बेराग पात्रहरुको आकाश

लेखक

रमेश सायन

म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन्- जसको बजारमा माग छैन । पाठक छैनन् र दोस्रो संस्करण निस्कने छैन । बाँच्ने शैली बेरागात्मक छ ।  विगत सम्झने उत्तिसाह्रो  फुर्सैद छैन  । मानौ ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर म बाँचेको बाटो फर्कने छैनन् । एकाध पात्रहरुले कतै न कतै पछाई रहेकाछन् । जीवनसँग कतै न कतै आएर ठोक्किरहेका छन् । र, ती नै पात्रहरुलाई कहिलेकाँही  फ्ल्यास ब्याकमा उभ्याएर उनीहरुसँगै बेराग बगिरहन्छु ।
दुई वर्ष पहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालो खस्कँदै गरेका एकजना मित्र पूजा-पाठ गर्न र देवालय भाकल गर्न थालेका रहेछन् । जसले मलाई उनले चिनेका एक ज्योतिष कहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई “शनिको दसा छ । ग्रहदसाको पाठपूजा गर्नु । शनिबार वर पिपलमा पानी चढाउनु” भनेको थियो । मलाई चाहिँ “जीवन सामान्य छ । कुनै मोडमा तँ जोगी हुन्छस्”, भनेको थियो । उसदिनदेखि आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै संगीतको राग जस्तो शैली मिलेको तरंग छैन । भविष्यसँग चिन्ता छैन । आसा गर्ने सपना पनि छैन । त्यसैले ज्योतिषले जे भने पनि मेरो जीवनको कुनै कुनामा चिन्ताको दल सरेन । रु. पचास ज्याला दिएपछि म उसको दैलोबाट बलेंसीमा झरेको थिएँ ।

तीन दिन अगाडि पशुपति जान मनलाग्यो । कारण केहि थिएन । मंसिर महिनाको घाम, पशुपतिको भिडभाडमा कसैलाई भाग नलगाई सिंगै तापिरहें जसरी तापिरहेका थिए, स्वर्ग जाने बाटो खोज्न आएका सन्यासी योगीहरु । पैतालासम्म खसेको लट्टे दारी, उस्तै आकारको कपाल, पुरै खरानी दलेको खाईलाग्दो ज्यान । योभन्दा अगाडि त्यत्तिको बलियो योगी कहिलै देखेको थिइन जसले आफ्नो छोप्नुपर्ने एक अंशमात्र छोपेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधें । योगीहरुसँग सपना हुँदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो  तर, त्यो योगीले मलाई रिसाएर भन्योः-“योगीको नाम, घर, थर, र जात सोध्ने तँ को होस्  ।” म उठेर हिँड्न खोजें । उति नै खेर कुनै विदेशीलाई -टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड- भनिरहेको थियो । सम्झें, भरे उसकी स्वास्नीले उसको खल्तिबाट सन्ध्याकालीन आयबिवरण खोज्नेछे वा दिनभरि खैरेसँग फोटो खिचाउँदा थाकेको शरीर ठमेलको कुनै मसाज सेन्टरको गेटमा बिसाउने छ । उसको बाँच्ने शैली हो, जसरी  बाँचोस् । म अलि पर सरें र रमितेहरुमा थपिएँ । पारी लासहरुको लाईन छ । प्रायः जसो आधा डढिसकेका छन् । लासहरुको उमेर फरक छ । नरबाहादुरको सेकुवा पसलबाट आउने गन्ध र लासहरुबाट आउने गन्ध एक समानान्तर रेखाजस्तो लाग्छ । सबै लासहरुबाट उडेको धुवाँ र फैलिएको गन्ध एकै रंग, उस्तै आकार र गतिमा हावाले बोकेर दगुरिरहेको छ । मेरो आँखामा धुवाँको कालो रंग, नाकमा लासको गन्ध र मेरो मथिङ्गलमा मभन्दा पञ्चहत्तर वर्ष जेठी र बीस वर्ष पहिलेको भोल्टि सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका, भिराला खेतका गह्राजस्ता गाला र तुषारोको बिहान जस्तो कपाल तैरिरहेको छ । जसलाई मेरा बा र हजुरबाले कहिल्लै हाम्रो मझेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छा बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बोधन गर्थें । जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेंसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनो बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी थाहा भएन । तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न  आउनेहरुलाई थांग्रोबाट मकैका जुक्ता ओरालेर  कुनै रहर नबोकी बाँचेकी हुन्थिन् । मैले आँखाको बाराबर बिन्दुमा मेरा हजुरबा र भोल्टि सर्किनीको लास जलिरहेको सम्झिएँ । जो यिनै लासहरु झै बराबर गनाइरहेका थिए । अन्तमा दुवै स्वादहीन खरानी भएर सुनकोसिमा बगेका थिए । म मेरो हजुरबाको मथिङ्गलबाट उम्किएर डिलमा उभिएको छु जहाँ सबैले ओडेको क्षितिज एकै आयतनमा फैलिएको छ । धेरैबेरसम्म उनैलाई सम्झिरहें । घाट भित्रदै गरेको एउटा नयाँ लासले ध्यान फेरि लासहरुको लाममा तन्यो । त्यो लासको उमेर मेरो बराबरको हुनुपर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका संख्या जति छन् । सबै तन्देरी छन् । लासको उमेर र मलामीको उमेर प्राय मिल्छ । रुनेहरुको संख्या धेरै छैन । एकजना ठूलो स्वरमा धित मर्ने गरी रुहिरहेको छ । बुझदा  उसको बाबु रहेछ । टी.यू. मा एम.एसी. पढ्दा पढ्दै साईनाईट खाएर आत्महत्या गरेछ । ठिक्कै छ उसको मृत्यु, उसको अधिकार, बाँच्न मन लागेन मर्यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अब । आफ्नो जीवनयुद्धमा सहीद भयो । सकियो । आत्महत्या गर्नु कायर हैन बहादुरिता हो, मनले  भन्यो । तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ- मनमा उसको मृत्युको पछुतो फैलियो  । बिचराले मर्नुको आनन्द लिन पाएन । मर्नैपर्ने भए बिस्तारै घाँटिमा ब्लेडले सानो नसा काटेर मृत्युको अनुभव लिई लिई मर्नु राम्रो हो । बाग्मती अल्छि मानी मानी बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाइरहेको छ । आज नबग्नु पर्ने भए लेदो त छँदैथियो जमेर बस्ने थियो होला । आफ्नो मृत्यु सक्नु अघि घामले मेरो लामो छायाँ धमिलो पानीमा खसाल्यो । आफ्नो उमेर सम्झेँ, २६ वर्ष । कुनै रोग सम्झेँ, केहि छैन । मेरो आयु सम्झेँ र पारी लासका लाईन हेरें । अब सरासर बाँच्न पाँए भने ३५ देखी ४० वर्ष । बीचमा आत्महत्या गर्ने योजाना छैन । तर मृत्युको रहर छ । भयानक पिडादाही मृत्यु, जसले मलाई दुःखको जस्तै अनेक अनुभव दियोस् । चरम भोक र पराकाष्ठा, प्यासको पिडा जस्तो अनुभव । हिउँमा खाली खुट्टाको जस्तो पिडा । या कसैले यातनास्वरुप बाघको खोरमा हालिदिने खबर जस्तो, जीवनको अनुभव ।

साँझ पर्न लागेको छ । जोगीहरु पातल्ली सकेका छन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतीमा आरती सुरु भएको छ । एक किसिमको संगीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आनन्द छ । बैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आनन्द छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आनन्द आयो । दुई किशोर केटाहरु पानीमा चुम्मकको डल्लो हालेर डलर पैसाको तानी रहेका छन् । जीवन जसरी पनि बाँचेर सक्नु छ, बाँचिरहेका छन् । एउटाले अनुहार उज्यालो पारेर खल्तिमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनुपर्छ । रमाउने अनेक तरिका हुन्छन्, उ रमायो । मलाई आनन्द आयो । यी किशोरले कहिल्लै आत्महत्या गरेर जीवन सक्दैनन् । यीसँग ठुलो सपना छैन, जीवनमा ससानो युद्ध गर्छ र जितिरहन्छ । अघि साईनाईट खाएको लास जलिसकेको छ । मैले जीवनको त्यो सहीदलाई मनमनै सलामी दिएँ ।
म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर, घाम टाकुराबाट खसिसकेको छ ।
बाटामा फेरि सम्झेँ, मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भाग्य कस्तो होला । उसको भविष्यमा कस्ता आरुबखडा फले र चिचिलामा झरे । कुनदिन धुरीमा काग करायो र दिनभरि असुभको डरले कामिरह्यो होला । मलाई लाग्छ- त्यो ज्योतिषी पनि कहिल्लै आत्महत्या गर्दैन । ती मित्र जो जीवनसँग बैरागिएर ज्योतिषीकोमा भविष्य बोकेर पुगेका थिए । उनको जीवनप्रति दया लागेर आयो । मलाई गालि गर्ने योगीले दारी र कपालको ब्यापार गरेकोमा आनन्द लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभव गर्न पाएको छ । उ जोगी र बेश्यालयको ग्राहक एकैपल्ट हुनसक्छ । भोल्टि सर्किनी उनको जीवनमा सधैं गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदैसम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि । त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पिडाको रहर जगाइरहेको छ । वाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग स–साना युद्ध गरेकोमा मेरो जीवनसँग मिले जस्तो लागिरहेको छ । म घर फर्किरहेको छु । गौसाला चौकमा आइपुग्दा धेरै ठाउँमा चर्किएँ । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिएँ । भविष्यसँग कापिरहेको मित्र त्यो ज्यातिषी, त्यो योगी, मेरा हजुरबा, भोल्टि सर्किनी, त्यो लास, ती केटाकेटी, पसुपतीमा बजेको आरतीको राग, मैले बाँचेको मेरो आफ्नै जीवन एक झुण्ड, एक बेराग संगीत बदलियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *