बिसञ्चो भूटान
- तुम्बेहाङ लिम्बू
पर्वतमालाको काखमा बसेकी
तोदे र धन्सिरीको अँगालोमा कसिएकी
शिरमा लालीगुराँस सिउरिएकी
अङ्गमा तरु–लता वस्त्र पहिरिएकी
मेरो प्यारो जन्मभूमि…
तुर्सा र मानसको माला पहिरिएर
गलामा मोती झैँ थिम्पू, पारो, पुनाखा, वाङदी
बत्तु टल्काएर
कुलाकाङ्ग्री र जोमोल्हरीको आकर्षक छातीमा
बैँसका चञ्चल परेवाहरूदेखि
जीवनफूलका सुन्दर बागहरू अटाइराख्ने
उच्च पहाड ऋषिहरू
अनन्त समाधि बसाइराख्ने
मेरो प्यारो मातृभूमि
धेरै दिन भयो…
तर अचेल बिसन्चो परेकी छन्
शान्तिको देश भनिने मेरो जन्मभूमि
अचेल अशान्तिको अखडा बनेकी छन्
हिमाल ओथारा बस्ने बादलले पनि यहाँ
शान्तिको चल्ला काढ्न सकेको छैन
दिन–रात दौडने नदी–नालाले पनि
अमन–चयनलाई छेकिराख्न सकेको छैन
यहाँ समस्याको घाम यति चर्केको छ
अशान्तिको आगो यति दन्केको छ
भन्ज्याङ र देउरालीमा पङ्ख हम्कने
हिमाली चिसो हावाले पनि
हृदयको ज्वाला निभाउन सकेको छैन
भाइ–भाइ माझ यहाँ
शङ्का–उपशंकाको तुवाँलो मडारिन थालेको छ
जाति,वर्ग माझ अचेल
रगतको होली खेलिन थालेको छ
त्यसैले होला अचेल मेरो देश
नसा–नसामा झरनाको जवानी दौडे पनि
ताल आँखा भरि–भरि आँसु छचल्काएर
पिर, वेदनाका खोला–नालाहरू बगाउँदै
झोक्रिएर कुना बसेकी छन्
त्यसैले अचेल मेरो मातृभूमिले
राज्य आतङ्कको चपेटामा परेर
बैँस भूमिगत राखेकी छन्
यद्यपि एउटा सुन्दर व्यवस्था जन्माउनलाई
प्रसूति पीडा पार गर्ने
तयारी गरिरहेकी छन् ।
(सन् २०१५ फेब्रुवरी २१ र २२ मा काठमाडौंमा आयोजित “शान्तिका लागि दक्षिण एशियाली कविता महोत्सव”-मा प्रस्तुत कविता । दक्षिण एशियाका अधिकांश देशहरुको प्रतिनिधित्व रहेको सो कविता महोत्सवमा साहित्य परिषद-भूटानको पनि सहभागिता थियो )