बुद्ध तिमी फेरि आऊ !
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी यु एस.ए
लुम्बिनीदेखि बोधगयासम्म
सारनाथबाट कुशीनगरसम्म
सिद्धार्थदेखि बुद्धसम्म हिँडेका
तिम्रा अविरल यात्राले त्यति बेला सत्य जन्माएथ्यो,
जन्मदेखि मृत्युसम्मको सत्य !
विभेददेखि अभेदसम्मको सत्य !
तिम्रो त्यो राजसिंहाशन परित्यागले
महाभिनिष्क्रमणलाई जन्माएथ्यो
दु:खै दु:खको बारीमा सुखको खेती लगाएथ्यो
जन्म दु:ख, जीवन दु:ख, बुढापा दु:ख मृत्यु दु:ख,
‘सर्वं दु:खम्’! अहिंसा परमो धर्म ! भन्दै-
तिमी चिच्याएथ्यौ, सुखको दीप जलाउँदै,
आज पनि त्यो बोधी वृक्ष साक्षी छ
एक्लो फगत
तिम्रो शान्ति-दर्शनको !
तर,आज –
तिम्रो धम्मपदको उपहास हुनथालेको छ
“आत्मदीपो भाव” ले सबै प्रकाशित बनिसके !
तर थाहा छ
आजको मानव आफूलाई होइन
पहिला अरूलाई कोट्याउँछ,खोदल्छ,च्याट भुत्ला बनाउँछ,
सभ्य बनेको रे, ऊ ज्ञानी भएको रे !
ऊ व्यस्त छ अरूको चर्चामा
आफ्ना भुँडीभित्र लागेको लेउले ऊ डम्म भएको छ,
भन्छ सुखले लागेको हो यो भुँडी ।
हे बुद्ध तिम्रो साधनाको प्रकाश निभ्यो अब !
शान्तिका लागि तिमीले तप गरेको त्यो बटवृक्ष आज लुछिएको छ
कहिले दिल्ली पुग्छ त कहिले काठमाण्डु !
आज विश्व बजारमा तिम्रो निलामी भएको छ
किनकि आजको युगलाई तिम्रो निस्स्वार्थ मानवता होइन
आडम्बर, असत्य र छद्म रूप चाहियो रे ….।
सबैलाई तिमी चाहिएका छौ, तिम्रो दर्शन होइन
तिमी रुपी अथाह सम्पत्तिमा
आजको दुनियाँका तीखा तीखा भयङ्कर आँखा गाडिएका छन्
तिमीले रोपेको बोधी वृक्षको त्यो शीतल छायाँ होइन,
तिमीले लेखेका ती ठूला ठूला त्रिपिटकका ठेली होइन !
ती थन्किए, चन्दन अक्षता र धूप बत्तीले पूजिन थालिए
कर्मकाण्डको महाजालमा तिमी पनि फँसिसक्यौ वेद र उपनिषद् झैँ !
आज चित्तमा बुद्धत्व बिलाएको छ
घुन-पुत्ली र धमिरा लागि सकेको छ ।
आज तिम्रो अहिंसा रोएको छ, शान्ति तड्पिएको छ, करुणा चिच्याएको छ
तिम्रो ‘दु:ख-सत्यको’ दर्शनले सुख पाएन, किनकि –
मानवलाई सुख चाहिएको छ रे, ऊ सुखी बन्छ रे ! क्षणभंगुर !
ऊ चन्द्रलोक पुगिसक्यो अरे अब
मर्यादा र लज्जा किन चाहिए ? विकास हुँदैछ,
अनुशासन र नीति किन चाहिए ?
ऊ आफैँ आफ्ना खुट्टामा उभियो रे अब ज्ञानी मानव !
हे महामानव अब तिमीले-
दु:खको होइन, सुखको दर्शन लिएर जन्मिनु पर्यो !
‘चार आर्य सत्य”ले अब पुगेन, एउटा धम्म पदले भएन अब,
विशिष्ट दर्शनले हुँदैन अब ! वैज्ञानिक दर्शन लिएर आऊ
कुनै फ्लेबर बिनाको, कुनै पेटेन्ट बिनाको
प्राकृतिक विशुद्ध चेतना बोकेर आऊ !
सत्ययुगीन सनातनी बनेर आऊ !
किनकि संसार ठूलो भएको छ,
चन्द्रलोक पनि त थपिएको छ !
त्यसैले अब आउँदा सुखको दर्शन लिएर आऊ ।
हातमा ठूलो झाडु बोकेर आऊ भित्तामा पोत्ने रङ्ग बोकेर आऊ
तर फेरि वापस नजाने गरी आऊ
सधैँको निम्ति आऊ,सबैका निम्ति आऊ ।।