बाको बखान 

यतिराज अजनबी
एड्हालेड, अष्ट्रालिया  

बाका सदीमा
एकै घरका चार जना दिन बिराएर बित्दा
त्यो घरका बाँचेकाहरूलाई
पन्ध्र दिन अघि रात्तै पारेर काटेको कान्लामा
पलाएको हरियो बन्सो देखाएर
सम्झाएका थिए रे आफन्तले

अर्को साता अर्को एक परिवारका सबै
एकै दिन वैकुण्ठारोहण हुँदा
माघमा डाले हानेर नङ्ग्याइएको
करेँसाको झ्याम्म परेको त्यही खन्यूको रुख
हेरेर चित्त बुझाउन लगाएका थिए रे
मृतकका जीवित आफन्तहरूलाई छिमेकीले

त्यही महिना टोलै शून्य पारेर
तीन-चार परिवार एकसाथ परमधाम जाँदा
पन्ध्र वर्ष पहिले
हुन्डरीले ढालेर ठुटो पारेकै ठाउँबाट पलाएर
पारीको हिमालै छेक्नेगरी बढेको
चौताराको वटवृक्ष देखाएर
त्यो महामारीका उत्तरजीवीहरूलाई
सान्त्वना दिएका थिए रे गाउँलेले

बाको बखान सुन्दासुन्दै
सम्झन थालेँछु आफ्नै अतीत
मेरो सहित एक हजार घरहरू
आफ्नै आँखाअघि आधा घण्टामै जली खरानी भएको
दुई दशक पनि भएको छैन
मेरो देशमा यसै साल
अभूतपूर्व अनावृष्टिले अन्नोत्पादनमा ह्रास ल्यायो
दावानलले दहन गरेर यही वर्ष अनुमानित
एक अर्ब जीवजन्तुको ज्यान लियो

किस्साको क्रममा बा भन्नुहुन्छ—
तँ पेट पाल्न खेत जान्थिस्
दूध लिन गोठ, पानी लिन पँधेरो जान्थिस्
अहिले तँ दिउँसै अँधेरो हुने
पावर नभई नहुने टावर जान्छस्
बेलुका घर गएर भोजन गर्थिस्
अहिले रात्रिभोज खाएर घर आउँछस्
माटो, वनस्पति, वन-जङ्गल,
खेत-खलियान, गाउँ-घरलाई
संसार ठान्थिस् जीवनको सार मान्थिस्
तँ धर्तीलाई यति माया गर्थिस् कि
निदाएको बेला मात्र तेरा पैतालाले छुँदैनथे उनलाई
अहिले तँ स्क्रिनलाई संसार सम्झन्छस्
त्यसमै आँट्छ यो दुनियाँ भन्छस्
अहोरात्र हिँड्छस् हातका औँला टेकेर त्यसमा
झस्कन्छस् अनि आफूलाई पाएर सधैँ उही भवनभित्र
हातपाउले त पशु हिँड्छ
मान्छे पाइतालाले
घरभित्रको धारामा एकछिन पानी नआउँदा
एक दिन बिजुली जाँदा
नहुँदा शौचालय-पत्र परे झैं गर्छस् अलपत्र
हस्तशुद्धकको क्षणिक विरलतामा
हाहाकारको अविरलतामा
अस्तित्व र स्थितिको तरलतामा
तेरो होसहवास हराएको छ
तैँले बिर्सिसकेको छस् विगत
र नाजुक बन्दै गएको छ तेरो हविगत
भूत भुलेर
भव्य भविष्य मात्र सोच्ने तँलाई
हव्य हविष्य बनाएको छ वर्तमानले
कुनै बेला तँ समय भोग्थिस्
भोग्दैछ अहिले समयले तँलाई
तैँले कुनै बेला माटोमा औँला रोप्दा
अन्न फल्थ्यो भन्ने भुलेको छस्
पसिना दिँदा पृथ्वीले तीक्ष्ण जाडो छेक्ने
पस्मिनाको बर्को दिन्छिन्
उनले उष्णावधिमा पङ्ख दिन्छिन्
तेरो ललाट पुछ्ने पत्र दिन्छिन्
भन्ने भुलिस् तैँले !
वाणिज्यको विद्वान् तँलाई खै के सम्झाऊँ?
लेनदेन तुल्य भयो भने मात्र चल्छ व्यापार
मान्छेले प्रकृति र पृथ्वीबाट आदान मात्र गर्ने होइन
उनीहरूलाई प्रदान पनि गर्नुपर्छ
उनीहरूसँगको उसको विनिमय बरोबर भयो भने मात्रै
पर्यावरणीय सन्तुलन कायम रहन्छ

बा अगाडि भन्नुहुन्छ—
प्रकृतिबाट विमुख हुँदै जाने
अथवा प्रकृतिको नियम विपरीत आचरण गर्ने
मानवको सुद्धि सिद्धिन्छ र
अन्तमा आफैँ सकिन्छ ऊ
विगत बिर्सनेहरू बढी अत्तालिन्छन्
जीवन नभोगेकाहरू धेर आत्तिन्छन्
अज्ञानीहरू उसै आतङ्कित हुन्छन्
जगत नदेख्नेहरूले जीवन देख्दैनन्
जीवन नदेख्नेहरूले आँखा चिम्लँदैनन्
आँखा नचिम्लनेहरूले केही देख्दैनन्

बालाई चिन्ने मान्छेहरू
तिम्रा बा भगवानजस्तै हुनुहुन्छ भन्छन्
मैले भगवान् त देखेको छैन
नदेखेको भगवानलाई बुझेको पनि छैन
पुजेको पनि छैन
तर बाको कुरा सुनेदेखि
जीवनलाई देख्न थालेकोछु
जगतलाई बुझ्न थालेकोछु
प्रकृतिलाई पुज्न थालेकोछु

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *