बेताल कथा

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे-

 

  • “उहिले नै एउटा गुरुकुलमा तीनजना विद्यार्थी पढ्न आएका थिए । गुरुकी एक सुन्दरी पुत्री थिइन् । हिस्सि परेका, सुन्दर, सुकोमल युवकहरु देखेर तिनीहरुसित उनको हिम्चिम बढ्यो । प्रेमसम्बन्ध विकास भयो । तिनैजनासित गुरुपुत्रीको नाता सुमधुर थियो । अब विस्तारै विवाहको गाइँगुइँ चल्नथाल्यो । तर, विवाह त एकजनासँग मात्रै साध्य थियो । एकजनासँग विवाह गरेर अरु दुइजनालाई त्याग्न कन्या मञ्जूर थिइनन् । तीनजनासित एउटी कन्याको विवाह नहुने सत्यलाई बुझेपछि उनले देहत्याग गरिन् ।
  • मृत्युपश्चात उनको दाहसंस्कार गरियो । सबै मलामीहरु फर्किएर दर्गादिशा लागे । तर, उनका तीन प्रेमीहरुमध्ये प्रथम युवक उनको चिता राखिएकै ठाउँमा भष्म रुँगेर बस्यो । अर्कोले जलेको शवबाट रहल-पहल हड्डी भेला गरेर पोको पाऱ्यो र हिँड्यो । तेस्रोचाहिं आफ्नो संसार उजाड भएको ठानेर अब कहिल्यै प्रेम, विवाह, परिवार र नातासम्बन्धको कुरै नसोच्ने अठोट लिएर सन्यास धारण गरी हिँड्यो ।”

एका बिहानै राजा विक्रमादित्यको दरबारमा एकजना साधु आए । साधुको हातमा कोसेली स्वरूप एउटा जंगली फल थियो । साधुले फल राजालाई उपहार दिए । साधुले दिएको उपहार नलिँदा अनादर हुने संकोचले राजाद्वारा स्वीकार गरियो । फल हातमा लिएर राजाले थपक्क मन्त्रीतिर बढाइदिए । यो क्रम वर्षौं चल्यो !

एकदिन साधुले दिएको फल राजाले मन्त्रीतिर नबढाई दरबारभित्र घुम्दै गरेको एउटा बाँदरलाई दिए । बाँदरले फल कोपर्न थाल्यो । बाँदरले यसरी  खाइरहँदा भित्रबाट हीरा निस्कियो । हीरा देख्नेबित्तिकै राजालाई अस्तिदेखिका फलको याद आयो । मन्त्रीतिर फर्किएर राजाले सोधे,‘मैले तिमीलाई वर्षौंदेखि दिँदै आएको फल खोई ?’

यस्तो अप्रत्यासित प्रश्नमा मन्त्री आत्तिए ।

यद्यपि, राजाको सनकदेखि अनुभवी मन्त्रीले पहिले नै होशियारी अपनाएर दरबारको पछाडि पेटीमा कसैले नदेख्ने गरी फल लुकाएका थिए । डराउँदै डराउँदै राजालाई देखाइदिए । खाल्टोमा हालेको फल सबै कुहिएको थियो । घोचाले कोट्याएर हेर्दा कुहिएका सबै फलभित्र हीरा भरिएको थियो । राजाले यति धेरै हीरा जीवनमा कहिल्यै देखेका थिएनन् ।

सधैं नजानिँदो रुपले उपेक्षा गरिएका साधुले आजदेखि राजाको मनग्गे ध्यान पाए । राजाले साधुमाथि नजर गाडेर सोधे, ‘तिमीले किन, के का लागि यी फल लिएर आएका थियौ ? मैले त आजसम्म सोध्न भुलेंछु ।’

साधुले भने, ‘हो, आफ्नो वरिपरि के भइरहेको छ भनेर जीवनभरि होश नराख्नेहरु जीवन सकिने बेलामा पछुताउँछन् । दिनैपिच्छे तिमीलाई जीवनले केही न केही नयाँ चीज दिइरहेको छ तर, तिमी जंगली फल सम्झेर फ्याँकिरहेका छौ । हरेक फलभित्र हीरा विद्यमान छ जो तिमीले देखेकै छैनौ । तिमी स्वयंभित्र हीरा छ तर, त्यो महसुस गर्दैनौ ! जे होस्, अब पछाडि नफर्क । सपनाले तिमीलाई दौडाउँछ । तर, धेरै अगाडि पनि नदौड । धैर्य गर । अब सुन, म तिमीलाई केही महत्वपूर्ण कुरा भन्न चाहन्छु ।’

यो साधु सामान्य मनुष्य होइन भन्ने लागेर राजा शतर्क भए । सुन्नलाई उत्सुकता जाहेर गरे ।

साधु बोल्नथालेः ‘तिमी कुनै दिन त जाग्छौ कि भनेर म दश वर्षदेखि आइरहेको छु हेर्नलाई । मलाई एउटा महान कार्यको लागि सचेत तथा निर्भय मानिस चाहिएको छ । जो तिमी हुनसक्छौ । तिमी विक्रमादित्य हौ, जो वीर छौ, सौर्यशाली छौ । आज औंसीको रात हो । यदि तिमी तयार छौ भने राति श्मशान घाटमा आइपुग । मलाई त्यहीं भेट्ने छौ ।’

औंसीको रात, मुर्दाघाटमा जाने आँट कस्तै वीरले पनि गर्दैन’थ्यो । तर, जंगली फल र हीराको प्रसंगले राजालाई यो साधुका पछि लागेर केही समय अध्ययन गर्ने उत्सुकता बढिसकेको थियो । उनी साधुले भनेको समय श्मशानमा पुगे । आफूले भनेको मानेर राजा आएकोमा साधु खुशी भए ।

क्षणिक विश्रामपछि साधुले निर्देश गर्दै राजालाई भने,‘ऊ त्यहाँ पर डाँडामा एउटा रुख छ । त्यो रुखमाथि लाशहरु झुण्डिएका छन् । ती झुण्डिएका डोरी काटेर एक एक गरी लाश म भए ठाउँ ल्याउँदै राख्तै गर । तर, तिमी धेरै होशियार हुनुपर्छ । डराउन, संकोच राख्न मिल्दैन, बोल्न मिल्दैन । एक वचन बोल्यौ भने लाश फेरि फर्केर पुरानै ठाउँमा झुण्डिन पुग्नेछ ।’

बौद्धिक, जनप्रिय, प्रख्याती कमाएका राजा विक्रमादित्यले यति सानो काम गर्न नसक्ने कुरै भएन । विस्तारै उनी लाश झुण्डिएको रुखमा पुगे । डोरी काटेर एउटा लाश भुइँमा झारे । भुइँमा झरेको लाश खित्का छोडेर हाँस्यो । लाश हाँसेको सुनेर राजालाई डर लाग्यो । लगत्तै लाश फेरि रुखमै झुण्डिन पुग्यो ।

  • काँतरहरु डराउँछन् । वीरहरु पनि डराउँछन् । तर, काँतर र वीरमा फरक के छ भने काँतरहरु डराएपछि भागिहाल्छन् । वीरहरु डराएर पनि थालेको काम गर्न छोड्दैनन् ।

राजा फेरि रुखमाथि चढे । लाशको डोरी काटे । लाश भुइँमा झऱ्यो । उसै गरी खित्का छोड्यो । यो पटक भने राजा होशियार बनेर नडराई, नबोली ओर्लिएर त्यो लाशलाई काँधमा हाले । मरेका लाशहरु कसरी हाँस्न सक्छन्, कसरी बोल्न सक्छन्; आदि कुरा सोचेर राजा यसैपनि आश्चर्यचकित थिए !

लाश बोकेर हिँडिरहेका राजालाई लाशले भन्यो, “हेर राजा, तिमी धैर्य गर, बाटोमा एक वचन पनि बोलेनौ भने मात्र मलाई बोकेर तिमीले त्यो साधु भए ठाउँसम्म पुऱ्याउन सकौला ! तिमी नबोल्; तैपनि बाटो लामो छ, तिमीलाई बाटो कटनी एउटा कहानी भन्छु म । राम्रो गरी सुन !”

लाश यति बोलुञ्जेल राजा एक शब्द पनि बोलेका थिएनन् । त्यसपछि विस्तारै लाशले कथा भन्नथाल्यो ।

उहिले नै एउटा गुरुकुलमा तीनजना विद्यार्थी पढ्न आएका थिए । गुरुकी एक सुन्दरी पुत्री थिइन् । हिस्सि परेका, सुन्दर, सुकोमल युवकहरु देखेर तिनीहरुसित उनको हिम्चिम बढ्यो । प्रेमसम्बन्ध विकास भयो । तिनैजनासित गुरुपुत्रीको नाता सुमधुर थियो । अब विस्तारै विवाहको गाइँगुइँ चल्नथाल्यो । तर, विवाह त एकजनासँग मात्रै साध्य थियो । एकजनासँग विवाह गरेर अरु दुइजनालाई त्याग्न कन्या मञ्जूर थिइनन् । तीनजनासित एउटी कन्याको विवाह नहुने सत्यलाई बुझेपछि उनले देहत्याग गरिन् ।

मृत्युपश्चात उनको दाहसंस्कार गरियो । सबै मलामीहरु फर्किएर दर्गादिशा लागे । तर, उनका तीन प्रेमीहरुमध्ये प्रथम युवक उनको चिता राखिएकै ठाउँमा भष्म रुँगेर बस्यो । अर्कोले जलेको शवबाट रहल-पहल हड्डी भेला गरेर पोको पाऱ्यो र हिँड्यो । तेस्रोचाहिं आफ्नो संसार उजाड भएको ठानेर अब कहिल्यै प्रेम, विवाह, परिवार र नातासम्बन्धको कुरै नसोच्ने अठोट लिएर सन्यास धारण गरी हिँड्यो ।

प्रथम युवक मुर्दाघाटमा जलेका चिताको खरानी धसी वैरागी बनेर त्यतै रहन्थ्यो । शव जलाउन आएका कसैले दया गरे केही खान पाउँथ्यो । नत्र चिताको खरानीले छाक टार्थ्यो !

दोस्रोले भेला गरेका हड्डीहरु दिन दिनै नदीमा लगेर धोइ-पखाली सफा, स्निग्ध बनाई जतनले राख्थ्यो ।

तेस्रोचाहिं गाउँ-गाउँ डुलेर भिक्षा माग्दै हिँड्थ्यो । गाउँ डुल्दै जाँदा एकदिन ऊ एउटा गुफामा पुग्यो । त्यहाँ एक सन्यासी रहेछन् । उसले बास माग्यो । राति कुरा-कुरामा सन्यासीले सञ्जीवनी मन्त्र जानेको कुरा थाहा पायो । हत्तपत्त आफ्नी प्रेमीकाले देहत्याग गरेकोमा वैरागिएर हिँडेको कुरा उसले सन्यासीलाई बतायो । त्यसपछि हजार विन्ति गरेर सन्यासीबाट मन्त्र सिकेर प्रेमीकालाई ब्यूँताउने अठोटमा ऊ फर्कियो ।

गाउँमा पुग्दा उसले दोस्रो मित्रलाई भेट्यो । चिताबाट हड्डीहरु भेला गरी उसले सुरक्षित राखेकोमा खुशी हुँदै तेस्रोले हार्दिक आभार व्यक्त गऱ्यो । दुवै मिलेर एकदिन नदीमा गई कन्याको हड्डीमा मन्त्र फुकेर व्यूँताए । कन्या पूर्ववत सुन्दरी बनेर खडा भइन् । तर, अहिले पनि तीनजना युवकहरुको समस्या ज्यूँका त्यूँ भयो । फेरि पनि ती कन्यालाई कसले विवाह गर्ने प्रश्नको समाधान हुनै सकेन । अब भन त राजा, तीन मध्ये कुन युवकले ती कन्यासित विवाह गर्न सक्छ ? तिमी ज्ञानी छौ, विद्वान् छौ, तिमीबाट तुरुन्तै यो समस्याको निवारण हुनसक्छ । तर, जानेर पनि भनेनौ भने तत्कालै तिम्रो देहान्त हुनेछ । लु भन; तीनमध्ये कुन युवकले कन्यासित विवाह गर्न मिल्छ ?

लाशको भारी बोकेर यात्रा गरिरहेका राजाले यतिबेलासम्म आफू के गर्दैछु, भुलिसकेका थिए । उनको मनमा प्रश्नको उत्तर पनि आइरहेको थियो । उनीजस्ता विद्वानका लागि त्यो कुनै गाह्रो प्रश्न थिएन । उनले झट्ट उत्तर दिए ।

राजाले उत्तर दिइसकेका मात्र के थिए, उनको काँधबाट लाश उडेर अघिकै रुखमा झुण्डिन पुग्यो । औंसीको रातभरिमा गरिसक्नुपर्ने काम थियो, यतिकैमा उज्यालो भइदियो । एक वचन पनि नबोली गर्नुपर्ने साधुले अह्राएको काममा राजा असफल भए ।

जीवनमा कहिल्यै हार नव्योहोरेका राजा यो असफलतादेखि लज्जित भए । त्यसपछि दरवारतिर नगई उनी तिनै साधुको पछि लागेर सन्यासी भए । 

(ती कन्याको विवाह तीनजना मध्ये कुनचाहिं युवकसँग हुन सक्थ्यो ? यो कुरामा राजाले कस्तो उत्तर दिए होलान् ? राजाले दिएको सप्रसंग उत्तर आदरणीय पाठकहरुबाट मसम्म आइपुग्ने आशा साँचेको छुः विनीतः कथाकार )

 

(कथा स्रोतः सम्पूर्ण बेताल पच्चीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *