बालक हराएको सूचना
शुकदेव अत्धिकारी,
ओहायो, अमेरिका
मेरो स्कूलको मोटर ध्याच्च रोकियो चोकमा पुगेर । मेरो खुट्टा ढोकाको खुड्किलाबाट तल झर्दै थिए, हातहरु ढोकाकै छेउको फलामे डन्डी समाएर जीउलाई थेगिरहेको थिए तर आँखा चै त्यहाँ गएर ठोकिए जहाँ एउटा साँढे गोरु जस्तो मोटर साइकल हुरिंएर कुनै रोकिइराखेको बसमा सिँगौरी खेल्न पुग्यो । मोटरसाइकल उत्तानो परेर पछारियो । त्यसमा सवार लाठे चै उच्छिट्टियो करिब दशमिटर पर र ढल्यो कालोपत्रेमा ।
क्षणभरमै मान्छेको भीड थुप्रियो ।
गाडीहरु रोकिए ।
आखिर त्यहाँ रमिता भयो ।
रमिते मध्येको एउटा म पनि थिएँ जसको कारण सधैँ भन्दा केही अबेर घर पुगेँ । घर नपुगुन्जेल त्यो लाठे को थियो ? के काम गर्थ्यो, त्यो जीवनलाई खेलाउन ठान्ने मान्छे ?, त्यसका परिवारजन कहाँ होलान् ? जस्ता अनेकौ तर्कनाहरुले पिङ खेलिरहे दिमागमा ।
सधैँ मेरो प्रतीक्षामा गेटमा झुन्डिरहने रघु त्यहाँ थिएन । मलाई लाग्यो आज रघुलाई सन्चो छैन वा उसकी आमाले लिएर कतै गएकी छन् ।
कम्पाउण्ड गेट खोलेर फटाफट भित्र छिरेँ । आँखा सहज रुपमा रघुलाई खोजिरहेका थिए । भान्साकोठाको अगाडि उसकी आमा बटन चुटिएका रघुका कपडामा बटन उनीरहेकी थिइन् । म कोठाभित्र छिरेँ ।
‘रघु ……. नानी ……. ।’
बाबा……. भनेर मेरा गोडामा अँगालो हाल्न हुत्तिने मेरो नानी अहिले बोलेन । मलाई थाहा भयो, न रघुलाई बिसन्चो थियो न उसकी आमाले लिएर कतै गएकी नै थिइन् ।
कोठामा खटिया थियो । सोफा थियो, टेवल थियो । टेवलमाथि दुई–चारवटा किताबहरु आराम गरिरहेका थिए । भित्तामा विना कुनै चुनौती लहरै झुन्डिएका रघुका कपडाहरु थिए । कपडाकै माथितिर रघु मुस्कुराइरहेको थियो तस्बिरमा । सोकेस थियो, त्यसभित्र उसका खेलौनाहरु चनाखो भएर बसिरहेका थिए । सब थोक यथावत् थिए तर रघु चै थिएन ।
कहिले – काहिँ खाटमुनि लुकेर मलाई तर्साउँथ्यो । चनाखो भएर खाटमुनि हेरेँ । देखिएन रघु ।
“नानी खोइ ?” मैले सहज प्रश्ज गरेँ ।
“भर्खरै यहीँ थियो । बाबा आउनेबेला भयो भित्र बाहिर गर्दै थियो । उसले खाजा पनि खाएको छैन बाबासँगै खान्छु भनेर ।”
घरबाहिर निस्किएँ र हेरेँ । सिकुवा बार्दली आँगनमा कतै पनि थिएन । ऊ कतै पनि देखिएन । म भित्र छिरेँ र भनेँ ‘छैन बाहिर रघु ।’ “भर्खर यहीँ थियो, कता गएछ !”
उसको आमा हतासिएर उठिन् र हुर्रिइन् छिमेकीहरुका घरतिर जहाँ रघु यदाकदा खेलन जान्थ्यो । यदाकदा । छिमेकीहरुका घर लगायत पुरै टोल फन्को मारेर फर्किन् । उनी केहीक्षणमै । तर नानी थिएन उनीसँग । भयभीत् आँखा र त्रासैत्रासले भरिएको अनुहार मात्र थियो ।
शङकैशङ्कामा आसंकै–आसंकामा गुजुल्टिएको मेरो ठाडो प्रश्न तेर्सियो, “खोइ रघु ?” उनको निराशाले पोतिएको अनुहार र टिलपिल भएका आँखाले मौन उत्तर दिइरहेका थिए, ‘छैन’ ।
उनी बलेँसीमा उभिएर काँपिरहेको आवाजमा मलाई पनि छोरो खोज्न जाने आग्रह गर्दै फेरि कुदिन् अर्को टोलतिर । म पनि निस्किएँ छोरो खोज्न । टोलका प्रत्येक घरका आँगनमा पुगेँ । ढोका–ढोकामा ठोकिन पुगेँ । भेट्टिएका हरेक मान्छेहरु एउटै साझा प्रश्न सोधिए । ‘मेरो रघुलाई देख्नु भयो ?’ टोलका चेप–चेपका साँगुरा गल्लीहरुमा हेरेँ, कुइनेटा र पहाडझै गरुङ्गो भयो मन । छात्तिभित्रको भ्यागुत्ताको हिर्काइमा तीब्रता महसुस् गर्न थलेँ म । नमिठो डर झाँगियो मनभित्र जसको कारण अझ धेरै डराएँ । यत्तिकैमा एउटा सुसमाचार बोकेको चरो घुस्रियो दिमागमा । “कतै खेल्दै थियो र यसबेलासम्ममा आइपुग्यो रघु घर ।” उछिट्टिएर घर पुगेँ । झन् ठुलो निराशा हात लाग्यो सधैँ कुनै एउटा सानो काम बिग्रँदा मात्र पनि हजुरले गर्दा यस्तो भयो भनेर एक घण्टासम्म कर्णबिद्रोही प्रवचन ओकल्न सक्ने रघुकी आमा आज तर्कहीन थिइन् । ट्वाल्ल परेर मेरा आँखामा हेरिरहेकी थिइन् । उनको दिमागले जहाँ–जहाँ सोध्न भन्यो त्यहाँ सोधिसकेकी थिइन् । बाटामा कैयौँ पटक पछारिएकी थिइन् । हंसले ठाउँ छोडिसकेको थियो । शरिरभरि हिलै–हिलो थियो । कपाल खुस्किएको थियो । अनुहारभरि समस्यै–समस्याको जालो बेरिएको थियो । फुट्नु पर्ने आँखाको बाँध चाँहि फुटेको थिएन । उनी बेस्सरी रोएर पीडा पखाल्नै सकिरहेकी थिइन् न रघुको खाजीमा आतुर नै देखिन्थिन् । मलाई लाग्यो उनी अचेतनाको स्थितिमा पसिसकिन् ।
उनको त्यस स्थितिलाई सम्हाल्ने फुर्सद कहाँ थियो र मलाई । फेरि दौडिएँ साँगुरो गल्ली हुँदै मूलसडकतिर । मेरो आतुर दृष्टिमा बच्चाहरुको एउटा भीड प्रत्यक्ष भयो, नजिकैको चौरमा । भीडमा रघु हुन सक्ने ठुलो आशा बोकेर त्यहाँ पुगेँ । रघुजत्रै अढाई–तीन वर्षका नानीहरु थिए तर ऊचाहिँ थिएन् । मनमा अर्कोपटक ठेस लाग्यो नराम्रोसँग । भुलुक्क उम्लिएको आशा सेलाएर गयो । न त्यहाँ रघु थियो न उसलाई देखेका थियौँ भन्ने नै थिए कोही ।
अब मेरो आँखा बाँध आँसुलाई थेग्न सक्ने रहेन । आँखाबाट खहरे मात्र उर्लिए, मुखबाट एकप्रकारको बेदनापुर्या बयस्क रुवाईसमेत जन्मियो । बटुल्यो भीड रुवाइले आखिर मानिसहरुको लागी रमिता भयो । त्यहाँ सहानुभूतिको भाषा भयो, मनोरञ्जनको भाषा भयो भीडकै माझमा कसैको मुखबाट फुत्त झर्यो एक टुक्रा अहमः “सहरमा यतिका बच्चा अपहरणको बिगबिगी भएको बेला आफन्त नानीहरुलाई सम्हालेर राख्न नसक्ने कस्ता अभिभावक ।” मलाई लाग्यो मानिसहरुको संसारमा पीडामाथि आक्रमण गर्नु मान्छेजातिको मौलिक आविष्कार हो ।
भीडबाट बाहिरिएँ । टाढा क्षितिजमा सन्ध्य ओर्लने तयारीमा थियो । खुल्ला आकासको तलतिर छट्पटाइरहेको थियो आवारा बादल । म छट्पटाइरहेको थिएँ छोराको खोजीमा ।
मूल सडकलाई आधार बनाएर त्यहाँबाट तेर्छै हानिएँ । एक वृद्ध मानिस ठोकिन आइपुगे कुनै एक मोडमा ।
“बुवा तपाँईले एउटा सानो सेतो भेस्ट लगाएको बालकलाई देख्नु भो ?” मेरो करुणापूर्ण आवाजको प्रश्न चाख दिएर सुने बुढाले । मानौ मेरो रघुलाई उनीले नै राखिदिएका छन् कतै । आत्मपराजित मनलाई मौन शान्त्वना दिँदै फेरि सोधेँ, ‘देख्नु भो ?’
“करिब आधा घण्टा अगाडि एउटा सेतो कपडा लगाएको बालकलाई दुईजना महिलाले हातमा समातेर यै बाटो लिएर गएको देखेथेँ । तिम्रो नानी पो रहेछ । को हुन् ती महिलाहरु ?” बुढाले प्रतिप्रश्न गरे ।
मेरो ढक्क फुलेको शरीरभित्र मुटु अनियन्त्रित रुपले उफ्रन थाल्यो । बुढाको प्रश्न नसकिँदै काँड भएर अघि बढेँ म ती महिलाहरुलाई भेट्न । दुई महिला र एउटा बालक देखिए, केही पर पुग्दा । अझ दगुरेँ र भेटेँ उनीहरुलाई । न त्यो बालक रघु थियो न सेतो भेस्ट नै लाएको थियो उसले । त्यो त तिनै महिला मध्ये एकको नानी थियो । वृद्धले देखेका महिला थिएनन् तिनीहरु ।
पीडाको बहुलठ्ठी तुवाँलोमा छापिएँ म अब । दर्जनौँ हाँगाबिँगा पलाए मनमा । अब के गर्ने भनेर निर्णय लिन सकिँन । झमक्क साँझ पर्यो । केही पाइला हिँडेपछि शरीर पूरै शिथिल भयो । शक्ति सिद्धियो । कुदाइ रोकियो, तर रघु भेटिएन । पस्डा रोकिएन । अब पीडा मनमा मात्र सीमित रहेन । शररिका प्रत्येक अङ्ग– अङ्गमा वेदना भरिएर आयो । थचक्क बसेँ भुइँमा ।
मेरो अढाई वर्षे छोराको पिल्पिलाउँन्दो भयभीत अनुहार झलझली आउन थाल्यो आँखाभरि । बा….बा…….भनेर चिच्याई रहेको होकि भन्ने भान कानदेखि मनसम्म तरङ्गित हुन थाल्यो । ऊसँग भएका हरेक क्रियाकलापले तीखो शुल बनेर घोच्न थाल्यो ।
आँगनमा खेल्दा लड्थ्यो र कतै ठोकिन्थ्यो उसलाई । कुदेर म भएका ठाँउमा आउथ्यो र भन्थ्यो “बाबा फूकी” । मेरो फुकाइमा यस्तो जादु थियो कि उसको सारा दुखाइ फुत्त झिकिन्थ्यो । उसको अनुहार उज्ज्यालो हुन्थ्यो अनि खुसी भएर खेल्न जानथ्यो फेरि । तर उसको पीडालाई मेरो जादुमय फुकाइले कुनै अर्थ राख्दैन आज । सबै अर्धवैँसे महिलालाई आफ्नी मामुसरह ठान्ने मेरो रघु आज ती अपरिचित महिलाको लछार–पछार र कठोर व्यवहारको कसरी सामना गर्दो हो ।
दारी काट्दा छुरा चिप्लिएर बनेको मेरो गालाको घाउबाट निस्किएको दुईथोपा रगत देखाएर कृत्रिम रूवाइ रुन्थेँ म । ठुलाठुला आँसुका ढिका झरेर रुन्थ्यो ऊ मेरो दुखाइ पखाल्न । बा…..बा…… नरुनून भनेर गालामा सुमसुम्याउँथ्यो । आज जीवनमा पहिलो पटक वास्तविक रोएको थिएँ म उसको पीडामा । छाती चिरिएको थियो । मुटु छिया–छिया भएको थियो । कहालीलाग्दो दृष्य जन्मन्छ मेरा बन्द आँखा भित्र जहाँ मेरो नानीको जिउँदै आँखा झिकिएका छन् । पेट चिरिएको छ, र त्यहाँ भित्रका अङ्गहरु लुछिएका छन् ।
मेरो मुटुको हिकाईको निरन्तरतामा विराम लाग्छ, मस्तिष्कमा एक प्रकारको नराम्रो झट्का पुग्छ र मुटु चल्न थाल्छ । यतिबेला मेरो आशा र भरोसाको स्तम्भ कोहि छैन । छ भने केवल ईश्वर छ । अरुबेला मतलब नराखिने ईश्वर अहिले मेरो विश्वासको केन्द्र बनेको छ । पुकारर्छ मनले उसलाई जहाँ मुख नखोलिइरअन सक्तैन । “हे ईश्वर ! मेरो त्यो दूधे बालकले त्यस्तो के अपराध गरेको थियो र यस्तो कठोर सँजाय पाइरहेको छ । यो तिम्रो सृष्टिको एउटा कोपिलालाई किन चुँडिन्छ, फक्रनै नदिई ? किन….? मलाई मेरो रघु फिर्ता गरिदिनुहोस्, प्रभु ।”
म स्कूलबाट फर्किएपछि, ‘बाबा पानी ल्याइदिन्छु भन्थ्यो’ । हात र खुट्टा टेक्दै माथिल्यो तलामा चढ्थ्यो जहाँ भान्साकोठा छ । ग्लासभरि पानी हालेर सिँढीको सिरानको खुड्किलामा बस्थ्यो र बसी–बसी तल झर्न सुरु गर्थ्यो । दुईहातले ग्लास समाएर जतिवटा खुड्किला पार गर्थ्यो, त्यति चोटि पानी पोखिन्थ्यो । तल आइपुग्दा रित्तै हुन्थ्यो । ऊ भयभीत आँखा र निन्याउरो अनुहारमा भन्थ्यो, ‘बाबा……पोथियो ।’ म मुसुक्क हाँसिदिन्थ्यो । उसका सारा बेथा विलाउँथे । अनुहार व्याथा फराकिलो हुन्थ्यो । अनि फेरि हौसिएर पानी लिन जान्थ्यो । जसरी मेरो सानो मुस्कानले उसको सारा पीडा विलाएर जान्थ्यो त्यसरी नै मेरो अघाडि ऊ टुप्लुकु झुल्किदिए……………।
हृदयाकाशमा, मानौँ भीषण युद्ध भैरहेछ आकाशीय पीण्ड बीच । बमबारी भैरहेछ । ज्वालो निक्लिएको छ । हाँगोका ठुला–ठुला मुस्लाहरु कुदेका छन् एक कुनादेखि अर्को किनारासम्म । त्यो भन्दा ठुलो ज्वालाले जलाई रहेको छ मेरो छाती । मष्तिष्क र सारा शरीर जलिरहेको छ र मनका बादलहरु ठोकिएका छन् एसअर्कामा । आखिर मान्छेको खुसी भनेको परालको आगोजस्तो । मेरो खुसी, वर्तमान र सुखी भविष्यमा डढेलो लाग्यो । पग्लिएर माटोमा झरिरहेको छ आगोको लप्कासँगै । क्रमशः खरानीमा परिणत भैरहेको छ ।
सुकेर रुखबाट झरेको पातहरु, जो मेरा छेउमा थिए, या त तिनीहरुले मेरो पीडा हेर्न नसकेर हो या मेरो वेदनामाथि खिल्ली उडाएर हो, सानोतिनो हुरीसँगै गए उडेर ।
मेरो भत–भती पोलिरहेको घाउमा चुक थप्नलाई हो वा मेरो दुःख संसारले नदेखोस् भनेर हो प्राधिकरणले लाइन खोस्यो । अब म केही देखिरहेको छैन अँध्यारोबाहेक । अँध्यारोले छोप्यो सहरलाई ।
मेरो पीडामाथि सहानुभूति पोख्नलाई हो या अझ चोट थप्न हो, ठूला–ठूला थोपा झारेर रुन थाल्यो आकाश शरीर ल्याफ्फ भयो भिजेर तर निभाउन सकेन मनको डढेलो । हुँदाको हेलचेक्राई र नहुँदाको पश्चतापमा पिँधिएर कण–कण भएको मेरो मन आफैँलाई धिकार्न थाल्छ, अझ टुक्रएर हावामा उडाउन थाल्छ ।
बिहान म स्कूल जाने बेला, ‘म पनि जान्छु’ भनेर धेरैबेर रोएको थियो मेरो नानी । गेटसम्म आएर रुँदै फर्किएको थियो ऊ । आखिर उसलाई लिएर गएको भए यो घटना हुने थिएन आज । राती धेरै अबेरसम्म निन्द्रा नपरेकाले बिहान उठ्दा बेस्सरी टाउको दुखिरहेको थियो । स्कूल नजाने मुड पनि भएको थियो । तर खै कुन मुडमा स्कूल गएँ । आखिर स्कूल नगएको भए यो घटना घट्ने थिएन । चोकको रमिताले मलाई नभुल्याएको भए पनि यो घटना हुने थिएन सायद ।
एका–एक एक फिलुङ्गो ऊर्जा छिर्यो शरीरमा । चारहात, खुट्टा टेकेर हो वा घस्रिएर प्रहरी चौकीमा पुगेँछु म । वेदनापूर्ण आवाजमा पोखिएको मेरो उजुरी सुनिरहेको प्रहरी नायकको कान कुनै युवतीको मोबाइलको घण्टी सुन्न थाल्छ र हाँस्छ उसको मुहार खित्का छोडेर । मेरो दर्दनाक पीडामाथिको उपहास महसुस गरेँ मैले त्यो हँसाइ । तर पनि पीडा पोखी नै रहेँ । उसले मैले पोखेको वेदना बुझ्यो या बुझेन, निकैबेरपछि मोबाइल राख्यो र भन्यो ‘बच्चाको फोटो लिएर आउनुहोस् ।’
निस्क्रिय मुटुलाई छातीभित्र चेपेर थिल्थिलिएको शरीरलाई आखिर मैले घर पुर्याएरै छोडेँ ।
मान्छेको जमात थियो । आँगनमा, सिकुवामा, कोठामा, मजेरीमा मान्छे–मान्छे । त्यहाँ मेरो छिमेकीहरु थिए । साथीहरु थिए । साथीहरु थिए, शुभचिन्तकहरु थिए र हल्ला मचाउनेहरु पनि थिए । त्यहाँ आएका धेरै जनासँग आफ्ना बच्चा थिए । कसैले काखीमा च्यापेका थिए, कसैले हातमा डोर्याएका थिए । उनीहरुका लागि एउटा रोचक समाचार बनेको थियो मेरो नानी । मैले रघुलाई लिएर फर्कने आशमा बसेका त्यहाँ मध्येका धेरैले एकै स्वरमा कराए ‘खोइ रघु ?’ मसँग कुनै शाब्दिक उत्तर । थिएन । मेरो आत्मपराजित तनले उनीहरुको जिज्ञासालाई राम्रैसँग थम्थम्यायो सायद, सबैका आँखा रसाएर आए । समवेदनाका टुक्राहरु पनि फाट्फूट झरे भिडकै माझबाट ।
कुनै एकजना भित्र, जो मिडियामा काम गर्छन्, इमर्नेन्सी लाइटको मधुरो उज्यालोमा कोर्दै थिए केही अक्षरहरु । उनी मलाई मेरो नानीको हुलिया बताउन आग्रह मात्र के गर्दै थिए, लाइट झ्याप्प निभ्यो । मलाई लाग्छ उनी बालक हराएको सूचना प्रसारित गर्न चाहन्थे, प्रकाशित गर्न चाहन्थे ।
अर्को इमर्जेन्सिलाइट मैले नै चार्जमा राखेको थिएँ, अघिल्लो दिन, स्टोर रुममा । मेरो घरको बीच भागमा सिँडी ठडिएको छ । सिँडीको तलतिरको कुनामा छ स्टोररुम, जसको ढोकामा ताल्चा लगाइँदैन, ढप्काइन्छ मात्र । स्टोररुमको एक कुनामा केही खाद्यान्न स्टोर गरिएको छ । अर्को कुनामा पुराना खाली बोराहरु खत लगाएर राखिएका छन् बोराको खातमाथि गरम याममा धेरै भएका र जाडोमा नभइनहुने केही कपडाहरु मिलाएर राखिएका छन् । त्यही रुमको ढोकानेर लाइट चार्ज गर्ने ठाँउ बनाएको छु मैले । बच्चाले नभेट्ने सुरक्षित ठाँउ ।
म अँध्यारोमा छाम्दै–छाम्दै स्टोररुमको ढोकामा पुगेँ । ढोका ठेँले र हात अघि बढाएँ लाइटको बटन दाब्न । बटन दब्यो, लाइट बल्यो । एक्कासी बलेको लाइटको प्रकाश उसका आँखामा पुगेछ, ऊ झल्याँस्स बिउँझियो । आँखा मिच्दै उठ्यो सेतो भेष्ट लगाएको बालक, तिनै बोरामाथिका कपडाका खाटबाट र भन्यो, “बाबा….. भोक लाग्यो ।” ………… ………….. ?