बन्दीको डायरी
जितेन ‘मुस्कान’
म बन्दी भएको बेला,
अखबारको आँगन हुँदै,
गुगलको गाउँसम्म उदांगिएको थिएँ,
अनुहारमा पोखिएको थियो आरोपहरुको औंशी,
चारै दिशा पिरामिडझैं उभिएका थिए उजुरी पत्र ।
प्रश्नै प्रश्न लिएर,
तीरझैं आएका थिए प्रहरी प्रशासन,
छातीमा बुट थापेर,
चट्टानझैं उभिएको थिएँ,
भिजेर रगतले लाल-लाल, भएको थियो शरीर ।
मुड्कीले रोटीझैं फुल्लिएर,
डाँडा भएको थियो चेहरा,
जीवनको एकाध पन्नामा,
हनाइयो अन्धाधुन्ध ल्याप्चे,
स्वीकार्दै अपराधी अभियोग,
यसरी हिरासतबाट बनाइयो खुंखार अपराधी,
र, चलाइयो मुद्दा ।
बिना सूचना, बिना पक्राउ पूर्जी,
बनाइयो बन्दी, अपराधी गिरोह, विद्रोही,
र अझ बनाइयो आतंकारी !
प्रहरी भ्यानबाटै हुत्याइयो कैदकक्षमा,
उफार्दै उपियाँ रातभर टोकाइयो,
गलामै रेटियो दर्दनाक चित्कार ।
शासकहरुलाई छाडा छोडेर,
मेरो जीवनको ढोकामा तरवारझैं उभिए न्यायालय,
आत्महत्या गर्न उकास्दै आए सुरक्षालय,
मृत्यु अलाप्दै आए आपत्ति,
सजाय फलाक्दै आयो वकपत्र,
थुन-छेक हुँदा इजलासमै भेटाएको थिएँ,
पूर्पक्षको आँधी र पठाएको थियो कारागार ।
जीन्दगीले बाटैमा हराएको थियो धरौटी,
अदालतमै गुमाएको थिएँ उज्यालो न्याय,
यसरी फैसलामा आजीवन कारागारको दण्ड भेटाएर,
गुमनाम् गुमनाम् भएका थिए जीवनका जिजीविषाहरु ।
यो न्यायधीश किन नाक हेरेर वर्षाउँछ दण्ड,
किन सुकुम्वासी बनाउँछ हरण गरेर पसिना सम्पत्ति,
अदालतले किन जफत् गर्दै हिँड्छ,
मेहेनतले कमाएको जिन्सी,
यही समयमा मलाई कारागारमै सुनाइयो,
बाबाको सुसाइडल नोट,
बलात्कृत आमाको अन्तिम पत्र,
र देखाइयो कुमारी बहिनीको,
नग्न नग्न तस्वीरहरु !
अपहरण गरेर कुमारी सपना,
डल्लै जीवन फिरौती माग्दै हिँड्थे,
ब्ल्याकमेलिस्टका हुलहरु ।
मलाई कारागारमा अलपत्र छोडेर जाने फूलहरु,
बर्खे झरीले ठटाएको कर्कटपाताझैं,
गल्ली गल्लीमा हल्ला मच्चाउँथे ।
क्याबिनमा यौवन किनेझैं,
खुलेआम प्रहरी किन्दथे !
यही पल कारागारमा तनाव लिएर आएको सूर्य,
भोक छाडेर अस्ताउँथ्यो ।
गोधुली साँझ नहुँदै,
अन्धकार वर्तमान बिथोल्थ्यो ।
रातभर सपना बिगार्थ्यो ।
प्रियसीले पठाएको हिक् हिक् बाडुली,
जीवनको मरुभूमिमा खुशी हराएझैं हराउँथ्यो ।
यहि दिन हो भीडहरुमा,
मैले आफन्त खोज्दै बगेको,
यहि दिन हो मेरा साथीहरुको हृदयमा,
सहानुभूति हराएको,
यही दिन हो प्रियजनहरु,
हेर्दा-हेर्दै बेखवर बेखबर भएको,
यहि दिन हो मैले दुनियाँको,
असली अनुहार भेट्टाएको,
यहि दिन हो मैले,
पीडाको पर्वत बोकेर छापामार कवि भएको !
२०६९-१०-९/स्थानः केन्द्रिय कारागार/काठमाडौं, नेपाल
(विशेष स्रोतबाट प्राप्त- प्रकासोन्मुख कृति ‘जेल कविताहरू’-बाट)