बन्देज

Ohio, America

कवि
कवि

डिल्लीराम रेग्मी
ओहियो, अमेरिका

पहाडका दुई कुनाबाट
सधैँ रसाएर समतल पुरै भर्ने पानी
अाजकल किन हो कुन्नि
ऊ बगेर आउने बाटो धेरै सुख्खा देख्छु
मानौ पहाडमै मूल फुट्न बन्देज गराइएको छ।
मैँले वर्ष भरि मेरो परिवारको पेट पाल्न
घर पछाडिको बाँझो जोत्न सुरु गर्दा
हरेक पल्ट फाली बाँझोमा अल्जिएर
हलो नै सबै फुट्छ
मानौँ म र मेरो परिवारको पेट पाल्न बन्देज गराइएको छ
लटरम्मै फलेको नस्पातिको बोटमा
गनिनसक्नु सुगाका एक हुल
रमाई-रमाई नस्पाति ठुगिरहँदा
ठिट्टाहरुको गुलेलीले हानेको ढुङ्गाका
आवाजले सुगा तर्सिएर उडे झैँ
पेट भर्न नदिई भोक सबै तर्साइएको छ।
सिँडी नै सिँडी चढेर आधा उकालो पुग्दा
खै कुन्नि कहाँबाट बजारिएर आएको बन्चराले
सिँडी अड्काएर सिँडी बनाउने धागाको डोरी
च्वाट्ट काटिन्छ हरेक मेरो कोसिसमा
मानौँ पाइला चाल्नै बन्देज गराइएको छ।
तिहारको झिलिमिलीमा प्रत्येक वर्ष
जाग्रामको निहुँ गरी कौडी खेल्न बस्दा
मेरा पालोमा कौडीले जहिल्यै कौडी खेल्यो
मानौ मेरा लागि कौडी खेल बन्देज गराइएको छ।
कोशौँ टाढा बालुवै बालुवाको सहर
जहाँ कालोपत्र पोतिएको छ राताम्मै
मेरा नेत्रले मृगतृष्णाझैँ देखिरहेछ
क्षितिजसँगै अंकमाल मारिरहेको काँडेतारको सिमाना
म जति जति नजिकिन खोज्छु
उति उति टाढिन्छ त्यो
मानौँ सिमाना टेक्न बन्देज लगाइएको छ।।

डिल्लीराम रेग्मीका लेखहरु:
[feedzy-rss feeds=”http://bhutaneseliterature.com/writer/dilli-ram-regmi/rss” max=”5″ feed_title=”no” target=”_parent” title=”150″ meta=”no” summary=”yes” summarylength=”300″ thumb=”no” ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *