बाठो बच्छिउँ र चलाख लाइटर !
रिमेन आलोक,
अस्ट्रेलिया
कुरा एक साँझको हो ।
एउटा गर्भवती जूनकीरी बेलुकीको आहारा खोजेर आफ्नो प्रकाशको सहारामा गाउँ फर्कँदै थिई । त्यति नै बेला एउटा बच्छिउँसगँ उसको भेट भयो । बच्छिउँ आफूलाई गाउँको सबैभन्दा बाठो जीव सम्झन्थी । त्यसमाथि ऊ आफ्नो रूपको खुब घमन्ड गर्थी। आफूले, अरूलाई चिल्ने तर दोष जूनकीरीलाई दिन्थी । सुरु-सुरुमा त गाउँलेले उसको कुरा नपत्याएका पनि हैनन् तर झुट सधैँ कहाँ टिकिरहन्छ र ! बच्छिउँको यस्तो क्रियाकलापले सारा गाउँले हैरान मात्र हैन, वाक्क नै भइसकेका थिए तर कसैले पनि बोल्ने हिम्मत गरेका थिएनन्…!
एक बिहान बच्छिउँको यो हैरानी थेग्न नसकेर गाउँलेहरू किनारको छेउँमा भेला भई सल्लाह गर्दै थिए । त्यतिकैमा दुई चलाख सलाई र लाइटर त्यहाँ आइपुगे । गाउँलेहरूको सबै बिलाउना सुनिसकेपछि आफू भने केही नबोली सलाई र लाइटर आफ्नो बाटो लागे ।
केही दिनको अन्तरालपछि साँझ पख बच्छिउँ, सलाई र लाइटरको भेट भयो । बच्छिउँले हतपत फुर्काउँदै भनी- ‘ए ! सलाई र लाइटर, तिमीहरू जस्तो शक्तिशाली मैले यो संसारमा आजसम्म केही पनि देखेको छैन।’ सलाईले मुख खोल्नसम्म नपाउँदै उसले अझ थपी – ‘तिमीहरूले चाहायौ भने यो सबै गाउँ-बस्ती एकैछिनमा ध्वस्त बनाउन सक्छौ जसको फलस्वरूप त्यस बस्तीका सबै इमानदार मानिसहरूको विनाश हुनेछ र तिमीहरूको राज्य चल्नेछ ।’
बच्छिउँका कुरा सुनेपछि सलाईले नम्र हुँदै भन्यो- ‘तिमी उडेर संसार घुम्न सक्छौ । तिम्रा पखेटामा जति सुगन्ध र जादु मैले आजसम्म अरू कुनै जीवमा देखेको छैन । अझ यो लाइटरको उज्यालोको वरिपरि घुम्यौ भने सारा गाउँले चकित पर्नेछन् र सबैले तिम्रो बाठोपनको गुणगान गाउने छन्’।
आफूलाई सलाईले फसाउन खोजेको बच्छिउँलाई पत्तै भएन । अरूको लइलइमा नाच्न माहिर बच्छिउँ निक्कै उत्साहित भएर अझ मुस्कुराउँदै बोली- ‘हुन्छ लाइटर साहेब ! तपाई बल्नुहोस् त, म तपाईको वरिपरि घुम्दै पखेटा फिँजाएर छमछम नाच्नेछु यी गाउँलेको अगाडी ।’
रात छिपिँदै थियो । लाइटरले आफ्नो धर्म निभायो र आफू सल्कियो । केही छिनको उफ्राई नसकिँदै बच्छिउँको पखेटा लाइटरको रापले डढ्यो र उड्न नसक्ने भई भूँईमा गरल्याम्म ढली ….।
दुवै लाइटर र सलाईले उसको साथ छोडे र आफ्नो बाटो लागे । यो सबै नाटक जुनकीरीले नजिकै बसेर हेरिरहेकी थिई ।
त्यतिकैमा गाउँलेहरू पनि बच्छिउँ भएको ठाउँमा आइपुगे । बच्छिउँ गुहार मागिरहेकी थिई तर कसैले उसको वास्ता गरेनन् । जुनकीरी छेउमा आएर मुस्कुराई । बिच्छिउँ कालो न निलो भई । गाउँलेले जुनकीरीको प्रकाशको सहाराले अन्तिम पटक बच्छिउँलाई नियाले ।
बच्छिउँले सबैलाई सहारा माग्दै रूदै थिई तर कसैले उसको गुहार सुनेनन्, बरु सबैले एकै आवाजमा भने ‘घमण्डको परिणाम यस्तै हुन्छ’।