बाचा

कवि
कवि

डिल्लीराम रेग्मी
ओहाइयो, अमेरिका

तिमी साेधेर त हेर
म तारा झार्ने हाेइन
सपनालाई वास्तविक बनाउने बाचा गर्छु
आकाशभन्दा धेरै परकाे स्वर्गमा
मखमली माया दिने बाचा गर्छु
उज्यालै उज्यालाेकाे गाेरेटाे
जसलाई तिमी भगवान् सम्झिएर स्वीकार्छाै
मेराे आकाश घना जङ्गलले बनेकाे छ
सयपत्रीकाे पदचाप बनाउने बाचा गर्छु
तिमी भन्छाै मलाई स्वर्ग चाहिँदैन
तिम्रो सामिप्यता भए
मेराे सामिप्यताकाे के कुरा
म त
रात्रिले बिहान नदेख्ने खाेजीमा लागेकाे मान्छे
मेराे आफ्नू मेरै नभएर
तिमीलाई सबै सुम्पिँदै
तिम्रै बन्न पुगेकाे मान्छे
तिमीलाई लैजाने मेराे इच्छा
सात समुद्र पारी पनि
तिम्रै आँखामा भुलिएर
रमाउन पुगेकाे मान्छे
मैले जानु नै कहाँ छ र अब
तिमी नै गन्तब्य भएपछि
जिन्दगीकाे हरेक माेडमा
तिम्रै साथ पाएपछि
यहाँ आकाशलाई जमिनकाे खाँचाे छैन
रातलाई बिहानकाे खाँचाे छैन
जाे जसरी रहेकाे छ
उ आफैँमा आफू सीमित छ
मेराे ह्रदयकाे सिमानामा
समयले काेर्दै गरेकाे तिम्राे नाम
तिम्रै श्वास-प्रश्वासका कारण
उदाउन सकेकाे मेराे जून-घाम
जूनकाे स्वर्गमा उडाएर लैजान हैन
आकाशलाई निहुराएर
दुई अात्माकाे मिलनकाे बाचा गर्छु
चारै तर्फ प्रेमालापकाे माैसम फैलाउँदै
ईश्वरलाई हाम्रै कहानी लेख्न लगाउने बाचा गर्छु
जाउँ हिँड मसँगै
पङ्खा म फिजाउँछु
हाम्रै आकाश पारिकाे देशमा
परीलाई ल्याउने बाचा गर्छु
मखमली माया दिने बाचा गर्छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *