रीमती, बुढी के भनेर सम्बोधन गर्ने नजानेर “दिदी” भनेर सम्बोधन गर्दछ। अनायास मेरो दानव हाँसो छुट्छ मध्यरातमा। किन म मात्र हाँस्ने, रमाउने ? अरूलाई पनि यो सुनाऊँ भनेर यो पुस्तकको छोटो समीक्षा गर्ने प्रयास गरेको छु ।

बदलिएको कर्तव्य भित्रका १६ सृजनाहरूको सँगालो पढ्दै गर्दा कति बेर पढिसकौँ, अरूलाई सुनाऊँ र एक पटक जसरी पनि पढ्न उत्प्रेरित गरौँ लागिरह्यो । यस सँगालोमा चिराङ भूटान, नेपालको शरणार्थी शिविर र अमेरिकाको पृष्ठभूमिमा रहेका सिर्जनाहरू छन् ।

भूटान पृष्ठभूमि भएका जारसँग तीस रात, बलिको बोको, भाग्यको खोजी, दोषी संस्कार, र सत्यको पराजय छन्।

डुजेगाउँमा भेट भएका घर बनाउने कामदारहरू शङ्कर र कमलबिचको रोचक गफास्टकमा प्रकृति र प्रेमको रोमाञ्चका विश्लेषण पढ्दा आनन्द आउँछ। कथाको ट्विस्टले अरू लेखहरू पनि पढ्ने प्रेरणा दिन्छ (जारसँग तीस रात)।

बदलिएको कर्तव्यको आवरण

भाग्यको खोजीमा, बलीको बोको, दोषी संस्कार, सत्यको पराजय उत्कृष्ट निबन्धहरू हुन। भूटान को आन्दोलन, न्याय प्रणाली, यातना, डर साथै भुटानीहरू देश छोड्नका कारणहरू  झल्कन्छन् । “छोराहरू घर आउने बित्तिकै हामी (पुलिस)लाई खबर गर्नु नि ! नत्र तिमीलाई नै जेलमा हालिदिउँला” भन्ने धम्की पाएपछि कुन परिवार शान्तसँग बस्न सक्छ ? संस्कृत र पाश्चात्य शिक्षा प्रणाली, विवाह संस्कृति, स्थानीय न्याय प्रणाली जान्न यसलाई स्रोत-पुस्तक मान्न सकिन्छ ।

समयको चक्र र बिरालो ब्याएको गुन्द्रुक नेपालको पृष्ठभूमिमा लेखिएका छन्। ती लेखहरूले शिविरवासी र स्थानीयवासी बिचको तिक्तता निचोरेको छ । बाँदरलाई लिस्नुले नेपाल र अमेरिका बराबरै समेटेको छ भने बदलिएको कर्तव्य, पछुतो, प्रतिशोध, बिचल्लीमा बाजे, हिमालको साम्राज्यवाद, आन्दोलन नमस्तेको, जेसनको विश्वशान्ति, र मनको बाघ अमेरिकी भूगोलसँग जोडिएका छन् । नेपाल होस् या अमेरिका आ-आफ्नो गुण प्रस्फुटन हुँदै जाने रहेछ । बिचल्लीमा बाजेका सुधीर बाजे हुन्, हिमालको साम्राज्यवादका हिमाल हुन् वा बाँदरलाई लिस्नुका चामे नेपालमा हुँदा जो (अव)गुण देखाएका थिए तिनैलाई गाडा बनाउँदै लगे । आन्दोलन नमस्तेजेसनको विश्वशान्ति झन्डै-झन्डै प्रपोगान्डा बन्नबाट बचेका छन् । संसारभरिमा  वैष्णवहरू २५ प्रतिशत पनि छैनन् जनाएर थ्रेसहोल्ड उचाल्न खोजिएको छ (पृष्ट १२८) । भुटान, नेपाल र अमेरिकामा यौनप्रतिको दृष्टिकोण कति फरक कति असमान बुझ्न काफी हुन्छ यो पुस्तक पढिसक्दा ।

मनको बाघ पृथक् छ; कोरोना डायरी भन्न सुहाउने ।

छोटा शीर्षक, सरल भाषा, सख्त सम्पादनले कथाको बगाइ स्पष्ट र बुझ्न सजिलो बनाएको छ । प्रत्येक लेख समय वा पृष्ठभूमि वर्णनबाट सुरु भएका छन् । निबन्ध र नियात्राका गुणले भरिपूर्ण छन् बाह्र लेखहरू र चार वटा लेखहरू बाँदरलाई लिस्नु, बदलिएको कर्तव्य, पछुतो र जारसँग तीस रातले मात्र कथाको गुणहरू बोकेका छन्।

निबन्ध, नियात्रा, कथा जे भने पनि जानकारी, मनोरञ्जन प्रदायक छन् सबै रचनाहरू। यो कृतिलाई “कथा सङ्ग्रह” लेखिनु र भनिनु नेपाली साहित्य जगतमा निबन्ध, नियात्राको खडेरी परेको बेला उच्च कोटीका निबन्ध, नियात्रालाई पनि कथामा समेटिनुको अन्याय भएको मात्र हो। नाममा के राखेको छ? भन्ने हरको लागि यो आँखा पल्टाई हुने छ ।

उत्कृष्ट लेखहरूको सृजना, सबैले पढ्नै पर्ने बिचार सङ्ग्रह प्रकाशन गर्नु भएकोमा साहित्यकार, लेखक, कथाकार, स्रष्टा गङ्गाराम लामिटारेलाई बधाई; दमन, विस्थापन, सङ्घर्ष, विचलन र बदलावका घटनाहरूको दस्तावेजीकरण गरी दिनु भएको पाठक र भुक्तभोगीको तर्फबाट धन्यवाद, र आगामी सृजनाहरूको लागि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *