बोज्युको आत्माकथा
सत्यवीर
शरणार्थी शिविर, बेल्डाँगी
चराहरूले समेत
मानसको वारि-पारि डाँडामा बसेर
बयान गर्थे रे देशको
गाउँथे रे गीत न्यायको
नाति
म त चराहरूकी चेली हुँ
सुनकोसको पुच्छारमा फुलेको
नाथे सयपत्रीले धरी यसो उँभोतिर हेरेर
बताउँथे रे सुनकोसको लम्बाइ
नाति
म त फूलहरूकी दौँतारी हुँ
हेरेर चराहरूका नाच
हेरेर फहरूका मुस्कान
सपनामा चुर्लुम्म डुब्थे रे
कुलागाङ्ग्री र जोमलहरीहरू
नाति
म त कुलागाङ्ग्रीकी छोरी हुँ
सुनेर चराहरूका न्यायिक धुन
जाँचेर फूलहरूका बौद्धिक शक्ति
देखेर कुलागाङ्ग्रीहरूका स्वाप्निल आँखा
र भीमकाय छाती
भेट्टाएपछि हावामा पनि जुझारूपना
आफूलाई समेत उछिन्ने भयले
क्रुद्ध भएछ यो देशको शासक
र तत्काल फरमान जारी भएछ-
‘म त भगवानको अवतार हुँ
अर्थात् भगवान हुँ, भगवान
तिमीहरू कसैले पनि सक्दैनौ मभन्दा जान्ने हुन
खबरदार,
आज उप्रान्त कसैले टाउको उठाएर मुख खोलौला,
पर्दैन आजबाट
टाउको गर्धनमा बोकी हिँड्नु
बरु नाइटो नरै झुण्ड्याउँदा नि हुन्छ, बुझ्यौ ?’
नाति,
म जन्मँदा त धर्ती पुरै अँध्यारो थियो
त्यही अँन्धकारमा सक्रिय थिए
त्यो भगवान भनाउँदा
त्यो…
यो देशमा पोखिने पसिनाका धाराहरूमा
शरीरमा बहने रगतको थोपा थोपामा
बसेको थियो गिध्देनजर गाडेर
अनि त
कति गर्दा पनि
मुस्किल थियो आफ्नो लागि
पसिना जोगाउन
मुस्किल थियो आफ्नो लागि
आफ्नै शरीरमा रगत बचाउन
नाति
मैँले घाँस दाउरामा अल्झाइएका अक्षरहरूलाई
बटुल्न सकिनँ
मैँले गाईबस्तुसँगै बसेर पढ्न सकिनँ
यो अँध्यारो अाकाशमुनी निसासिँदै ठिक भयो
मैँले बोल्न जानिनँ
यो देशको शासक
कृपालु छ भन्छ
बहादुर छ भन्छ
तर असलमा चाहिँ
हावाले रुखको पात हल्लायो यदि भने पनि
बेस्कन तर्सिन्छ
खोला अलि चर्को सुसाएको बेला
रातभर निदाउन सक्दैन
छिमेकी देशमा
दुई जना जनताले मात्रै पनि
सडकमा उत्रेर अधिकारको कुरा गरेमा
यता ऊ बौहुलाउँछ
हो, त्यसैले
खोला साँगुरिन बाध्य छ
हावा थामिन बाध्य छ
फूलहरू कुण्ठित छन्
जोमलहररीहरू बाध्य छन् संगिनका पीडा खेप्न
चराहरू बाध्य छन् सुर ताल नमिलाई गाउन
हो त्यसैले
केवल उसको नाजायज इच्छा पूर्तिका लागि
मागमा पृथ्वीको गर्वभित्र कुण्ठित हुन बाध्य छ
र म बाध्य छु
वर्षौँदखि यसरी नै बाँच्न ।
नाति
मेरो धुजा धुजा भएको जिन्दगीमा
मेरो पीडा मात्र देख्छस् भने
मेरो आँसु मात्र देख्छस् भने
तँ विल्कुल गलत छस्
नियालेर हेर्
तैँले शासकको संवेदनाहीन आँखा देख्नेछस्
शासकको कुटिल मुस्कान देख्नेछस्
अझ नियालेर हेर्
तैँले यो देशको शासकको
असली अौकात देख्नेछस् ।
(कुरा बिस्साएर
बोज्युले अगेनामाथिको कालो कराहीबाट
खटिया चिया सारिन् झर्के बोटुकोमा
र लामो फुक मारेर सुरुप्प पारिन्
र भनिन् फेरि- ङोस्चै नुङ्ना
होच्योउ र दिन राहाले
(अर्थात्, हेर्दै जा त्यसको पनि दिन आउँछ ) ।
(बोज्युले हातको बोटुकाबाट नजर हटाएर
पिलिक्क मतिर हेरिन्
मलाई उनलाई अँगाल्न मन लाग्यो….)
साँच्चै नै
इतिहासमा
साँगुरिन बाध्य नदीहरू
आफैँ उर्लिन बाध्य भएपछि
कुन शासकले रोक्न सक्यो र?
हावाले अाँधी तुफानको रूप लिएपछि
नढलेको व्यावस्था कुन छ र ?
चट्टान फोरेर माग्मा ज्वालामुखी बन्न बाध्य भएपछि
नतर्सेका शासक कुनै होला र ?
(अगेनामा दाउरा बलिसकेको कारण अब दुई तीनबाट झरिला कईला मात्र थियो । अगेनामाथि कालो कराहीमा बाँकी रहेको खटिया चिया अल्छीसरि उम्लिरहेको थियो। बोज्यु कैले कराही त कैले आफैँले दुई हातले समाइराखेको बोटुको हेर्दै कतै टोहोलाइरहेकी थिइन् । म उनको चाउरिएको गालामा कथाको थप अंश खोज्दै खटिया चियाको चुस्की लिइरहेँ।)